
काठमाडौंं । अभिनेत्री नीति शाहले अमेरिकाको न्यूयोर्कमा आयोजित ‘८८४८ हिमालय म्युजिक एण्ड फिल्म अवार्ड’मा सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको पुरस्कार जितेकी छन् ।
नेपाली समयानुसार सोमबार बिहान न्यूयोर्कस्थित मेलरोज बलरुमको हलमा अवार्ड वितरण गरिएको थियो । दशैंमा प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’बाट नीतिले अवार्ड जितेकी हुन् ।
अभिनेत्री पूजा चन्दले नीतिलाई अवार्ड हस्तान्तरण गरिन् । ‘अवार्डले मलाई अभिनय कर्ममा सक्रियता र ऊर्जाशिल भएर लाग्ने प्रेरणा दिएको छ’ अवार्ड जितेपछि नीतिले न्यूयोर्कबाट अनलाइनखबरसँग भनिन् ।
अवार्ड समारोहमा राजेश हमाल र शम्भुजीत बासकोटासहित अमेरिकामा बसोबास गर्दै आएका कलाकार पनि सहभागी रहे । हमाल र बासकोटा प्रमुख अतिथि थिए । समारोहमा विजय बरालले ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेताको अवार्ड जिते ।
‘छक्कापञ्जा ५’बाट केदार घिमिरे माग्ने बुढाले उत्कृष्ट कमेडी भूमिकामा पुरस्कार जिते । ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित भयो । स्वस्तिमा खड्काले ‘बेहुली फ्रम मेघौली’बाट उत्कृष्ट अभिनेत्री, समीर भट्टले ‘१२ गाउँ’बाट उत्कृष्ट डेब्यु अभिनेता, शंकर घिमिरे ‘तेलभिसा’बाट उत्कृष्ट निर्देशक र ऋचा घिमिरे उत्कृष्ट सहायक अभिनेत्री घोषित भए ।
कुमा सागर उत्कृष्ट ब्याण्ड, सुशान्त केसी ‘बार्दली’बाट उत्कृष्ट गायक र ‘नाम के हो भन’बाट तृष्णा गुरुङ उत्कृष्ट गायिका घोषित भए । ‘फस्ट टप सप’ शीर्ष प्रायोजक रहेको कार्यक्रममा राजेश हमाल, निश्चल वाइबा, पशुपति श्रेष्ठ, लोकेश श्रेष्ठ, इतना कार्की, रेभल इभेन्ट्स आयोजक हुन् ।
प्रतिक्रिया 4