+
+
Shares

अम्रिसोले हरियाली मात्रै बढाएन, गरिबी पनि घटायो 

भूक्षय रोकथाम, हरियाली प्रवर्द्धन र पाखो क्षेत्रबाट आम्दानी लिन अम्रिसो खेती निकै फलदायी देखिएको छ । यो हरित वृद्धि र जलवायु संरक्षणलाई बढावा दिने स्थानीय सामुदायिक अभ्यासको उदाहरण भएको छ ।

रामबाबु पौडेल, पूर्व जिल्ला वन अधिकृत, पाल्पा रामबाबु पौडेल, पूर्व जिल्ला वन अधिकृत, पाल्पा
२०८२ वैशाख १९ गते १०:४०

म २०५०/५१ सालतिर इलाममा डिएफओ थिएँ । त्यहाँ (इलाममा) जमिनको उपयोग भएको देखें । खाली जमिनमा चिया, अम्रिसो, अलैंची, अदुवा जस्ता पैसा आउने बोटबिरुवा लगाएर उपयोग गरेको पाएँ । यसले मलाई खुबै प्रभाव पारेको थियो ।

म २०६५ सालमा जिल्ला वन अधिकृत बनेर पाल्पा आएँ । पाल्पाको भूबनोट पनि इलामको जस्तो लाग्यो । त्यहाँ पनि फाट्टफुट्ट रूपमा अम्रिसोको बोट देखेको थिएँ । खोरिया (जमिन) खाली देखें । प्राकृतिक रूपमा पनि त्यस्तो देखेपछि मलाई यो जमिन उपयोग गर्न सके आम्दानी पनि हुनसक्छ र वन पनि जोगिन सक्छ भन्ने लाग्यो ।

इलामको अभ्यासलाई मैले पाल्पाको पूर्वी क्षेत्रमा उपयोग गर्ने निधो गरें । स्थानीय र वन कार्यालयका कर्मचारीहरूको साथले हामीले पाल्पामा अम्रिसो रोपणको अभियान शुरू गरेका थियौं । पहिलो पटक २०६५ सालमा जिल्ला वन कार्यालयकै परिसरमा अम्रिसो रोपेर विश्व वातावरण दिवस मनायौं ।

२०६६ सालमा निस्दीको भोटेगौरी सामुदायिक वनमा परीक्षणको रूपमा अम्रिसो लगायौं । त्यो गौरीशंकर माविलाई आम्दानीको स्रोतको रूपमा विकास गर्न गरिएको काम थियो । त्यहाँका स्थानीयले विद्यालय सञ्चालन गर्न स्रोत भएन भन्दै पैसा माग गरेपछि हामीले सामुदायिक वनमा नै अम्रिसो रोपण गरी आम्दानी लिन प्रेरित गरेका थियौं ।

२०६७ सालमा निस्दी ३ झिरुबासमा समुदायलाई विश्वासमा लिई काउलेडाँडामा अम्रिसो लगाउने अभियान चलायौं । साँच्चि भन्ने हो भने कबुलियती वन विकास कार्यक्रमसँग जोडेर गरेको यो काममा त्यहाँका समुदाय निकै सहयोगी र सजिला रहेको मैले पाएँ । त्यहाँको भूगोल र गाउँलेको आर्थिक अवस्था देखेरै कबुलियती वन कार्यक्रम त्यो ठाउँमा पुर्‍याउन अनुरोध गरेको थिएँ ।

इलामको चिया बगान जस्तै काउलेडाँडामा अम्रिसोको बगानले पर्यटनको अभ्यास शुरू भएको छ । हरियाली प्रवर्द्धन र भूक्षय रोकथामको अभ्यास सिक्न खोज्नेहरू यहाँ आउने गरेका छन् ।

त्यहाँका स्थानीयहरू दाउरा बेचेर जीवन चलाइरहेका थिए । गाउँका डाँडाको हैसियत वन बिग्रिएको अवस्थामा थिए । अम्रिसोले छोटो अवधिमै आम्दानी दिने हुँदा हामीले अम्रिसोको व्यावसायिक खेतीतर्फ समुदायलाई अगाडि बढाएका थियौं ।

उक्त क्षेत्रमा ९ वटा समूहबाट अम्रिसो रोप्ने काम शुरू गरेका थियौं । अहिले अम्रिसोका बिरुवा किसानका खेतबारीका कान्ला र पाखोसम्म फैलिएका छन् । निस्दी गाउँपालिकामा मात्रै झिरुबास, मित्याल, ज्यामिरे र अर्चले गरी अम्रिसोका चार वटा पकेट क्षेत्र विस्तार भएका छन् ।

गाउँलेहरूलाई अम्रिसोले काम दियो, आम्दानी दियो । रोजगारी र आयआर्जन भएपछि वन जोगियो । वनमाराले ढाकिएका र खुइलेका डाँडा अम्रिसोले छोपियो । अहिले स्थानीयले कबुलियती वनमा मात्रै नभई बारीका कान्ला र पाखो–पखेरामा समेत अम्रिसो रोपेका छन् ।

यसरी पाखो डाँडामा अहिले हरियाली छाएको छ । इलामको चिया बगान जस्तै काउलेडाँडामा अम्रिसोको बगानले पर्यटनको अभ्यास शुरू भएको छ । हरियाली प्रवर्द्धन र भूक्षय रोकथामको अभ्यास सिक्न खोज्नेहरू यहाँ आउने गरेका छन् ।

भूक्षय रोकथाम, हरियाली प्रवर्द्धन र पाखो क्षेत्रबाट आम्दानी लिन अम्रिसो खेती निकै फलदायी देखिएको छ । अम्रिसो खेती प्रविधि, फेरिएको वातावरणीय पक्ष, हुर्किंदै गरेको पर्यटन विकास, जमिनको उपयोगिता, सामूहिक कार्य, स्थानीयको आम्दानी र बजारीकरणका अभ्यास अरू ठाउँका लागि पनि अनुकरणीय छ । यो हरित वृद्धि र जलवायु उत्थानशीलता बढावा दिने स्थानीय सामुदायिक अभ्यासको उदाहरण बनेको छ ।

२०६७ सालबाट शुरू भएको अम्रिसो खेती अहिले पाल्पाका धेरैजसो गाउँमा विस्तार भएको छ । यसरी हरियाली प्रवर्द्धन हुँदा पाल्पाको अम्रिसोले निकै ठूलो चर्चा पाएको छ । म सरकारी सेवाबाट अवकाश भएको छु, तर त्यतिबेला गरेको काम सम्झिंदा आनन्द आउँछ । अहिले त्यो ठाउँको चर्चा कहीं कतै सुन्दा सन्तुष्टि मिल्छ ।

हुन पनि अम्रिसो स्थानीय रूपमा उपलब्ध हुने बहुवर्षीय, बहुउपयोगी घाँस हो । यसले पशुपालनलाई समेत सहयोग गरिरहेको छ । अम्रिसोसँगै घाँस पर्याप्त भएपछि धेरैजसोको घरमा पशुपालन पनि छ । यसले मल हुँदा कृषि उत्पादनमा समेत सहयोग पुगेको छ । घरकै खाद्यान्नकै लागि मजदुरी गर्न गाउँ छाड्नुपर्ने बाध्यता हटेको छ ।

अम्रिसोको गाना, फूल, पात सबै काम लाग्छ र बिक्री हुन्छ । त्यहाँको अम्रिसोको गाना पाल्पाकै विभिन्न ठाउँका साथै रोल्पा, प्यूठान, तनहुँ, धादिङ, भक्तपुर, डडेलधुरासम्म पुर्‍याउनमा मैले सहयोग पनि गरें । अहिले गाईवस्तुले नखाने डाँठबाट उच्च कोटिको कागज बन्न थालेको छ ।

पर्यटनले स्थानीयको आयआर्जनमा समेत वृद्धि भएको छ । अम्रिसो बगान हेर्ने पर्यटकको वृद्धिसँगै काउलेडाँडामा होम स्टे खुलेका छन् ।

मैले त्यहाँ रहेर स्थानीयसँग कुराकानी गर्दा अम्रिसोले न्यूनतम रूपमा छोराछोरी पढाउन र अन्न किनेर खान पुग्ने पैसामा निकै ठूलो सहयोग पुगेको पाएँ । आयआर्जन नभई दिगो नहुने र अम्रिसोले दुई वर्षबाटै आयआर्जन दिने हुँदा अम्रिसो खेतीले स्थानीयलाई तानेको पाएँ ।

साँच्चि, त्यहाँको अम्रिसो रोपणले जंगल जोगिने र गरिबीलाई सम्बोधन गर्न सक्ने रहेछ भन्ने सिकाइ गरायो । यो हरित क्षेत्र वृद्धिसँगै गरिबी कम गर्ने र स्वरोजगारीको अवसर प्रदान गर्ने एकीकृत मोडेलको एउटा गतिलो उदाहरण हो ।

(पाल्पामा अम्रिसो खेतीका सूत्रधार मानिने पूर्व जिल्ला वन अधिकृत पौडेलसँग पत्रकार कृष्ण मल्लले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?