+
+
Shares

बिनायो बाजा बनाउने सात दिने प्रशिक्षण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १९:१३

२१ वैशाख, काठमाडौं । किरातीको परम्परागत बजा बिनायो बनाउने सात दिने प्रशिक्षण सुरु भएको छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको आर्थिक सहयोगमा किरात मुन्दुम अध्ययन केन्द्रले प्रशिक्षण सञ्चालन गरेको हो ।

ललितपुरको नखिपोटमा हुने प्रशिक्षण कार्यक्रमको आज उद्‍घाटन गरिएको छ ।

किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईले यो प्रशिक्षणले किराती समुदायको सांस्कृतिक बाजा बिनायो संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रशिक्षणमार्फत् नयाँ पुस्ताले परम्परागत मौलिक बाजा निर्माण मात्र नभएर बजाउन पनि सिक्ने अपेक्षा रहेको उनले बताए ।  ‘किरात मुन्दुम अध्ययन केन्द्रले ‘किरात मुन्दुम रिसिया’ पुस्तक प्रकाशन गरेर मुन्दुम दस्तावेजीकरणमा ठूलो योगदान गरेको छ’, उनले भने, ‘परम्परागत बाजा बिनायो प्रशिक्षण कार्यले पनि लोप हुन लागेको यो मौलिक बाजाको संरक्षणमा युवा पुस्तालाई जोड्नेछ ।’

केन्द्रका अध्यक्ष तथा गायक÷स‌ंगीतकार जीतेन राईले अब शास्त्रीय कला तथा सङ्गीतको अन्वेषण गर्नुपर्ने समय भएको बताए । ‘समाजलाई सुसंस्कृत बनाउनका लागि हामी सचेत हुनुपर्छ’, उनले भने, ‘हामीले हाम्रा शास्त्रीय संगीत र संस्कारहरू खोजी गर्ने बेला भएको छ ।’ यस्ता चिजहरूलाई प्राज्ञिक क्षेत्रमा अभ्यास तथा अन्वेषणको खाँचो रहेको उनले बताए । शैक्षिक क्षेत्रमा यस्ता विषयको बहस तथा शिक्षण सिकाइ हुनुपर्ने उनको भनाइ छ । शैक्षिक क्षेत्रमा यसको प्रवेशले मात्र दिगो रूपमा बचाइराख्न सकिने उनको धारणा छ ।

शनिबारसम्म चल्ने प्रशिक्षणमा २० जना प्रशिक्षार्थी सहभागी छन् । उनीहरूलाई दुई जना प्रशिक्षकले बिनायो बनाउन सिकाउने किरात मुन्दुम अध्ययन केन्द्रका अध्यक्ष जीतेन राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?