+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

चीनलाई लगाएको भन्सार शुल्क घटाउने ट्रम्पको संकेत, चीनको ‘ग्रिन सिग्नल’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १६:४९

२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाइएको भन्सार शुल्क घटाउने संकेत गरेका छन् । उनले अहिलेको भन्सार शुल्क निकै उच्च रहेकोले संसारका दुई ठूला अर्थतन्त्रबीच व्यापार नै ठप्प भएको स्वीकारेका छन् ।

एनबीसीको एक कार्यक्रममा ट्रम्पले भने, ‘कुनै पनि बेला म चीनमाथिको कर घटाउन सक्छु, किनभने यदि मैले त्यसो गरिनँ भने उनीहरूसँग व्यापार गर्न सम्भव हुनेछैन र उनीहरू त व्यापार गर्न चाहन्छन् ।’

ट्रम्पले चीनको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहेको दाबी गरे । ट्रम्पका अनुसार सन् २०२३ पछि चीनका कारखानाहरूको अवस्था अत्यन्तै नाजुक बनेको छ । त्यहाँबाट विदेश जाने सामानको अर्डर पनि निकै घटेको छ ।

‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत ट्रम्पले अमेरिकाभित्र सामान बेच्ने सबै मुलुकमा १० प्रतिशत भन्सार शुल्क लगाएका थिए । तर चीनमाथिको भन्सार शुल्क क्रमशः बढाएर १४५ प्रतिशतसम्म पुर्‍याएका थिए । जवाफी रूपमा चीनले पनि अमेरिकी वस्तुहरूमा १२५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको थियो ।

आइतबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले चीनमाथिको भन्सार शुल्क वृद्धि प्रभावले कारखाना बन्द हुने गरेको र बेरोजगारी दर बढिरहेको जिकिर गरेका छन् ।

दुवै देश अप्ठ्यारोमा परेको स्वीकारे पनि ट्रम्पले वार्ताको पहल आफूले नगर्ने अडान अगाडि सारे ।

कार्यक्रमकी सञ्चालक क्रिस्टन वेल्करले सोधिन्,’के तपाईं चीनसँग वार्ताको सुरुवात गर्न भन्सार शुल्क हटाउने विचारमा हुनुहुन्छ?’

जवाफमा ट्रम्पले भने, ‘म किन त्यस्तो गरौं ?’

ट्रम्पले बेइजिङबाट केही सकारात्मक संकेतहरू आएका जानकारी दिए । यद्यपि उनले अमेरिका र चीनबीच कुनै पनि सम्झौता समानताको आधारमा मात्र हुने बताए ।

चीनले पनि गर्‍यो वार्ताको संकेत

यसैबीच चीनले पहिलोपटक शुक्रबार वार्ताका लागि तयार रहेको संकेत गरेको छ । उसले अमेरिका–चीनबीच व्यापार सम्झौताका सम्भावनाहरूको खोजी गरिरहेको जनाएको हो ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले भनेका अमेरिका–चीनबीच व्यापार वार्ताको अमेरिकी प्रस्तावबारे चीनले विचार गरिरहेको बताएका छन् । तर, ट्रम्पले जस्तै चीनले पनि वार्ताका लागि पहिले अमेरिकाले भन्सार शुल्क हटाउनुपर्ने सर्त अगाडि सारेको छ ।

दुवै देश नराम्ररी प्रभावित

चीन र अमेरिकाबीच चर्किएको व्यापार युद्धले वित्तीय बजार नराम्ररी प्रभावित भएको छ । यसले औद्योगिक उपकरणहरू मात्र होइन, आम अमेरिकी उपभोक्ताले प्रयोग गर्ने लुगा, खेलौना जस्ता सस्ता सामग्रीहरूको मूल्यमा वृद्धि हुने खतरा निम्त्याएको छ ।

ब्लूमबर्गको रिपोर्ट अनुसार, चीनका कारखानाहरूको अवस्था सन् २०२३ यताकै सबैभन्दा खराब भएको छ । विदेशमा जाने सामानको अर्डर पनि तीव्र गतिमा घटेको छ ।

सन् २०२२ को डिसेम्बर यता यस्तो गिरावट पहिलोपटक देखिएको हो । त्यसअघि यस्तै गिरावट सन् २०२२ को अप्रिलमा देखिएको थियो, जब शंघाई पूर्ण लकडाउनमा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?