६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र प्रतिनिधिसभा निर्वाचन २०७९ मा काठमाडौं–१ बाट व्यहोर्नुपरेको साँघुरो हारलाई सदाका लागि भुल्न प्रयासरत देखिन्छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग अत्यन्तै झिनो मतान्तरले व्यहोर्नुपरेको पराजयलाई उनी विगतको एउटा अध्यायका रूपमा सीमित गर्दै जितको खोजीका लागि घरदैलो गरिरहेका छन् ।
२१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनबाट संसदीय यात्राको सुखद् सुरुवातका लागि मिश्रले सोमबारदेखि चुनाव प्रचार–प्रसारका लागि काठमाडौं–१ मा घरदैलो सुरु गरेका थिए।
उनले घरदैलो कार्यक्रमका लागि मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘बुधबार चाहिँ घरदैलोका लागि बिहान ७ बजे थापाथली, प्रसूति गृहपछाडि जम्मा हुनेछौँ ।’
फेसबुकमा उल्लेख गरिएको सूचनाअनुसार अनलाइनखबरकर्मी ठीक साढे सात बजे थापाथलीको सुकुम्बासी बस्तीमा पुग्दा वरिष्ठ उपाध्यक्ष मिश्र पुराना अभिनेता सम्राट सापकोटासहितका केही व्यक्तिका साथ प्रहरी चौकी नजिकै भेटिए।
एकपछि अर्को गरी राप्रपाका नेता–कार्यकर्ताहरू घरदैलोका लागि सुकुम्बासी बस्ती पुग्न थालेपछि मिश्रको चुनावी प्रचार–प्रसार सुरु भयो । सुकुम्बासी बस्तीमा घरदैलो सुरु हुँदा सात बजेर ४८ मिनेट गएको थियो ।
सुकुम्बासी बस्तीको घरदैलो कार्यक्रमको सुरुवात भयो, स्थानीय ६० वर्षीय चम्बरबहादुर राईबाट। ‘म हलोको। थाहा पाउनुभयो ? थाहा छ, हलो थाहा छ ?,’ मिश्रले आफ्नो र चुनाव चिह्नको परिचय दिँदै गर्दा राईले टाउको हल्लाएर थाहा भएको संकेत गरे।

‘सबैले आएर के–के भने, के–के भने। अब आएर झुट बोल्यो, नचाहिने आश्वासन दियो भने नपत्याउनुहोला है,’ मिश्रको बोली पूरा नहुँदै राईले भने, ‘हुन त सबैले त्यसै भन्छन्। हो त नि भन्यो, भोट दियो। हुँदैन, लास्टमा एकैखाले हुन्छन् सबै।’
उम्मेदवार मिश्र मतका लागि आश्वासनमात्रै दिने, काम नगर्ने नेताहरूका कारण राम्रा नेताको पनि छवि बिग्रिएको भन्दै अगाडि बढे।
केहीपर टहरा छेउमा उभिएकी थिइन्– दुर्गामाया दर्जी। मिश्रले आफ्नो परिचय दिँदै उनीसँग पनि मत मागे। दुर्गामायाको गुनासो थियो, ‘बाबुराम (पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई) को पालामा जस्तो हुने हो कि ?’

सुकुम्बासी बस्तीको घरदैलोका क्रममा मिश्र सुकुम्बासीहरूसँग बारम्बार दोहोर्याइरहेका थिए, ‘भ्रष्टाचारीको घरमा डोजर नचलाउने अनि सुकुम्बासी बस्तीमा डोजर चलाउने राज्यले कहिल्यै न्याय गर्दैन।’
‘सुकुम्बासीको व्यवस्था गर्नुस्, डोजर चाहिँ नपठाउनुस्’
मिश्र आफू निर्वाचित भएर गए संसद्मा सुकुम्बासी समस्यालाई स्थायी रूपमा समाधानका लागि इमानदार भएर पहल गर्ने आश्वासन मतदातालाई दिइरहेका थिए।
‘तपाईंको समस्या समाधान गर्ने काममा मेरो इमान र बुद्धिले भ्याएसम्म मैले राम्रोसँग काम गर्न सकूँ,’ जितको शुभकामना दिएकी हरिमाया जिम्बासँग उनले भने।
सुकुम्बासी समस्या समाधान आयोगलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउँदासम्म समस्या समाधान नहुने मिश्रको भनाइ थियो ।
‘म यो कुरा संसद्मा उठाउँछु। म फटाहा बोलेर भोट माग्दिनँ,’ मिश्रले हरिमायासँग भने, ‘तपाईंको समस्या स्थायी रूपमा समाधान गर्न मैले धेरै कुरा सोचेको छु। त्यो काम म संसद्मा गएर जोडदारसँग गर्छु। यो मैले भोट माग्नमात्रै गरेको होइन।’
नेता मिश्रसँग सुकुम्बासीहरू जितको शुभकामना दिइरहेका थिए। उनीहरू प्रायःको एउटै आग्रह थियो सुकुम्बासीहरूको उचित व्यवस्थापन। हरिमायाले मिश्रलाई जितको शुभकामना दिँदै भनिन्, ‘चुनाव जित्नुस्। सुकुम्बासीको व्यवस्था गर्नुस्। डोजर चाहिँ नपठाउनुस्।’
मिश्रको घरदैलोमा बालेनप्रति गुनासो
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसँग घरदैलोका क्रममा सुकुम्बासी बस्तीका बासिन्दाहरूले काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) प्रति गुनासो गरे।
मत माग्ने क्रममा उनीहरूले गत स्थानीय तह निर्वाचनमा बालेनलाई मत दिएको स्मरण गर्दै जितेपछि बस्तीमा डोजर चलाएको दुःखेसो गरे।
‘भोट बालेनलाई दिएकै हो। जितेपछि सुकुम्बासीहरूको व्यवस्था गर्छु भने,’ बस्तीकै एक पसलमा चिया पिउँदै गरेका जितेन्द्रराज गिरीले मिश्रसँग दुःख साट्दै भने, ‘जितेपछि उठाउने व्यवस्था गरे। डोजर पठाए।’

स्थानीय तह निर्वाचन २०७९ सालमा बालेन ६१ हजार ७६७ मतका साथ काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका थिए। अहिले उनी राजीनामा दिएर झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्री घोषणा गरेको छ।
राप्रपा उम्मेदवार मिश्रको घरदैलोमा सहभागी देखिएका उत्पीडित सुकुम्बासी समितिका सल्लाहकार सुमन चौधरीका अनुसार थापाथलीको सुकुम्बासी बस्तीमा १६२ जना मतदाता छन्। सुकुम्बासी बस्तीपछि मिश्रको टोलीले उत्तर–पूर्वमा रहेको आवासीय क्षेत्रमा पनि घरदैलो गरेको थियो।

मिश्रको विगतको चुनावी परिणाम
आसन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका तर्फबाट उम्मेदवार रहेका नेता मिश्रले काठमाडौँ–१ मा दुईपटक संसदीय निर्वाचनमा पराजय व्यहोरिसकेका छन्। उनी २०७४ र २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका हुन्।
पहिलोपटक उनी विवेकशील साझा पार्टीबाट उम्मेदवार थिए। उक्त निर्वाचनमा ८१८ मत नपुगेर मिश्रको संसदीय यात्रा रोकिएको थियो। कांग्रेस नेता सिंह १० हजार ९३६ मतका साथ विजयी हुँदा उनले १० हजार ११८ मत ल्याएका थिए।
दोस्रोपटक नेता मिश्र राप्रपाबाट उम्मेदवार थिए। तत्कालीन समयमा उनी मात्र १२५ मतले पराजित हुन पुगेका थिए। २०७९ सालको निर्वाचनमा मिश्रले सात हजार १८ मत पाएका थिए। नेता सिंह सात हजार १४३ मत ल्याएर सांसद बनेका थिए।

आसन्न निर्वाचनमा कांग्रेसले काठमाडौँ–१ मा प्रबल थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । यहाँ नेकपा एमालेबाट मोहनराज रेग्मी, नेपाली कम्युनिस्ट पार्टीबाट मेनुका भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रन्जु न्यौपाने उम्मेदवार छन्।
बुधबार बिहान घरदैलोको क्रममा मिश्रसँग अनलाइनखबरले गरेको कुराअनुसार, उनले विगतको झिनो पराजयलाई यसपटक जितमा बदल्न मतदाताबाट पाएको सद्भाव र उत्साहलाई मुख्य आधार बनाएको देखिन्छ। उनले वैकल्पिक राजनीतिको परिभाषालाई परिमार्जन गर्दै देशको अस्तित्व रक्षाका लागि राजसंस्था र राजनीतिक दलहरूबीचको समन्वय अपरिहार्य रहेको तर्क पनि गरे ।
अन्तर्वार्तामा मिश्रले सुशासन, भ्रष्टाचार नियन्त्रण र देशको भविष्यका लागि ‘देशका लागि नरेश’ भन्ने अवधारणासमेत अघि सारे। राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी:

गत निर्वाचनमा झिनो मतले पराजित हुनुभयो। कार्यकाल पूरा नहुँदै संसद् विघटन भयो। प्रतिनिधिसभाका लागि समयअगावै चुनाव भइरहेको छ। कत्तिको उत्साहित हुनुहुन्छ?
यो पटक त हेर्नुस्, पहिला–पहिलाका निर्वाचनमा अन्य पार्टीलाई भोट दिने साथीहरू नै आएर हाम्रो कार्यक्रमहरू ‘अर्गनाइज’ गर्दिराख्नुभएको छ। र, सार्वजनिक रूपमा भिडियोमा तपाईंलाई भोट नदिएर पहिला–पहिला गल्ती गरियो भनेर दोषको अनुभूति गरिराख्नुभएको छ। जुन सार्वजनिकै भएको छ।
त्यसरी अन्य पार्टीका मान्छेहरूले पनि आएर यो पटक प्रचार–प्रसार गर्दिराखेको हुनाले म एकदमै उत्साहित छु। गएको चुनावमा पनि मेरा प्रतिस्पर्धीहरूको ठूल्ठूलो गठबन्धन थियो अथवा त्यतिबेला अन्य लहरहरू थिए। त्यति हुँदा पनि मैले झण्डै–झण्डै जितिसकेको हो। १२५ मत पुगेन। त्यसो हुनाले यो पटक असाध्य धेरै नै सद्भाव पाइराखेका कारण उत्साहित छु।

यसपालि तपाईंका चिरपरिचित प्रतिद्वन्द्वीहरू तपाईंसँग चुनावी मैदानमा हुनुहुन्न। अर्कोतिर पहिलेको जस्तो चुनावी गठबन्धन पनि छैन र अर्को वैकल्पिक शक्तितिर लहर चलेको छ पनि भनिन्छ। यसलाई कसरी लिइराख्नुभएको छ?
नेपालमा वैकल्पिक राजनीतिको भाष्य नै गलत निर्माण गरियो। वैकल्पिक राजनीति भनेको आजभन्दा २०–३० वर्षपछिको नेपाल र भावी पुस्ताको लागि यो देश बस्न योग्य र बाहिर गएकालाई पनि फर्कौं–फर्कौं लाग्न योग्य बनाउन सक्ने राजनीति हो।
त्यो राजनीति भनेको अहिले हामीले वकालत गरेजस्तो नेपालको डेमोक्रेसीको फ्रेमभित्र परम्परागत शक्तिको रूपमा राजसंस्था र आधुनिक शक्तिको प्रतीकको रूपमा राजनीतिक दलहरू दुवैलाई एक ठाउँमा ल्याएर, कसैले कसैलाई निषेध नगरिकन नवीन समझदारीमा गएर यो देशको सुशासनका विषयहरूमा र भ्रष्टाचार नियन्त्रणका विषयहरूमा जे–जस्ता समस्याहरू संविधान र कानुनहरूमा देखिएको छ, त्यसलाई सम्बोधन गर्ने दूरदृष्टि भएको चाहिँ वैकल्पिक राजनीति हो।
तर, यहाँ वैकल्पिक राजनीति भनेर एकदमै गलत भाष्य निर्माण गरिएको छ। त्यो भाष्य चिर्नुपर्ने छ।
तपाईंले पनि राजनीति सुरु गर्दा वैकल्पिक राजनीति भनेर भन्नुभयो। पछि आफैँ परिवर्तन हुँदै अहिले राजसंस्थाको वकालत गरिराख्नुभएको छ। तपाईंको राजनीतिक धारणामा स्थिरता देखिएन नि?
होइन नि! वैकल्पिक राजनीति भनेर आजभन्दा २०–३० वर्षपछिको नेपाललाई मनन गरेर सुशासनका मुद्दाहरू बोकेर राजनीति सुरु गरेको हो। दूरदृष्टि राखेर गरिने राजनीति वैकल्पिक राजनीति हो।
तर, त्यो दूरदृष्टि राखेर राजनीति गर्दैगर्दा पाँच वर्षपछि मलाई के अनुभूति भयो भने नेपाल अब यस्तो गम्भीर भूराजनीतिक सञ्जालको बीचमा फसिसकेको छ। नेपालका आन्तरिक संस्थाहरू, राज्यका संयन्त्रहरू र समाज स्वयं यति धेरै विखण्डित र क्षयीकृत भएर गएको छ।

त्यो समाधान गर्नका लागि सुशासनको मुद्दा समाएर गरिएको वैकल्पिक राजनीतिमा राजसंस्थाको मुद्दा पनि जोडेन भने त्यसले वैकल्पिक राजनीतिको उद्देश्य पूरा गर्ने होइन, देशलाई अग्रगमनतर्फ उन्मुख गर्ने होइन, पश्चगमनतर्फ उन्मुख गर्छ।
यदि राजसंस्थारहित र निषेधको राजनीति नेपालमा गर्ने हो भने त्यो अग्रगामी र वैकल्पिक राजनीति हुन सक्दैन। त्यो पश्चगामी र अप्रगतिशील राजनीति हुन्छ। त्यसकारण मैले वैकल्पिक राजनीति नै गरेको हो अहिले पनि।
तर, वैकल्पिक राजनीति गर्दा नेपालको भविष्यलाई मनन गरेर, भावी पुस्ताको भविष्यलाई मनन गरेर नेपालमा राजसंस्थालाई पनि सँगसँगै लिएर हिँड्न सकिएन भने यो देश नै अस्तित्वको सङ्कटउन्मुख हुन्छ भन्ने मेरो निष्कर्ष हो।
तपाईंले जहिल्यै ‘विचारभन्दा माथि देश’ भन्नुहुन्छ। तर, देशभन्दा माथि एकजना व्यक्तिलाई राख्न खोजिराख्नुभएको छ। तपाईंलाई जनताले कसरी पत्याउने?
होइन, विचारभन्दा माथि देश, देशका लागि नरेश भनिरहेको छु मैले। देश सबैभन्दा ठूलो हो। त्यसकारण मैले के भनेँ, देशका लागि नरेश। देशभन्दा माथि नरेश भनिनँ र त्यो भन्न पनि हुँदैन।
सबैभन्दा माथि देश, त्यो देश बचाउन र बनाउनका लागि जुन–जुन पक्षहरू आवश्यक पर्छ, ती सबै पक्षहरूमा केही न केही कमजोरीहरू होलान्। तर, कमजोरी हुँदाहुँदै पनि देशको लागि ती सबै पक्षलाई एकत्र गरेर हिँड्नुपर्छ भन्ने मेरो मान्यता हो।

चुनावमा आम मतदाताले स्थानीय मान्छे उम्मेदवार खोज्छन्, खोजिरहेका हुन्छन्। काठमाडौँ क्षेत्र नम्बर १ मा तपाईंको संलग्नता के हो? यहाँको अपनत्व के हो?
यस्तो हो नि, नेपालको संविधानले कुनै पनि नेपाली नागरिकलाई कुनै पनि ठाउँबाट उम्मेदवार हुने अधिकार दिएको छ। अहिले बालेनजी झापा गएर लड्दै हुनुहुन्छ। प्रचण्डजी रुकुम गएर लड्दै हुनुहुन्छ। अरू धेरै उम्मेदवारहरू विभिन्न क्षेत्रबाट लडिराखेका छन्। त्यसो हुनाले यो त स्वाभाविक प्रक्रिया हो। यदि कानुनतः बन्देज भइदिएको भए भिन्नै कुरा हुन्थ्यो। यो स्वाभाविक प्रक्रिया हो।
तर, त्यसमा पनि म त अहिले यो घर जग्गाको सबै ‘प्राइस’ (मूल्य) खसेरमात्रै हो। नत्र म अहिले बसिराखेको घर बेचेर एक नम्बर क्षेत्रमै घर किनौँ भन्ने सोच लिएर बसेको मान्छे हो। अहिले अलिकति बजारको स्थिति अनुकूल भइराखेको छैन।
प्रतिक्रिया 4