+
+
Shares

मगमगाउने मौवा अनि मौवा रक्सी

एकै परिवारका चिउरी र मौवा कालान्तरमा चिउरी पहाडवासी भयो, मौवा मैदानवासी । पहाडमा मगर र चेपाङ चिउरीले अनि मैदानमा थारू मौवाले सास फेर्थे ।  

नवीन विभास नवीन विभास
२०८२ वैशाख १३ गते २२:३०
फोटो : छबिलाल कोपिला

मधुर मधुर रस टपके, महुआ चुए आधी रात
बनवा भइल मतवारा, महुवा बिनन सखी जात 
(भोजपुरी लोकगीत)

चैत अन्तिम हप्तादेखि मैदानी कतिपय वन मौवाले मगमगाउन थाले । ती वन यतिविधि मौवा–मग्न हुन थाले कि, मौवा मगमगाएर वन नै मात्न थाले । शुरू भएको थियो, मौवा याम । विपन्न वर्ग ‘मौवाले सास फेर्ने’ मौवा याम ।

‘मौवा टिप्न जाँदा मौवाको बोटमुनि सुत्थ्यौं । बिहान उठ्दा मौवा फूलको सिरक ओढेका हुन्थ्यौं’ गत फागुनमा माइतीघरमा धर्नारत दाङ देउखुरी वनगाउँका भरतलाल चौधरी (६३) ले मौवा सम्झना सम्झिए, ‘ओढेको सिरक पट्याएर राखेजसरी मौवा सिरकलाई सोहोरेर छिट्वामा राख्थ्यौं । घर लग्थ्यौं ।’ स्वर्गद्वारी गुठीपीडित किसान भरत माइतीघरमा धर्ना बसेका थिए । न्यायको लागि बसेको धर्नालाई एक घच्ची धर्ना दिएर मौवामग्न दिनमा फर्केका थिए । उनका आँखामा कोइलाबास र त्यस आसपासे छिमेकी भारतीय मौवा मात्र होइन, मौवाले मातेका वन नै उनको मन भएर फरक्क फर्केका थिए ।

रातको तीन–चार बजेदेखि चल्ने सिर्सिरे हावाको साथ लागेर मौवा फूल झथ्र्यो । झर्नेक्रम बिहान आठ/नौ बजेसम्म चल्थ्यो । मौवा बोटमुनि सुतेका भरतहरूको मौवा फूलको सिरक रात ढल्दै जाँदा बाक्लिंदै जान्थ्यो । मौवा बोटमुनि निदाएका भरतले सपना देख्थे । स–साना सपना । जस्तोः बठिन्यालाई गत्या उपहार किन्देको । मौवा फूलको रक्सीले मतवार भएर बठिन्यासँग सक्ख्या नाचेको– सखिया हो, सुरीक सिकार, गुरीगुरी जाँर ।

मौवा फूल सुकाउँथे । पास बनाउँथे । मर्चा (जाँड बनाउने औषधि) मिसाउँथे । भाँडोमा राख्थे । सात–आठ दिनपछि रक्सी पार्थे ।

मौवाको प्रजाति अनुसार सामान्यतः चैत अन्तिम हप्तादेखि वैशाख दोस्रो हप्तासम्म फूल झर्ने क्रम चल्थ्यो । एउटा बोटबाट औसत १०–१५ दिन फूल झथ्र्यो । फूल झरेपछि रातो–रातो कोपिलाले मौवा रूख भरिन्थ्यो । एक–डेढ महिनापछि फल लाग्थ्यो ।

काँचो फल तरकारी खान्थे । पाकेको फल त खाने नै भए । वस्तुभाउलाई खुवाउँथे । कुहिएको मल बन्थ्यो । बिजुला (बीउ) निकाल्थे । सुकाउँथे । तेल निकाल्थे । तेल खान्थे/लगाउँथे ।

मौवाको पात, फूल, फल, बोक्रा औषधि, खाना, तेल, रक्सी बन्थ्यो । फूलको रक्सी र औषधि, फल खाना, बीउको तेल । मौवाका फूल, फल, बीउ, पात, बोक्रा, डाँठ र काठले मानिसको जीवनलयमा जीवन धुन भर्थे ।

मधुका लोन्जीफोलिया साइन्टिफिक नामधारी मौवा छिटोछिटो हुर्कन्थ्यो, करिब २० मिटर अग्लिंदै । मौवा फुलेपछि वनलाई मौवा मात लाग्थ्यो ।

भोजपुरी लोकगीतले भने जस्तै तपाईंले नि मौवाले मातेको वन देख्नुभएको छ ?

मौवा मगमग

फोटो : छबिलाल कोपिला

भरतले सम्झेको मौवा र मौवा रक्सी पहिलो पटक जेईको मुखबाट सुनेको थिएँ । हटारु भएर कोइलाबास नुन लिन जाँदा चाखेको मौवा रक्सी जेई, बाबै, काकु, ठूल्बाइ, बाजीहरूले ‘गफ्फे’ गर्थे । कोहीले कुलमोहरमा चाखेको सुनाउँथे, कोहीले गढवामा त कोहीले आम्बासमा कोहीले जेम्नेबासमा त कोहीले कोइलाबासमा ।

झस्किएँ, जेईले चाखेको मौवा रक्सी भरतले सोहोरेको मौवा फूलको रक्सी त थिएन ?

हुन सक्थ्यो । नहुन पनि ।

एउटा मौवाको बोट त चोत्राढारा कम्दढिकमा उभिएको थियो । एकदिन सोधेको थिएँ, ‘जेई, यै मौवा हो जेईले रक्सी खाएको ?’

‘तेर्छाती कोइलाबासको मौवा हो । यो कहाँ हो र ?’

रोल्पातिर मौवा नाउँको बोटबाट सोत्तर, दाउरा र काठ मात्र बन्थ्यो । त्यसबेला रोल्पा–रुकुमतिर रक्सी पार्ने फल त डेम्मर (डिम्मर) र चोत्रा (चुत्रा)मात्र थिए ।

‘यस्तै र यत्रै हुन्छ, कोइलाबासे मौवा ?’

‘ठूलो हुन्छ नि, चिउडानाको चिउराजत्रो ।’

चिउराको बोट भएको डाँडा भन्दाभन्दै चिउराडाना त बोलचालमा ‘रा’ लोप भएर चिउडाना भएको थियो । रोल्पातिर चिउरीलाई चिउरा भन्थे । डाँडालाई कतै डाना त कतै

डारा त कतै ढारा भन्थे । जैपाको छिमेकी गाउँ चिउडानामा चिउरीको ठूलो रूख थियो । त्यही रूखको नाउँमा डाँडा र गाउँको नाउँ नै चिउडाना भएको थियो ।

एकै परिवारका चिउरी र मौवा कालान्तरमा चिउरी पहाडवासी भयो, मौवा मैदानवासी । पहाडमा मगर र चेपाङले चिउरीले मैदानमा थारूले मौवाले सास फेर्थे ।

हो, उही मैदानवासी मौवा बोटमुनि एउटा खरछाने छाप्रो थियो, छाप्रो अगिल्तिर एउटी बूढीआमा । उनका आँखा मौवा बोटबाट भुर्र उड्दै घरी सुकेको कोइलाबास खोला त घरी सुकेको कोइलाबास बजारमा पुग्थे । ५० वर्षयता उही मौवा नै उनको सुखदुःखको साक्षी थियो । साथी थियो । छाप्रावासी उनको परिवार मौवाको शीतल र छायाँ थाप्थ्यो, चैत अन्तिम सातादेखि मौवाको फूल ।

मौवाको बोटमुनि बसेर मौवा फूल सम्झिइन् । फूलको रक्सी सम्झिइन् । फल सम्झिइन् । मौवाको बिजुलाबाट निकालेको तेल पनि ।

‘मौवामै त छ, हाम्रो सुख अनि दुःख पनि । मौवा नै हो, हाम्रो सुख–दुःखको साक्षी । सुख–दुःखको साथी’ पाँच वर्ष पुरानो फागुन पहिलो हप्ताको मध्यदिनमा जीतकुमारी रोकामगर (७९)ले भनेकी थिइन्, ‘अब सिजन आयो । चैतमा सबै पत्ता झर्छ, पहिला फूल फुल्छ, त्यसपछि चैत अन्त्यबाट फूल झर्छ ।’ त्यसबेला छाप्रो वरपर उभिएका मौवा पातले हावा गीतमा सुइसुइ चुड्की बजाउँदै सुसाइरहेका थिए भने मौवा डाली थारूको सक्ख्या नाच नाचिरहेका ।

जीतकुमारीले रोल्पा टुटु, मिरुल, थबाङ, घोराही, गरवा, लमही पनि मौवा फूल टिप्न र किन्न कोइलाबास पुग्ने हुल सम्झिइन् ।

‘आफ्नो मौवा नहुने उता दिशी(भारतीय)को वनमा पनि मौवा टिप्न जान्छन् । कतिले रक्सी पार्छन् त कतिले फूल नै बेच्छन्’, उनले सुनाइन् । जीतकुमारीसँगको मौवा संवाद

मौवाका रुख

भोङ्रेसालदेखि खबरी, पतौली, घाग्रासम्म मौवा टिप्न गएको सम्झना पनि सम्झिइन् । भारतीय वनमा गएको पनि ।

रोल्पा थबाङकी जीतकुमारी कोइलाबासवासी भएकै पचास वर्ष भयो । कोइलाबास बजारमा होटल थियो । पति भारतीय सेना थिए ।

पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग खुल्यो । कोइलाबास बजार सुक्यो । बजार सुकेपछि होटल पनि । होटल सुकेपछि कोइलाबास नजिकै डाँडामा उक्लिइन् । जंगल फाडिन् । ऐलानीमा छाप्रो बनाइन् । बस्तीको नाउँ नै रह्यो, डाँडागाउँ ।

‘मौवा अहिले पो यति ठूलो छ त, त्यसबेला स्यान्स्याना थिए’ बस्ती बसाएको सम्झिंदै डाँडागाउँबाट सुकेको कोइलाबास बजार र कोइलाबास खोला हेरिन् । न कोइलाबास खोलामा पानी थियो न त कोइलाबास बजारको जवानी । खोला र बजार दुवै बगर भएका थिए । कोइलाबास त भीमदर्शन रोकाको कविता भएको थियो–

हिजो जहाँ आई बसेथिन् तिनी 
त्यही उजाडिसकेको बास हुँ म ।

बजारका बान्ने (बनिया वा व्यापारी) आफ्नै थलो (प्रायः बहराइच र लखनऊ) फर्केका थिए । कति गढवा, लमही, घोराही, सुलीचौर उक्लेका थिए । थबाङबाट आठ/नौ दिन हिंडेर पहिलोपालि पुग्दा देखेको झिलीमिली कोइलाबास सम्झिइन् ।

जस्तोः हटारुसँगै राँगा र घोडा लर्को । यति ठूलो लर्को कि, ‘राँगा र घोडाका पिसाबको ‘भल (बाढी)’ बग्थ्यो’ । ज्याला मजदूरी गर्न कालापार (भारत) जाने कालापारे, भारतीय सेनामा भर्तीवाल लाहुरे, लेखपढ गर्न जाने (बाहुन ठिटा) र काशीवास जाने (बाहुन वृद्धवृद्धा)का लर्को । जडीबुटी जस्ता सम्पदासहित तोरी, धान, मकै, गहुँ पनि कोइलाबास । ‘नुन जोहो’ गर्न रापती (कम्तीमा वर्षको एकपालि) अञ्चल आधा महिनाको समय सँगालेर कोइलाबास झथ्र्यो । दाङ सदरमुकाम घोराहीदेखि ५६ किलोमिटर दक्षिण–पूर्व नाका (भारतसँग) कोइलाबास कुनै जुगको व्यापारिक ‘साल्ट सिटी’ र नेपालको एक मुख्य निर्यात नाका पनि थियो (काकाकुल कोइलाबास, कान्तिपुर, २७ भदौ, २०७७) ।

बगरभरि घरैघर । बुर्नियासम्म होटल । नुन, गुर (भेली) र सिद्राको पहाड । लत्ताकपडा, नुन किनमेल गर्नेको ठेलमठेल ।

कोइलाबास बजार त्यति झिलीमिली नहुँदो हो त लोकगीतको टुक्का भएर कोइलाबास रोल्पा उक्लन्थ्यो होला– लाऊ सारी हजारको, नलाऊ सारी कोइलाबास बजारको । नुनथला कोइलाबास त मौवाथलो पनि थियो ।

पाँच वर्षअघि भरतका छिमेकी गाउँ मजगाउँका लेखक छविलाल कोपिलाको पछि लागेर कोइलाबास पुग्नुको एक कारण त जेईलाई जिल् खुवाउने मौवा हेर्नु थियो । मौवाको बोटमुनि बसेर एकछिन सुस्ताउनु थियो । र, सम्झनु थियो, जेईलाई मौवाले कसरी मौवामग्न बनायो ? अर्को कारण त छँदैथियो, पुर्खाको नुनथला हेर्नु ।

मौवा थारू 

मौवा मैदानी भेगमा पाइने एकखाले रूख मात्र थिएन । यो त एकथरी मानिसका जीवनपद्धतिको मुख्य अंग थियो । मौवाको पात, फूल, फल, बीउ र काठ मानिसका घामपानी थिए । तिनै मानिस मौवा निकट थिए, जसका मौवा बाहेकमा पहुँच पुग्दैनथ्यो । तपाईंलाई लाग्ला, कस्ता मानिस र मौवाको जोग मिल्थ्यो ?

कैलाली धनगढीबाट लखन चौधरीले (रातोपाटी, १७ वैशाख २०८०) मौवा रक्सी र थारू समुदाय सम्बन्ध लेखे, ‘पाहुनालाई स्वागत, घरका देवतालाई चढाउन मौवाको रक्सी थारूलाई अनिवार्य चाहिन्छ । होम स्टेमा मौवाको रक्सीको माग उच्च छ ।’

देउखुरीबाट थारू हुल निक्लन्थ्यो । आफूले उब्जाएका मसुरो, तोरी, धान लिएर कोइलाबास र तुलसीपुर जान्थे । बेच्थे । नुन, लत्ताकपडा किन्थे । भारतका विभिन्न गाउँ पुग्थे । खेतमालिकसँग सिद्रा अधिया गर्थे । फर्कंदा मौवा पनि बोकेर फर्कन्थे ।

माइतीघरमा धर्नारत भरतले रातभर मौवामुनि सुत्दा देखेका सपना सम्झेका थिए । देखेको सपनाको गत्यामा सप्को पारेर मौवा फूल पनि सोहोरसाहर पारी छिट्वामा हालेको सम्झेका थिए ।

एक, देउखुरीका थारू कोइलाबास, तुलसीपुर बजारमा नुन, लत्ताकपडा लिन जान्थे । फर्कंदा मौवा टिप्थे ।

दुई, देउखुरीका थारू भारतको बलरामपुरतिरका खेतमा सिद्रा टिप्न जान्थे । भारतीय खेतमालिक थारू पर्खिरहेका हुन्थे । खेतमालिकले पम्पसेट लगाउँथे । थारु सिद्रा टिप्थे । टिपेको सिद्रा अधिया गर्थे । फर्कंदा मौवा पनि टिप्थे ।

तीन, देउखुरीका थारू कोइलाबास र तुलसीपुुर बजारमा मसुरो, तोरी बेच्न जान्थे । फर्कंदा मौवा टिप्थे ।

‘मौवा टिप्न कोइलाबास मात्र होइन नि, हामी त भारतका सर्नी, चननपुर जस्ता जंगलमा पनि जान्थ्यौं’, भरतले भनेथे ।

भरतका छिमेकी लेखक छविलाल कोपिलाले कोइलाबास जीतकुमारीसँगै मौवा सम्झिएका थिए । पचास वसन्त देखेका कोपिलाले सुनाएथे, ‘बाटो खुलेपछि लमही बजार त सिद्रैसिद्रा भयो । होइन भने मौवा, सिद्रा र किनमेलको लागि हुलका हुल जान्थे । अघिल्लो पुस्तासम्म मौवा टिप्न कोइलाबास र कोइलाबास सेरोफेरोका भारतीय भूमि पनि पुग्थे ।’  कोपिलासँग मौवा संवाद

बीसको दशकको मध्यतिर महेन्द्र राजमार्ग बनेपछि देउखुरीका थारू किनमेल गर्न कोइलाबास र भारतीय बजार तुलसीपुर जाने चलन चुँडियो, मौवा टिप्न जाने चलन पनि ।

मौवा महिला

लेखक शिवानी सिंह थारूले आफ्नी मावली हजुरआमा मौवा सम्झनामा सम्झेकी थिइन् । कान्छी छोरी पाँच वर्ष पुग्दा विधवा भएकी हजुरआमाका ६ छोरी थिए । उनकी हजुरआमा ठकुरी थिइन् । मैसाप् थिइन् । तर, मैसाप् नै भए पनि एकल महिलाका लागि सन्तानको लालनपालन सोचे जस्तो सजिलो थिएन । त्यसैले पदनाहा मेलामा थरुनीले रुचाउने गिलटको सस्तो गहना बेच्ने काम थालिन् । व्यापार फापेन छाडिन् । आर्थिक अवस्था झन् झन् जर्जरियो । जंगलैजंगलको चोरबाटो सिमानापारि (भारत) चरेस लैजाने जोखिमको बाटो हिंडिन् । एकपटक एक जना चिनेका मुसलमानपुत्र रंगरेजलाई पठाइन् । त्यही खेपमै उनी पक्राउ परे । तिहाड जेल परे । त्यसपछि उनकी हजुरआमाले त्यो जोखिम पनि छोडिन् ।

‘मैयाँसाहेब’ हुनुले उनको जीवनमा केही अर्थ राख्थ्यो । जातको अहम् ? सायद ! जात न खान मिल्छ न लगाउन । खालि भिर्न मात्र मिल्छ । त्यही भिरेर उनले महुवाको रक्सी बेच्न थालिन् (शिवानी सिंह थारू, महुवा, नयाँ पत्रिका २०७६ साउन २५) ।’

शिवानीका मावली हजुरआमा जस्तै मौवाभरमा थिए, कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ गेलवारका गरिब पनि (घरखर्च जुटाउन सामूहिक महुवा संकलन, किरणमान बज्राचार्य, २७ चैत २०७८ नागरिक दैनिक र मनोज पौडेल, महुवा बेचेर छाकको जोहो, २८ वैशाख, २०७९, कान्तिपुर दैनिक) ।

मौवा माओवादी

जीतकुमारी, शिवानीकी हजुरआमा जस्ता महिला र थारू समुदाय सहित राज्यको उपेक्षामा परेका समुदाय र वर्ग त मौवामै मौलाए । जसको मूल कारण थियो; आदिवासी, गरिब, महिलाका पहुँच मौवाभन्दा पर पुग्दैनथ्यो ।

रोल्पा–रुकुमको माओवादी युद्ध (२०५२–२०६३) को बेला भारत आउजाउ गर्न प्रयोग गर्ने मुख्य नाका सुरै, भौवा र गुरुङ नाका थिए । उपचारका लागि घाइते माओवादी भारत तिनै नाकाबाट जान्थे । माओवादी बैठक बस्ने भारतमै थियो भने, सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत माथ्लो तहका नेता भारतमै थिए ।

मौवा मौसममा माओवादी भारत जाने र फर्कने नाकाका वन मौवाले मातेको हुन्थ्यो । मातेको वनमा विद्रोही माओवादी मौवाभर पर्थ्यो ।

‘मौवा त किसमिस, अंगुरको सुकुटी खाए जस्तो लाग्यो । धेरै खाए लाग्छ भन्थे । मौवा मौसममा नाकामा खुबै मौवा खाइयो’ रुकुम (पूर्व) संघ सांसद पूर्ण घर्तीमगरले मौवा सम्झेका थिए ।

मौवाः ‘सर्वहारा का वृक्ष’

फोटो : छबिलाल कोपिला

भारतका गरीब र आदिवासीका लागि मौवा कहिले अर्नी त कहिले खाना भयो । गाईको घिउको रूपमा मौवा भयो । मध्य भारतीय आदिवासीको लागि अहिले पनि मौवाको बीउको तेल घिउको विकल्प थियो । त्यसैले मौवालाई भने, ‘बटर ट्री’ । मौवालाई त भारतमा ‘महुआः सर्वहाराका वृक्ष’ भने । सर्वहारा र आदिवासीका दाँत माझ्ने ब्रस नै मौवाको सानो डाली थियो । माछा मार्न तोन्ड्या बनाए । मौवाले पाचन बढाउँछ भनेर औषधिको रूपमा मौवा खाए । जोर्नी दुखेकोमा मौवा रक्सीले मालिस गरे । मौवाको बीउ बस्तुभाउलाई कब्जियत हुँदा खुवाए । मौवा फूल मात्र होइन, काँचो फलको तरकारी खाए । मौवाको बिजुलाबाट तेल निकाले । फल पिसेर रोटी खाए । मौवाको खली बस्तुभाउलाई खुवाए । खली बारीमा हाले ।

भारतीयले मौवालाई कतै महुवा त कतै महुआ भने । थारू जसरी भारतीय आदिवासी गरिब पनि मौवामग्न थियो ।

मौवा रोल्पा–रुकुम उक्लियो 

दाङका खिमबहादुर शाह र रणबहादुर शाहले कोइलाबास सहित विभिन्न जिल्लाका विभिन्न भागमा मौवा रक्सीभट्टी खोले । राष्ट्रिय पञ्चायत सदस्य बनेका शाहका दुई भाइले मौवालाई व्यवसायमा ढाले । नुनको हाट कोइलाबास झर्दा चाखेको मौवा रक्सी एकदिन पहाड उक्लियो– रोल्पा, रुकुम, प्युठान पुग्यो, गाउँघरे बाँकी रक्सीलाई प्रतिबन्ध लगाउँदै ।

उत्तरी रोल्पाको जैपामुन्तिर ढोमै (अहिले वागमारा)मा रुकुम चुनबाङ चन्ननेका मोती खत्रीले कस पसल खोले । कस पसलमा पाइने जिनिस नै मौवाको रक्सी थियो ।

मौवा पहाड उक्लेपछि घरेलु रक्सीलाई प्रतिबन्ध लाग्यो । कारखाने मौवा रक्सी ठाउँठाउँमा ठेक्का लिने चलन चल्यो ।

‘रुकुम (पश्चिम) रुँघाबाट जर्किनका जर्किन लिएर बेच्थे । सुबेदारको आमाले लिएर बेचेको सम्झन्छु । म नौ कक्षा पढ्ने बेला (२०३८ तिरको) थियो । शाह डिष्ट्रीलरी थियो, रणबहादुर र खिमबहादुर शाहको भट्टी । ठूला मुढा ल्याउने र रापमा पकाउँदै पाइपबाट चुहाउँथे’ कस पसले खत्रीकै छिमेकी गाउँ लाखरखोलाका (हाल रुकुम (पूर्व) संघ सांसद) पूर्ण घर्तीमगरले रोल्पा–रुकुम पुगेको मौवा सम्झिएथे, ‘रणबहादुर शाहको मौवा रक्सी भट्टी थिए, ठाउँ–ठाउँमा ।’

सांसद घर्तीमगरका अनुसार रुकुमकोट मैदानमा पूर्णबहादुर शाहले मौवा रक्सीको भट्टी चलाउँथे । मौवा घोडा र खच्चरले ओसार्थे ।

रोल्पा थबाङमा रामकुमार बुढामगरले मौवा लगेका थिए । पूर्व सांसद बर्मन बुढामगरको घरमा पसल थापे । मौवा पछ्याउँदै थबाङमा पुलिसचौकी पनि पस्यो ।

कस पसले रामकुमारले व्याख्या गरे, ‘खाने अन्न कुहाएर सत्यानास भयो । खान पुगेन, बेसाउन पर्ने भयो । रक्सी नपार ।’

पुलिस परिचालन भयो । पुलिसले घैंटो फुटायो । पैसामा परिणत भएर मौवा थबाङ पुगेपछि स्थानीयसँग अन्तरविरोध बढ्यो । स्कुले विद्यार्थी मार्फत नाराबाजी भयो । त्यसपछि के भयो ? सन्तोष बुढामगरले थबाङ पुगेको मौवा सम्झिए, ‘२०३५ सालतिरको कुरा हो, थबाङबाट पुलिस पनि गयो, मौवा पनि गयो ।’ दाङवासी लेखक हीरामणि दुखीका अनुसार घोराही, तुलसीपुरको पातुखोला र प्युठानको देवीथानमा पनि मौवाको रक्सीभट्टी थियो । खिमबहादुर शाहको डिस्ट्रीलरी देउखुरीमा थियो ।

मौवा र मानिस बीचमा भिलेन

थारू र मौवा, मौवा र महिला, मौवा र गरिब बीचको सदियौं सम्बन्ध सोत्तर पार्न एकपछि अर्को ‘भिलेन’ राज्यले उभ्याउँदैथियो ।

भिलेन नम्बर एक, सामुदायिक वन । सरकारले वन जति सामुदायिक वन बनायो । सामुदायिक वन गैरथारू र हुनेखाने वर्गले कब्जा गरे ।

‘वनजति सामुदायिक वन बने, सामुदायिक वन बनेपछि बढेको जंगल र जंगली जनावरको नाउँमा वन पस्न कडाइ भयो’ कैलाली जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले मौवा र थारू सम्बन्ध सम्झिए । उनको पालिकामा भने मौवा भएको वन थोरै भएको सुनाए ।

भिलेन नम्बर दुई, सरकारले मौवा फूलको पनि कर लगायो ।

भिलेन नम्बर तीन, सरकारले त मौवाको रूख नै ठेकेदारलाई ठेक्का हान्न दियो ।

*** 

जीतकुमारीको मौवाबोटमा अडेसिएर सम्झिएँ– नुन लिन आएका जेई, बाबै, काकु, बाजी, जिजुहरूले कहाँनेर पसिना ओभाए होलान् ? कहाँनेर मौवा रक्सी खाए होलान् र मौवा सम्झनामा जिन्दगीभर मौवा मगमगाए होलान् ? जेईले चाखेको मौवा रक्सी अडेसिएकै बोटबाट झरेको फूलको त थिएन ?

रोल्पा रुकुम उकालिएको शाहको मौवा रक्सीभट्टी सुकिसकेको थियो । घरपाला मौवा रक्सी पाइएला त ? कोइलाबासे वडा सदस्य नारायणसिंह थापामगर र लेखक छविलाल कोपिलासाथ मौवा रक्सी खोज्यौं । बगरमा परिणत कोइलाबास खोलाछेवैको आरसीसी घरमा रहेको होटलमा मौवा रक्सी पाइयो । मौवा नै होला त ? शायद सदस्य थापाले चाखे । मिनरल वाटर बोतलमा थियो । तीमध्ये तीन बोतल बोकें ।

जेई मौवा मोहित थिइन् । यति मोहित कि, जेईले छरछिमेकका घरमा माइत आउने चेलीहरूले ल्याएको कोसेलीमा पनि मौवा सम्झिन्थिन् । कारण थियो, जेईका छोरी थिएनन् । हामी तीनभाइ छोरा मात्र थियौं । मौवा जत्तिकै मेरी जेई छोरी भोको थिइन् । छोरी नदिएको भन्दै जेई त आफ्नो भगवानप्रति गुनासिने मात्र गर्दिनथिइन्, भगवानलाई सराप्थिन् ।

कोइलाबासबाट मौवा बोकेर गएँ । जेई त्यसबेला रोल्पा जैपाबाट उपचारकै क्रममा घोराहीमा ठूल्दाजुकहाँ थिइन् ।

‘जेई, कोइलाबासको मौवा ।’ थला परेकी जेई अरू बेला भन्दा अलि सजिलो गरी उठिन् ।

खानुअघि सक्क फालिन् । सक्क फाल्ने भनेको पितृलाई चढाउनु थियो । जेई झाँक्री भएकाले आफ्ना गुरुलाई चढाउनु पनि ।

नखाँदै जेईको अनुहार मौवामग्न भए जस्तो लाग्यो । घुटुक्क निलिन् ।

भनिन्, ‘मौवा मङ्ग बसायो ।’

भनें, ‘कोइलाबासको मौवा हो नि !’

‘हाई’ जेईले नक्कली दाँत देखाएर खिसिक्क हाँसिन् । जेई मौवामग्न भएको देखें । मौवा रक्सीले मातेको देखें । जेईले कोइलाबास र मौवा एकसाथ सम्झिएको भेटें । जो जेईलाई जेईको मन राख्न लगेको पहिलो र अन्तिम थियो ।

***

स्वर्गद्वारी गुठीपीडित दाङ र देउखुरी उपत्यकाका किसान भरतहरू गत फागुन २३ गते माइतीघरमा धर्नारत थिए, धर्नारत भरत र भरतहरू मौवा र मौवाबोटमुनि सुत्दा देखेको सपना सम्झँदैथिए । डेढ महिनापछि अर्थात् चैत अन्तिम हप्तापछि भोजपुरी लोकगीत फेरि फुल्नेथियो–

मधुर मधुर रस टपके, महुआ चुए आधी रात
बनवा भइल मतवारा, महुवा बिनन सखी जात 

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?