
३४ देश र ६ वटा महादेश घुम्दा विदेशी साथीहरूले सोधिरहने प्रश्न— ‘बधाई छ हिमालयका भाग्यमानी नागरिकको, सगरमाथा कति पटक चढ्यौ ?’ कतै अचेतनमा यो सवाल ननिदाई बस्यो । त्यसैबीच डेनी डेङ्जोङ्पाले बनाएको हिन्दी सिनेमा उचाइ हेर्न छोरी अश्रुताले सुझाइन् । जीवनसाथी यशोदालाई सुनाएँ । दुःखेका घँुडालाई फकाएँ र मन दह्रो पारें सगरमाथा बेसक्याम्प उक्लिन ।
पहिलो सोच अनन्य मित्र जयराम खनाललाई सुनाएँ, जो काठमाडौं वरिपरिका डाँडामा एघार घन्टासम्म लगातार हिंड्न सक्छन् तर उनले ‘लुक्लाको जहाज चढ्दिनँ दाइ, पछि बाटो बनेपछि जाउँला’ भने । सहृदयी साथी नेपालका स्वास्थ्य अभियन्ता आर एस भण्डारी यात्राका लागि बुरूक्कै उफ्रिए ।
छोरो अपूर्वलाई एड्भेन्चर मन पर्छ, ऊ पनि तयार । जयपुर राजस्थानका आदरणीय पाहुना ७१ वर्षीय कर्नेल प्राण छिब्बर सहित चार जनाको टोली तम्तयार । काठमाडौं आसपासका डाँडाहरूको एक महिने हाइकिङ चल्यो ।
डिजाइनर सुन्दर बस्नेतका सजीव तस्बिर र कुराले जगाएको भोक हिमाल अध्येता डा. नारायण घिमिरे, ट्रेकिङ व्यवसायी विशाल भट्टराई र पाँच दिनमा बेसक्याम्प सोलो कुदेका भाइ किरुसँगको सोधपुछ र हौसलापछि तोकियो हिंड्ने दिन १९ वैशाख २०८१ । आर एसको अगुवाइमा हेलिकप्टरको अतिरिक्त उडान भर्दै बेलुका ४ः३० बजे उत्रियौं हामी लुगलुग कमाउने लजालु लुक्ला ।
लजालु लुक्ला
तल लुकेको दूधकोशी, माथि कान्लामा लुक्ला । सर्कसको फल्याक झैं लुक्ला एअरपोर्ट । आकार जम्मा क्रिकेटको पिच जत्रो । चरा नअडिने एअरपोर्टमा अनगिन्ती जहाज र हेलीको अवतरण । उडान भर्ने जादुगर पाइलटहरूलाई स्याल्युट् !
अधिकांश कुहिरोको घुम्टो तर घाम र हावाको चाप कम हुनासाथ मुसुक्क हाँस्ने लुक्ला । विश्वकै अर्की सुन्दरी । काला सल्लाको साम्राज्य, प्रस्तर शैलीका एकसेएक भवन, हरियो पहाडको अडेसा । माथि माथि नाच्दै भाग्दै गरेको हुस्सु, धुप मगमगाउने गल्ली, क्याफे, बेकरी, मार्ट, क्युरियो शप, हाउसफुल होटलहरू, विश्वभरिका हिमालप्रेमी यात्रुहरू । ढाकर अनि बिहीवारे बजार ओहो ! लाग्छ युरोपको सानो टुक्रो । पृथक् प्रवेशद्वार सगरमाथाको ।
फाक्दिङ स्टे
हातमा लठ्ठी, काँधमा ब्याकप्याक, साथमा भरपर्दा भरिया, लुक्ला पछिको गन्तव्य फाक्दिङ । आरोहणको हुटहुटी, हिमाली ट्रक भनिने याकहरूको घन्टी, भरियाहरूको मोबाइल संगीत, वसन्तसँगै बैंस फेरेका वन–जंगल, रेस्क्यु हेलीका जोडदार आवाज यात्राका गजब साथीहरू । अनौठो आँटले डोर्याएको मन र शरीर ।
विश्रामहरूमा पानीको चुस्की, भित्र पसिना, बाहिर सिरेटो । उकालो भन्दा तेर्सो र ओरालोको चाहना, दिनसँगै ढल्किने मौसम, झमक्क साँझ । बडो मजा आयो । ओहो ! ख्यालख्यालमा ६ घन्टा हिंडिएछ । तातो भात, यात्राको दोस्रो रात; फाक्दिङ स्टे जिन्दावाद ।
न्यानो स्वर्ग नाम्चे
तेस्रो बास नाम्चे बजारको । हिमालमुन्तिरको विशाल नाम्चे । बजार मात्र होइन ‘इट्स अ नाम्चे सिटी’ । मेट्रो र मुभी हल बाहेक सबै थोक उपलब्ध । साँझको गुल्जार नाम्चेमा यहाँलाई स्वागत ! स्पा, यती बार, बुटिक, पार्लर, सुपरमार्केट, हस्पिटल, ठमेलकै झल्को । भिरालो बजारमा लयबद्ध होटल, रेस्टुराँ, गिफ्ट पसल के छैन नाम्चेमा ?
बजार मुन्तिरको गुम्बा पार्क । डम्फुदेखि गंैडाजत्रा पानीघट्टले घुमाउने बौद्ध परम्पराका मानेहरू । मनोरम महसुसका लागि समय नपुग्न सक्छ तर पीर छैन किनकि मौसम सन्तुलनका लागि दुई रात बिताउनुपर्छ नाम्चेमा । भोलिपल्ट २०० मिटर माथिको एभरेष्ट भ्यू होटलसम्म उक्लेर फेरि झर्नुपर्छ नाम्चे । न्यानो स्वर्ग जस्तो नाम्चे, भाग्यमानी तपाईं हामी ! यहींसम्म पुगेर पनि तपाईं सगरमाथा टेकेको गफ दिन मज्जाले सक्नुहुन्छ । यही नाम्चे हो सगरमाथाको प्रवेशद्वार ।
अम्याजिङ खुम्जुङ
नाम्चे बसाइ गज्जब भन्ने आशाका साथ अब लागौं खुम्जुङ । यो चिटिक्कको खुम्जुङमा मीठो खाना पाकेको छ, भोक कत्तिको लागेको छ ? तपाईंको गन्तव्य गोक्यो चोला पास हो भने देब्रेतिर नत्र तपाईं दाहिने ओरालो झरेर क्याङजुमा पुग्नुछ । सनासा हुँदै फुङ्गीथाङ्गा झर्नुपर्नेछ ।
हतार नगर्नु होला किनकि पाइलै पिच्छे रोकिएर अवलोकन गर्नु छ पुष्पमेला । वसन्तले होला हरेक हिमाली बुट्यानहरू रोमाञ्चित छन् र दुलही झैं सिंगारिएका छन् तिनका हाँगा र पातमा रङ्गीचङ्गी लालीगुराँस । तर होशियार हुनुपर्छ याक हिंडेका बेला किनारतर्फ नभई भित्तातर्पm रहनुपर्नेछ किनकि तिनका भारीले ठेलेर तपाईं उछिट्टिन बेर लाग्दैन ।
त्याङ्बोचे टेस्ट
कि बास बस्न त्याङबोचे पुग्ने त ? कि सनासामा साँझ बिताउने ? फुङ्गीथाङ्गा झर्दा वा त्याङ्बोचे चढ्दा तपाईंका खुट्टीको परीक्षण हुनेछ । रमिताले आँखा अघाउँदैनन् तर भुइँमा हेरेर मात्र हिंड्नुहोला ।
टेकाइको ठूलो अर्थ छ ट्रेकिङमा । त्याङ्बोचे उक्लेकोमा बधाई । कृपया मौन । यहाँको गुम्बा वरिपरि होहल्ला निषेध छ । बबाल कफी पिउने इली क्याफेमा ? या बेकरीको बेजोड मज्जा लिने ? रुम एसी कि ननएसी ? नाम्चेपट्टि फर्केर सुत्ने कि हिमालपट्टि ? सल्लाका सुकिला काठका घरहरू भित्र तपाईंलाई पागल बनाउने स्वागत प्राप्त छ त्याङ्बोचेमा ।
प्रिय पाङ्बोचे
थोरै ओरालो हिंडौं ल ! आहा छायाँ नै छायाँको बाटो काटौं ल ! दोबाटो मास्तिरको दामी दोबुचे । कसले बसायो होला यत्रो बजार ? थकाइ मेट्न मन छ तर बाटो काट्नु छ किनकि बास बस्न बोलाइरहेको छ पाङ्बोचेले । बाटोमुनि बाटोमाथि चढ्दै गरेका च्याङ्ग्राको चाल हेर्दैै, उभिएरै गलेको शरीर सेलाउँदै, थुप्रै गौंडाबाट त्यही त हो भन्दा भन्दै तपाईंका पाइला पाङ्बोचेमा ।
प्रिय पाङ्बोचेको तपाईं पाहुना । रूममा एसी नखोल्नु होला पावर पुग्दैन तर त्यस बाहेकका सुविधामा कुनै कमी छैन । भित्र लवी (डाइनिङ हल, रेस्टुराँ, सबैथोक) मा फलामको कोलभित्र चौंरीका गुइँठा बालिएको हिटर छ । घाम डुबेपछि बाहिर निस्कनु स्वास्थ्यका लागि हानिकारक छ । कोठाभित्र चाहिं परेको होटलले व्यहोर्छ । ब्रेकफास्ट ढिलो नगरौं । नुहाउने त कल्पना नै नगरौं । पुछपाछ कम्पनी जिन्दावाद । डाउन ज्याकेट टु स्लिपिङ ब्याग । घमाइलो बिहान हो कि होइन तपाईंको भाग्यमा भर पर्छ ।
कुहिराले नढाकेको भए तपाईं हिमालको आडबाट हिंड्न सक्नुहुन्छ नत्र पनि पीर छैन किनकि हुस्सुले ढाकेका हरेक मोडहरू मज्जाका छन् । दूधकोशी सुसाएको छ । याकका घन्टीको संगीत छँदैछ । साइट पकेटको प्रोटिनबार, अदुवा पानीको चुस्की, घुम्ती पिच्छेको शीतल हावाका झोंक्काहरू । फरक यत्ति हो तपाईं प्रकृतिसँग कत्तिको हित्तचित्त मिलाउन सक्नुहुन्छ । शुरूका दिनमा घिन लागेको दुर्गन्धित याक ट्वाइलेट बिस्तारै बानी पर्न थाल्छ ।
द ग्रेट दिङ्बोचे
खुशीको कुरा आज बेलैमा दिङ्बोचे पुगिन्छ । कुहिरोको च्यादर ओढेको दिङ्बोचे देखेर तपाईं अचम्मित र रोमाञ्चित हुनु सामान्य कुरा हो । युरोपको झल्को आउने संसारकै अग्लो स्थानमा रहेको ‘४४१० क्याफे’ मा इली कफीको स्वादिलो जम्काभेट । एक किलोमिटर फैलिएको दिङ्बोचेको फराकिलो फाँट आहा क्या मज्जा ! आज गर्मी दिन परेछ किनकि दिङ्बोचेको धारामा पानी जमेको रहेनछ ।
दर्जनौं क्याफेहरूमा तपाईं रोज्न सक्नुहुन्छ; बेकरी प्रोडक्स, चाइनिज फुड्स र विशेष गरी मोमो, चाउमिन एण्ड गार्लिक सुप । हिमाली दालसँग भात रुच्ने भने भव्य कुरा तर सितिमिति भोक लागे पो ! लवीको तातोमा हात सेकाउनुस् । पसिना र हिउँले भिजेका लुगा सुकाउनुस् । चौबीस घन्टाको एक हजारमा डाटा प्याक किन्नुस् विश्वसँग जोडिनुस् किनकि अब होटलहरूले तपाईंलाई वाईफाई दिन सक्दैनन् । दिलदार दिङ्बोचेमा दुई दिन बस्नुपर्नेछ तपाई नत्र माथि उक्लनु मजाक हुनेछ ।
फराकिलो दिङ्बोचेमा भोलिपल्ट बिहानै तपाईं उठ्नुछ पूर्व । उत्तरको कडा उकालो चढेर ओर्लनुछ । लेक लाग्नबाट जोगिने अभ्यासका लागि ५ वटा झन्डाको पार गर्नुपर्ने हो । तर ३ वटा झण्डासम्म चढे पनि तपाईं भोलिको यात्राका लागि तयार र योग्य मानिनुहुन्छ । चढ्ने र झर्ने दूरी र समय चिन्नु बुद्धिमानी हुनेछ ।
क्षणभरमा बिग्रिने यहाँको मौसम, सिरेटो र हुस्सु अनि वर्षात्को असामान्य उपस्थिति । मध्याह्नसम्ममा यो हिमपदयात्राको खँदिलो अभ्यास पूरा गरिसक्नुपर्नेछ । खेलाँची गरेर पञ्जा खोल्नु, पोलार ग्लास हटाउनु, लठ्ठी नटेक्नु र मानिसका पदचाप नदेखिने दिशातिर अघि बढ्नु तपाईंका लागि नराम्रा सङ्केतहरू हुन् । तातोपानीको घुट्की अति आवश्यक छ किनकि तपाईं अल्टिच्युड र अक्सिजन दुवै कारणले डेन्जर जोनमा हुनुहुन्छ ।
बरु फोटो खिचिहाल्नुस् पारिपट्टि आमादब्लम टल्किराख्या छ । जेहोस् आधा दिनको यो चढाइ, ओर्लाइ र साँझको गुल्जार बास बसाइ तपाईंलाई पक्कै मन पर्यो होला । बरू आज सिरकभित्र स्लिपिङ ब्याग सँगै छिर्ने कि ! पानी धेरै नपिऊँ होला साँझमा किनकि पिसाबका लागि उठ्न् निकै हानिकारक छ । उड्नै परै ओढेर मात्रै : ओके नत्र कामज्वरो ! गुडनाइट !
चर्चित थोक्ला पास
ओहो ! दिङ्बोचेबाट लोबुचे लम्किएको लस्कर त निकै लामो पो छ त ! यत्ति धेरै यात्रु बसेछन् हिजो दिङ्बोचेमा ? लाग्छ विश्वभरिका कमिलाहरूको ताँती निस्किएको छ । लामो र सम्म छातीमा लगातार ४ घन्टा हिंडेपछि खाना खाने गौंडो रहेछ । “थोक्ला पास” । यो चार घरे थोक्ला पासमा केही बेरको आराम र विश्राम पछि अग्लिएको ढुङ्गेनी बाटोमा पाइला अगाडि बढ्नुपर्ने तर सके पो ! ५ केजीको ब्याकप्याक पनि ५० किलो झैं ।
माथितिर हेर्नु भन्दा भुइँतिर अनि पार गर्न बाँकी बाटो हेर्नुभन्दा पार गरेको बाटो हेर्नु श्रेयस्कर रहेछ । एकले अर्को यात्रुलाई विचरा देख्दै, छोटो र सुस्तरी अनि एकोहोरो हिंडाइलाई कायम राख्दै, ‘जिन्दगीमा यस्तो पनि कठिन घडी भोगियो नि’ भन्दै चढ्नुको मजा, पसिनाले भिज्नुको मजा, यो थोक्ला पासको टुप्पोमा पुगेर तल हेर्नुको मज्जा ! हैट् !
मार्मिक मेमोरी पार्क
शायद हालसम्मकै यो चर्को उकालो । चढ्दा फेरि भोक लाग्यो । ५०० रुपैयाँ गोटाको एउटा स्याउ चपाउने कि ! उकालो सकिनासाथको मेमोरी पार्क (खुम्बु क्षेत्र)मा ज्यान गुमाउने आरोहीको सम्झनामा ढुङ्गा कोपेर बनाइएको स्मृति पार्क, चिहान, फुलेको छाती एकाएक स्तब्ध, अर्कै संवेदना र श्रद्धाले बेरेको मन, बल्लबल्ल थिग्रिएका खुट्टा तर बढ्नुछ अगाडि किनकि हामीलाई लोबुचेले पर्खिरहेको छ ।
साँझ नपर्दै लोबुचे पुग्नुपर्ने तर दिउँसै रात पार्ने गरी बर्सियो वरफ, ढाकियो कुहिरो र चल्यो हिमपातको आँधी । एकातिर फरक अनुभूतिको आँधी अर्कातिर हिमपातको साँच्चैको आँधी । मनले अह्राउँछ ‘ए छिटो हिंड्’ तर तिघ्रो भन्छ ‘सक्दिनँ’ । बढेको सास भिजेको शरीर तर हिउँसँगको अपूर्व साक्षात्कार । साँच्ची त छोरो अपूर्व, मित्र रामशरण र जयपुरका पाहुना कर्नेल प्राण छिब्वर चारै जनाले एक अर्कालाई ढाडस दिन्थ्यौं ‘लठ्ठी र गोडाले राम्ररी टेकौं है ।’
लभ्ली लोबुचे
सानो सिटी लोबुचे साँझमा साँच्चीकै लभ्ली । हाइवे (अर्थात् पदमार्गको सानो हिमाली गोरेटो) मुन्तिर पार्क गरिएका पठाओ अर्थात् घोडा र चौंरीहरू । अलि तल्तिर ढुङ्गा पन्छाएर बनाएका हेलिप्याडहरू । अझ तल्तिर धुवाँ पुत्किरहेको फोहोर जलाउने खाल्डो । पर्तिर गुम्बा, फर्फराइरहेको पताका, मानेका मन्त्रहरू ।
हाइवे मास्तिर चिटिक्कको सिटी । लहरैका होटलहरू सानो बजार । आकाशतिर फर्किएका केही बटुको आकारका इन्टरनेट टावरहरू । बाहिर टिकिरहन तागत र सम्भव दुवै छैन । ल जाऊँ भित्र तीन तहका ढोका ठेल्दै किनकि तपाईं हिउँसरी भिजेको हुनुहुन्छ । ‘वेलकम टु होटल अक्सिजन’ । ओम अधिकारी र दावा लामाको जोडीले खादा सहितको स्वागत र सम्मान हामीलाई किनकि दावा पहिले नर्स हुन् र उनी चर्चित ह्याम्स अस्पतालमा सेवारत थिइन् ।
पूर्व अफिसका अध्यक्ष आर एस सहितको हाम्रो समूहले अब किन नपाओस् मामाघरको सम्मान र मेजमान । सयौं पाहुनाको अक्सिजनमै सत्कार । पर्याप्त तातो, कन्टिनेन्टल फुड, हाइजिनमा नो कम्पर्माइज । दर्जनौं देशका आरोहीहरूको होेहल्ला, दूरसञ्चार संवाद, तास र लँुडोका टोलीहरू । अब हामीले थकाइ बिर्सियौं र उत्सवमा मिसियौं । सम्पूर्ण सूचना, सत्कार र सेवाले सघाइ सकेर दावाले भनिन्, ‘अब हजुरहरू सुत्नुहोस् भोलि ज्वाइँले बेसक्याम्पसम्मै गाइड गर्नुहुन्छ ।’
सुत्ने तयारी लगभग एकदेखि डेढ घन्टाको । भित्रैसम्म पसिनाले भिजेका लुगाको फेराइ । बिहान बेडबाट सीधै भिर्न सकिने गरी बर्सादी र लौरोसम्मको योजना । नाम्चेबाट चढेदेखि चालु भएको हाई अल्टिच्युडको औषधि सेवन, कपुरको गन्ध सेवन, घाँटी र नाकमा झन्डुवामको लेपन । “मोबाइल चार्ज भयो त ?” सुत्ने सुरसार त गरियो तर निद्रा लागे पो ! जति जति चढ्यो त्यति नै निद्रा चैट् तर आजको रात सगरमाथा बेसक्याम्पमा टेक्नु अघिको अन्तिम रात ! योे उत्साहका अगाडि सबै कुरा साना । न कुरा गरौं !
गोप्य गोरखछेप
लोबुचेको गुडमर्निङ हिमपातमा परिणत । खासमा उज्यालै हुन सकेन । आज बेसक्याम्पमा टेक्ने दिन तर होटल बाहिर आँखा हेर्नै असम्भव । ब्रेकफास्ट सकियो, दश बजिसकेको छ । पदमार्ग पहिल्याउन कठिन छ । १२ बज्नै लाग्दा हल्का उघ्रियो आकाश । सुनियो घोडा र याकका घाँटीको घन्टी । यात्रीहरूको चलमल । भोलि के हुने भन्न सकिंदैन ।
एक दुई गर्दै लोबुचेबाट गोरखछेप उक्लियो यात्रुहरूको लस्कर । चट्टानमाथि थुप्रिएको हिउँ छिचोल्दै उकालिएको शरीर अघि बढ्न त खोज्छ तर फोक्सो फुलेर मुखबाट बाहिर निस्केला जस्तो । रिमरिम उज्यालो, फुसफुसे हिउँको वर्षा, लठ्ठीको सहारा । साँघुरो ढुङ्गेनी बाटो । गोरखछेप पुग्ने हुटहुटी ।
तीन कान्ला उक्लिएपछि सूर्य देवको सूक्ष्म उपस्थिति । त्यसपछि देखिएको ग्लासियरको अनन्त समुद्र । रोकिन मन छ, फोटो खिच्न मन छ तर यो खुलेको मौसममा चाँडोभन्दा चाँडो गोरखछेप पुग्नु छ । ‘ऊ त्यही हो गोरखछेप’ भरिया भाइहरूले खुशी हुँदै भने ‘अलिकति बल गर्नुभो भने आजै पुगिन्छ बेसक्याम्पमा ।’
यता खुट्टा काँपेका छन्, मुख सुकेको छ । पोलार ग्लास उघार्न पाइँदैन किनकि पत्थर मिसिएको बतासले हिर्काउँछ तर पनि रोमाञ्चित छ मन, उलासित छ आत्मा । मस्तिष्कले टेरेको छैन शरीरलाई किनकि हिउँचुलीको स्वर्गीय फेदीमा पुगेका छन् पाइताला ।
आहा ! गोरखछेप पुगियो । वरिपरि हिमाल, ढुङ्गेनी ५–७ घरहरू उघ्राइरहेका घोडाहरू ८–१० वटा, एउटा स्वास्थ्य केन्द्र १–२ गुम्बा र मानेहरू यही रहेछ विशाल गोरखछेप जसको माथ्लो भागबाट देखिंदोरहेछ आकाशमा हिमालको चुचुरो अनि जमिनमा बेसक्याम्पको इन्दे्रणी गाउँ ।
होटलका लिमिटेड कोेठाहरू बेलैमा बुक गर्नुपर्ने । पानीको बोटल ५०० रुपैयाँमा तातो पार्ने भए अर्को ३०० थप्नुपर्ने, कुनै पनि खानाका लागि ५००–१००० रुपैयाँ नर्मल प्राइस । आम्मै !
उक्लनुपर्ने बेसक्याम्प तर पाइला चल्दैनन् । पञ्चमीका पाइलाले पैंतालीस मिनेटको यात्रालाई ५ घन्टा लाग्ने भयो । शरीरको ऊर्जा र मौसमको चुनौती बुझेर पठाओ चढ्ने निर्णय भयो । पठाओ अर्थात् घोडाको पिकअप एण्ड ड्रप गोरखछेप टु बेसक्याम्पमा । प्रति पठाओ २० हजार मात्र ।
हुन पनि कमिलो नअडिने कठिन उकालो चढ्ने घोडामाथि बस्नु आफैंमा बन्जी जम्प जस्तो स्काई ड्राइभ जस्तो । अब यो क्षण ठ्याक्कै “कि त गर कि त मर” को । शरीर र मनले एकअर्कालाई नचिन्ने अवस्था । हिमालकी देवीले जे गर्छिन् त्यही ।
घोडाको चालसँगै जीउलाई अड्याउनु, मनोरम ग्लासियर हेर्नु, हिउँको गुफाभित्र छिर्नु, एकैसाथ रमाउनु र डराउनु । घोडाको पाइला एक मिस गेम फिनिस । खै कुन शक्तिले हो विशाल हिमालको फेदमा रहेका अद्भुत बेसक्याम्प पुग्दा खुट्टा कक्रिएर वरफ भइसकेछन् । निक्कै बल गरेर मात्रै घोडाबाट झर्न, पाइलो सार्न सकिने ।
अभूतपूर्व बेसक्याम्प
ढुङ्गाको गेट, तुल र ब्यानरको शृङ्गार । चिटिक्कको फोटो बुथ । हजारौं राता पहेंला टेन्टहरूको रमिता । ढुङ्गामाथि बसाइएका विभिन्न कम्पनीका आ–आफ्नै बस्ती । चुचुरो चढ्न चाहने विश्वका साहसीहरू र बेसक्याम्प लक्ष्य हुने हजारौं पदयात्रीको अपूर्व मिलन । मानौं मेला लागेको छ सगरमाथा गाउँमा ।
हरेक कम्पनीका आ–आफ्नै गेट, आ–आफ्नै गेस्ट । तीन वटा हेलीमा बल्ल अटाउने डोमहरू, डोमभित्र ग्यास हिटरको न्यानो । फाइभस्टार परिकार रेस्टुरेन्ट, डाइनिङ र बार । डलरमा खेल्न सकिने चेस, सानातिना शौचालय, हरेकका आ–आफ्नै नर्स, डाक्टर ! ओ माइ गड !!
बुकिङ अनुसार बेसक्याम्पमा सुत्न पाइने तर १ घण्टा बिताएर सेभेन्थ समिटका संयोजक आत्मीय आचु मिङ्माको अतुलनीय आतिथ्यले दङ्ग फुरुङ्ग हुँदै पठाओमा गोरखछेप आइपुग्दा झमक्क साँझ । बाहिर तापक्रम माइनस सात तर गुफा जस्तो कोठामा भए जति सबै लुगा र स्लिपिङ ब्याग सहित गुटुमुटु । भोलि उठ्न सकिएला त ? जय होस् !
कुन विधाता र संयोगले हामीले हिमाल पायौं होला, कुन स्रष्टाको रचना होला हाम्रो हिमसम्पदा ? के हामी विश्वका हिमाल पारखीहरूलाई अझै बढी डाक्न सकौंला ? के हामी अनगिन्ती हिमालहरूको स्वच्छतालाई अझ बढी जोगाउन सकौंला । पर्यटन अनन्तसम्मका लागि हाम्रो आधार हो भने राज्यको प्राथमिकतामा प्रकृतिको वैज्ञानिक व्यवस्थापन प्राथमिकतामा पर्न सक्ला ?
हिउँचुलीका गीत मात्र गाउँदा त कस्तो मजा आउँछ भने हिमस्वर्गमा पाइला झन् कस्तो हुँदो हो ! म संजोगले सामेल भएर गौरवान्वित छु । मलाई त फेरि पनि जाऊँ जस्तो लाग्छ ! हजुरलाई कस्तो लाग्छ ?
तस्वीर : सुन्दर बस्नेत
प्रतिक्रिया 4