२२ माघ, ओखलढुंगा । एक महिना अवधिमा चार जनाको हत्या भएपछि असुरक्षित महसुस गरेका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दाले थातथलो छोड्न थालेका छन् । उनीहरूले पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म निर्वाचनमा भाग नलिने घोषणा समेत गरेका छन् ।
भदौरेका समाजसेवी सन्तोषकाजी कार्की भन्छन्, ‘असुरक्षा महसुस गरेर काठमाडौं र धरानतिर बसोबास र आफन्त हुनेहरूले गाउँ छोडिरहेका छन् । बाँकी भएकाहरू दुई/तीन घर जम्मा भएर एकै ठाउँमा आलोपालो सुत्न थालेका छन् ।’
कार्की भन्छन्, ‘किसानका गोठबाट खसी–बोका समेत चोरी भएका छन् । राज्यबाट सुरक्षाको प्रत्याभूति नभएपछि २१ फागुनको चुनाव पनि बहिष्कार गर्छौं भनेका छन् ।’
भदौरेको बोहोरे टोलमा एक साता अघि ८१ वर्षीया चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको अज्ञात समूहले विभत्स हत्या भएको थियो । घटनामा संलग्न हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यसैगरी एक महिना अघि सोही गाउँमा ६० वर्षीय सोभितमान थापामगर र उनकी श्रीमतीको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
राजनीतिक सभा, जुलुस र भेलामा सहभागी नहुने निर्णय
लगातारका हत्या, लुटपाट र हिंसाका घटनापछि गाउँलेहरूले भेला भएर शान्ति सुरक्षा ग्यारेन्टीको माग गरेका छन् । भेलाले राज्य नागरिकको जिउधनको सुरक्षा गर्न असफल भएको र राज्यको कमजोरीकै कारण अपराधीहरूको मनोबल बढ्दै जाँदा सर्वसाधारण नागरिक भय, त्रास र मानसिक तनावमा बाँच्न बाध्य भएको ठहर गरेको छ ।
भेलाले पीडित परिवारलाई न्याय दिलाउने, नागरिक सुरक्षाका सवालमा राज्यलाई दबाब दिने तथा चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने भन्दै कार्कीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ ।
भेलाले जघन्य अपराधको प्रकृति, अपराधको पृष्ठभूमि र समाजमा परेको गम्भीर प्रभावलाई ध्यानमा राख्दै दुर्लभ र क्रूर अपराधमा मृत्युदण्डको व्यवस्था गरिनुपर्ने मागसमेत अघि सारेको छ । यसका लागि संघीय संसदमार्फत कानुन संशोधन गर्न नेपाल सरकारसँग माग गरेको छ ।
राज्यले अपराधीलाई कानुनी दायरामा ल्याई नागरिकको जिउधनको सुरक्षा सुनिश्चित नगरेसम्म तथा आफ्ना मागहरू सम्बोधन नभएसम्म आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने निर्णय समेत गरेको संघर्ष समिति संयोजक कार्कीले जानकारी दिए ।
यस्तै व्यक्तिगत भेटघाटबाहेक कुनै पनि राजनीतिक सभा, जुलुस तथा भेला आयोजना नगर्न सबै दलहरूलाई आग्रह गर्दै त्यस्ता कार्यक्रममा सहभागी नहुने निर्णय पनि भेलाले गरेको छ ।
उक्त सर्वपक्षीय भेलामा नेपाली कम्युनिष्ट पार्टीले ‘नो–भोट’ अभियानप्रति फरक मत राखेको छ । अन्य दलहरु भने ‘नो भोट’मा सहमत छन् ।
सेना–प्रहरी परिचालन गर्न माग
भेलाले तत्काल लागु गर्नुपर्ने अल्पकालीन सुरक्षा व्यवस्थापनका लागि राज्यसमक्ष विभिन्न माग अघि सारेको छ । हत्या घटनामा संलग्न हत्याराहरूलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको सजाय सुनिश्चित गर्नुपर्ने, दोषीहरू कानुनी दायरामा नआउँदासम्म अस्थायी क्याम्प वा पोष्ट स्थापना गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आवश्यक परे नेपाली सेनाको संयुक्त टोली परिचालन गर्नुपर्ने माग गरिएको छ ।
दीर्घकालीन रूपमा नागरिकको सुरक्षा सुनिश्चित गर्न निशंखे प्रहरी चौकीलाई इलाका प्रहरी चौकीमा स्तरोन्नति गर्दै थप जनशक्ति परिचालन गर्नुपर्ने, भदौरे वडामा स्थायी प्रहरी पोष्ट स्थापना गर्नुपर्ने तथा आवश्यक स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्ट व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।
वडा कार्यालयले पनि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग हत्यारालाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम सजाय सुनिश्चित गर्न, पीडित परिवारलाई न्यायको अनुभूति गराउन तथा वडाका मुख्य चोक र सडकहरूमा सीसी क्यामेरा जडान गरी निगरानी व्यवस्था गर्न माग गरेको वडाअध्यक्ष बलराम कटवालले जानकारी दिए ।
जिल्लास्थित विभिन्न राजनीतिक दलहरूले भदौरे गाउँको घटनाले चुनाव प्रभावित हुन सक्ने भन्दै सुरक्षा व्यवस्था चुस्त बनाउन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया 4