
२१ वैशाख, काठमाडौं । वैकल्पिक राजनीतिको उद्घोषसहित पत्रकारिता छाडेका रवीन्द्र मिश्रले साढे दुई वर्षअघि ‘विचारभन्दा माथि देश’ भन्दै मार्ग परिवर्तन गरेथे ।
दक्षिणपन्थी कित्तामा उभिएको यो अवधिमा राजावादी प्रदर्शनमा जनता उत्रिन थालेको देख्दा उत्साहित थिए । त्यही माहोल देखेर १५ चैतको तीनकुने प्रदर्शनमा ‘संयुक्त आन्दोलन समिति’का ८६ वर्षीय संयोजक नवराज सुवेदी लिएर पुगेथे, मिश्र ।
उनको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित थुप्रै नेताहरु अनुपस्थित रहेको सभामा वरिष्ठ उपाध्यक्ष मिश्र चाहिँ सुवेदीको हात समातेर स्टेजतिर चढाउँदै गरेको देखिएका थिए । तर, औपचारिक सभा सुरु भएको केही क्षणमै सिर्जना भएको परिस्थितिका कारण ३७ दिनदेखि उनको बसाइ हिरासतमा छ ।
प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु, २० जना प्रहरीको गोलीबाट घाइते, भाटभटेनी, जडिबुटी लगायतका सरकारी र निजी सम्पत्तिमा क्षति पुगेपछि त्यही दिन बेलुकी उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ललितपुरको ग्वार्कोस्थित विएण्डबी अस्पतालबाट पक्राउ पर्दा मिश्रसँगै राप्रपा सांसद् धवलशमशेर राणा पनि थिए । तर, दुई साताअघि स्वास्थ्य कारण देखाउँदै प्रहरीले हाजिर जमानीमा उनलाई छाडिसकेको छ ।
केही साता रुम पार्टनर रहेका शमशेर छुटेपछि मिश्र अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा एक्लै छन् । सँगै हुँदा राणालाई आफूले लेखेका कविताहरु सुनाउँथे, भलाकुसारी गर्थे । ‘मैले यति धेरै कविता यति छोटो समयमा अहिलेसम्म लेखेको थिइनँ’, मिश्र भन्छन्, ‘तीमध्ये केही यही आन्दोलनसँग सम्बन्धित छन् ।’
राणा छुटेसँगै मिश्रसँग अहिले कविता सुनाउनलाई समेत साथी छैनन् । र, आफ्नो हिरासत बसाइलाई एक्लै समीक्षा गरिरहेका छन् । यसपटक उनले फेरि नयाँ निष्कर्ष निकालेका छन्, ‘विचारभन्दा मुनि मित्रता ।’
राजावादी विचार राखेकै कारण यत्तिका समयसम्म हिरासतमा रहनु परेको विश्लेषण गरिरहेका मिश्र भन्छन्, ‘मलाई यहाँको बसाइले एउटा कुरा चाहिँ के महसुस गरायो भने विचारभन्दा माथि मित्रता नहुने रहेछ ।’
मिश्रको भनाइमा, यत्तिका समय हिरासतमा रहँदा उनले आफ्ना कयौं पुराना साथीहरु आफूलाई भेट्न आउने अपेक्षा गरेका थिए । पार्टीका नेता, कार्यकर्ता र अरु नयाँ मानिसहरु समेत आइरहँदा ती साथीहरुलाई उनले अझ व्यग्र प्रतिक्षा गरेका थिए । तर, तीमध्ये अधिकांश आएनन् ।
‘मलाई अनौठो लाग्यो, मेरो विचारका कारण उनीहरु भेट्न आएनन्’, मिश्रलाई भेट्न पुगेका निकटस्थसँग उनले सुनाए, ‘त्यो मेरा लागि अनपेक्षित थियो ।’
बाहिर छँदा मिश्र प्रायः हँसमुख र उज्यालो देखिन्थे । हिरासतमा आफूलाई भेट्न आउनेहरुसँग पनि हम्मेसी मुस्कुराउन छुटाउँदैनन् । तर, अनुहारमा थकित भाव झल्कल्छ ।
झुस्स बढेको दाह्री, खुज्मुजिएको सर्टमा उनी पहिलेभन्दा केही भिन्न लाग्छन् ।
आफूसँगै पक्राउ परेका धवलशमशेर छुटिसक्दा पनि एक महिनाभन्दा बढी समयदेखि आफू हिरासतमै रहनुमा आफ्नो पक्षमा लबिङ नपुगेको अनुभूति गर्दैछन् मिश्र ।
कतिपय नेताहरु राप्रपाको नेतृत्वले उनलाई छुटयाउन पर्याप्त दबाब दिन नसकेको बताउँछन् ।
तर, राप्रपा अध्यक्ष लिङ्देनसहितका केही नेताहरु भने नियमित जसो मिश्रलाई भेट्न भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुग्ने गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।
लिङ्देनले मिश्रको रिहाईबारे सबैजसो सार्वजनिक वक्तव्यहरुमा आवाज उठाउँदै आएका छन् । यद्यपि १५ चैतको तीनकुने प्रदर्शन अराजकतातर्फ गएको र त्यसमा आफ्नो पार्टीका उपल्लो तहका नेताहरु समेत मुछिएको प्रसंगलाई भने अध्यक्ष लिङ्देनले निको मानेका छैनन् ।
मिश्रमाथि संगठित अपराध र राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । संगठित अपराधमा प्रहरीले अधिकतम ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।
तर, जिल्ला अदालत, काठमाडौंले १० वैशाखमा बयान सकिएको अवस्थामा बाँकी केही बुझ्नु पर्ने नभए तीन दिनभित्र हाजिर जमानती वा तारेखमा छाड्न आदेश दिएको थियो । त्यसबेला प्रहरीले सरकारी वकिलमार्फत थप अनुसन्धानका लागि २० हिरासतमा राख्न अनुमति मागेको थियो ।
तर, तीन दिनलाई मात्र अनुमति दिएपछि मिश्र उत्साहित भएका थिए । यो आदेशमा आउनु पछाडि उनले हाजिर जमानतमा छाडी पाउँ भन्दै दिएको निवेदनलाई समेत कारण मानिएको थियो । न्यायाधीशले स्वास्थ्य कारण समेत उल्लेख गर्दै थप आधार, प्रमाण नभए हाजिर जमानतमा छाड्न भनेको थियो ।
तीन दिनपछि म्याद थप गर्न लैजाँदा अर्का न्यायाधीशले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिए । यो आदेशपछि आफ्नो हिरासत बसाई थप लम्बिनेमा उनी निश्चित भए ।
हिरासतमा रहँदा उनी युवल नोअ हरारीको ‘सेपियन्स’ पढिरहेका छन्, सागरशमशेर राणाको सिंहदरबार समेत उनको कक्षमा छ । बिहान–बेलुकी भने शुभचिन्तकहरु भेट्न आइरहन्छन्, उनी त्यसैमा अल्मलिन्छन् । तर, नियमित प्रहरीको उपस्थिति र निश्चित समय तोकिएका कारण खुलेर गफिन पाउँदैनन् ।
बिहान उनको कार्यकक्षमा पत्रिकाहरु पुग्छन्, तर फरक विचार भएका कारण कतिपय सन्चारमाध्यमले आफूलाई पर्याप्त स्थान नदिएको उनको गुनासो छ । ‘पत्रिका सबै पढ्छु, तर समाचार आए पनि सानो, एक कोलम मात्र आउँछ’, मिश्र सुनाउँछन्, ‘अनलाइन चाहिँ पढ्न पाउँदिन । आउने साथीभाइले सुनाउँछन् ।’
यो बीचमा प्रहरीलाई उदृत गर्दै पार्टी नेतासँग असन्तुष्ट रहेकोदेखि कतिपय अन्य बोल्दै नबोलेको विषयहरु बाहिर आएको भन्दै आफूलाई अनौठो लाग्ने गरेको उनी सुनाउँछन् । ‘मैले भन्दै नभनेको कुराहरु आउँदा नराम्रो लाग्दो रहेछ’, मिश्र भन्छन्, ‘मलाई अन्याय भएको विषयमा चाहिँ बोलेका छैनन् ।’
खासमा त्यो दिन स्टेजमा आँखै अगाडि अश्रुग्यास खसेपछि आफूले अगाडि जाउँ भनेको उनी बताउँछन् ।
‘तर, त्यहाँ के मैले प्रहरीको घेरा तोड्ने प्रयास गरेको थिएँ ? के संसद्मा आगो लगाऔं भनेको थिएँ ? संसद् घेर्न जाऔं भनेको थिएँ ?’, उनी भन्छन्, ‘मैले कसैको घरमा आगो लगाऔं भनेको थिएँ ? कसैलाई ढुंगा हान भनेको थिएँ ? आन्दोलनमा भएको नेताले बोल्छ, मैले पनि बोलेको हुँ ।’
तर, त्यति बोलेकै भरमा आफूले संगठित अपराध, राजद्रोह गरेको पुष्टि नहुने बताउँछन् ।
प्रहरीले उनलाई नियन्त्रणमा लिन ‘साथीहरु तपाईंहरु विचलित नहुनुस्, सबै अगाडि आउनुस्, अगाडि बढ्नुस्, पछाडि–पछाडि बस्ने होइन, परपर बसेर हेर्ने होइन’ भन्दै दिएको अभिव्यक्तिलाई मुख्य आधार बनाएको थियो । त्यसबेला उनले कमाण्डर सुवेदीलाई सुरक्षित स्थानतर्फ राखिसकेको भन्दै बानेश्वरतर्फ जान आह्वान गरेका थिए ।
उनले शान्तिपूर्ण प्रदर्शनमा धरपकड भएको भन्दै नेपालमा बंगलादेश, सुडान, सिरियाजस्तै अवस्था दोहोरिन सक्ने कडा चेतावनी दिएको भिडियो सार्वजनिक भएसँगै स्थिति भड्काउन भूमिका खेलेको भन्दै सुरक्षा निकायले ध्यानमा लिएको थियो ।
अहिले मिश्रलाई अदालतमा लैजाँदा हत्कडीसहित हिँडाएको र प्रहरीले बोल्न नदिएका दृश्यहरु सार्वजनिक हुँदा उनको पक्षमा समेत सहानुभूति बढ्न थालेको छ ।
लेखक नारायण वाग्लेले मिश्रलाई हत्कडीमा देख्दा दुःखी भएको भन्दै भनेका छन्, ‘दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएर उनी सदस्य सचिवका रुपमा सडकमा खटिएको तीनकुने घटना दोष कति हो, वस्तुनिष्ठ पड्ताल अदालतले गर्ला, अन्याय कसैलाई नहोस् ।’
लेखक एवं पत्रकार सुधीर शर्माले मिश्रको राजनीतिसँग आफ्नो सहमति नभए पनि अनुसन्धानका नाममा उनको हिरासत बसाइ लम्ब्याइरहने र न्यायिक सुनुवाइमा विलम्ब गर्ने तरिका ठिक नभएको टिप्पणी गरेका छन् ।
‘तीनकुने घटनामा उनको संलग्नता राज्यविरुद्धको कसुरको तहमा हो कि हैन, अदालतले चाँडै न्यायिक निरुपण गरोस् । कसैलाई अन्याय नहोस्’, उनी भन्छन् ।
नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी मिश्रको हकमा प्रतिगमनको प्रतिवादका नाममा राज्य प्रतिशोधी बन्न खोजेको हो कि जस्तो देखिएको बताउँछन् ।
‘अनुसन्धान भनेको मुख नमिलेको कुराहरु के हुन् भन्ने विषयमा निक्र्र्यौल गर्ने हो, तर, यसमा बयान सकिएर उनी आफैंले यतिसम्मको संलग्नता स्वीकारिसकेको अवस्थामा थप गर्नुपर्ने काम छ जस्तो लाग्दैन’, उनले थपे, ‘प्रयोगशालाबाट परीक्षण वा अरु केही संकलन गर्नुपर्ने कुराहरु समेत केही नभएको बेला हिरासत बसाइ लम्ब्याइरहनु आश्चर्यजनक कुरा हो ।’
जानकारहरुका अनुसार, प्रहरीलाई ६० दिनसम्म हिरासतमा राख्ने अधिकार भए पनि त्यो न्यायसंगत हुनुपर्छ, त्यही कारण अदालतबाट म्याद थप गर्ने व्यवस्था गरिएको हो ।
अनुसन्धान नसकिएको अवस्थामा अधिकतम त्यतिञ्जेल राख्ने भन्ने यो प्रावधानको मर्म हो, तर प्रहरीले यो अधिकारलाई आफूखुशी प्रयोग गर्ने गरेको छ । यसमा कहिलेकाहीँ अदालतले प्रहरीलाई रोक्ने गरे पनि अधिकांश समय प्रहरीलाई माग बमोजिम अनुमति पाउँदै आएको छ ।
काठमाडौं प्रहरीका अधिकृतहरु भने अझै अनुसन्धान जारी रहेको भन्दै उनीविरुद्ध जुटाइएका प्रमाणबारे खुल्दैनन् ।
‘अनुसन्धान भनेको बयान मात्र होइन, विभिन्न पक्षको विश्लेषण गरेर जाँच गरिरहेका छौं’, काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोरा भन्छन्, ‘त्यसैले आइतबार पनि म्याद थपका लागि उहाँहरुलाई अदालत उपस्थित गराउँदैछौं ।’
प्रतिक्रिया 4