
२० वैशाख, काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् ।
सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘माननीय सदस्यहरूका लागि के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन् । ढुक्कले सहि छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ,’ ओलीले भने, ‘विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ लाग्या छ । कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैन ।’
साथै, उनले विपक्षीले भनेको कुरामा सत्यता छ कि भनेर धेरै घोत्लिन पनि आवश्यक नरहेको पनि बताए ।
‘सही कुराको विरोध गर्न उहाँहरू बाध्य हुनुहुन्छ । जुन उहाँहरूका निम्ति भविष्यमा नराम्रा रेकर्डको रुपमा रहनेछन् । हाम्रो पुस्ताभन्दा बढी बेलामा सम्म पनि त्यो रेकर्ड रहनेछ,’ ओलीले भनेका छन् ।
सरकारले हिजो मात्रै ल्याएको नीति तथा कार्यक्रमको छलफलमा अध्ययन राम्रो बनाएर प्रस्तुत हुन ओलीले सांसदहरूलाई निर्देशन दिए ।
‘माननीयजीहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ, स्पष्ट होस्,’ ओलीले भनेका छन् ।
प्रतिक्रिया 4