
‘बुनु !’
‘हजुर !’
‘सञ्चो छैन ? अनुहार त न्याम्म देख्छु ।’
‘केही भएको छैन । हजुर पनि मणि हराएको सर्प जस्तो देखिनुभएको छ त ! सेतो दाह्रीजुँगा बनाएर के विजोग गर्या हो ?’
‘म त यस्तै हो नि ! खान, लाउन, घुम्न नपर्ने मान्छे । तिमी स्वतन्त्र, स्वच्छन्द र उन्मुक्त भएपछि पनि उदास देख्दा अचम्म लागिरहेको छ ।’
‘हजुर, अफिस मन पर्ने मान्छे । अफिसमा नै बेड लगाउनुभएको होला ? एआईसँग रोमान्स चलेको पो छ कि ?’
‘धत्, के भनेकी त्यस्तो ? तिमीले छोडेर गएपछि बेहोशी बनेको छु । तिमीलाई भेटुँ भेटँु भइरहन्छ । तिमीले इन्कार गरौली भनेर मात्र डराइरहें । आज मंगलवार पक्कै गणेश मन्दिर आउँछ्यौ होली भन्दै आएको त भेट भयो ।’
‘पत्याइनँ । मैले तिम्रो विश्वास कैले जित्न सकेको थिएँ र ?’
‘ज्ञान आएको हो त, अब ?’
‘खै’, सानु रुन्चे स्वरमा मुस्कुरायो ।
‘यसो गरौं उसो गरौ, भनेर कचकच गर्ने म नभएपछि त रमाइलो भएको होला नि, आजकल ?’ बुनुले आँखा तरी ।
‘तिम्रो कचकचै ठिक रहेछ !’ सानुले लुकेर बुनुलाई हेर्यो ।
मन्दिरको चहलपहल बढ्दै गयो । सानुको दिमागमा सम्झनाहरू ठेलमठेल गर्न आइपुगे । ऊ धकेलिंदै जिल्ला अदालत, चितवनको परिसरमा पुग्यो । अदालतमा मान्छेहरू खचाखच थिए ।
बुनु सानुबीच ‘सम्बन्ध विच्छेद’ मुद्दाका वादी प्रतिवादी र वकिलहरू उपस्थित हुन डिजिटल सूचना जारी भयो । बुनु र सानु आमने–सामनेको रोस्ट्रममा उभिए । छोरीहरू, वकिल र दर्शक श्रोता दर्शकदीर्घामा बसेका थिए । कुर्चीमा बस्दै न्यायाधीशले सरकारी वकिललाई सुनुवाइको कारबाही अगाडि बढाउन आदेश दिए ।
‘बुनुजी, तपाईंले सानुसँग किन सम्बन्ध विच्छेद गर्न चाहनुभएको हो ?’ आफ्नो भनाइ राख्नुहोस्, सरकारी वकिलले अनुरोध गरे ।
बुनुले पुलुक्क सानुतिर हेरी । दर्शकदीर्घातिर आँखा घुमाई । दर्शकदीर्घामा आफन्तहरू निन्याउरो मुख लगाएर बसिरहेका थिए । चारैतिर हेरिसकेपछि बुनु बोल्न थाली ।
श्रीमान्, हाम्रो विवाह भएको तीस वर्ष भयो । हाम्रा दुईवटा छोरीहरू जन्मे हुर्के, पढे विदेश पनि गए । घरमा हामी दुई श्रीमान् श्रीमती मात्र छौं । मैले महिलाको लागि घरबाट नै अनलाइन कुर्ता सुरुवाल पसल चलाएकी छु । महिलाको च्वाइस अनुसारका सामान ल्याउने, सामाजिक मिडियामा एड राख्ने, अनलाइन मागको सामान होम डेलिभरी दिने काम गर्ने गर्छु ।
सानुजी सरकारी जागिर खानुहुन्छ । अफिसको काम बिहानदेखि बेलुका अबेरसम्म ओभर टाइम बसेर गर्नुहुन्छ । घरमा आएपछि पनि हाकिम सापहरूले के के काम लगाउनुहुन्छ कुन्नि उहाँ मोबाइल, ल्यापटप वा कम्प्युटरमा नै झुण्डिरहनुहुन्छ । आजकल अफिस त मोबाइलमै त हुन्छ । अफिसका फाइलहरू बोकेर घर पनि आउनुहुन्छ । फाइलमा नै घोत्लिरहनुहुन्छ, अबेरसम्म । ओभर टाइम बस्दा काम सकिएन भने राति अफिसमै सुत्ने पनि गर्नुहुन्छ । म घरमा एक्लै हुन्छु ।
बल्लतल्ल घर आएको वेला श्रीमान् श्रीमती यस्सो गफ गर्न लाग्यो त्यहीवेला ट्यार्र ट्यार्र अफिसको फोन आउँछ । हजुर हजुर भन्दै उहाँ कुनातर्फ लाग्नुहुन्छ । घन्टौं कुरा गर्नुहुन्छ । कुरा गरिसकेर म एकछिन अफिस पुगेर आउँछु है भन्दै निस्कनुहुन्छ । म घरमा एक्लै ।
‘सानुजी, कति अफिस अफिस मात्रै भन्नुहुन्छ ? केही फुर्सद निकाल्नुस् न । परिवारसँग रमाउन पनि जान्नुस्’ मैले पटक पटक अनुरोध गरें ।
हेर न, हाकिमले भनेको काम छिटो गर्यो भने हाकिमले काज दिन्छन्, ओभर टाइम दिन्छन्, भत्ता आउने सेमिनार गोष्ठीमा भाग लिन जाने अवसर दिन्छन् । पैसा आउँछ । खर्च चलाउन गाह्रो भएको तिमीलाई पनि थाहा छ । तिम्रो अनलाइनले पनि धेरै कमाउन सकेको छैन । छोरीहरूलाई पढ्न पनि पैसा पठाउनुपर्यो । त्यै भएर म दौडिरहेको हुँ । मलाई पनि रमाउने मन नभएको कहाँ हो र ? उहाँले मलाई सम्झाउनुहुन्थ्यो ।
श्रीमान् मैले धेरै सहें र सम्झाएँ पनि । तर, अफिसको काम गर्ने र पैसा कमाउने उहाँको दुर्घट कहिल्यै भरिएन । घर परिवार श्रीमतीलाई समय दिनुपर्छ भन्ने ज्ञान पनि आएन । उहाँमा पारिवारिक सम्बन्ध पैसाले बलियो बनाउँछ भन्ने भ्रम रह्यो ।
उहाँले कहिल्यै फुर्सद निकाल्न सक्नुहुन्न । कथं फुर्सद भयो भने पनि कतै घुम्न जाऊँ, रेस्टुराँमा खान जाऊँ, सिनेमा हेर्न जाऊँ भन्दा नाक खुम्च्याउनुहुन्छ । टिभीमा झुण्डिरहनुहुन्छ । छोरीहरू हुँदा त म छोरीहरूसँग जान्थें । उहाँलाई इच्छा नभए पनि परिवारमा बस्ने मान्छेले परिवारको चाहना पनि त बुझ्नु पर्यो । मनका भावनाहरू साटासाट गर्न पाए, हाँस्ने खेल्ने जिस्कने गर्न पाए, दुःखमा सँगै रुन पाए पो जीवन, जीवन हुन्छ । उहाँले समय व्यवस्थापन गर्न सक्दै सक्नुभएन ।
पछिपछि त घर आउँदा अफिसको तनाव पनि लिएर आउने गर्न थाल्नुभयो । हाँसेर बोल्नु सर्ा झर्किन थाल्नुभयो । घरको वातावरण नै नरमाइलो बन्दै गयो ।
श्रीमान्, मानिसको शरीरमा मन पर्ने मान्छेले स्पर्श गर्दा मात्रै पनि माया र इमोशनहरू उर्लेर आउँछन् । पे्रमपूर्वक बोल्न फुर्सद नहुनेले कताको स्पर्श गर्नु? हामी श्रीमान् श्रीमतीको बीचको सम्बन्ध विस्तारै निर्जीव बन्न थाल्यो । छोरीहरू हुर्किएर आ–आफ्नो जीवनमा बाँच्न थालिसकेपछि मेरो साथी उहाँ मात्रै हो ।
मैले हामी बीचको वैवाहिक सम्बन्ध जीवन्त राख्न कोशिश पनि गरें । उहाँले पारिवारिक सम्बन्धको महत्व बुझ्नुभएन । म स्वतन्त्र, स्वच्छन्द र उन्मुक्त जीवन बाँच्न चाहन्छु । अब, म वैवाहिक सम्बन्ध विच्छेद गर्न चाहन्छु । सानुजीसँग मलाई डिभोर्स चाहियो, श्रीमान् । बुनुले बोली सकेर सानुलाई हेरी । सानुले टाउको निहुर्यायो ।
‘सानुजी, बुनुजी तपार्इंसँग अलग हुन चाहनुहुन्छ । यसमा तपाईंको केही भनाइ छ’ न्यायाधीशले सानुलाई बोल्ने अवसर दिए ।
श्रीमान्, म निम्नमध्यम वर्गमा हुर्केको व्यक्ति भविष्यमा घरपरिवार, छोराछोरीमाथि कुनै अप्ठेरो पर्न सक्छ भनेर आज चिन्ता गर्ने मान्छे रहेछु । भविष्य सुरक्षित राख्ने धुनमा मैले आज बिर्सें । बुनुले यहाँ भनेका सबै कुराहरू सत्य हुन् । देशको विकास कर्मचारीले गर्नुपर्छ भनेर देशभरका सरकारी कर्मचारी जुटेको वेलामा म निष्क्रिय रहन सकिनँ ।
म रात–विरात खटें । बिहान चाँडै अफिस जाने र बेलुका ढिलो गरी फर्कने दिनचर्या बन्यो । छोरीहरू कहिले जन्मे, हुर्के, बढे, पढे र विदेश गए म भन्न सक्दिनँ । कमाएको पैसा ल्याएर बुनुलाई दिने बाहेक मैले परिवारको लागि कुनै काम गरेको छैन । बुनु पैसा होइन, साथ दिने मन चाहियो, फुर्सद चाहियो, रमाइलो चाहियो भन्थिन् । मैले त्यसको कहिल्यै वास्ता गरिनँ ।
हाकिमले काम दिन्थे । म रमाउँथें । काम गर्नेलाई काम दिने भएपछि मलाई काम थपिंदै जान्थ्यो । म घरमा लगेर पनि समयमै काम सम्पन्न गर्दथें । घरमा बसेको वेलामा पनि हाकिमहरूको फोन, इमेल र म्यासेज आइरहन्थ्यो । म इमेल, च्याट र फोनमा व्यस्त हुन्थें । कामको बोझले बुनु रमाएको बेलामा रमाउन सकिनँ । बुनुलाई दुःख परेको वेलामा साथी बन्न सकिनँ ।
खाना बनाउने वेलामा भान्छामा बसेर सघाउन पनि सकिनँ । बुनु रमाएर बाँच्नुपर्दछ भन्ने सिद्धान्त लिन्छिन् । उनी भोलिको चिन्तामा आजैदेखि रुने मान्छे होइनन् । मैले परिवारलाई समय दिन सकिनँ । अफिसको कामले परिवारको बीचमा खडा भएको दिवार देख्न सकिनँ । श्रीमान्, म गलत हुँ । बुनुको इच्छा बमोजिमको सजाय भोग्न तयार छु । सानुकोे स्वर धोद्रो हुँदै गयो । बोल्दा बोल्दै आँखामा आँसु टन्न भरियो । थचक्क बस्यो ।
‘श्रीमान् महोदय, म मेरा विपक्षीसँग केही प्रश्नहरू सोध्ने अनुमति चाहन्छु’, सानुको वकिल उठे । सानुले वकिललाई हेरिरह्यो ।
‘बुनुजी, कडा मिहिनेत गरेर कमाइ ल्याउने श्रीमान्सँग सम्बन्ध विच्छेद गर्न खोज्नुको कारण के हो ? सम्बन्ध विच्छेदपछि आफ्नो स्कूले प्रेमीसँग बिहे गर्ने योजना त होइन ?’ वकिलले हात हल्लाई–हल्लाई प्रश्न गरे ।
‘मेरो आपत्ति–अवरोध छ श्रीमान् । वकिल सा’बको कल्पित प्रश्न खारेज होस्’, सानु रोष्ट्रमबाटै चिच्यायो । न्यायाधीशले प्रश्न खारेज गरे ।
वकिलको प्रश्नले सानु रन्न भयो । सम्झनाहरू मथिङ्गल हल्लाउने गरी चलमलाए । दिन दिनैका घटनाहरू सम्झन थाल्यो । एक दिन, सानु अफिसबाट ढिलो गरी फर्केको थियो । बुनुले सानुलाई मनपर्ने खाना पकाएर बसेकी थिई ।
‘सानु, हजुर कति दुःख गर्नुहुन्छ । कति व्यस्त बन्नुहुन्छ ? हजुर जसको लागि मिहिनेत गरिरहनुभएको छ उनीहरूले त्यसलाई महत्व दिइरहेका छैनन् । हजुरले मसँग बिताउने थोरै समय निकाल्न सक्नुभएको पनि छैन’, बुनु रोमान्टिक मूडमा थिई ।
‘अफिसको कामले टाउको उठाउने फुर्सद छैन’, सानुले ल्यापटप उठाउँदै भन्यो ।
‘ह्या, जति खेर पनि काम, काम, काम !’ बुनुले ल्यापटप अर्को कोठामा राखिदिई ।
‘के गरेकी ?’ सानुले सोध्न नपाउँदै बुनुले सानुलाई गमरङ्ग अँगालोमा बेरेर विछ्यौनामा लडाई । कामले थाकेको सानु लड्ने वित्तिकै भुसुक्क निदायो । बिहान उठ्दा बुनुको अनुहार रिसले फुलेको थियो ।
एक दिन, ठूली छोरीको ‘बर्थ डे’ रेस्टुराँमा गएर मनाउने योजना बनेको थियो । म अफिसबाट साढे पाँच बजे आइपुग्छु भनेको थिएँ । राति नौ बजे मात्रै पार्टीमा पुगें । पाहुनाहरू सबै गइसकेका थिए । रिसले गुत्थ परेको परिवार लिएर घर फर्केको सानुले सम्झियो ।
वकिलले बुनुसँग के–के प्रश्नहरू सोधिरहेका थिए । मैले बुनुलाई फुर्सद मात्र होइन घुम्ने, खाने किनमेल गर्ने, इष्टमित्र भेट्न सँगै जाने भनेर दिएको वाचाहरू पनि पूरा गर्न सकिनँ । कुनै काम गर्नु पर्यो भनेपछि गरिहाल्नुपर्ने उनको बानी छ ।
एकपटक, छिमेकीहरूले कालिञ्चोक भगवतीको दर्शन गर्न दोलखा जाने कार्यक्रम बनाए । मैले साथ दिन नसक्दा उनी पनि गइनन् । त्यो वेला कस्तो नमज्जासँग रिसाएकी थिइन् । मैले धेरै गल्ती गरेछु । सानु थकथकाइरह्यो ।
‘श्रीमान्, म किन सम्बन्ध विच्छेद गर्न चाहन्छु त्यो बारेमा मैले फिरादपत्रमा सबै लेखिसकेको छु । गोपनीयताको हकको सम्मान गर्दै त्यो भन्दा बढी भन्न बाध्य नगरियोस्, म भन्न असमर्थ छु’, बुनुले स्पष्ट गर्दै भनी ।
‘तपाईंलाई आफ्नो श्रीमान्को खानपान, बानीव्यहोरा, व्यवहार वा कुनै परस्त्रीसँग लसपस भएको सम्बन्धमा कुनै शंका छ’ वकिलले बुनुलाई खोतल्दै थियो ।
‘श्रीमान्, उहाँको चरित्र सफा छ । उहाँ मिहिनेती, इमानदार र पारदर्शी हुनुहुन्छ । साथीभाइसँग बरालिने बानी पनि छैन । अफिसको काम र परिवारको चाहनाबीच सन्तुलन कायम गर्न नसक्नु नै उहाँको कमजोरी हो । उहाँले काम र परिवारको सम्बन्ध सन्तुलन गर्न नसक्दा म पीडित भएँ । हाम्रो जीवन जीवन जस्तो भएन । त्यसकारण म उहाँसँग अब सम्बन्ध कायम गर्न नसक्ने टुङ्गोमा पुगेकी हुँ । मलाई पारपाचुके चाहियो’, बुनुको स्वर धोद्रो थियो ।
सानुले बुनुलाई पुलुक्क हेर्यो । आँखा चार भए । सानुका आँखाले हारे । सानु निहुरियो ।
‘बुनुजी, तपाईंलाई मेरो एउटा अन्तिम प्रश्न । तपाईंको पतिले तपाईंमाथि ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्नुभएको हो ? हो भने अदालतमा स्पष्टसँग भन्नुस्, डराउनु वा लाज मान्नुपर्दैन’, वकिलले कालो कोट उचाल्दै सोध्यो ।
श्रीमान्, उहाँ एकदम अनुशासित मान्छे हो । उहाँबाट सेक्सुअल ह्यारेसमेन्टको म कल्पना गर्न पनि सक्दिनँ । उहाँको कमजोरी भनेको नै परिवारलाई भन्दा अफिसको कामलाई बढी महत्व दिनु हो । समाज बदलिएको छ । वैयक्तिकता, स्वतन्त्रता, नेटवर्क, अस्थायित्व आधुनिक समाजका विशेषता बनेका छन् । कमाउने, रमाउने, भविष्यको चिन्ता नगर्ने पिंढीको उदय भएको छ ।
म पनि कमाएर रमाउने वर्गको हुँ । सानुजी र मेरो सोचमा धेरै फरक छ । उहाँ धेरथोर कमाएर भविष्य सुरक्षित गर्न खोज्नुहुन्छ । म वर्तमानमा रमाउन चाहन्छु । उहाँ एक–दुईजोर सर्ट–पाइन्ट, जुत्तामा वर्षौं निर्वाह गर्न सक्नुहुन्छ । नयाँ जुत्ता किन्नुहुन्छ । लगाउनुहुँदैन, राख्नुहुन्छ । राख्दा राख्दै पुरानो हुन्छ ।
मलाई भने हरेक दिन फरक फरक डे«स म्याच गरेर लगाउनुपर्छ । मेरा आफ्नै सोख छन् । उहाँ सोख नभएको मान्छे । म पनि कमाउने भएपछि खानपान, किनमेलमा विवाद रहेको थिएन । हामी दुईको सोचमा फरक भए पनि म सम्झौता गर्दै थिएँ । तर जीवनमा समय र साथको महत्व ठूलो महत्व रहेछ, श्रीमान् । बुनुको आवाजमा आत्मविश्वास थियो ।
‘श्रीमान् महोदय, म मेरो क्लाइन्टका विपक्षीसँग केही जिज्ञासा राख्न चाहन्छु’, बुनुको वकिलले न्यायाधीशसँग अनुमति मागे । वकिल उठेर सानुको नगिच पुग्यो ।
‘राख्नुस्’, न्यायाधीशले अनुमति दिए ।
‘सानुजी, तपाईंले बुनुजीलाई पर्याप्त टाइम दिन नसक्नुभएको हो ?’ वकिलले मलाई हेर्दै प्रश्न गरे ।
‘हो’, सानुको छोटो उत्तर थियो ।
‘तपाईं अबेर गरेर घर आउने । श्रीमतीसँग गफगाफ गर्दा गर्दै निदाएको नाटक गर्ने । तपाईं परस्त्रीगमनमा लिप्त त हुनुहुन्न ?’ वकिलले प्रश्न गरे ।
‘श्रीमान्, यो उहाँमाथि मैले लगाएको आरोप होइन’, बुनु रोष्ट्रमबाटै चिच्याई ।
प्रश्न खारेज । न्यायाधीशले आदेश गरे ।
‘सानुजी, तपाईंले परिवारलाई किन समय दिन सक्नुहँुदैन’, वकिलले प्रश्न गर्न छोडेका थिएनन् ।
श्रीमान्, देशको विकास सरकारी कर्मचारीको काँधमा रहेको हुँदा कर्मचारीले समय दिनुपर्छ भन्ने मेरो मान्यता हो । मैले राष्ट्र निर्माणमा समय दिएको हुँ । देशको न्यून आर्थिक विकासले निम्नमध्यम वर्ग, मध्यम वर्गको जीवन निर्वाह अत्यन्त कठिन अवस्थामा छ ।
कर्मचारीको तलब कम छ । बुनुको अनलाइन व्यापारबाट कहिले राम्रै आम्दानी हुन्छ, कहिले हुँदैन । घर–व्यवहार चलाउन अतिरिक्त पैसा कमाउनुपर्ने भएकाले अतिरिक्त काम गर्नुपर्ने बाध्यता आएको हो । मैले परिवारलाई समय दिन नसकेको साँचो हो । म सजाय भोग्न तयार छु । सानुले प्रष्ट गर्दै भन्यो ।
‘श्रीमान् महोदय, श्रीमान्–श्रीमती बीचको सम्बन्ध जीवन्त बनाउन दुवैको योगदान र त्याग चाहिन्छ । सानुले परिवारका लागि कुनै समय दिन नसक्ने भएपछि वैवाहिक सम्बन्ध जोगाउने जिम्मेवारी बुनुको मात्रै हुनै सक्दैन । यसकारण सानु र बुनु बीचको वैवाहिक सम्बन्ध विच्छेद होस्’, बुनुको वकिलले फैसला माग गरे ।
वादी, प्रतिवादी दुवैको भनाइ, दुवैतर्फका वकिलको राय तथा न्यायिक सिद्धान्त र न्यायिक मनको आधारमा बुनु र सानुबीच कायम रहेको वैवाहिक सम्बन्ध आज अदालतको फैसलाबाट विच्छेद भएको छ । बुनु र सानु अब वैवाहिक जिम्मेवारी पूरा गर्न बाध्य हुने छैनन्, न्यायाधीशले फैसला सुनाए ।
साथै, चितवन जिल्ला अदालत देशमा रहेका तीन तहका सरकारलाई सरकारी कर्मचारीको लागि सम्मानित जीवन निर्वाह गर्न पुग्ने तलब व्यवस्था गर्न, सार्वजनिक कार्यालयमा कर्मचारीको ‘परिवार र कामबीच सन्तुलन’ हुने वातावरण मिलाउन तथा कार्यालय समयभन्दा बाहिर रहेको वा परिवारसँग बसिरहेको समयमा हाकिमको फोन नउठाउन वा काट्न पाउने ‘राईट टु डिसकनेक्ट हक’ कर्मचारीका लागि सुरक्षित गर्ने व्यवस्था गर्न आवश्यक कानून बनाउन आदेश पनि गर्दछ । फैसला सुनाएर न्यायधीश निस्किए ।
दर्शकदीर्घा खाली हुँदैगयो । छोरीहरू पर उभिएका थिए । सानु र बुनु रोष्ट्रममा नै थिए ।
‘बुनुजी, मुद्दा जितियो, बधाई !’ बुनुका वकिल खुशी देखिन्थे ।
बुनु वकिलसँग बाहिर निस्की ।
‘वाई बाबा !’ ‘वाई मामु !’ ‘इन्जोय’, छोरीहरू विदा भए ।
‘पुनरावेदनमा जानुपर्छ’, सानुको वकिल भन्दै थिए ।
सानु विस्तारै बाहिर निस्कियो । बुनु अदालतको गेटमा उभिएकी थिई । बुनुलाई सानु टाढिए जस्तो नरमाइलो लाग्यो ।
‘सम्बन्ध विच्छेद भए पनि बस्ने त त्यही घरमा त होला ? अर्को छैन त’, सानुले बुनुसँग आफ्नो बाध्यता सुनायो ।
‘त्यो घर मेरो हो । हजुर अर्को बन्दोबस्त गर्नुस्’, बुनु कठोर बनेको देखाई ।
‘हस्’ सानु घोसेमुन्टो लगाएर हिंड्यो । अफिसको काम काम भन्दा भन्दै पारिवारिक सम्बन्ध मक्किएको थाहै भएन । बुनु टाढा भएको महसुस भयो । सबै गुमेर सडकमा पुगेको अनुभूतिले चपक्क समात्यो । आफ्नो जीवनशैली सम्झियो ।
बुनुसँग बिहे गरेदेखि सम्बन्ध विच्छेदसम्मका सम्झनाहरू दौडिएर आए ।
दाह्री काटेर आफ्टर सेभ दल्दा मात्रै पनि बुनु भन्थिन्– ‘मेरो बुढा जस्तो ह्याण्डसम कोही छैन ।’
‘कस्तो देखिएको छ ?’ ड्रेस लगाइसकेपछि उनी मलाई सोध्ने गर्थिन् ।
‘सुहाएको छ’ म चिसो मुद्रामा बोल्थें । उनी अर्कैतिर कुरा लैजान्थिन् ।
‘आहा, कति राम्री मेरी बुढी भनेर किन कुनै दिन खुलेर प्रशंसा गर्न सकिन ? त्यसै राम्री, सिंगारिएपछि त अप्सरा नै देखिन्छ्यौ नि ! भन्दै किन गाला चिमोट्न सकिनँ ? उनी जिस्किन खोज्दा किन जिस्किन सकिनँ ?’ सानुलाई पश्चात्तापले जलाउँदै गयो ।
विदाको दिन रमाइलो गरौं, कतै घुम्न जाऔं, रेस्टुराँमा खाऔं भन्थिन् ।
‘मलाई मन छैन’ म सजिलै इन्कार गरिदिन्थें । ‘उनको भावनामा कति चोट पर्यो होला ?’ सानुले गल्ती महसुस गर्दै गयो ।
पसलमा गएर किनमेल गर्दा उनका आँखा राम्रा राम्रा ब्रान्डेड सामानमा जान्थे । एउटा सामान लिएर मलाई कस्तो छ ? भनेर सोध्दथिन् । म सामानभन्दा पहिले मूल्य हेर्थे । योभन्दा त्यो राम्रो हो कि भनेर कम मूल्यको सामान देखाउँथें । ‘हजुुरलाई राम्रो र स्टाइलिस होइन सस्तो भए पुग्छ’ बुनु ठुस्किन्थिन् । मलाई बुनुलाई सुखी र खुशी बनाउने अवसर उपयोग गरेको कुनै सम्झना छैन । सानु दौडेर विगतमा पुग्यो ।
‘परिवार अफिसभन्दा महत्वपूर्ण रहेछ । परिवार छैन त, जीवन छैन’ सानुलाई दिव्य ज्ञान भयो । दौडिएर गई बुनुसँग हजारौं पटक माफ माग्न मन लाग्यो ।
‘हिजो बेडरुमको बत्ती जलेको थियो । बिजुलीको काम ठ्याक्कै आउँदैन, उनलाई । के गर्छिन् कुन्नि ?’ सानु सम्झिंदै लुरुलुरु चौबीस कोठीतिर लाग्यो ।
‘सानु जस्तो लठिभद्रे मान्छे यो दुनियाँमा कोही छैन । आफूसँग कस्ता कपडा छन् ? मैलो र सुकिलो कपडा कुन हो सम्म थाहा नपाउने मान्छे । अफिस जाँदा के लगाएर जानुभयो, कुन्नि ?’ बुनुको ध्यान सानुमा गएर अड्किरह्यो ।
‘सर अब हजुर फ्रि । म्याडमसँग सम्बन्ध विच्छेद भैगो । छोरीहरू विदेश उडी गए । अफिसबाट किन ढिलो भन्ने पनि कोही छैन ? कता हो ? भनेर सोध्ने पनि कोही छैन ।’ साथीहरूले कुरा गर्दा जिस्क्याएको हो कि के हो भनेर सानु जिल्ल पर्दथ्यो ।
‘साथीहरू, परिवार बिर्सेर अफिसको काम गर्दा मेरो जीवन छिन्नभिन्न भयो । तपाईंहरू अफिसको काम र परिवारको सम्बन्धलाई सन्तुलनमा राखेर काम गर्नुहोला’, सानुले आफ्नो अनुभव सुनायो ।
हरेक मानिसमा सबल र कमजोर पक्ष हुन्छ । कमजोरी सच्याउन आफ्ना प्रियहरूको सल्लाह मान्न र अपनाउन ठूलै हृदय चाहिन्छ । आफ्नो कमजोरीबाट आफ्नो प्रियलाई पर्न गएको पीडाको लागि क्षमा माग्नु उदारता हो । रीस र दिग्दारी सहेर गलतलाई सच्चिने अवसर दिनु महान् सहनशीलता हो । पारिवारिक सम्बन्धलाई जोगाउन श्रीमान् श्रीमती दुवैले तीता घटना बिर्सन र गल्ती गर्नेलाई क्षमा दिन तयार हुनुपर्छ । सम्बन्ध विच्छेदपछि बुनु र सानु पश्चात्तापको यात्रामा ‘क्षमा’ खोज्दै भौंतारिइरहे ।
मन्दिरमा दर्शनार्थीहरूको भीड बढ्दै गयो । भीडले बुनु र सानुलाई धकेलेर एकातिर हुत्याइदियो । लड्न लड्न खोजेकी बुनुलाई सानुले चपक्क समात्यो । आँखाहरू चार भए ।
‘बुनु, अलग बस्न थालेको तीन महिना तीन वर्ष जस्तो भइसक्यो । म तिमी विनाको एक्लो जीवन बिताउन सक्दिनँ । मेरा सम्पूर्ण गल्तीहरूको लागि म क्षमा माग्छु । परिवारको महत्व बल्ल मलाई ज्ञान भयो । मलाई माफ गर’, सानुले पिलपिलाउँदै हात जोड्यो ।
‘परिवारभन्दा ठूलो केही रहेनछ । मैले वैवाहिक सम्बन्ध विच्छेद गरेपछि मात्रै महत्व बुझें । एक्लै रमाउन कठिन रहेछ । हामीलाई परिवार र रोजगार दुवै चाहिन्छ । तर, परिवार र रोजगार बीच सन्तुलन राख्न सक्नुपर्ने रहेछ । म भावावेशमा थिएँ । स्वतन्त्र भएर बाँच्न सहज हुन्छ भन्नु पनि गलत रहेछ । म पनि हजुर विनाको जीवन बाँच्न सक्दिनँ । मलाई माफ गर्नुस् ।’ बुनुले सानुलाई गमरङ्ग अँगालो हाली । कोमल मुट्ठीले सानुको छातीमा पिट्दै रुन थाली, ‘छुच्चा ।’
‘काली !’ बुनुको अनुहार हत्केलामा लिएर सानुले गालामा पटक पटक चुप्प चुप्प म्वाईं खायो र चपक्क अँगाल्यो । आँखाहरू पेटभरि रोए ।
मन्दिरमा जम्मा भएका धर्मालुहरूले परर्र ताली बजाए । अँगालोमा बेरिंदै बुनु र सानु मन्दिर भित्र पुगे । गणेशजीको रातो टीकाले अदालतको रातो मसी इरेज गरिदियो ।
प्रतिक्रिया 4