+
+
Shares
यात्रा संस्मरण :

बाजुराको बाटो, अम्कोटको पहिरो, बुढीगंगाको कष्ट

बाजुरालाई अभावको जिल्लाका रूपमा चित्रित गरिएको छ, त्यसो होइन । चाहने हो भने यो जिल्लाा विकासका दृष्टिले सम्भावना बोकेको जिल्ला हो । राजनीतिक नेतृत्वको इच्छाशक्तिको अभाव भने हो । संघीयतामा पनि बाजुराले उचित सम्बोधन पाउन नसक्नु दुःखद् छ ।

धर्मेन्द्र विह्वल धर्मेन्द्र विह्वल
२०८२ वैशाख २० गते ८:२०

रात्रि विश्राम अछामको साँफेमा थियो । हिजो अबेर साँझ हामी साँफे आइपुगेका थियौं । साँफे मेरा लागि नौलो स्थान होइन । म यहाँ यसभन्दा पहिले पनि दुई/तीन पटक आएको छु । साँफेमा म जहिले जहिले आउँछु वैद्यनाथ धाम दर्शनको चाहना रहन्छ । बिहान उठें । हिजोको सहमति अनुसार वैद्यनाथ धाम गइयो ।

साथमा रामजीसँगै थिए स्थानीय पत्रकारहरू खम्म खत्री, पूर्णबहादुर खड्का र धीरज कुँवर । दर्शन गरियो । बुढीगंगा किनारमा अवस्थित वैद्यनाथ धाम यसअघि आउँदा जुन अवस्थामा थियो, आज पनि त्यही अवस्थामा रहेको पाएँ । जुन स्तरमा संरक्षण र प्रचारको प्रयास हुनुपर्ने थियो, त्यो हुन नसकेको मेरो निष्कर्ष छ । यति मात्र होइन निष्कर्ष अर्को पनि छ– बुढीगंगाको कटान निरन्तर जारी छ । साँफे लगातार जोखिममा छ ।

आज मेरो मनमा नयाँ उत्साह छ । ११ जेठ २०७५ बाजुराको यात्राका लागि जो प्रस्थान गर्नु छ । हिजो यात्रा गरिएका कैलाली, डडेल्धुरा र डोटीका स्थानहरू मेरा लागि खासै नौला त थिएनन् तर म सम्बद्ध भूगोलभन्दा त फरक हुन् नि ! मैले माथि पनि उल्लेख गरें, साँफेको भूगोल पनि मेरा लागि पूर्णतः नौलो होइन । यस आधारमा फरक भूगोलको फरक अनुभूतिको अपेक्षालाई स्वाभाविक नै मान्नुपर्ने हुन्छ ।

आज म फरक प्रकारको उत्साहको अनुभव गर्दैछु । कुनै खास कारण त होइन तर म उत्साहित हुनुपर्ने मुख्य कारण नितान्त नयाँ भूमिको स्पर्शको चाहना हुनुपर्छ । शायद इतिहास रच्ने व्यर्थको चाहना । भौतिक रूपमा भ्रमण गरिएका जिल्लाको संख्या बढाउने आकांक्षा । माटो छुने लालसा । तर सत्य त्यति मात्रै होइन । देश दर्शन आफैंमा ज्ञानप्राप्तिको एक महत्वपूर्ण माध्यम हो ।

म यस भनाइसँग सहमत छु । धेरै पटक जान चाहे पनि जान नपाएको जिल्ला हो बाजुरा । पत्रकार अर्जुन शाह, दयाराम पण्डित, छक्क मल्ल र प्रेम रौलेले म पत्रकार महासंघको नेतृत्वमै रहँदादेखि बाजुरा भ्रमणका लागि आग्रह गरे पनि मेसो मिलिरहेको थिएन । यसपटक भने कुरो मिलेको छ । मैले दयाराम र प्रेमलाई जानकारी गराएको छु । उनीहरू दुवै जना खुशी छन् ।

कुरा जे सुकै होस्, ममा नयाँ उत्साह छ, यो सत्य हो । बाबा वैद्यनाथको शरणमा पुगेर फर्किएपछि लगभग आठ बजेतिर म र मनमोहन स्वाँरजी मार्तडीका लागि प्रस्थान गर्‍यौं । अगाडि बढ्दै जाँदा, हामीले त्यसबेला भ्रष्टाचार विरुद्ध राष्ट्रव्यापी जागरूकता अभियान सञ्चालन गरिरहेका पूर्व पत्रकार राजनीतिकर्मी रवीन्द्र मिश्रको गाडी भेटेका थियौं ।

उनीहरूले हिजो साँफेबगरमा कार्यक्रम आयोजना गरेका थिए भने आज मार्तडीमा कार्यक्रम आयोजना गर्न त्यसतर्फ गइरहेका थिए । हामीले आजै मार्तडीमा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु थियो । समयको चाप थियो । त्यसैले उनको गाडीलाई पछाडि नै छोडेर उछिनेर उनलाई नभेटिकनै हामी अगाडि बढेका थियौं ।

डावबजारमा चिया वेतालमाण्डौमा खाजा

साँफेको टोटासालबाट बुढीगंगाको किनारैकिनार लगभग ५७ किलोमिटर लामो सडक यात्रा तय गरेपछि बाजुराको सदरमुकाम मार्तडी पुगिन्छ । टोटासालबाट करिब सात किलोमिटरको दूरीमा पर्ने बुढाबगर राक्सेसम्म अछाम पर्छ भने त्यसपछिको इकडी खोला पारि डावबजारबाट बाजुरा शुरु हुन्छ– बुढीगंगा नगरपालिका–१० ।

सानो ठाउँ, सानो बजार । डावबजार हाल धनगढीमा कार्यरत चर्चित पत्रकार जगत साउदको पैतृक भूमि हो । उनी आफू त यहाँ बस्दैनन् तर उनको परिवारका केही सदस्य यहाँ बस्छन् भन्ने प्राप्त जानकारीका आधारमा हामी उनको घर पुग्ने निर्णयमा पुग्यौं र गयांै पनि । घर हेर्‍यौं र फर्कियौं ।

त्यहाँबाट फर्कंदा चिया खाएर हामी अगाडि बढेका थियौं । गाडी अगाडि दगुरिरहेको थियो । म गाडीभित्रैबाट नयाँ भूगोल, नयाँ परिवेश, नयाँ वातावरणलाई आत्मसात् गर्ने प्रयत्न गरिरहेको थिएँ । यताको भूगोल वास्तवमै विकट रहेको अनुभूति पटक–पटक भइरहेको थियो । कुनै कुनै बेला लाग्थ्यो– यस्तो विकट भूगोलमा सडक कसरी बनाइयो होला ?

दायाँतर्फ हेर्दा तलतिर बुढीगंगाको सुसाई र बायाँतिर हेर्दा अग्लाअग्ला पहाडका अक्करे भीर । उफ् ! यात्रा त वास्तवमै रोमाञ्चक भइरहेको थियो । मलाई सम्झना छ, डावबजारबाट अगाडि बढेपछि बाटोमा साना साना बस्ती र बजार देखिएका थिए । यतिखेर सम्झने प्रयत्न गर्दा शायद मालिका बजार, रिठा बजारपछि वेतालमाण्डौ आइपुगेका थियौं र हामीले यहाँ खाजा खाएका थियौं ।

स्थानीय पसलेका अनुसार वेतालमाण्डौबाट प्रसिद्ध तीर्थस्थल बडिमालिकाको स्थान देखिन्छ रे ! हेर्ने प्रयत्न त हामीले गरेका थियौं तर सम्भव हुन नसकेको म यतिखेर सम्झन्छु । बार्जुगाड (सुदूरपश्चिमका अनेकौं ठाउँमा खोलालाई गाड भन्ने गरिन्छ) पनि हाम्रो बाटोमा परेको थियो । बार्जुगाडभन्दा अगाडि बाम्का बजार ।

यहाँबाट मार्तडी २७/२८ किलोमिटरको दूरीमा रहेको जानकारी हामीले पाएका थियौं । एउटा कुरा मैले यहाँ उल्लेख गर्न चाहें, हामी जतिजति अगाडि बढिरहेका थियौं, भूगोल तुलनात्मक रूपमा कठिन हुँदै गएको मेरो ठम्याइ थियो । बाम्काबाट अगाडि बढ्दै जाँदा फालासैन, गुइगाडखोला र सेरा, ताप्रीसेरा र अम्कोट पर्दछ ।

अम्कोट पहिरोको जोखिम

अम्कोटको पहिरो चर्चित छ । नेपालकै ठूलो मध्येमा पर्ने यो पहिरो निकै लामो समयदेखि सक्रिय छ जसको नियन्त्रण हालसम्म पनि सशक्त ढंगबाट गर्न सकिएको छैन । साँफेबाट मार्तडीतिरको यात्रा गर्दा बुढीगंगाको पारिपट्टि पंैमाको वारिको यो पहिरोका कारण अम्कोट गाउँ प्रभावित हुन पुगेको प्रत्यक्ष देख्न सकिन्छ ।

अनेकौं घर र बस्ती जोखिममा रहेको देखिन्छ तर नियन्त्रणको उपाय के त ? यस प्रश्नको समुचित उत्तर शायद कसैसँग छैन । यति मात्र होइन, सेरासम्म फैलिएको यो पहिरोका कारण वेलावेलामा बुढीगंगाको बहाव पनि प्रभावित हुने गरेको छ । पहाडहरू बुढीगंगाको छातीमा खस्ने गरेका छन् ।

ओहो ! बुढीगंगालाई कति कष्ट हुँदो हो ? अचानक मेरो मनमा प्रश्न उठ्यो, आज यो ठाउँ यति विकट छ भने बाटो नभएको बेला कस्तो थियो होला ? यो सोच्दा मेरो शरीरका सबै तारहरू झमझमाउन थाले र मेरा आँखा बन्द भए । पहिरोका कारण अनेकौं पटक बुढीगंगाको आकार साँघुरिएको र बहाव नै रोकिने गरेको समाचार पनि सार्वजनिक हुने गरेको मैले यसअघि नै सुनेको हुँ । थाहा पाएको हुँ ।

कतिपय स्थानमा त बुढीगंगालाई नदी होइन नालाका रूपमा देख्न सकिन्छ । यो पहिरोका कारण कुनै बेला बुढीगंगा अवरुद्ध हुने स्थिति उत्पन्न भएछ भने सबैभन्दा बढी जोखिममा पर्न सक्ने सम्भावना भएको बस्ती साँफे हो । नदी अवरुद्ध हुँदा एउटा यस्तो समय आउन सक्छ जब विस्फोटका माध्यमबाट नदीले आफ्नो बाटो पहिल्याउँछ र यस्तो अवस्थाले अनेकौं जोखिम निम्त्याउन सक्छ ।

साँफेको संरक्षणका लागि यस्तो जोखिमको पूर्वमूल्यांकन अनिवार्य छ । तर सम्बद्ध निकायबाट समस्याको स्थायी समाधान हालसम्म पनि नपहिल्याउनु दुःखद् छ । अम्कोटको पहिरोपछि तिपाडा र जडांगा आउँछ । जडांगा आउनु भनेको अब मार्तडी नजिकै छ भन्ने कुराको संकेत हो ।

जडांगापछि ओझेलमा बुढीगंगा

मार्तडी पुग्नुभन्दा केही पहिले आउने जडांगाबाट बाटो मोडिन्छ र अब ओझेलमा पर्ने बुढीगंगाको दर्शन हँुदैन । अब मार्तडी र बुढीगंगाको बाटो अलग–अलग अगाडि बढ्छ । अब हाम्रो गाडी मार्तडी अर्थात् बडिमालिका नगरपालिकाको पनि केन्द्र र जिल्लाको पनि सदरमुकामतर्फ बढिरहेको थियो ।

मैले पहिले भने झैं, यो मेरा लागि पूर्णतया नयाँ भूगोल थियो— नयाँ जिल्ला । नयाँ यात्रा । नयाँ अनुभव । आजकल, बाटोमा धेरै साना बजार छन् । थोरै भए पनि आर्थिक गतिविधि सञ्चालित छन् । यो सडकले निश्चय पनि स्थानीय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ यसमा विमति हुन सक्दैन ।

तर प्रश्न उठ्छ, के यो पर्याप्त हो त ? सरकारी वा गैरसरकारी क्षेत्रबाट स्थानीय जनताको आयवृद्धि हुने गरी व्यावसायिक वा औद्योगिक प्रतिष्ठान पर्याप्त मात्रामा सञ्चालन हुनसकेका छैनन् । जनता स्वयंबाट विकसित गरिएको स्थानीय बजारले केही राहत भने अवश्य पनि पुर्‍याउला, तर दीर्घकालका लागि नि ?

मानव विकास सूचकांकमा निराशाजनक अवस्थामा रहेको बाजुराका हकमा जिम्मेवारहरूले सोच्नु अपरिहार्य छ । बुझ्न सक्नुपर्छ, अनुभूत गर्न सक्नुपर्छ सडक किनारका आजका यी बजार र बस्तीले विगतका कठिनाइको बयान सजिलै गरिरहेका छन् । यति मात्र होइन जुन खालको भूगोल यस क्षेत्रमा अवस्थित छ यस आधारमा भन्न सकिन्छ यस क्षेत्रका अधिकांश बजार र बस्ती भविष्यमा सुरक्षित छैनन् ।

जडांगाबाट हामी मार्तडीका लागि अगाडि बढिरहेका थियौं । बाटोमा पानीनाउला, नुनेपानी, रापक, विरेखोला र विरेखोलाले बनाएको आकर्षक झरना जस्ता स्थानहरू पछाडि छुटिरहेका थिए तर भत्किंदै गरेका अजंगका पहाडहरू यथावत् सामुन्ने आइरहेका थिए । यात्रा गरिरहँदा म स्थानीय पत्रकारहरू दयाराम र प्रेम रौलेसँग नियमित फोन सम्पर्कमा थिएँ ।

उनीहरूबाट बाटोको अवस्थिति र आवश्यक जानकारी प्राप्त गरिरहेको थिएँ । निश्चय पनि उनीहरूको यो तत्परताले हाम्रो यात्रालाई सहज बनाएको थियो । फोनमा कुराकानी गर्दैगर्दा प्रेम रौलेले पथप्रदर्शकको शैलीमा जानकारी दिंदै भने– अब तपाईंहरू थुवाँकाध आइपुगे जस्तो छ । यसपछि चौराटीखेत अनि मार्तडी ।

मार्तडीमा पत्रकारिता अभिमुखीकरण

हामीले लगभग १२ बजेतिर मार्तडी टेकेका थियौं । हाम्रो गाडी रोकिने ठाउँमा पत्रकार दयाराम र प्रेमसँग भेट भयो । उनीहरूले हामीलाई खाना खुवाउन एक होटलमा लिएर गए । खाना खाने काम छिटै सम्पन्न गरेर हामी बडिमालिका नगरपालिका कार्यालय पुग्यौं । पत्रकार अभिमुखीकरण कार्यक्रम यहीं आयोजित हुने निधो थियो ।

यहाँ हामी आउँदा पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रकाश सिंह, सचिव प्रेम विक लगायत साथीसँग पनि भेट भयो । एकदिने अभिमुखीकरण कार्यक्रम साँझ करिब ६ बजेसम्म सञ्चालन भएको थियो । केही पत्रकार कोल्टी क्षेत्रमा रहेकाले यस कार्यक्रममा तिनको अनुपस्थितिलाई स्वाभाविक नै मान्नुपर्ने हुन्छ । मैले काठमाडौंमा जमेका यहाँका पत्रकार नरेन्द्र रौलेलाई पनि सम्झिएँ । हाल काठमाडौंमै भएका कारण उनीसँग भेट हुनु सम्भव थिएन ।

बाजुरामा विरलै मात्र पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना हुने गरेको अवस्थामा यो अभिमुखीकरण स्थानीय पत्रकारका लागि कति उपयोगी हुन सक्यो ? यसको यकिन त्यसै गर्न सकिन्न । प्रशिक्षणमा प्राप्त ज्ञान र सीपलाई अभ्यासमा त अनुवाद गर्नैपर्छ । यो अनुवादको कुरो व्यक्तिको क्षमता र प्रतिबद्धतामा भर पर्दछ । यसका सम्बन्धमा अहिले यति नै ।

मैले बडिमालिका नगरपालिकाका तत्कालीन मेयर पदम बडुवाललाई पनि भेटें । त्यस यात्रामा म बाजुरा रहँदा शहरी विकासका लागि उनको योजनाको बारेमा सुनेर म मेयर बडुवालको व्यक्तित्वबाट निकै प्रभावित भएको थिएँ ।

नेपाली कांग्रेसबाट निर्वाचित बडुवालसँग भेट्दा उनलाई मैले सञ्चारको प्रयोग र विकासका बारेमा निकै सचेत रहेको पाएँ । सञ्चार विना विकास सम्भव छैन । अझ बाजुरा जस्तो विकट भूगोल भएको जिल्लाका जनतालाई एकसूत्रमा आबद्ध गर्न सक्ने माध्यम नै सञ्चार हो भन्ने बडुवालको ठम्याइ मलाई गज्जब लाग्यो ।

उनले आफूले इन्टरनेटको विकास चाहेको बताउँदै आफ्नो नगरपालिकाको सबै वडा इन्टरनेटको पहुँचमा रहेको दाबी गरे । उनले इन्टरनेटको प्रयोगका माध्यमबाट आफूले विद्यालयको कक्षा कोठाको अनुगमन, जन्म, मृत्यु र विवाहबारे तत्काल जानकारी प्राप्ति, कृषि कार्यको अद्यावधिक गर्ने गरेको जानकारी दिए । वास्तवमा उनको यो अभ्यास स्थानीय तहका लागि एकप्रकारको प्रयोग नै हो ।

बडुवाल आफ्नो प्रत्येक प्रस्तुति ल्यापटप र पावर प्वाइन्टका माध्यमले दिन्छन् । उनको मत छ, यो काम सबैले गर्नुपर्छ । कम्तीमा यो अभ्यासले स्थानीय तहमा तथ्यांक र अभिलेख संकलन र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । मैले उनको कुरा सुनेर उनलाई वाचा गरेको झल्झली सम्झन्छु– म यो प्रयासका बारेमा अन्यत्र पनि जानकारी गराउँछु ।

आजको कार्यक्रम समापनपछि हामी साँझ एकछिन त्यतै कतै बजारमा अलमलिएका थियौं । दयाराम र प्रेमले बसाइ संयोजन गरेका थिए । मार्तडी बजार सदरमुकाम त हो तर अत्यन्त सानो ठाउँ हो यो । हामीले करिब ४५ मिनेट पैदल यात्रा गर्दा मार्तडी बजार एकसरो घुमिभ्याएका थियौं ।

कचौरा आकारको सानो बजार मार्तडीमा पनि मानिसको भीडभाड नदेखिनु उदेकलाग्दो छ । तराई बसाइँ सर्ने प्रवृत्तिबाट यो स्थान पनि अछुतो छैन । खाना खाएर हामी आफ्नो वासस्थानतिर लाग्यौं र दयाराम तथा प्रेम आफ्नो कोठातिर लागे ।

विकट स्थानमा बडिमालिका

अर्को दिन बिहान ब्युँझेपछि मैले प्रेमसँग बडिमालिकाका बारेमा जिज्ञासा राखेको थिएँ । उनले बडिमालिका स्थान निकै टाढा र दुरुह रहेको बताएका थिए । बाजुराको प्रसिद्धिमा बडिमालिका देवीको पनि ठूलो योगदान छ । बाजुराको चिनारी नै वास्तवमा बडिमालिका माताको पावन भूमिको जिल्लाका रूपमा छ भनेर भनियो भने अस्वाभाविक हुने छैन ।

तर प्रेमले भने झैं त्रिवेणी नगरपालिका वडा नं. ९ मा १४,००० फिटको उचाइमा अवस्थित बडिमालिकाको वासस्थान मार्तडीबाट निकै टाढा छ । बडिमालिका नगरपालिकाको सदरमुकाम मार्तडी जत्तिकै सहज र सरल गन्तव्य होइन बडिमालिका देवीको स्थान ।

यो स्थान अत्यन्त दुरुह र विकट मानिन्छ । जो कोही यहाँ जाने आँट गर्न सक्दैनन् । पैदल र कहिलेकाहीं हेलिकोप्टर बाहेक यहाँ जाने अर्को माध्यम छैन । यहाँ गएर देवीको दर्शन गर्नु वास्तवमै कठिन रहेको स्थानीयहरू बताउँछन् ।

उनीहरूका अनुसार यसै नगरपालिकाका थुप्रै व्यक्ति छन् जो बडिमालिका जान सकेका छैनन् । तर मिनी बडिमालिका भनेर चिनिने सदरमुकाम मार्तडीको उपरकोटमा बडिमालिकाको मन्दिर स्थापना गरिएको छ । बडिमालिकाको मन्दिरमा चढाएको ध्वजा उडाएर सीधै उपरकोटस्थित रूखमा अड्किएको र पछि बडिमालिकाको थपनाका रूपमा त्यहाँ मन्दिर निर्माण गरिएको स्थानीय वयोवृद्ध बताउँछन् ।

यो मन्दिर बाह्रै मास खुला रहन्छ । ती स्थानीय व्यक्ति विकल्प पनि सुझाउँछन्– चिन्ता गर्नुपर्र्दैन, बडिमालिका जान सकिएन भने तिनै देवीको सहअस्तित्वका रूपमा भारत उत्तराखण्डको टनकपुर नजिक विराजमान पूर्णागिरिको दर्शन गरे पनि बडिमालिकाकै दर्शन गरेजत्तिकै फल प्राप्त हुन्छ ।

अभाव होइन, सम्भावनाको जिल्ला

त्यहाँ बस्दा जति मैले बाजुरा बुझें त्यस आधारमा भन्नुपर्दा यो जिल्ला पछि परेको भन्दा पनि पछि पारिएको जस्तो लाग्यो । राज्यका नीतिनिर्माताको समुचित ध्यान पुग्न नसक्दा बाजुरा समस्याग्रस्त बन्न पुगेको कुरामा विमति हुन सक्दैन ।

यहाँ खप्तड, बडिमालिका, बुढीनन्दा र रानीसैन जस्ता अपार प्राकृतिक सम्पदा छन् । पर्यटन प्रवद्र्धन गर्न सक्नुपर्छ, आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्छ । बाजुरा अभावै अभावको जिल्ला होइन बरु यो त विकासको सम्भावनै सम्भावना भएको जिल्ला हो ।

माथि हिमाल, बीचमा बुढीगंगा र कर्णाली नदी बगेको छ । नदी किनार वारिपारि खेतैखेतका फाँट छन् । माथि कान्लामा स्याउ–सुन्तला, कागती अदुवा, बेसार, खुर्सानी लगायत दर्जनौं अर्गानिक कृषि उत्पादन गर्न सकिन्छ । जडीबुटीको खेती र कृषि व्यवसायलाई निर्यातमुखी बनाउन सकिन्छ । कोल्टी क्षेत्र (जसलाई हुम्ला जाने गेटवे पनि मानिन्छ) मा जैतुनको व्यावसायिक खेतीको प्रशस्त सम्भावना छ । कर्णालीमा र्‍याफ्टिङ चलाएर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।

मैले नेपाली कांग्रेसका नेता तत्कालीन पार्टी सभापति कविराज पण्डितलाई पनि भेटेको थिएँ । राजनीति र समाजसेवामा क्रियाशील उनको चिन्ता छ– बाजुरेलीको गरिबी, पछौटेपन र बेरोजगारीको विद्यमान अवस्थामा अर्थपूर्ण परिवर्तन ल्याउन सकिएन । पण्डितका अनुसार त्यसका लागि राज्यको नीतिर्मिाण तहमा रहेकाहरूको इच्छाशक्तिमा परिवर्तन आउनु जरूरी छ ।

हामी आजै फर्कनुपर्ने थियो । रात्रिवास दिपायलमा निश्चित थियो । दयाराम र प्रेमबाट स्थानीय बोडी कोसेली प्राप्त गरी हामी मार्तडीबाट करिब दुई बजेतिर प्रस्थान गर्‍यौं । हाम्रो गाडी लगातार ओरालो झरिरहेको थियो । जडांगा नजिक साथीहरू एकछिन गाडीबाट तल झरे । म भने गाडीनजिकै उभिएको थिएँ । एक जना प्रौढ बाख्रा पछ्याउँदै गाडी नजिक आइपुगेका थिए ।

मैले उनलाई बाजुरेली भाषामै सोध्ने प्रयत्न गरें– कसा छौ ?

उनले भने – निकै छु । तमी कसा छौ ?

मैले भने– म पनि निकै छु । तर म तपाईंको भाषा बुझ्न सक्छु, फर्काउन सक्दिनँ । तपाईं पनि नेपालीमै मलाई भन्नुस् है ।

उनले टाउको हल्लाए ।

मैले सोधें– तपाईं त बडिमालिका देवीको नगरको बासिन्दा । तपाईंले माग्नुपरे बडिमालिकासँग के माग्नुहुन्छ ? एकछिन उनी चुप लागे र उत्तर आफ्नै भाषामा फर्काए– बडिमालिकाले पन हाम्बा कुडा सुन्नि नाइ, कैकन भन्न्या ? (बडिमालिकाले पनि हाम्रा कुरा सुन्दिनन् । कसलाई भन्नु ?)

मार्तडीबाट फर्कंदै गर्दा मैले सारमा एउटा कुरा भन्नैपर्ने हुन्छ– मार्तडीसम्म आइपुग्दा बाजुराका बारेमा जति विकट र दुर्गम कुरा मलाई सुनाइएका थिए त्यसमा मैले संशोधनको आवश्यकता देखेको छु । बाजुरालाई जसरी अभावको जिल्लाका रूपमा चित्रित गरिएको छ त्यसो होइन बरु चाहने हो भने यो जिल्ला विकासका दृष्टिले निकै सम्भावना बोकेको जिल्ला हो भन्दा अतिशयोक्ति हुँदैन । राजनीतिक नेतृत्वको इच्छाशक्तिको अभाव भने हो । संघीयतामा पनि बाजुराले उचित सम्बोधन पाउन नसक्नु भने दुःखद् छ ।

बडिमालिका मात्रलाई संरक्षित क्षेत्र घोषणा गर्न सके यहाँ आर्थिक विकासको नयाँ आयाम थपिन सक्छ । बडिमालिकाको फेदीमा बसेका नागरिकले तीर्थालुलाई धुप र नैवेद्य मात्रै बेचेर पनि पर्याप्त आम्दानी गर्न सक्छन् । त्यहाँका २२ पाटनमा पाइने बहुमूल्य जडीबुटीको संरक्षण, सम्वद्र्धन गर्न सके पनि त्यसबाट धनोपार्जन गर्न सकिन्थ्यो ।

यस्तै बाह्य तथा आन्तरिक पर्यटकलाई पथप्रदर्शन गर्ने र तिनीहरूका भारी बोकेर पनि स्थानीयले मनग्य आम्दानी गर्न सक्थे । बडिमालिका स्थानमा वर्षमा एकपटक लाग्ने मेलाले मात्र पर्यटन प्रवद्र्धन सम्भव छैन । तीनै तहका सरकार गम्भीर हुनु जरूरी छ, बडिमालिकासम्मको यात्रा बाह्रैमास सुचारु हुने वातावरण निर्माणमा सबैले जुट्नु अपरिहार्य छ । बडिमालिका माईबाट सबैलाई सद्बुद्धि प्राप्त होस् ।

साथीहरू फर्किसक्नुभएको थियो । हामी गाडीमा सवार भयौं र लाग्यौं साँफेतिर, त्यसपछिको गन्तव्य दिपायल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?