+
+
Shares

आजदेखि स्काइप बन्द, यी हुन् जान्नैपर्ने ५ कुरा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १३:०९

कुनै बेलाको सर्वाधिक लोकप्रिय तथा चर्चित भिडियो कलिङ प्लाटफर्म स्काइप अन्ततः आजदेखि बन्द हुँदैछ ।

विश्वभर ३० करोडसम्म प्रयोगकर्ता रहेको स्काइपलाई मे पाँचदेखि बन्द गरिने घोषणा माइक्रोसफ्टले गत फेब्रुअरीमै गरेको थियो ।

२२ वर्षअघि सन् २००३ मा सुरु भएको स्काइप इन्टरनेट जगतमा जूम, ह्वाट्सएप, टिम्स जस्ता प्रतिस्पर्धी प्लाटफर्महरु नआउँदासम्म निकै लोकप्रिय थियो । तर, यसको मातृ कम्पनी माइक्रोसफ्टले नै टिम्समा जोड दिएर स्काइपलाई थप अपडेट गरेन र अन्ततः बन्द गर्ने निर्णयमा पुग्यो ।

सोमबारदेखि आम प्रयोगकर्ताका लागि स्काइप उपलब्ध हुनेछैन । बिजनेस युजर्सका लागि भने स्काइप अझै उपलब्ध हुने माइक्रोसफ्टले जनाएको छ  ।

स्काइप बन्द गर्ने निर्णयबारे एक ब्लग पोस्टमा माइक्रोसफ्टले भनेको छ- हाम्रो नि:शुल्क उपभोक्ता सञ्चार सेवालाई मूलप्रवाहीकरण गर्नका लागि हामीले स्काइपलाई बन्द गरी माइक्रोसफ्ट टिम्समा केन्द्रित हुनेछौं । यो हाम्रो आधुनिक सञ्चार तथा सहकार्यको हब हो ।

स्काइप बन्दका विषयमा ५ महत्वपूर्ण तथ्य यस्ता छन् –

  • माइक्रोसफ्टले घोषणा गरे अनुसार आज स्काइपको अन्तिम दिन हो । यो कदम माइक्रोसफ्टको सञ्चार सुविधालाई मूलप्रवाहीकरण गर्ने तथा टिम्सलाई व्यक्तिगत तथा सहकार्यात्मक अन्तरक्रियाको केन्द्रीय प्लाटफर्म बनाउने रणनीतिको एक हिस्सा हो । आफ्ना सेवालाई एकत्रित गरेर माइक्रोसफ्टले एकीकृत तथा आधुनिक सञ्चार हबको सिर्जना गर्ने लक्ष्य राखेको छ ।
  • यो घोषणा पश्चात् माइक्रोसफ्टले नयाँ प्रयोगकर्ताका लागि सशुल्क स्काइप सर्भिसको बिक्री पनि बन्द गरेको छ । साथै स्काइप क्रेडिट र कलिंग प्लानहरु पनि बन्द भएका छन् ।
  • तर विद्यमान सशुल्क प्रयोगकर्ताहरुले भने उनीहरुको अहिलेको बिलिङ साइकल कायम रहँदासम्म स्काइपको सेवा लिन पाउनेछन् । साथै सशुल्क प्रयोगकर्ताले स्काइप वेब पोर्टल वा माइक्रोसफ्ट टिम्समार्फत् स्काइप डायल प्याडको प्रयोग गर्न सक्नेछन् । तर, एकपटक त्यसको प्रयोग सकिएपछि स्काइपलाई बिदाइ गर्नुपर्नेछ ।
  • स्काइप प्रयोगकर्ताका डेटाहरुको सहज हस्तान्तरणका लागि माइक्रोसफ्टले गत फेब्रुअरीदेखि हालसम्म स्काइपका डेटालाई टिम्समा सार्न प्रयोगकर्तालाई समय उपलब्ध गराएको थियो । यस अवधिमा प्रयोगकर्तालाई स्काइपबाट टिम्समा संक्रमणमा उसले आफ्नो स्रोत र सहयोग उपलब्ध गराएको थियो ।
  • स्काइप प्रयोगकर्ताहरु टिम्समा सर्ने सजिलो तरिका छ । स्काइपकै युजरनेम र पासवर्डबाट टिम्समा लगइन गर्न सकिनेछ । स्काइपमा सुरक्षित कन्ट्याक्ट्स, च्याट तथा कल हिस्ट्री आफै टिम्समा सर्नेछन् । स्काइपमा रहेका सबै आधारभूत सुविधा टिम्समा उपलब्ध छन् ।

स्काइपको इतिहास

सन् २००३ को अगष्टमा जाहटी हिन्ला, प्रिट कासेसालु, जान टालिन, जानुस फ्रिस र निकलस जेन्स्ट्रोमले स्काइपको स्थापना गरेका थिए । सुरुमा कम्प्युटरबाट कम्प्युटरमा भ्वाइस कलका लागि डिजाइन गरिएको स्काइपमा पछि भिडियो कल लगायतका विभिन्न फिचर्स थपिएको थियो।

सन् २००५ को सेप्टेम्बरमा स्काइप बिक्री भयो । इ कमर्श कम्पनी इबेले २ अर्ब ६० करोड डलरमा स्काइप खरीद गर्‍यो ।

त्यसपछि सन् २०११ मा माइक्रोसफ्टले ८ अर्ब ५० करोड डलरमा स्काइप खरिद गर्‍यो र आफ्नो विन्डोज लाइभ मेसेन्जरलाई स्काइपले प्रतिस्थापन गर्‍यो ।

स्काइप (skype) को नाम Sky peer-to-peer भन्ने शब्दावलीबाट बनेको हो । यसलाई सुरुमा skyper भनिए पनि त्यो डोमेन नाम उपलब्ध नभएपछि अन्तिमको आर अक्षर हटाएर क्पथउभ नाम राखेर वेबसाइट दर्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?