News Summary
Generated by OK AI. Editorially reviewed.- एफडब्लुएलडी र सीआरआरले सुरक्षित गर्भपतन सेवाका लागि लामो समयदेखि बहस र पैरवी गर्दै आएका छन्।
काठमाडौं । गर्भपतन सेवा गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित नभएको राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले बताइन् ।
अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सेन्टर रिप्रोडक्टिभ राइट (सीआरआर) ले बुधबार छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै चौधरीले प्रजनन स्वास्थ्य महिलाको आधारभूत अधिकार भए पनि गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित बनाउन नसकिएको बताइन् ।
‘प्रजनन स्वास्थ्यका बारेमा महिलाले समाजमा भोग्नु परेको पीडाका घटना न्यून भएका छन् तर निर्मूल हुनसकेको छैन’ चौधरीले भनिन्, ‘शिक्षा र जनचेतनाको अभावमा दुरदराजका महिला डर त्रासमा बाँच्न बाध्य छन् ।’ उनले सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।
‘शिक्षा र जनचेतनाको माध्यमबाट मात्र जोखिम घटाउन सकिन्छ । नारी जन्मेदेखि नै प्रजनन स्वास्थ्यसँग जोडिने भएकाले यो विषयमा शिक्षा र जनचेतना व्यापक बनाउनु आजको आवश्यकता हो’ उनले भनिन् ।
गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित गर्भपतन सेवाका विषयमा एफडब्लुएलडी र सीआरआरले विगत लामो समयदेखि बहस र पैरवी गर्दै आएका छन् । गर्भपतनलाई गैरकानुनी अवस्थाबाट गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित बनाउन एफडब्लुएलडी र सीआरआरले सुरक्षित मातृत्व ऐन २०७५ आउँदासम्म खेलेको भूमिकालाई क्रमबद्ध रुपमा श्रव्यदृश्यमार्फत् कार्यक्रममा देखाइएको थियो ।
सीआरआरका क्षेत्रीय निर्देशक प्रविना बज्राचार्यले सुरक्षित मातृत्व ऐन आए पनि अझै कानुनी जटिलता रहेको बताइन् । गैरकानुनी गर्भपतनलाई कानुनसम्मतः बनाइएको भए पनि अपराध संहितामा राखिएकाले यसलाई सुरक्षित र भरपर्दो मान्न नसकिने उनको भनाइ थियो ।
गर्भपतन गैरकानुनी मानिएको बेलामा भएको समयमा जेल परेका महिलाहरू अहिलेसम्म छुट्न नसकेको उनले सुनाइन् । फौजदारी अपराध संहिताबाट गर्भपतनलाई अलग राख्नका लागि अझै धेरै काम गर्नुपर्ने क्षेत्रीय निर्देशक बज्राचार्यको भनाइ छ ।

कानुन, चेतना र शिक्षा अभावले ग्रामीण क्षेत्रमा प्रजनन् स्वास्थ्यसम्बन्धी कस्ता घटना हुनसक्छन भन्ने नाटकसमेत प्रस्तुत गरिएको थियो । उक्त नाटक फोरेन थिएटरले प्रस्तुत गरेको थियो ।
एफडब्लुएलडीकी अध्यक्ष गीतादेवी अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रम अधिवक्ता नविनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया 4