+
+
Shares

राधिकाको ‘करुणा’ : कठिनाइसँग जुध्ने प्रेरणापुञ्ज

आफूले आँसु झारेर अरुको ओठमा मुस्कान खोज्ने, त्याग, समर्पण र सहनशिलताकी त्रिवेणी राधिका शाक्यको जीवनकथा पढिसक्दा यस्तो लाग्छ- उहाँको जीवनलाई प्रतिविम्बित गर्ने शब्द नै ‘करुणा’ हो । अर्थात् राधिका शाक्यको पर्यायवाची ‘करुणा’ हो ।

हिरामान लामा हिरामान लामा
२०८२ वैशाख १९ गते ८:५७

नेपाली राजनीतिका चर्चित व्यक्तित्व केपी शर्मा ओलीकी अर्धाङ्गिनी राधिका शाक्यको जीवनका कमै मात्र पाटाहरू सार्वजनिक भएका थिए । एक शक्तिशाली राजनीतिज्ञकी श्रीमती भएर पनि कहिल्यै शक्तिको अभ्यास नगर्ने, सदैव सादगी जीवनमा रमाउने समर्पणकी विम्ब जस्तै बन्नुभएकी राधिकाको जीवन भोगाइका कथाहरू बुझ्न लालायित मेरा आँखा उनैले लेखेको पुस्तक ‘करुणा’ का पानाहरूमा दौडिए ।

नेपाल आमाप्रति समर्पण गरिएको पुस्तकको विषयवस्तुमा जब मेरा आँखा परे, तब पुस्तकबारे केही शब्द लेखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको लेख ‘करुणा र राधिका’ हुँदै अन्तिम च्याप्टर ‘आभार’ सम्म सर्सर्ती आँखा डुलाउँदा छिटोभन्दा छिटो पुस्तक छिचोल्ने मेरो व्याकुलताको ग्राफ ह्वात्तै बढ्यो ।

सुरुकै तीन च्याप्टरका शीर्षकहरू ‘मृत्युका मुखैमा पुगेर फर्किँदा’, ‘कलम समाउने हातमा क्युरिओको छिनो’, ‘शहरका सम्पन्नता भित्र नअटेको हाम्रो चुहिने छानो’ पढ्दा नै जिज्ञाशा र उत्सुकताले थप घचेट्दै लग्यो । जतिजति विषयवस्तुका शीर्षकहरू पढ्दै गएँ, उतिउति अनुमानभन्दा उत्सुकताको मात्रा थपिँदै गयो ।

एक उत्सुक र जिज्ञाशु मन लिएर जब मेरा आँखा पुस्तकका अक्षरहरूमा दौडिन थाले, तब शब्दहरू आफैँमा दृश्य बनेर झलझली देखिन थालेँ । राधिका शाक्यको जन्म पाटनमा भएको कुरा त थाहा थियो । पाटन भन्ने वित्तिकै स्वभाविक रूपमा सम्पन्नताको विम्ब मनमा आउँथ्यो ।

पाटनको शाक्य परिवारमा जन्मे/हुर्किएकी राधिकाको बाल्यकाल सुख-सयल, यश-आराममै बित्यो होला भन्ने आम अनुमान हुन सक्ला तर उहाँले उल्लेख गर्नुभएको आफ्नो बाल्यकालको दुःख, संघर्ष र पारिवारिक आर्थिक अवस्थाको विवरण पढिसक्दा मन ढक्क फुल्यो ।

हरियो रङको फ्रक लगाएर घर नजिकैको पाटन कृष्णमन्दिर हुँदै आदर्श कन्या निकेतन स्कुल गएका बाल्यकालीन सम्झनासँगै सुरु हुन्छ, राधिका शाक्यको कथा । कक्षा ६ मा पढ्दै गर्दा अनायासै जिन्दगीको नियमित चर्यामा ब्रेक लाग्छ । उहाँ झण्डै-झण्डै जीवन-मरणकै सवाल उठ्ने गरी कष्टसाध्य बिमारले गलिनुहुन्छ । चलिरहेको समय टक्क रोकिएझैँ, बिहानीको घाम झुल्किएको घमाइलो वातावरणमा अनायासै निष्पट्ट अँध्यारोले घेरिएझैं, मनको डालीमा फुल्दै गरेका सपनाका कोपिलाहरू चुँडिएझैं अनि रहरका थुंगाहरूमा असिनाले चुटेझैँ हुन पुग्छ ।

शरीरमा रोगले आक्रमण गरेपछि चलिरहेको स्कुल ड्रप आउट हुन्छ  । एकै पटक शारीरिक र मानसिक यातनाको हुरी उहाँको मनमा चल्छ । ‘शरीर कर्कलाको डाँठ जसरी फतक्कै गल्थ्यो । बसेका ठाउँबाट उठ्न र उभिन सक्दिनथें, जसोतसो उठी-उभिहाले पनि हिँड्न सक्दिनथेँ । छाती भतभती पोल्थ्यो । जिउ झम्झमाउँथ्यो । आँखा तिरमिराउँथे र सुसुपाल भएर सुकेको ज्यान त्यत्तिकै भारी हुनुहुन्थ्यो,’ त्यो बखतको आफ्नो हालतको वर्णन उहाँले यसरी गर्नुभएको छ ।

समय अन्तरालमा अनेकौँ प्रयास र  औषधिमुलोपश्चात् विस्तारै रोग निको हुँदै जान्छ । यसका लागि उहाँका बावु चिरिभाइ शाक्यले गरेको योगदानको वृत्तान्त पढ्दै गर्दा हर कोहीको मनमा उहाँप्रति सम्मान भावको चुली लाग्छ । राधिकाले आफू त्यस बखत निको हुनुमा औषधिमुलोको भूमिका कम र बावुको पिठ्यूँको को न्यायो स्पर्श र प्रेमभावको भूमिका धेरै थियो होला भनेरै बावुप्रतिको आफ्नो अगाध सम्मान प्रकट गर्नुभएको छ । त्यसै बखत उहाँको जीवनमा एक यस्तो मोड आइपुग्छ, सायद त्यो नै आजको राधिका शाक्य बन्नुको टर्निङ प्वाइन्ट बन्न पुग्छ ।

एकदिन घरको भर्‍याङ चढ्दै गर्दा पल्लो घरमा छिमेकीहरूले ठूलोठूलो स्वरमा आफ्नो परिवारको कुरा काटिरहेको आवाज उहाँको कानमा ठोकिन्छ, ‘त्यो चिरीभाइको घरमा त कोही पढेकै छैन, पढेको मान्छे घरमा भएपो बुद्धि हुनु ।’ ती शब्दहरूले उहाँको हृदयलाई यसरी हल्लाउँछन् कि उहाँले तत्क्षण नै संकल्प गर्नुहुन्छ, ‘अब म जसरी पनि पढ्छु ।’

ती मुटु बिझ्ने शब्दहरूले उहाँको मनमा जीवनमा केही गरेरै छोड्ने इखको जरा गाड्छ र  छुटिसकेको स्कुलतर्फ आफ्नै प्रयत्नमा आफ्ना पाइला लम्काउनुहुन्छ । अन्ततः पढ्दै जाँदा र अघि बढ्दै जाँदा उहाँले दुईवटा विषयमा मास्टर डिग्री हासिल गर्नुहुन्छ । त्यस क्षणबारे स्मरण गर्दै उहाँले लेख्नुभएको छ, ‘जिन्दगीमा केही गर्न हात दिनेहरू र खुट्टा तान्नेहरूको उत्तिकै महत्व हुन्छ । हात दिनेले तपाईंलाई केही गर्न प्रेरित गर्छन् भने खुट्टा तान्नेले यथास्थितिको मुकाबिला गरेर अघि बढ्न दबाब सिर्जना गर्छन् । त्यस दिन छिमेकीको त्यस कठोर बचनबाट मैले जुन ज्ञान पाएँ आजसम्म कुनै लब्धांकपत्रले त्यसको प्रतिविम्ब दिन सक्दैन ।’

घरकी जेठी छोरी राधिकाले आफ्नो पढाइ पूरा गर्न कतिसम्म संघर्ष गर्नुपर्‍यो भन्ने कुरा कुनै फिल्मको कथाभन्दा कम छैन । स्कुल खर्चको जोहो गर्न उहाँ क्युरियोमा काम गर्नुहुन्थ्यो । संघर्षका जतिसुकै कठिन क्षणहरूलाई मुकाबिला गरेर पनि उहाँले आफ्ना सपनाका कोपिलाहरूलाई कहिल्यै ओइलिन दिनुभएन, परिश्रम र मिहिनेतको पसिनाले मलजल गरिनै रहनुभयो । अन्तत: त्यसको परिणाम देखियो, एसएलसीको रिजल्टमा । उहाँले फर्स्ट डिभिजनमा एसएलसी पास गर्नुभयो । एसएलसी रिजल्टको सन्दर्भ पुस्तकमा यसरी उल्लेख गरिएको छ कि, उहाँमा बावु चरिभाइ शाक्यका आँखाबाट आँसु झर्दा सायद हरकोही पाठकले आफ्नै आँखा रसाएको पत्तो पाउँदैन।

‘शहरका सम्पन्नता भित्र नअटेको हाम्रो चुहिने छानो’ पढ्दै गर्दा पाटन भन्ने बित्तिकै सबै सम्पन्न र धनी हुन्छन् भन्ने आम पूर्वानुमानको पर्खाल भत्कन्छ । शहरी गरिबीभित्र लुकेको वर्गीय विभेदको झल्को यो च्याप्टरले देखाउँछ । मध्य पाटन शहरको एक चुहिने घरको छानोको कथा जहाँ चाडपर्व मनाउन पनि कयौँ पटक उहाँकी आमाले आफ्नो गहना बेच्नुपर्छ । अभाव र दबाबको चपेटाबाट रुमलिएका ती पानाहरु पल्टाउँदै गर्दा मन कुडिन्छ ।

कलिलै उमेरमा भोग्नुपरेको दुःख र खेप्नु परेको विभेदले उहाँको बालमानसपटलमै विद्रोह अंकुरण हुँदै जान्छ । कलेज जीवन सुरु भएसँगै अनेरास्ववियु पाँचौंबाट उहाँको संगठित राजनीतिक यात्रा सुरु हुन्छ । आफ्नै वरिपरिकाहरूबाट घृणा र विभेदको व्यवहारले डसिरहँदा एक बखत चिनियाँहरूसँग जुरेको संगतले कम्युनिष्ट विचारतर्फ उहाँको झुकाव बढाउँछ ।

‘कमरेड सञ्जु बर्को ओढेर पञ्चायतको मलामी’ पढिरहँदा उहाँभित्र रहेको क्रान्तिकारी, विद्रोही र परिवर्तनकामी चरित्रको बेजोड विम्ब देखिन्छ । आजको नेकपा एमाले निर्माणमा कमरेड सञ्जुको योगदान कहीँ न कहीँ अभिलेखीकरण हुनैपर्ने थियो, यस पुस्तकले न्याय गर्यो भन्ने आभाष हुन्छ ।

केपी शर्मा ओलीसँग विवाह भएपछि उहाँले आफ्नो राजनीतिक यात्रालाई बिराम दिने निर्णय लिनुहुन्छ । आफ्नो जीवनमा सबैभन्दा महत्वपूर्ण दुई निर्णय भनेर उहाँले केपी ओलीसँग विवाह गर्ने र राजनीति छोड्ने निर्णयलाई उल्लेख गर्नुभएको छ । सबै पुस्तक पढिसक्दा साँच्चै उहाँका यी दुई निर्णय कति दूरदर्शी थिए भन्ने छर्लङ्ग हुन्छ ।

२०३६ सालमा सहायकस्तर चौथो तहको अस्थायी पदबाट नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरी २०६८ सालमा निर्देशक पदमा पुगेर राष्ट्र बैंकमा कार्यसम्पादन गरेका महत्वपूर्ण सम्झनाहरू पुस्तकमा संक्षेपमा उल्लेख छन् । राष्ट्र बैंकको जागिर उहाँको जीवनको महत्वपूर्ण आधारस्तम्भ बन्न पुग्छ, जसले उहाँको जीवनलाई स्वाभिमान स्वावलम्बन र अनुशासनको मालामा उनिरहन्छ । तीन दशक लामो जागिरे जीवनका केही रोचक संयोगहरू पनि पुस्तकमा उल्लेख छन् ।

१४ वर्ष लामो कठोर जेल जीवन बिताएर छुट्नुभएका केपी शर्मा ओली र विवाह नै गर्दिनँ भनेर बसेकी राधिका शाक्यलाई समयले कसिलो सहयात्राको बाटोतिर डोर्‍याउँछ ।

१० फागुन २०४४ मा केपी शर्मा ओलीसँग विवाह हुने दिन नै प्रधानसहायक पदमा लिखित परीक्षामा पास हुनेहरूको अन्तर्वार्ता पर्छ । द्विविधाकै बीच उहाँ अन्तर्वार्तामा सहभागी भएर आफ्नो विवाहमा पुग्नुहुन्छ । केपी ओलीसँगको स्थायी सम्बन्धको सुरुवात र राष्ट्र बैंकको स्थायी जागिरको सुरुवातको साइत संयोगले एकै दिन पर्छ ।

उहाँले आफ्नो अनुकुलताको लागि कहिल्यै श्रीमान्‌को राजनीतिक हैसियतको दुरुपयोग गर्नुभएन । बरु उहाँलाई नै पटक-पटक कम्युनिष्ट नेताकी श्रीमती भनेर पेलानमा पार्ने काम भएछ ।

२०५१ सालमा शाखा अधिकृतमा नाम निकाल्दा नेपाली कांग्रेसका नेता रामशरण महतले केपी ओलीको श्रीमतीको नाम कसरी निस्कियो ? भन्दै संसदमै प्रश्न उठाएको सन्दर्भ पनि पुस्तकमा उल्लेख छ ।

जागिरे जीवनका क्रममा अनेकौँ व्यक्तिहरूबाट थुप्रै बाधा-व्यवधान झेल्नु परे पनि संस्थाप्रतिको सम्मानभावमा उहाँले कहिल्यै कमी हुन दिनुभएन । प्रधानमन्त्री निवास बालुवाटारमा रहँदा पनि आफूलाई प्रधानमन्त्री निवासको भन्दा धेरै माया त्यहाँ सँगै जोडिएको राष्ट्र बैंकको केन्द्रीय कार्यालयको लाग्ने कुरा पुस्तकमै उल्लेख गर्नुभएको छ ।

राधिका शाक्यले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय भनेर उल्लेख गर्नुभएको एक निर्णय थियो, केपी शर्मा ओलीसँग विवाह ।

‘जीवनका त्यस घुम्तीमा जुरेको सहयात्राको संयोग’ शीर्षकमा लेखिएको विवाहको प्रसंग कुनै एउटा काल्पनिक फिल्मको स्क्रिप्ट कम लाग्दैन । १४ वर्ष लामो कठोर जेल जीवन बिताएर छुट्नुभएका केपी शर्मा ओली र विवाह नै गर्दिनँ भनेर बसेकी राधिका शाक्यलाई समयले कसिलो सहयात्राको बाटोतिर डोर्‍याउँछ ।

न कुनै शारीरिक आकर्षण न त भविष्यका रंगीन सपना । तिमीलाई धागोको धरो पनि किनिदिन सक्दिनँ भन्ने केटासँग राधिकाले सिंगो जीवन बिताउने निर्णय यसरी लिनुहुन्छ कि, वृत्तान्त पढ्दै गर्दा उहाँ कुन धातुले बनेको मान्छे होला भन्ने स्वभाविक प्रश्न मनमा उठ्छ ।

केपी ओलीसँग विवाह गर्ने निर्णय गर्दै गर्दा एउटी श्रीमतीको रूपमा मात्रै नभएर आमाको रूपमा माया र ममताले स्याहार गर्छु भन्ने अठोटले त्यो निर्णयमा पुगेको उहाँले उल्लेख गर्नुभएको छ । सम्बन्धले केपी ओली र राधिका शाक्य श्रीमान्-श्रीमती हुनुहुन्छ तर भूमिकाले उहाँलाई श्रीमती मात्रै हुन दिएन, एउटी आमाकै रूपमा केपी ओलीलाई ममताको स्पर्श दिइरहनुभयो । अहिले पनि केपी ओलीलाई केटाकेटीलाई जस्तै गरी खाना खुवाउनुपर्ने र रेखदेख गर्नुपर्ने प्रसंग पुस्तकमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

राधिका शाक्यको जीवनको एक महत्वपूर्ण पाटो देखिन्छ, मानवसेवा । सेवाका नाममा कामभन्दा हल्ला बढी गर्नेहरूको भिड बढिरहेको आजको दुनिँयामा त्यो कस्मेटिक भिडभन्दा विल्कुलै फरक राख्दै उहाँले आफूलाई मानवसेवामा समर्पित गर्नुभएको छ । ‘वेदनाले चिरिएका मुहारमा खुसी फर्किंदा’ शीर्षकमा उल्लेख केही प्रतिनिधिमुलक कथाहरू पढ्दा के कुराले राधिका शाक्यलाई अरुभन्दा फरक बनायो, स्पष्ट बुझ्न सकिन्छ ।

राधिका शाक्यको त्याग, समर्पण, धैर्यता, सहनशिलता, कठिन समयमा लिइने निर्णयको दूरदर्शिता अनि नारी हृदयभित्रको कोमलता र विवेकपूर्ण समझदारीको एकमुष्ट जवाफ ‘समयको आर्तनाद र आँशु बनेर बगेका पीडाका भेलहरू’ भित्र पाउन सकिन्छ । यस शीर्षकभित्र अटेका कुराहरू केपी शर्मा ओली र राधिका शाक्यको जीवनमा आएको त्यस्तो कठिन समयको वर्णन हो, जसले पाठकको मस्तिष्कलाई हल्लाइदिन्छन् ।

केपी शर्मा ओली र राधिका शाक्य

यस च्याप्टरमा केपी शर्मा ओली स्वास्थ्य समस्यासँग जुध्दाका वृत्तान्त समेटिएका छन् । कयौँ पटक मृत्युका झोक्काले नजिकैबाट छोएर गएका कथाहरू छन् । आत्मविश्वास र आत्मबलमा पर्याय केपी शर्मा ओलीको आत्मविश्वास गलेको कहानी छ । हस्पिटलको बेडमा पीडाले छट्पटिरहेका ओलीको आवाज समेटिएको छ ।

केपी ओलीको जीवनमा राधिका शाक्यको भूमिका कति गहिरो र भावनात्मक रहेछ भन्ने छर्लङ्ग देखिन्छ । गत फागुन १० गते राष्ट्रिय सभागृहमा करुणा पुस्तक विमोचन कार्यक्रममा  केपी ओलीले ‘राधिका नभएको भए म आजसम्म बाँच्न वास्तवमै सम्भव थिएन’ भनेको किन रहेछ भन्ने पनि गहिरोसँग बुझ्न सकिन्छ ।

पुस्तकमा कयौँ त्यस्ता सन्दर्भ र पाठहरू छन्, जहाँ हरकोही पाठकको मन भक्कानिन्छ, गला अवरुद्ध हुन्छ । ‘हजुरआमाको स्वेटर’ र ‘मेरै काखमा बाको अन्तिम श्वास’ पढ्दै गर्दा मन थाम्न कठिन हुन्छ ।

पुस्तकमा कयौँ यस्ता प्रसंग छन्, जुन पहिलोपटक सार्वजनिक भएका होलान् । राधिका शाक्यका बुवा चिरिभाइ शाक्य लुगा सिलाउने काम गर्नुहुन्थ्यो र उहाँका हात चलुन्जेल केपी ओलीले लगाउने कोट उहाँले नै सिलाएका हुन्थे भन्ने उल्लेख छ । जुन कुरालाई राधिकाले कलात्मक र भावनात्मक तरिकाले उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘केपी सरको शरीरमा सजिएको कोट फगत एउटा कपडा मात्र नभएर ज्वाइँ-ससुराबीचको सम्बन्ध र भावनालाई जोड्ने सेतु थियो । बाको शिल्पी केपी सरको शरीरमा सजिँदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे ।’

पुस्तकमा भेटिएको अर्को निकै रोचक खुलासा भनेको नयाँ कपडा पाएको दिन केपी ओलीले सो लुगा लगाएरै सुत्ने गरेको प्रसंग हो । यो खुलासा आफैंमा रोचक र अनौठो त छँदैछ, त्योभन्दा पनि उहाँले आजसम्म पनि तपाईंले किन यसो गर्नुभएको भनेर आफ्ना श्रीमान्‌लाई सोध्नुभएको छैन । न त श्रीमान्‌ले नै मैले यसकारण यसो गरेको भनेर भन्नुभएको छ । बरु राधिकाले नै मलाई उहाँले यसो गर्दा गुडियासँग केटाकेटी खुसी भएझैँ लाग्छ भनेर लेख्नुभएको छ ।

केपी शर्मा ओलीका राजनीतिक जीवनका उतारचढाव, संघर्ष र सफलताकी साक्षी राधिका शाक्यले ती सबै घटनाक्रमलाई आफ्नै ब्रह्मले सूक्ष्म विश्लेषण गर्नुभएको छ । राजनीतिक मैदानमा भएका खेल र झेललाई उहाँले दर्शकदीर्घाको आँखीझ्यालबाट चिहाएर सपाट वर्णन गर्नुभएको छ ।

‘पानी जस्तै जिन्दगानी’, ‘मैलै कविता लेख्न सक्ने भए’ र ‘घरमा मदिराको बार कि पुस्तकालय’ शीर्षकका पाठहरू पढ्दा राधिका शाक्यको वास्तविक क्षमताको घनत्व मापन गर्न सकिन्छ । जीवनलाई पानीसँग तुलना गर्दै उहाँले जसरी पानीले मुहानदेखि समुन्द्रसम्मको यात्रामा कति धेरै हण्डर-ठक्कर खाँदै अन्तत: समुद्रसम्मको गन्तव्य तय गर्छ, त्यसैगरी मानिसले पनि जीवनमा आइपर्ने दुःख, कष्ठ संघर्ष र चुनौतीका पहाडहरूलाई पार गर्दै सफलतासम्म पुग्न सकिने प्रेरणादायी सन्देश दिनुभएको छ ।

प्रधानमन्त्री निवासमा पिपुल्स लाइब्रेरी स्थापना गरेर उहाँले आफ्नो रुचि पठन र पठन संस्कृतिको विकासमा रहेको प्रष्ट पार्नुभएको छ । पुस्तकलाई संसारकै सुन्दर आविष्कार भन्दै परिवारमा पुस्तक चर्चा हुनुपर्ने र घरघरमा मदिराको बार होइन पुस्तकालय हुनुपर्ने बहस उठान गर्नुभएको छ ।

पाणिनी बुक्सले प्रकाशित गरेको राधिका शाक्यको आत्मकथा ‘करुणा’ हरकोही पुस्तकप्रेमीले पढ्नैपर्ने सूचीमा राख्नुपर्ने पुस्तक हो । यो पुस्तक आफू ओझेलमा रहेर अरुलाई प्रकाश छर्ने उहाँका जीवन भोगाइका कथाहरू हरकोहीलाई जीवनमा आइपरेका कठिनाइ पार गर्दै अघि बढ्ने प्रेरणाको पुञ्ज हुन सक्छन् ।

आफूले आँसु झारेर अरुको ओठमा मुस्कान खोज्ने, त्याग, समर्पण र सहनशिलताकी त्रिवेणी राधिका शाक्यको जीवन कथा पढिसक्दा यस्तो लाग्छ, उहाँको जीवनलाई एउटै शब्दमा प्रतिविम्बित गर्ने शब्द नै ‘करुणा’ हो । अर्थात् राधिका शाक्यको पर्यायवाची ‘करुणा’ हो ।

 

(लेखक प्रेस चौतारी नेपालका महासचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?