+
+
Shares

अब पाल्पाको चिनारी बन्दैछ अम्रिसो

अम्रिसोले पाल्पाको चिनारी बदल्दैछ । काउलेडाँडामा एशियाकै ठूलो अम्रिसो खेती छ । हरियाली प्रवर्द्धनमा उदाहरणीय काम गरेको भनेर हामीले संघीय वन तथा वातावरण मन्त्रालयबाट रु.२ लाखको ‘परिवर्तित विकास पुरस्कार’ पाएका छौं ।

दमन पाटा मगर, अम्रिसो अभियन्ता, पाल्पा दमन पाटा मगर, अम्रिसो अभियन्ता, पाल्पा
२०८२ वैशाख १९ गते १०:३९

यो काउलेडाँडा बिग्रिएको चौर थियो । गाउँलेले गाईवस्तु चराउँथे । कतै नाङ्गो डाँडा थियो, कतै वनमाराको झाडी । गतिलो घाँस नहुँदा गाईवस्तु पनि अघाउँथेनन् । २०६५/६६ मा यो ठाउँमा अम्रिसो रोप्न सकिन्छ कि भनेर तयारी गर्‍यौं । २०६७ सालमा अम्रिसो रोप्ने काम पनि भयो ।

हरियाली वृद्धिसँगै गरिबी न्यूनीकरण गर्ने उद्देश्यले यो काम शुरू गरिएको थियो । गौचरनका रूपमा रहेको ठाउँमा अम्रिसो रोप्ने कुरा चलाउँदा शुरूका दिनमा गाउँलेबाट विरोध पनि आयो । गौचरनमा अम्रिसो रोपेपछि हामीले गाईवस्तु कहाँ चराउने ? भनेर औंला ठड्याएर प्रश्न सोधे पनि । सहमतिमा ल्याउन सम्झाउने–बुझाउने काम भयो । केही घरपरिवारलाई पहिलो वर्ष झाडी फाडेर मकै र कोदो लगाउने र त्यसको आम्दानी लिन पनि दियौं ।

शुरुआती चरणमा अम्रिसो खेतीका लागि एक घरले एक महिना निरन्तर श्रमदान गरेको थियो । एक महिनाको अवधिमा एक घरले तीन हजार अम्रिसोका गाँज रोप्ने नियम पूरा गर्‍यौं । अम्रिसोको गाँज पनि सबै परिवारले खोजेर रोपे । त्यो समयमा गाउँ नै साँच्चिकै श्रमदानको अभियानमा लागेको थियो ।

अम्रिसोले अहिले पाल्पाको चिनारी नै बदलिंदै गएको छ । काउलेडाँडामा एशियाकै सबैभन्दा ठूलो अम्रिसो खेती विकास भएको छ । हरियाली प्रवर्द्धनमा उदाहरणीय काम गरेको भन्दै हाम्रो कबुलियती वन समूहले २०६९ सालमा संघीय वन तथा वातावरण मन्त्रालयबाट रु.२ लाख राशि सहित ‘परिवर्तित विकास पुरस्कार’ पायौं ।

झिरुबास क्षेत्र जिल्लाको मात्रै नभई नेपालका अन्य ठाउँका लागि पनि सिकाइको केन्द्र बनिरहेको छ । सफल उदाहरण हेर्न, सिक्न र आफ्नो गाउँ–ठाउँमा अनुसरण गर्न यहाँ धेरै ठाउँबाट अम्रिसोका बिरुवा लिन आउने गरेका छन् । अम्रिसोको कुचो बिक्री गरी प्रति घरपरिवारले वार्षिक रु.१ लाख हाराहारी आम्दानी गर्छन् । हाम्रो मुख्य आम्दानी नै अम्रिसो बनिरहेको छ ।

सानोतिनो पैसाका लागि महिलाले पुरुषमा भर पर्नुपर्ने अवस्था थियो । अम्रिसो अभियानले महिलामा बचत गर्ने बानी बस्यो । अहिले महिलाको हातमा पनि पैसा पुगेको छ । साँच्चि नै भन्ने हो भने अम्रिसोले सामाजिकीकरणमा निकै ठूलो सहयोग गरेको छ ।

स्थानीयले कबुलियती वनमा मात्रै नभई बारीका कान्ला र पाखो पखेरोमा समेत अम्रिसो रोपेका छन् । पाखो डाँडा अहिले हरियाली छ । इलामको चिया बगान जस्तै यहाँ अम्रिसोको बगानले पर्यटनको अभ्यास गर्न पाउँदा हामीलाई गर्व लाग्छ ।

हरियाली प्रवर्द्धन र भूक्षय रोकथामको अभ्यास सिक्न खोज्नेहरू यहाँ आउने गरेको छन् । डाँडामा हरियाली भएका कारण पानीको स्रोत संरक्षणमा निकै फाइदा पुगेको छ । हरियाली बढेपछि डाँडामुनिका खोल्सामा पानीका मुहान सुकेका छैनन् ।

अम्रिसोको कमाइ विद्यालय सञ्चालनमा प्रत्यक्ष सहयोगी भएको छ । अप्रत्यक्ष रूपमा यस क्षेत्रका सयौं बालबालिकाको पठनपाठनमा वरदान बनेको छ । तत्कालीन रूपमा म विद्यालयको प्रधानाध्यापक थिएँ । बिग्रिएको जमिनमा अम्रिसोले हरियाली थपे झैं बालबालिकालाई शिक्षा लिनमा उत्तिकै सहयोग गरेको छ ।

त्यतिवेला केस स्टडी गर्दा विद्यार्थीले स्कूल छाड्ने, कापीकलम नहुने, घाँस काट्न जाने, बाबुआमा घाँस काटेर फर्किंदा ढिलो भई खाना खान नदिने हुँदा स्कूल नियमित नआउने र छाड्ने गरेको पाइएको थियो । अहिले पैसाका कारण विद्यालय छाड्नुपर्ने अवस्था हटेर गएको छ ।

सबैले आफ्नो ठाउँमा प्रयत्न गर्‍यो भने उपलब्धि हुन्छ, आयआर्जनमा वृद्धि हुन्छ र सामाजिकीकरण पनि हुन्छ भन्ने सोचले अहिले पूर्णता पाएको छ । हाम्रा यी गाउँबाट श्रमिकको रूपमा काम गर्न बाहिर जान्थे भने अहिले अम्रिसोले स्थानीय स्तरमै रोजगारी दिएको छ । अम्रिसोबाट घाँस पनि भएपछि पशुपालन र खेतीपातीमा मानिस जोडिएका छन् ।

सानोतिनो पैसाका लागि महिलाले पुरुषमा भर पर्नुपर्ने अवस्था थियो । अम्रिसो अभियानले महिलामा बचत गर्ने बानी बस्यो । अहिले महिलाको हातमा पनि पैसा पुगेको छ । साँच्चि नै भन्ने हो भने अम्रिसोले सामाजिकीकरणमा निकै ठूलो सहयोग गरेको छ ।

हिजो वल्लोपल्लो गाउँमा चिनजान थिएन, अहिले २२७ घरधुरी एउटै परिवार जस्तो भएको छ । सबैले सबैको सम्मान गर्छन्, मिलेर काम गर्छन् । १९ समूहको प्रत्येक महिना बैठक बस्छ, कतिवेला गोलमेल गर्ने, झाडी सफाइ गर्ने आफैं परिपाटीको विकास भएको छ ।

अम्रिसोको कारण पर्यटनले पनि फड्को मारेको छ । आन्तरिक पर्यटकहरू आइराखेका छन् । आयस्रोतमा वृद्धि गर्ने हो, यसबाट पनि कमाइ भएको छ । स्थानीय उत्पादन बिक्री भएको छ । स्थानीयलाई रोजगारी भएको छ । एउटा कामले अर्को काम जोड्दो रहेछ, त्यसले सबैलाई फाइदा हुने रहेछ ।

सुन्तला रोपे सुन्तला फल्छ, कागती रोपे कागती; फूल रोपे फूल फुल्छ भने झैं अहिले हामीकहाँ अम्रिसो सप्रिएको छ । गाउँमा पैसा आएको छ । डाँडामा हरियाली छाएको छ । यो देख्दा मन आनन्दित भएर आउँछ । हामी समुदाय मिलेर गरेको मिहिनेत अहिले डाँडामा फुलिरहेको छ ।

यसले हामीलाई मात्रै होइन बाहिरी मान्छेलाई पनि लोभ्याएको छ । र त यो दुर्गम ठाउँ देख्न, हेर्न, सिक्न मानिस आइरहेका छन् । यो देख्दा म कति सन्तुष्ट हुन्छु ! त्यो सन्तुष्टिको आकार शायदै नाप्न सकिएला ।

(पाल्पा निस्दी गाउँपालिकाका अम्रिसो अभियन्ता पाटा मगरसँग पत्रकार कृष्ण मल्लले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?