+
+
Shares
सानदार सामुदायिक स्कुल :

पोखरिया मावि : अंग्रेजी माध्यमले उकासेको गुणस्तर

अंग्रेजी माध्यममा गुणस्तरीय पढाइ, उत्कृष्ट नतिजा र विद्यार्थीको हेरचाहका कारण विराटनगरको पोखरिया माध्यमिक विद्यालय देशकै नमूना बनेको छ । विद्यालयमा ३ हजार ७०० को हाराहारीमा विद्यार्थी अध्ययन गर्छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ वैशाख २२ गते १२:५९

सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्कहरू तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कुलमै खनिएको थियो भन्न सकिन्छ ।

तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।

यस वर्षमा सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्‍यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।

यावत प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थीहरू पढाइरहेका छन् र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमुना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं ।  – सम्पादक

विराटनगर । देशका धेरै सामुदायिक विद्यालय विद्यार्थी नपाएर मर्ज हुने अवस्थामा छन् । विराटनगरको पोखरिया माध्यमिक विद्यालय भने विद्यार्थी बढी भएर कक्षाकोठा थप्दैछ । विद्यार्थीको अत्यधिक चापका कारण यो विद्यालयले हरेक वर्ष प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्छ ।

सामुदायिक विद्यालय भएर पनि पोखरिया माविप्रति यतिविघ्न आकर्षण किन र कसरी भयो ? यसको जवाफ हो– संस्थागत विद्यालयको जस्तै पढाइ, राम्रो नतिजा, विद्यार्थीको हेरचाह र अध्ययनको वातावरण ।

२०१६ सालमा स्थापना भएको पोखरिया माध्यमिक विद्यालय शुरूदेखि नै राम्रो विद्यालयमा गनिन्थ्यो । बोर्डिङ स्कूल थपिंदै गएपछि भने यो विद्यालयमा विद्यार्थी संख्या घट्दै गयो । र, झण्डै–झण्डै मर्ज हुने अवस्थामा पुग्यो ।

तर, विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्‍यो । कक्षा १ देखि नै अंग्रेजी माध्यममा पढाउन र राम्रो नतिजा ल्याउन थाल्यो । त्यसपछि विस्तारै जुर्मुराएको यो विद्यालय अहिले देशकै नमूना बनेको छ । प्रधानाध्यापक खेमराज भट्टराईले खस्कँदै गएको पोखरियाको साखलाई माथि उठाएका छन् ।

६ कट्ठा क्षेत्रफलमा फैलिएको विद्यालयले नमूना उपाधि पाइसकेको छ । ‘विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास नै हाम्रो सफलताको मुख्य कारण हो’ प्रधानाध्यापक भट्टराई भन्छन्, ‘त्यो विश्वास आर्जन गर्न विद्यालयले गरेको मिहिनेत, शिक्षण विधिमा ल्याएको परिवर्तन र नतिजामा पारेको सकारात्मक प्रभाव मुख्य कारण हो ।’

२०५३ सालमा भट्टराईले पढाउन शुरू गर्दा पोखरिया माविमा ७५० बढी विद्यार्थी थिए । २०६७/६८ मा आइपुग्दा विद्यार्थी संख्या घटेर ३५० पुग्यो । यो संख्या निरन्तर घट्दो थियो । गोविन्दप्रसाद ओझाले अवकाश पाएपछि २०६८ सालमा भट्टराई प्रधानाध्यापक बने । प्रधानाध्यापक बनेकै वर्ष उनले अंग्रेजी माध्यम शुरू गरे । जसले विद्यालयको पहिचान नै फेरियो ।

‘विद्यार्थी घट्दै गएपछि व्यापक छलफल गरियो, सबैको सल्लाहमा २०६८ सालमा कक्षा १ बाट अंग्रेजी माध्यम शुरू भयो’ उनी भन्छन्, ‘प्राइमरी लेभलबाट मात्रै लैजाँदा नतिजा ढिलो हुने भएकाले २०७० बाट कक्ष ८ र ९ मा शुरू गरियो । २०७१ बाट कक्षा ६ देखि नै अंग्रेजी माध्यम बनाइयो ।’ १० वर्षको अन्तरमा पोखरिया पूर्ण रूपमा अंग्रेजी माध्यममा पढाइ हुने विद्यालय बनेको छ ।

भट्टराईका अनुसार पोखरियालाई २०७१ सालको एसएलसी नतिजाले देशभर चिनायो । १६ जना विद्यार्थीले डिस्टिङ्सन ल्याएपछि पोखरियाको पहिचान फेरियो । ‘२०७१ सालको एसएलसीमा अंग्रेजी माध्यमबाट ४२ जनामध्ये १६ जनाले डिस्टिङ्सन ल्याए । यो नतिजाले अभिभावकको आकर्षण बढ्यो’ उनले भने, ‘२०७२ सालबाट विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिनुपर्ने अवस्था आयो ।’

२०८१ सालसम्म पोखरिया माविमा मन्टेसरीदेखि कक्षा १२ सम्म ३ हजार ७०० बढी विद्यार्थी थिए । यो वर्ष ५०० विद्यार्थी थप भर्ना गर्ने योजना छ । विद्यार्थी भर्ना गर्नकै लागि यो विद्यालयमा सोर्सफोर्स आउँछन् । तर विद्यालयले प्रवेश परीक्षामा सामेल गराएर मात्रै विद्यार्थी भर्ना लिन्छ ।

पोखरिया माविमा शिक्षक दरबन्दी ३७ जनाको छ । त्यो संख्याले ३ हजार ७०० विद्यार्थी पढाउन सक्दैन । त्यसैले, आन्तरिक स्रोतबाट थप गरी जम्मा १२६ जना शिक्षक/कर्मचारी यो विद्यालयमा कार्यरत छन् । ३९ जना बाहेक अरू शिक्षक/कर्मचारीको तलब–भत्ता अभिभावकको सहयोगबाट भुक्तान हुन्छ । सहयोगका लागि पनि निश्चित मापदण्ड तोकिएको प्रधानाध्यापक भट्टराईले बताए ।

२०७० सालसम्म १५ वटा कक्षाकोठा मात्रै थिए, पोखरिया माविमा । त्यसयताको ११ वर्षमा कक्षाकोठा संख्या ९० पुगेको छ । विद्यालय भवनमा विद्यार्थी नअटेपछि कक्षा ३ सम्मका लागि छुट्टै घर भाडामा लिएर कक्षा सञ्चालन भइरहेको छ । ९९ वर्षका लागि जग्गा भाडामा लिएर पोखरिया माविको २८ कोठे भवन पनि बन्दैछ । यो भवन असार मसान्तसम्म तयार हुनेछ । यो भवन बनेपछि विद्यार्थीको संख्या थप हुने भट्टराईले जानकारी दिए ।

‘दुई बिघा जग्गा भएका विद्यालयलाई मात्रै नमूना बनाउने नीति राज्यको थियो । तर काम गर्ने हो भने सानै ठाउँमा पनि नमूना बन्न सकिन्छ भन्ने उदाहरण हो पोखरिया मावि’ उनले भने, ‘नमूना भएपछि भने हामीले भौतिक संरचना थप गरेका छौं ।’

भट्टराईका अनुसार पोखरिया माध्यमिक विद्यालय सरकारी लगानीमा मात्रै सञ्चालन गर्न सम्भव छैन । विद्यालय सञ्चालनका लागि अभिभावकबाट स्वेच्छिक सहयोग संकलन हुन्छ । ‘सरकारले लगानी गरेर मात्रै विद्यालय चल्ने अवस्था देखिएन, हामीलाई सरकारी लगानी पर्याप्त भएन’ उनले भने, ‘अभिभावकको लगानी बढेपछि मात्रै शैक्षिक गुणस्तरमा सुधार आएको छ ।’ अन्य सामुदायिक विद्यालयमा पनि अभिभावकले लगानी शुरू गरेपछि शैक्षिक गुणस्तर सुधार भएको उनले बताए ।

मोरङमा अंग्रेजी माध्यम शुरू गर्ने पहिलो विद्यालय हो पोखरिया । अंग्रेजी माध्यम शुरू गर्दा भने निकै सहज अवस्थाको सामना गर्नुपर्‍यो विद्यालयले । राजनीतिक दल र निजी विद्यालयले असहयोग गरे । सामुदायिक विद्यालयले अंग्रेजी पढाउन हुँदैन भन्ने बहस पनि चल्यो । तर पोखरियाको नतिजाबाट हौसिएर अन्य विद्यालयले पनि अंग्रेजी माध्यम शुरू गरेका थिए । पछिल्लो समय आदर्श, सत्यनारायण, जनपथ, सरस्वती लगायत विराटनगरका विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन शुरू गरेका छन् ।

विद्यालयको सेवा क्षेत्र विराटनगर महानगरपालिकाको १ र ३ नम्बर वडा हो । पोखरियामा पढ्नका लागि सुनसरी, सप्तरी, सिरहा, संखुवासभा, भोजपुर, धनकुटा, झापासम्मका विद्यार्थीले प्रवेश परीक्षा दिन्छन् । मधेश प्रदेशको जनकपुरसम्मका विद्यार्थी पनि आउने प्रधानाध्यापक भट्टराईले बताए । पोखरियामा प्रवेशका लागि विद्यार्थीले खुला प्रतिस्पर्धा गर्नुपर्छ । विराटनगर १ र ३ का विद्यार्थीलाई भने प्राथमिकता दिइने उनले बताए ।

‘यहाँका अभिभावकलाई अलिक बढी महत्व दिएका छौं, नजिकका विद्यालयमा पढ्नुपर्छ, सबै विद्यालय सबल हुनुपर्छ भन्ने मान्यता हाम्रो हो ।’

उनका अनुसार विद्यार्थीलाई स्कूलबाट घरसम्म पुर्‍याउनका लागि पोखरिया माविमा तीन वटा स्कूल बस छन् । विद्यालयको मन्टेसरीदेखि १२ सम्म, कक्षा ११ र १२ को शिक्षा बाहेक सबै कक्षा अंग्रेजी माध्यममा छन् । जसले गर्दा पोखरियाले छुट्टै पहिचान बनाएको छ  ।

‘सामुदायिक विद्यालय सफल हुने सूत्र के हो ?’ भन्ने प्रश्नमा पोखरिया माविका प्रधानाध्यापक भट्टराईको सहज उत्तर हुन्छ, ‘स्पष्ट भिजन ।’ यसका साथै प्रधानाध्यापक, शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । ‘शिक्षकमा मात्रै हामी गर्छाैं भन्ने धारणा बन्यो भने विद्यालयमा ५० प्रतिशत सुधार हुन्छ’, उनी भन्छन् ।

शिक्षकले अठोट गरेपछि अभिभावकको पनि सहयोग चाहिन्छ । अभिभावकको सहयोग लिनका लागि विद्यालय व्यवस्थापन समिति सबल बन्नुपर्छ । पोखरियाको परिवर्तन शिक्षक र अभिभावक बीचको सहकार्य भएको उनी बताउँछन् ।

‘हामी सरकारलाई गाली गर्छाैं, भएन भन्छौं तर आफैंसँग भिजन भएन भने गाह्रो हुन्छ’ प्रधानाध्यापक भट्टराईले भने, ‘आन्तरिक व्यवस्थापन चुस्त भयो र अभिभावकको मन जितियो भने सामुदायिक विद्यालय सुधार हुन्छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?