News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले १५ हजार ४ सय ५५ मत पाउँदै प्रतिनिधिसभा सदस्यमा विजय प्राप्त गरिन्।
- राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तेस्रो पटक पराजय बेहोरेर ३ हजार ९ सय ७२ मत प्राप्त गरे र हार स्वीकारे।
- मिश्रले भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको रञ्जुको इमान र दृढता कायम रहोस् भन्दै शुभकामना दिएका छन्।
२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शनाले विजय प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्र पराजित भए ।
२१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य जित्दा मिश्रले भने तेस्रो पटक (ह्याट्रिक) पराजय बेहोरे ।
बिहीबार भएको निर्वाचनमा रञ्जुले १५ हजार ४ सय ५५ मत पाएर जित्दा तेस्रो भएका मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरे । दोस्रो बनेका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाए ।
आफूले तेस्रो पटक पराजय बेहोरेपछि हार स्वीकार्दै मिश्रले भ्रष्टाचार विरुद्ध कटिबद्ध भएर लाग्न भन्दै रञ्जु दर्शनालाई शुभकामना दिए ।
‘प्रिय रञ्जु दर्शनाजी, सम्भवत: मैले १०/११ वर्षअघि तपाईंको यही फोटो भएको लेख सेयर गर्दै, तपाईंको प्रशंसा र तपाईंप्रति आशा व्यक्त गरेको थिएँ,’ मिश्रले सामाजिक सञ्जालमा रञ्जुको फोटो सेयर गर्दै लेखेका छन्, ‘आज पुन: त्यही फोटो प्रेषित गरेर तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु । भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईंको इमान र दृढता सदा कायम रहोस् ।’
अहिले समेत गरेर काठमाडौं–१ को चुनावी मैदानमा तेस्रो पटक होमिएका थिए राप्रपा वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र । यसअघिका दुवै प्रतिनिधिसभा निर्वाचनमा मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।
२०७९ सालको चुनावमा मिश्र कांग्रेस नेता सिंहसँग १ सय २५ मतले पराजित भएका थिए । सिंहले ७ हजार १ सय ४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए ।
२०७४ सालको आम निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्र कांग्रेसका सिंहसँगै ८ सय १८ मतान्तरले पराजित भएका थिए । त्यतिबेला सिंहले १० हजार ९ सय ३६ ल्याएर निर्वाचित हुँदा मिश्रले १० हजार १ सय १८ मत ल्याएका थिए ।

यसपालि कांग्रेसका सिंह चुनावी रेसबाट थिएनन् । दुई पटक पराजय भोगेका मिश्र तेस्रो प्रयासमा भने प्रतिनिधिसभा छिर्नेमा आशावादी देखिन्थे । दुई पटक तगारो बनेका प्रकाशमान सिंह नउठ्नुलाई मिश्रले सबैभन्दा ठूलो अवसर ठानेका थिए । तर, परिणाम उनी अनुकूल आएन ।
‘तेस्रो प्रयासमा विजय हासिल गर्ने हो र पृथ्वीपथमा हिँडेर देशलाई बचाउन र बनाउन योगदान पुर्याउने हो,’ उनले फेसबुकमा लेखेका पनि थिए, ‘पृथ्वीनारायण शाहले काठमाडौंमाथि तेस्रो प्रयासमा विजय हासिल गरेका थिए ।’
६० वर्षीय मिश्र बीबीसी नेपाली सेवाको प्रमुख पद छाडेर राजनीतिमा होमिएका थिए । मिश्रले सन् २०१७ फेब्रुअरी अन्त्यमा बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर साझा पार्टी स्थापना गरेका थिए ।
मिडियाबाट राजनीतिमा प्रवेश गर्दै चेपाङजस्ता वञ्चित समुदायलाई सहयोग गरेका छन् । उनले ‘भ्रष्टाचारीलाई किरा परोस्’ भनेर अभियान समेत चलाएका थिए ।
पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा कल्याणकारी लोकतन्त्रको दर्शन बोकेर स्थापना भएको उक्त पार्टीले स्थापनाको पाँच महिनापछि २०१७ जुलाईमा विवेकशील नेपाली दलसँग एकीकरण गरेको थियो ।
एकतापछि पार्टीको नाम विवेकशील साझा पार्टी राखियो । तर, २०७९ सालको स्थानीय निर्वाचनमा विवेकशील साझाले अनपेक्षित निराशाजनक परिणाम ल्याएपछि खराब नतिजाको पूर्णत: नैतिक जिम्मेवारी लिँदै मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिए ।
मिश्रले अंग्रेजी साहित्य, पत्रकारिता तथा अन्तर्राष्ट्रिय राजनीतिमा क्रमश: त्रिभुवन विश्वविद्यालय (नेपाल), पञ्जाव विश्वविद्यालय (पाकिस्तान) र युनिभर्सिटी अफ लन्डनको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (बेलायत) बाट स्नातकोत्तर गरेका छन् ।

उनले पत्रकार, लेखक, कविको छवि बनाएका छन् । मिश्रले नेपाल टेलिभिजनमा एक वर्ष र पाकिस्तानको लाहोरमा स्नातकोत्तर गर्दै गर्दा त्यहाँको अग्रणी अंग्रेजी दैनिक ‘द न्युज इन्टरनेसनल’ मा दुई वर्ष काम गरेका थिए ।
उनी सन् १९९४ मा कार्यक्रम उत्पादकका रूपमा लन्डनस्थित बीबीसी नेपाली सेवामा आबद्ध भए । मिश्र २००६ मा बीबीसी नेपाली सेवाको प्रमुख भएका थिए ।
बीबीसीमा कार्यरत रहँदा उनले ‘द वर्ल्ड टुडे’, ‘न्युजआवर’ जस्ता चर्चित कार्यक्रममा काम गर्नुका साथै बीबीसी विश्व सेवाको सामाचार कक्षमा पनि काम गरे ।
लन्डनस्थित बीबीसी मुख्यालयमा १५ वर्ष काम गरेपछि सन् २००९ अप्रिलमा उनले स्थायी रूपमा नेपाल फर्कने निर्णय गरे ।
लन्डनमा हुँदा मिश्रले समान सोच भएका साथीहरूसँग मिलेर हेल्प नेपाल नेटवर्क नामक परोपकारी संस्था स्थापना गरे, जसका शाखा १४ देशमा छ ।
हेल्प नेपालले १ सयभन्दा बढी कक्षाकोठा, साना विद्यालय भवन र पुस्तकालय बनाउन सघाएको छ । योे संस्थाले अहिले पनि बाढीपहिरो, आगलागी लगायत विपद्मा नेपालभरि सहयोग गर्ने गर्छ । तर, राजनीतिमा संलग्न भएपछि मिश्रले हेल्प नेपालबाट आफूलाई अलग गरेका थिए ।
यसरी दुई पटकसम्म झिनो मतले काठमाडौं–१ मा पराजित मिश्र यसपालि जित हात पार्ने दाउमा थिए । रोचक त के छ भने कुनै समय एउटै पार्टीमा बसेर काम गरेका रास्वपा उम्मेदवार रञ्जु दर्शना र मिश्र यही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उत्रिए ।
त्यसबाहेक यो क्षेत्रमा कांग्रेसका प्रबल थापा क्षेत्री, एमालेका मोहनराज रेग्मी, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारी लगायत प्रतिस्पर्धामा थिए ।
प्रतिक्रिया 4