+
+
Shares

कालो ठुटोभित्र उज्यालो झिल्को

विनाशका आधारमा यो वनले नयाँ नाम प्राप्त गरेको छ— कालो वन (ब्ल्याक फरेस्ट) । हामीसँग यो ब्ल्याक फरेस्टको सबै काठ–दाउरा, गोल व्यवस्थापन गर्ने वित्तीय क्षमता छैन र आर्थिक हिसाबले यो उपयुक्त पनि छैन । केही राम्रा काठ समूहले सदुपयोग गर्न सक्छ, जसमा समूहलाई सहजीकरण गरिदिए पुग्छ ।

विष्णुप्रसाद आचार्य विष्णुप्रसाद आचार्य
२०८२ वैशाख २० गते २१:३०

यो कथा शताब्दीऔं पुरानो, इतिहासमा सीमित, एक व्यक्ति वा सम्प्रदायले अर्को व्यक्ति वा सम्प्रदायलाई सुनाउँदै आएको लोक वा पञ्चतन्त्रको कथा होइन । हामीले सामान्य ढङ्गले लिएको तर वातावरण नोक्सानको हिसाबले दर्दनाक वन डढेलो र त्यसबाट सिर्जित समस्याको यथार्थ कथा हो । भावी पुस्तालाई सुनाउनैपर्ने दुःखको व्यथा हो ।

रसुवाको साविक गत्लाङ गाविस–५ र ६ मा पर्ने बोम्जामाने र ज्यार्सागोठेन सामुदायिक वनको जनजीवन सधैं झैं सरल, संगठित, सुमधुर र बोधगम्य थियो । चौंरी–भेडाका बथान र तिनका गोठाला, चराचुरुङ्गी, जङ्गली जनावर, कीटपतङ्ग सहितको प्रकृति अनि, मानव जीवनको सहअस्तित्वको अनुपम नमूना बोकेको यो वनले ।

लोभलाग्दो फागुन, हरियो जङ्गल, करिब ३ हजार मिटरको उचाइ, निख्रिंदो चिसो, सुक्खा चिसो हावाको झोका, देशका अन्य भूभाग जस्तै असमयमा नै विस्तारै बढिरहेको सुक्खापन यहाँको छोटो परिचय हो ।

उन्मुक्त डढेलोको प्रकोप

मान्छे जलाउन भौतिक आगो मात्रै पर्याप्त छैन, लोभ–मोह र पापका दुष्कर कर्महरूले उसलाई निरन्तर जलाइरहन्छ । आगोले त एकछिन जलाउने न हो । यस्तै भयो, रसुवा गत्लाङमा । घाँस–पालुवाको लोभमा डढेलो लगाउनु ठिक होइन भन्ने थाहा पाए पनि गोठालाको परम्परा नै बनिसकेको थियो, वनमा आगो लगाउनु ।

२०६५ साल फागुनको दोस्रो साता पनि यस्तै क्रम दोहोरियो । त्यसमा केही दुष्ट र लोभीपापी शिकारी थपिए, जसले जङ्गलमा रहेका जनावरको शिकार गर्ने नियतले थप आगो लगाए । भिरालो जमिनमा रहेको ठिंगुरे सल्लोको जङ्गलले अब क्रमशः विकराल रूप लिन थाल्यो । त्यही बेला अकस्मात् अनियन्त्रित हावाहुरी चल्यो । भिरालो पाखा र भुईंमा रहेको डढेलो अब एकैपटक ठिंगुरे सल्लाको टुप्पामा पुग्यो, धेरै रूखमा एकैपटक । सल्लोको जङ्गल, त्यसमाथि वर्षौंदेखि ढलेर बसेका, सुकेका अनगिन्ती रूख । हावाको बहावले सहजै एक रूखबाट अर्कोमा आगो फैलिंदै गयो ।

राप छ, ताप छ । जमिनदेखि काण्ड हुँदै टुप्पोसम्म आगो लागेको छ, मानौं त्यहाँ जल्न अब केही बाँकी छैन ।

धुवाँको मुस्लोबीच कोलाहल सुरु भयो । चट्चट् गर्दै रूख ढलेको आवाज आइरहेको थियो । पातला र सुकेका रूखहरू शुरुमा ढले । यी ढलेनन् मात्र, डढेलोको लागि स्थायी स्रोत पनि बने । समयमा नै काठ–दाउरा व्यवस्थापन नगर्दाको घातक परिणाम थियो यो ।

सर्वत्र हाहाकार

आगोको मात्रा बढेपछि चरा, जनावर आत्तिएर यताउता भाग्न थाले । उडेर र कुदेर भाग्न सक्ने भागे, उड्न र कुद्न नसक्ने एकै चिहान भए । चौंरी र भेडीगोठ बल्न थाले । धुवाँको मुस्लोभित्र जनावरका आवाज क्रमशः कमजोर बन्दै गए र विलीन भए । धुवाँको मुस्लोबीच कैयौं जनावर भाग्दाभाग्दै भीरमा अड्किए, कैयौं भीरबाट गुल्टिए ।

तामाङ बहुल गत्लाङ गाउँका करिब ४०० घरधुरीका उपभोक्ताले यो जङ्गल उपभोग गर्थे । बाक्लो कालो धुवाँले आकाश छोला जस्तो भएपछि ठूलै अनिष्टको सङ्केत देखेर गाउँले पनि आत्तिए । सानातिना डढेलो त पहिला पनि लाग्थ्यो तर यत्तिको धुवाँ र मुस्लो हुँदैनथ्यो ।

वन समूहका उपभोक्ता हल्लाखल्ला गर्दै पुगे तर त्यहाँको अवस्था कल्पनाभन्दा बाहिरको हेरिनसक्नु थियो । उनीहरूले तत्काल त्यहाँ रहेको सेना र वनको टोलीलाई गुहारे, सरकारी टोली पनि आयो तर सबै निहत्था र निरुपाय थिए किनकि यो पटकको आगो भुईंआगो (सर्फेस फायर) थिएन । यो आकाश छेडुँला जस्तै गरेर उग्र र उन्मत्त छत्र डढेलो (क्राउन फायर) थियो, जसले सिङ्गै रूख फेददेखि टुप्पासम्म दनदनी बालेको थियो । उनीहरूसँग आगो निभाउने औजार भनेको स्याउला मात्र थियो, न वरिपरि पानी थियो ।

सल्लोको वनमा खोटोको मात्रा बढी हुने नै भयो । त्यसमा भिरालो जमिन, भीषण आगो, बढ्दो गर्मी, पर्याप्त ज्वलनशील पदार्थ, वरिपरि पूरै सुक्खा । हजार वर्षदेखिको घनीभूत ठिङ्ग्रे सल्लाको जङ्गल स्वाहा भएको थियो । आगो बलिरह्यो, हाम्रो सम्पदा जलिरह्यो । निरुपाय स्थानीय अँध्यारो मुख लगाएर एकअर्कालाई रुन्चे अनुहारले टुलुटुलु हेरिरहे ।

हामी डढेलोको भाते गोष्ठी ठूला होटलमा गर्छौं । डढेलोको बारेमा अध्ययन गर्न बोइङ चढ्छौं । अबका दिनमा यस्ता गोष्ठी यही जंगलको फेदीमा पाल टाँगेर गरिनुपर्छ ताकि नीतिनिर्माताले हृदयबाटै अनुभूत गर्न सकून्

गत्लाङ गाउँ मात्र होइन, चिलिमेसम्म धुवाँ र धुलोले कुहिरीमण्डल थियो । ब्ल्याक भिलेज भनेर चिनिने गत्लाङ गाउँका सबै घरका छाना र भित्ता काठका थिए । आगोको ठूला–ठूला फिलिङ्गो गाउँसम्म उडाएर ल्याएपछि गाउँलेहरू धनभन्दा ज्यान प्यारो भन्दै १–२ दिनको लागि घर नै छाड्न बाध्य भए र नजिकको ढुङ्गाको ओडारमा शरण लिन पुगे । धुवाँले श्वास फेर्न र आँखा हेर्न पनि कठिन अवस्था थियो । कैयौं गाउँले लामो समय बिरामी नै परे ।

धुन्चेबाट दिउँसो धुवाँको मुस्लो र साँझ परेपछि आगोको लप्को देखिन्थ्यो । धुवाँ र खरानीको धुलो धुन्चेसम्म आइपुग्थ्यो । स्थानीयको छलफलको मुख्य विषय यही बन्यो तर समाधानहीन । सबैले आफ्ना विज्ञता सुनाए तर समाधान कोहीसँग थिएन ।

सोम्दाङ्ग, पाङसाङ हुँदै सेर्तुङ्ग जाने त्यो बाटो गाउँलेको हिंड्ने मुख्य बाटो थियो र अब पूरा बन्द भएको थियो । वारिदेखि पारिसम्म आगो नै आगो थियो ।

विस्तारै आगोले रूप परिवर्तन गरेको थियो । रूखका पात, हाँगाबिंगा सबै बलेर सकिएका थिए । अब ठूलो लप्को विनाको आगो थियो, जो रूखको काण्डमा भित्रभित्रै सल्किएर बसेको थियो । करिब १०० दिनसम्म जङ्गल पूर्ण रूपले बलिरह्यो ।

जेठको दोस्रो हप्तामा पानी पर्‍यो । यसले मुख्य डढेलो निभ्यो । रूखको भित्री भागको आगो ननिभे पनि डढेलो आतङ्क चाहिं कम भएको थियो । वर्षा क्रमशः सकिंदै गयो तर केही रूखको भित्र–भित्रबाट धुवाँ पुत्ताइरह्यो ।

गाउँलेले विगतका डढेलो सम्झे र जमिनतिर हेर्न थाले, अब पानी परेपछि त नयाँ पालुवा अवश्य पलाउँछ र वस्तु चराउन पाइन्छ । तर हरियोको कुनै नामोनिसान देखिएन । यो दहनले भुईंको सतहको माटो मात्र होइन, माटोको भित्री तह, त्यहाँ रहेको मलको मात्रा र बीउ उम्रिनको लागि चाहिने उर्वराशक्ति सबै नै नष्ट गरेको थियो । अब यो बञ्जर भूमि झैं थियो । युद्ध मैदानमा भएको ठूलो नरसंहारपछिको कहालीलाग्दो अवस्था जस्तै थियो ।

मानिस मर्दा रोइदिने, आँसु झारिदिने उसका आफन्त हुन्छन् तर यहाँ रोइदिने, आँसु झारिदिने कोही देखिएनन् । रोइदिनुपर्ने, चिन्ता गरिदिनुपर्ने हामीले हो, हामीले नै चिन्ता नगरेपछि कुरै सकियो । चराचुरुङ्गी रोए, जनावर चिच्याए, कीटपतंग फट्फटाए तर हामी मनुवाको स्वार्थी दुनियाँमा न उनको आँसुको मूल्य बुझ्यौं न चिच्याहट नै सुन्यौं, केवल आफ्नै बाँसुरी बजाइरह्यौं, बजाइरह्यौं ।

जनजीवन पुनः सामान्य बन्दै गयो, गाउँलेले लय समाते, उनीहरूसँग अर्को विकल्प पनि थिएन । तर जङ्गली जनावरको दैनिकी र लय पूरै ध्वस्त थियो । तसर्थ, जनावर यो जङ्गलको साटो अर्कै जङ्गलमा जान थाले, चराचुरुङ्गी डढेको रूखमा फेरि कहिल्यै फर्केर आएनन्, यो उजाड बस्ती बन्न पुग्यो ।

बेवारिसे वन

झन्डै एक दशकसम्म यो वन पूर्णतया बेवारिसे रह्यो । वन कार्यालयले सम्बन्धित निकायमा पक्कै जानकारी गरायो होला तर केही हलचल भएको देखिएन । भए पनि स्थानीयले थाहा पाएनन् । कतैबाट केही नभए पनि डढेलोको एक दशकपछि वन कार्यालय रसुवाका कर्मचारी अध्ययन, अनुसन्धानलाई सहयोग पुग्छ भनेर आफ्नै ढङ्गले तथ्याङ्क सङ्कलन गर्न आए । यो महानाशमा ४५५ हेक्टर वनको विनाश भएको रहेछ । जसमा २८५ हेक्टर चाहिं कामै नलाग्ने गरी पूर्ण र १७० हेक्टर आंशिक क्षति थियो । सम्भवतः यो डढेलो नेपालको इतिहासको सबैभन्दा भीषण छत्र डढेलो थियो ।

यहाँ कति जनावर, चराचुरुङ्गी, तिनका वासस्थान नष्ट भए, त्यसको लेखाजोखा हुन सकेन । साना बिरुवा, लाथ्रा, पोल कति नासिए, त्यसको हिसाब नै आएन । कैयौं रूख १२–१५ फिट गोलाइका थिए, यिनका अस्तित्व त देखिन्थ्यो तर मानव कङ्काल जस्तै । यसको संख्या पनि २०औं हजार थियो, अझै केही बाँकी छन् । रसुवाका वनका साथीहरू भन्नुहुन्छ– बेलैमा हामीले यसलाई व्यवस्थापन गर्न सकेको भए राम्रै राजस्व आउँथ्यो र यही रकमले यसको पुनस्र्थापना हुनसक्थ्यो । तर हामीले व्यवस्थापन गर्न सकेनौं वा चाहेनौं वा क्षमताले भ्याएन । यसको छुट्टै पाटो होला ।

हावा बहिरह्यो

पार्वती कुण्डबाट निकै पानी बगेर गत्लाङ गाउँमा गयो तर यो पानी जङ्गल डढेको ठाउँमा भने पुग्न सकेन । चरित्र अनुसार पानी ओरालो झरिरह्यो, हावा यत्रतत्र बहिरह्यो । हावाको वेग जस्तै बनेर कैयौं मानिस यो बाटो हिंडेर वा गाडीमा ओहोरदोहोर गरे । स्थानीय, पर्यटक, पत्रकार, प्रशासक, राजनीतिकर्मी, जनप्रतिनिधि सबै हिंडे । सबैले देखे, ए ठूलो नोक्सान भएछ भनेर हिंडिरहे, हावा बहे जस्तै ।

रसुवाका वनकर्मीहरू यसको बारेमा सकेको बोलिरहे । यही बोलीको परिणाम बागमती प्रदेश सरकारले अध्ययन र केही बिरुवा रोपेर हरियाली बनाउने प्रयत्न त गर्‍यो तर सहज थिएन । किनकि, दुर्गम भूगोल, रुखो माटोमा बिरुवा हुर्काउन कठिन थियो । थोरै बजेटले यो सबै समाधान हुनसक्ने अवस्था पनि थिएन । ४५५ हेक्टर क्षेत्रमा वर्षको १–२ हेक्टरको दरले रोपेर कहिले पूरा हुनु यो विशाल समुद्रमा ?

यही हावाको झोक्का जस्तै म पनि हुत्तिंदै पाँच पटक यो जङ्गल पुगें । म त्यहाँ पुग्दा सधैं महाभारतकालीन खाण्डव वन दहनको कथा सम्झन्छु । यो स्थानमा पुगेपछि सधैं टक्क अडिन्छु । कताकता नमिठोसँग मन दुख्छ । यहाँ जलेर मरेका जीवजन्तु र रूख बिरुवाको डढेको गन्ध ह्वास्स भित्र हृदय छुने गरी आउँछ । वन्यजन्तुको चिच्याहट, आर्तनाद र आहट वरिपरि कतैबाट आइरहेको र मलाई नै सुनाइरहेको प्रतीत हुन्छ ।

जङ्गलमाथिको राउथाले डाँडाबाट आँखाले भ्याउन्जेलको दृश्य हेर्दा पनि केवल काला ठुटा मात्र देखिन्छन् । यी हेर्दा जति कठोर मान्छेका मन पनि द्रविभूत हुन्छन् । अहिले त यति बीभत्स देखिन्छ भने त्यो मूल डढेलोको बेलामा कस्तो थियो होला, अहिले सम्झँदा पनि श्वास फेर्न पनि कठिन हुन्छ, निसास्सिन्छु । अनि सम्झन्छु, हामीले आफ्नो स्वार्थको लागि सधैं प्रकृतिमाथि अत्यधिक दोहन र अत्याचार गर्‍यौं र त्यसको परिणामस्वरूप अझ भयङ्कर समस्यातर्फ जाँदैछौं ।

अध्ययन केन्द्र र डढेलो पर्यटन क्षेत्र बनाइनुपर्छ

प्रजातिको नभई विनाशका आधारमा यो वनले अब नयाँ नाम प्राप्त गरेको छ, कालो वन (ब्ल्याक फरेस्ट) । हामीसँग यो ब्ल्याक फरेस्टको सबै काठ–दाउरा, गोल व्यवस्थापन गर्ने वित्तीय क्षमता छैन र आर्थिक हिसाबले यो उपयुक्त पनि छैन । केही राम्रा काठ समूहले सदुपयोग गर्न सक्छ, जसमा समूहलाई सहजीकरण गरिदिए पुग्छ ।

हामी यो क्षेत्रलाई डढेलो अध्ययन केन्द्र वा डढेलो पर्यटन क्षेत्रको रूपमा विकास गर्न सक्छौं । सुन्दा अचम्म लाग्न सक्छ, डढेलो पर्यटन पनि हुन्छ र ? यहाँ पनि अध्ययन केन्द्र बन्न सक्छ ? अब हामीले अवश्य हुन सक्छ भन्ने मात्र होइन, गरेर देखाउनु पनि पर्छ ।

पर्यटनका एक होइन, अनेक रूप छन् । हामी पर्यटन भनेको हाँसेका हिमाल, उज्याला पहाड र झर्झर झरना मात्र सम्झन्छौं तर एक पटक पशुपतिनाथ मन्दिर हेरौं त ! त्यहीं हिन्दूका आराध्यदेव पशुपतिनाथ छन्, उनीभन्दा थोरै तल आर्यघाट छ । त्यही घाटमा कोही गङ्गा आरतीमा मजाले झुलिरहेका छन् । कोही आफन्तको मृत्युमा शोकमग्न, त्यही मन्दिरमा पूजाआजामा व्यस्त छन् । त्यहीं विदेशी अचम्म मान्दै हेर्दै फोटो खिचिरहेका छन् र भन्छन् मैले आज अद्भुत देखें । गजब छ प्रकृति ।

यदि तपाईं काशी (बनारस) पुग्नुभएको छ भने एक होइन, अनेक रूप देख्न सक्नुहुन्छ । मनिकर्निकाको शमसानघाटमा मानिसको मृत्युमा शोकमग्न रहेकै अवस्थामा, त्यहाँ कोही गङ्गा आरतीमा रमाउँदै ढुङ्गामा सयर गरिरहेका छन् । त्यहीं विश्वनाथ बाबाको मन्दिरमा भव्य पूजा चल्दैछ । छेउमा पाण्डा पितृलाई स्वर्ग तार्दैछन् । नजिकै सानादेखि ठूला व्यापारी आँसु र हाँसोको बीचमा व्यापार गरेर गुजारा चलाइरहेका छन् । सबै एकसूत्रमा चलेको छ, मानौं यी सबै एकै मालाका फूलका थुंगा हुन् । जापानले हिरोशिमा र नागाशाकीलाई एउटा मुख्य गन्तव्यस्थल बनाएको छ । तसर्थ, प्रतिकूलतामा पनि नयाँ काम गर्न सकिन्छ ।

हामी वन विज्ञानका विद्यार्थीले क्याम्पसमा वन डढेलोका एक होइन, अनेक रूपबारे पढ्यौं । तर छत्र डढेलो पढ्न नेटकै भर पर्नुपर्छ, अमेरिका र अस्ट्रेलियाको जङ्गल नै खोज्नुपर्छ । अबका दिनमा वन, वातावरण विज्ञानका विद्यार्थीको शैक्षिक भ्रमण, अनुसन्धानकर्ता, वन उपभोक्तालाई डढेलोबाट हुने क्षति देखाउन, बुझाउन, सम्झाउन यहाँ ल्याउनुपर्छ । यहाँ होम स्टे, होटल आदिको प्रवर्धन गरेर स्थानीय जीविकोपार्जनलाई बढावा दिनुपर्छ ।

हामी डढेलोको भाते गोष्ठी ठूला होटलमा गर्छौं, डढेलोको बारेमा अध्ययन गर्न बोइङ चढ्छौं । अबका दिनमा यस्ता गोष्ठी यही जंगलको फेदीमा पाल गाडेर गरिनुपर्छ ताकि नीतिनिर्माताले हृदयबाटै अनुभूत गर्न सकून् । डढेको वनको फोटो वन मन्त्रालय, तालिम केन्द्र, योजना आयोगमा राख्नुपर्छ ताकि हरेक पटक नीति तथा कार्यक्रम बनाउँदा वा सिकाउँदा यी र यस्ता विषयले प्राथमिकता पाओस् ।

वन डढेलो पश्चात् वनमा पुनरुत्पादनको अवस्था, अन्य वातावरणको प्रभाव के रहन्छ भन्नका लागि यो नेपालको लागि नै एउटा उपयुक्त फिल्ड हो, योभन्दा राम्रो अन्य ठाउँ शायदै होलान् । क्याम्पसले आफ्ना विद्यार्थीलाई शोधपत्र तयारी गर्न माहोल मिलाइदिने र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले विभिन्न मोडल बनाएर नियमित तथ्याङ्कमा आधारित भएर काम गरिनुपर्छ ।

केही बाहेक वन मन्त्रालयका उच्च पदाधिकारी शायदै यहाँ पुगेका होलान् । तसर्थ, एकपटक नीतिनिर्माण तहमा पुगेका सबैले यो क्षेत्रको चाँडै भ्रमण गरौं र, अझै के राम्रो काम गर्न सकिन्छ, आजैबाट प्रतिबद्धता जनाऔं ।

लेखक
विष्णुप्रसाद आचार्य

लेखक धादिङका डिभिजनल वन अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?