News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा नर्सहरूको समर्पण र संघर्षको चर्चा भए पनि कार्यस्थल असुरक्षा, जनशक्ति अभाव र अन्यायपूर्ण व्यवहार जस्ता समस्या उस्तै रहेका छन्।
आज अन्तर्राष्ट्रिय नर्स दिवस।
फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसरमा विश्वभर नर्सिङ पेसाप्रति सम्मान व्यक्त गरिँदैछ । यस दिवसका अवसरमा आज नेपालमा औपचारिक वक्तव्य, शुभकामना तथा नर्सहरूका तस्वीरले सामाजिक सञ्जालमा छाइरहेका छन् ।
यस खालको दिवस हरेक वर्ष आउँछ । अनि औपचारिकता पनि उही रहन्छ । नर्सहरूको समर्पण, धैर्यता र संघर्षबारे गुणगान पनि गाइन्छ ।
तर यथार्थमा वर्षौंदेखि नर्सको पीडा जस्ताको त्यस्तै छ । नर्सहरू बिना स्वास्थ्य प्रणाली चल्दैन, बिरामीको उपचारमा नजिक रहेर सबैभन्दा बढी खटिने जिम्मेवारी नर्सकै हुन्छ तर यसको उचित मूल्यांकन भने देखिँदैन ।
अहिले पनि नर्सहरू भित्रभित्रै पीडा, निराशा र उपेक्षाका साथ संघर्ष गरिरहेका छन् ।
त्यही भीडभित्रको एक पात्र म आफैं पनि हुँ ।
एक नर्स, एक स्वास्थ्यकर्मी, र सुधारको पक्षमा निरन्तर आवाज उठाइरहेको नागरिक।
नयाँ सरकार गठन हुँदा र एक नर्स स्वास्थ्य मन्त्री बन्नुभएको समाचारले नर्सिङ समुदायमा असाधारण आशा जगाएको थियो । त्यो आशा स्वाभाविक थियो । किनभने पहिलो पटक नर्सहरूको पीडा बुझ्ने, नर्सिङ पेसाको मर्म बुझ्ने व्यक्ति त्यो पदमा पुगेको थियो । लाग्थ्यो अब नर्सिङ पेसाले नीतिगत तहमा वास्तविक प्रतिनिधित्व पाउँनेछ । अब कार्यस्थलको असुरक्षा, श्रम शोषण, जनशक्ति अभाव, अन्यायपूर्ण व्यवहार र राजनीतिक हस्तक्षेपमाथि गम्भीर हस्तक्षेप हुनेछ । सुशासन केवल नारामा होइन, व्यवहारमा देखिनेछ भन्ने आशा धेरै नै थियो।
तर आज, महिनौँ बितिसक्दा पनि, नर्सिङ पेसा र समग्र स्वास्थ्य क्षेत्रमा कुनै उल्लेखनीय सुधारको संकेत देखिएको छैन । नर्सका समस्या उस्तै छन्।
असुरक्षित कार्यस्थल उस्तै छन् । अत्यधिक कार्यबोझ उस्तै छ । जनशक्ति अभाव उस्तै छ। सेवा, श्रम र समर्पणको अवमूल्यन उस्तै छ । नीतिगत अन्याय उस्तै छ।
यो केवल असन्तुष्टिको अभिव्यक्ति होइन, यो राज्यको जिम्मेवारीमाथिको प्रश्न हो।
सबैभन्दा पीडादायी कुरा त के छ भने संसदमा नर्सहरूको प्रतिनिधित्व हुँदाहुँदै पनि नर्सहरूको आवाज प्रभावकारी रूपमा उठिरहेको देखिँदैन । हामीले सोचेका थियौँ, प्रतिनिधित्वको अर्थ आवाज बन्नु हो, प्रश्न उठाउनु हो, नीति बदल्नु हो । तर व्यवहारमा त्यसको उल्टो देखिँदैछ ।
हाम्रो अपेक्षा थियो उहाँहरू हाम्रो पीडा बोल्नुहुनेछ, हाम्रो पक्षमा उभिनुहुनेछ, नीति निर्माणमा दबाब सिर्जना गर्नुहुनेछ । तर आजसम्म नर्सहरूको सवालमा स्पष्ट, सशक्त र जिम्मेवार हस्तक्षेप देखिएको छैन ।
यसले हामीमाझ थुप्रै प्रश्नहरू जन्माएको छ । आशा निराशामा बदलिँदैछ ।
संसदमा हाम्रो प्रतिनिधित्व बोल्नका लागि भएको हो, कि मौन बस्नका लागि ? के समावेशीकरण केवल प्रतीकात्मक उपस्थितिमा सीमित भएको हो ?
के सत्ता र पदले पीडितको आवाजलाई अझै कमजोर बनाइरहेको छ ?
म आज नर्सको पीडा बोलिरहेको छु, तर यो केवल नर्सिङ पेसाको मात्रै मुद्दा होइन । यो सम्पूर्ण स्वास्थ्य प्रणालीको प्रश्न हो । स्वास्थ्यकर्मीको सम्मान, सुरक्षा, उचित मूल्यांकन र नीतिगत न्यायबिना कुनै पनि स्वास्थ्य प्रणाली सबल हुन सक्दैन । नर्सलाई उपेक्षा गरेर, स्वास्थ्यकर्मीलाई थिचेर, र श्रमलाई तुच्छ ठानेर कहिल्यै पनि गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन।
अन्तर्राष्ट्रिय नर्स दिवसको दिनसम्म पनि नर्सहरूलाई सम्बोधन गर्दै भरोसा जगाउने, घाउमा मलम लगाउने, परिवर्तनको स्पष्ट प्रतिबद्धता दिने शब्द राज्यबाट सुनिएको छैन ।
यो मौनता केवल निराशाजनक होइन, अपमानजनक छ । यो मौनताले देखाएको छ नर्सको योगदानलाई तालीसम्म सीमित गरिन्छ, तर अधिकारसम्म पुर्याइँदैन ।
स्वास्थ्यकर्मीहरू केवल फोटो, नारा र औपचारिक सम्मानका पात्र होइनन्। उनीहरू स्वास्थ्य प्रणालीको मेरुदण्ड हुन् । र मेरुदण्ड नै लगातार उपेक्षित भइरहँदा ‘ह्याप्पी नर्सेस डे’ को औपचारिकता अब पर्याप्त छैन।
सम्मान शब्दमा होइन, नीतिमा देखिनुपर्छ । सम्बोधन कार्यक्रममा होइन, कार्यस्थलमा देखिनुपर्छ । शुभकामनामा होइन, सुधारमा देखिनुपर्छ ।
नर्स दिवस फोटो, स्टाटस र औपचारिक कार्यक्रममै सीमित नहोस्।
यो दिन स्वास्थ्य मन्त्रालयले आत्मसमीक्षा गर्ने दिन बनोस् । नर्सहरूको आवाज सुनिने दिन बनोस् । नर्सिङ पेसाका संरचनागत समस्या समाधानको स्पष्ट रोडम्याप प्रस्तुत गर्ने दिन बनोस् ।
र स्वास्थ्यकर्मीको सम्मानलाई व्यवहारमा लागू गर्ने दिन बनोस्।
अन्त्यमा, मेरो आग्रह यति मात्र हो ।
नर्सलाई केवल उत्सवको विषय नबनाइयोस् । नर्सलाई नीतिगत प्राथमिकता बनाइयोस् । किनकि नर्सको पीडा नसुनी न्यायपूर्ण स्वास्थ्य व्यवस्था बन्दैन र नर्सलाई सम्मान नगरी स्वास्थ्य सुधारको दाबी केवल नारा मात्रै रहन्छ ।
प्रतिक्रिया 4