
२२ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपा एमालेका सांसद सुर्य थापाले सांसद गीता बस्नेतको खोजीमा सहयोग गर्न उनकै पार्टी राप्रपालाई आग्रह गरेका छन् ।
‘छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस्,’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।
राप्रपाकी सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् ।
नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।
छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो ।
चितवनको सनराइज सहकारीबाट तीनजना व्यक्तिको नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको प्रहरीको प्रतिवेदनमा छ । बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा समेत २५ लाख निकालेर रिसोर्टमा लगानी भएको छ ।
नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी सांसद बस्नेत भने पक्राउ पुर्जी जारी भएयता १ वर्षदेखि फरार भएकी हुन् ।
प्रतिक्रिया 4