सन् २०२४ को अन्तिम महिना भारत र पाकिस्तानको सिमानामा रहेको थार मरुभूमि भ्रमण गर्ने अनौठो, रोचक र दुर्लभ अवसर मिल्यो। मानव सभ्यता, प्रकृति र संस्कृतिको संगम भनेर विश्वभर चिनिने यो मरुभूमि जान पाउनु सौभाग्य थियो मेरो लागि।
‘मरुभूमिमा पनि के जानु, त्यहाँ के नै हुन्छ र’ भन्ने सोच हुन सक्ने भए पनि आजकल मरुभूमि भ्रमण गर्ने चलन विश्वभर निकै लोकप्रिय हुँदै गएको छ। मरुभूमिमा फैलिएका सुनौलो बालुवाका ढिस्काहरू, अनौठा चट्टानका संरचना, छरपस्ट छरिएका बोटबिरुवा, जंगली जनावर, समृद्ध सांस्कृतिक धरोहरहरू र मनमोहक सूर्यास्तले जो–कोहीलाई लोभ्याउँछन्।
त्यतिमात्र कहाँ हो र? रातको समयमा ताराहरू हेर्ने अनौठो अनुभव, बालुवाको ढिस्कामा गाडी कुदाउने (ड्युन ब्यासिङ) रोमाञ्चकता, बालुवामा सर्फिङ गर्ने साहसिक क्रियाकलाप र ऊँटमा सवारी गर्ने उत्साहले मरुभूमिको यात्रालाई झनै रमाइलो बनाउँछ। यी सबै क्रियाकलापहरूले मनमा उत्सुकता र रोमाञ्चक अनुभूतिको तरंग पैदा गर्छन्, जसले मरुभूमि यात्रा आजको समयको प्रमुख आकर्षण बनेको छ।
यस्तै रमाइलो गर्न र हेर्न म र श्रीमती तेजस्वी इण्डिगो एयरलाइन्सको उडान लिएर नयाँदिल्लीबाट थार मरुभूमि जाने प्रमुख नाका जैसलमेरको यात्रा गर्नका लागि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँदिल्ली पुग्यौं। एयरपोर्टको भीडभाड पार गर्दै इमिग्रेसन र कडा सेक्युरिटी चेक पूरा गरेर हामी गेटमा पुग्यौं अनि समयमै जहाजभित्र पस्यौं ।
जहाजको ढोका बन्द भएपछि पाइलट र एयर होस्टेसहरूले एकपछि अर्को घोषणाहरू गर्न थाले। तीमध्ये एउटा घोषणाले मेरो ध्यान आकर्षित गर्यो। त्यो घोषणा थियो ‘एयर होस्टेसके साथ छेडछाड करना मना है।’ यो घोषणा, त्यो पनि केवल हिन्दीमा मात्र आउनुले भारतमा महिलाहरू असुरक्षित भएको स्पष्ट संकेत दिन्थ्यो। यो समस्या केवल जहाजभित्रको मात्र नभएर भारतीय समाजको चित्रण पनि थियो जस्तो लाग्यो।
डेढ घण्टाको छोटो उडानपछि जैसलमेरको एयरपोर्टमा उत्रिएर हिंडेरै टर्मिनल भवनमा जाँदा विराटनगर एयरपोर्टको झझल्को आयो। प्लेन समयमै उडेर निर्धारित समयभन्दा केही अगाडि आउँदा खुसी लाग्यो। उडान ढिलो उड्दा वा रद्द हुँदा म निकै बेचैन हुन्छु।
चेकइन सामान केही थिएन। एक-एक वटा झोला बोकेर एयरपोर्ट बाहिर निस्कियौं। नजिकको तीर्थ हेला भने जस्तै सहारा (अफ्रिका) र लहबाब (युनाइटेड अरब इमिरेट्स) मरुभूमि घुमिसकेको भए पनि थार मरुभूमिमा पहिलोपल्ट पाइला टेकेको थिएँ।
नेपालभन्दा करिब २५ प्रतिशत ठूलो क्षेत्रफलमा फैलिएको थार मरुभूमिको करिब ८५ प्रतिशत भारतको राजस्थान, पञ्जाब र हरियाणामा र बाँकी १५ प्रतिशत भाग पाकिस्तानमा पर्छ। जलवायु परिवर्तनका कारण यो मरुभूमि वर्षेनि पञ्जाब र हरियाणातर्फ विस्तार भइरहेको छ।
हिन्दू धर्मका ग्रन्थहरू ऋग्वेद र पद्म पुराणमा व्याख्या गरिए अनुसार सरस्वती नदी नसुकुन्जेल यो पूरै क्षेत्र हराभरा थियो। महाभारतमा आइपुग्दा नदी सुकेर मरुभूमि बनिसकेको रहेछ। भू-वैज्ञानिक अध्ययन अनुसार यो क्षेत्र पहिले समुद्र थियो। जलवायु परिवर्तनका कारण यहाँको भू-भाग मरुभूमिमा परिणत भएको थियो।
एयरपोर्टबाट निस्कनासाथ ट्याक्सी लिएर ५० किलोमिटर टाढा रहेको सुल्तान रिजोर्टतर्फ लाग्यौं। चालक सलिमले जैसलमेर अर्थात् गोल्डेन सिटीको बीचैबीच ट्याक्सी गुडाउँदा पहेंलो स्यान्ड स्टोनले बनेका घरहरू सूर्यको किरणले चम्किएर पूरै शहर सुन जस्तै देखिएको थियो। सलिमले सोझै शहरको केन्द्रबिन्दुमा रहेको प्रभु टी स्टलमा लगेर गाडी रोके र चिया पिउने सल्लाह दिए। आहा कति मिठो चिया ! त्यहाँबाट सलिमकै सल्लाहमुताबिक सन् १९३९ मा खुलेको शहरको प्रख्यात मिठाई पसल धनराज रनमल भाटियामा गएर ‘घोटुवा लड्डु’ खाएर रिजोर्टतर्फ लाग्यौं।
जैसलमेर शहरलाई छिचोलेर पश्चिमतर्फ लाग्दा बाटोको दुवैतर्फ महँगा–महँगा होटलहरू देखिए। मरुभूमि घुम्न आउने पर्यटकहरूलाई मात्र हैन, ‘डेस्टिनेसन वेडिङ’ को लागि पनि यी होटल प्रख्यात रहेछन्। केही किलोमिटर अघि गएपछि बायाँतर्फ ‘ढुंगा खानी’ देखियो। यहींको ढुंगाले जैसलमेरका होटल, घर र अन्य संरचनाहरू बनेका रहेछन्। त्यसैले त यो शहर फरक र रोचक छ। स्टिल र सिमेन्टका भवनहरूमा अभ्यस्त आँखाहरूका लागि यो शहर केही नौलो र फरक अनुभूति गराउने खालको थियो।
नयाँ बाटो निर्माण भइरहेकोले कतिपय स्थानमा बाटो खराब थियो। बाटोको दुवै छेउमा फैलिएको मरुभूमिमा छरपस्ट रूपमा एकासिया र अन्य प्रजातिका केही रूखहरू देखिन्थे। जैसलमेरको नजिकका क्षेत्रहरूमा विन्डमिलहरू ठडिएका थिए, तर केही समयपछि तिनीहरू पनि देखिन छोडे।
त्यहाँ मैले सोचे जस्तो बालुवाका ढिस्काहरू थिएनन्, केवल सुक्खा ढुंगे जमिन मात्र थियो। बाटोको अधिकांश भागमा न कुनै बस्ती थियो, न त कुनै खेतीपाती देखिन्थ्यो। बाटो कतै-कतै त यति सीधा देखिन्थ्यो, मानौं कसैले लामो सोझो रेखा कोरेको हो। त्यो देखेर मलाई लाग्यो कि म मरुभूमिको बीचमा छु।
एक घण्टापछि ‘सम ड्युन’ नजिकै भएको ‘सुल्तान रिजोर्ट’ मा चेकइन गर्यौं। टेन्ट सफा र व्यवस्थित रहेछ। बेलुकाको हावा चल्न थालिसकेको हुनाले टेन्टको छानो फरफर उडाएको आवाज आइरहेको थियो। ओछ्यानमा एकछिन घर्लप्पै लडें, अलिकति भए पनि थकान मेटाउँ भनेर।
केहीबेर आराम गरेपछि दिउँसो चार बजे जीप चढेर ‘सम ड्युन’ जान हिंड्यौं। हुट नभएको जीपको पछाडि हामी दुई मात्र थियौं। कच्ची र खाल्डाखुल्डी भएको बाटोमा बेजोडले जीप चलाउँदा हाम्रो हरिबिजोग भयो। जीपबाट उछिट्टिएर झर्ने र ढाडै भाँचिने डर लागेको थियो। जसोतसो गन्तव्यमा पुग्दा राहत भयो।
सम ड्युनमा पुग्दा त्यहाँ सयौं पर्यटक आइसकेका थिए। अरू थप पर्यटक आउने क्रम जारी थियो। हामी पनि त्यो जमातमा सामेल भयौं। त्यहाँको रमणीय वातावरण र शान्तिले बाटोको डर बिर्साइदियो। करिब २-३ किलोमिटर चौडा र २५-४० किलोमिटर लम्बाइ भएको सम ड्युनमा बालुवै-बालुवा रहेछ। हावाको वेगले गर्दा ती ढिस्काहरू विभिन्न आकारमा परिणत हुँदा रहेछन्। सोही कारणले क्षेत्रफल कति छ भनेर ठ्याक्कै भन्न नसकिने रहेछ।
विभिन्न आकारप्रकारका बालुवाका ढिस्काहरू एकपछि अर्को फैलिएका थिए। हावाको वेगले गर्दा ती ढिस्काहरू लगातार विभिन्न आकार र रूपमा परिवर्तन हुँदा रहेछन्, जसले सम्पूर्ण मरुभूमिलाई एक गतिशील र परिवर्तनशील स्थल बनाएको रहेछ। डुब्न लागेको सूर्यका किरणहरूले गर्दा ती बालुवाका ढिस्काहरू सुन जस्तै चम्किएका थिए। मान्छेहरू विविध गतिविधि गर्नमा व्यस्त थिए। कोही ऊँटमा चढेर, कोही ड्युन ब्यासिङ गरेर, कोही हिंडेर त कोही खाएर-पिएर आनन्द लिइरहेका थिए। टाढा-टाढा केही रूखबिरुवा र फाट्टफुट्ट गाउँहरू पनि देखिन्थे।
यो दृश्य मलाई चलचित्रको एउटा सिन जस्तो लाग्यो- जहाँ रंग, प्रकाश र वातावरणको अद्भुत संयोजनले एउटा सुन्दर कथा बुनिरहेको थियो। त्यो सिन वास्तविकता र कल्पनाको मिश्रण जस्तो प्रतीत भएको थियो, जसले मनमा गहिरो छाप छोड्ने काम गरिरहेको थियो।
मैले सबैभन्दा पहिले वातावरणलाई अझ नजिकबाट महसुस गर्न र त्यसको सौन्दर्य बुझ्न केही समय हिंडेर अवलोकन गर्ने विचार गरें। बालुवामा आफ्नै इच्छा अनुसार र चाहेको दिशामा हिंड्न पाउनु भनेको मेरो लागि स्वतन्त्रता र आत्मविश्वासको प्रतीक जस्तो थियो। जीवनमा कहिलेकाहीं निश्चित बाटो पछ्याउनुपर्दा दिक्क लाग्छ मलाई।
बालुवामा हिंड्न के गाह्रो होला र भन्ने सोच्दै अघि बढें। तर, हरेक कदममा बालुवामा खुट्टा भास्सिएर पाइला चाल्न कठिन भयो। जुत्ता लगाएर हिंडेको हुनाले केहीछिनमै बालुवा जुत्ताभित्र छिर्यो। त्यो बेला खाली खुट्टा हिंडेको भए सहज हुन्थ्यो कि भन्ने लाग्यो। गर्मीले खासै सताएको थिएन, तर तीव्र हावाको वेग र खुट्टा बारम्बार भासिनुका कारण हिंड्न निकै प्रयास गर्नुपर्यो।
उडिरहेको बालुवा मुख र कानभित्र छिरिसकेछ। आँखामा भने चस्मा लगाएको हुनाले बच्यो। एकछिन घुमफिर गरेपछि ऊँटमा चढेर आनन्द लिने सोच आयो तर ऊँटमा चढुँ कि नचढुँ भन्ने द्विविधामा परें। एकातिर ऊँटमा चढेर अनौठो अनुभव र साहसिक यात्रा गर्ने विचार मनमा खेलिरहेको थियो भने अर्कोतर्फ मैले जनावरलाई दु:ख दिएर आफ्नो आनन्दको महसुस गर्न उचित हुन्छ र भन्ने प्रश्न मनमा खेलिरहेको थियो।
केहीबेरको सोचपछि ऊँट चढ्ने निर्णय गरें। ऊँटको अगाडि डोरी समातेर हिंड्ने केटाले ‘तिमीहरू जस्ता टुरिस्टले गर्दा हामीले यी जनावर पाल्न सकेका छौं र हाम्रो रोजीरोटी पनि चलेको छ’ भन्दा ऊँट चढेर ठिकै गरे जस्तो पनि लाग्यो।
अरू क्रियाकलाप यसअघि दुबईमा गरिसकेको हुनाले परपरसम्म देखिने एउटा बालुवाको ढिस्कोमा बसेर सूर्यास्त हेर्ने निर्णय गरें। मरुभूमिमा सूर्यास्त अझ रंगीविरंगी हुँदोरहेछ। यहाँको सुक्खा हावा, आकाशमा कणहरू थोरै हुनु र लामो तरंग (वेबलेन्थ) ले गर्दा अझ मनमोहक देखिंदो रहेछ। घाम हेर्दाहेर्दै डुब्यो तर आकाश रंगिएकै थियो। म त्यहीं बसिरहें र स्यान्ड ड्युन र खुल्ला आकाशको आनन्द लिइरहें। ताराहरू चम्किन थाले अनि चिसो बढ्न थाल्यो। मरुभूमिको कठोर वातावरणमा पनि त्यति धेरै सुन्दरता लुकेको हुँदोरहेछ भन्ने कुरा मैले त्यो साँझ अनुभव गर्ने मौका पाएँ।
झमक्कै साँझ परेपछि हामी रिजोर्टतर्फ फर्कियौं। योपालि चालकलाई विस्तारै जीप हाँक्नुस् है भनेको हुनाले त्यति उफारेन र यात्रा अलि सहज भयो। कोठामा गएर नाक–मुख र कानमा भएको बालुवा हटाएर एकछिन आराम गरी नसक्दै ‘हाइ टी’ को बेला भएछ। चिया र खाजा खाएर केहीबेर आराम गरेपछि बेलुकाको सांस्कृतिक कार्यक्रम सुरु भयो।
यो कार्यक्रममा राजस्थानको समृद्ध संस्कृति र परम्पराहरूको झलक पाइयो। खुला आकाशमा कार्यक्रम भएकोले ताराहरू चम्किरहेका थिए। डिसेम्बरको चिसोले क्रमश: सताउन थालेको थियो। जाडोले गर्दा कसैले ब्ल्याङ्केटको सहारा लिए भने केही युवायुवतीहरूले बियर, ह्विस्की र वाइन रोजे। हाम्रो टेन्ट वरिपरि अरू थुप्रै रिजोर्ट भएको हुनाले हाम्रो माइक नघन्केको बेला अरु रिजोर्टबाट गीत सुन्न सकिन्थ्यो।
मञ्चमा हार्मोनियम र ढोलक बजाएर कार्यक्रम सुरु भयो। तीनजना सुन्दर युवती घाघरा र चोली लगाएर घुमर नाच देखाउन थाले। घुमर शब्दको अर्थ घुम्नु वा घुम्ने रहेछ। युवतीहरू आफ्नो घाघरा हावामा फ्याँक्दै, आफ्ना हात र शरीरलाई घुमाउँदै ढोलकको तालमा गोलाकार भएर नृत्य गरिरहेका थिए। उनीहरूको आँखामा चमक र ओठमा मुस्कान थियो। उनीहरू सुन्दर थिए, रंगीन घाघरा र चोलीले सजिएका थिए अनि हरेक स्टेपमा रमाइरहेका थिए। ‘संसार कति सुन्दर छ लाटा, तँलाई के थाहा’ भनेर उनीहरूले मलाई नै भनेको जस्तो लाग्यो। मलाई भने संसारमा साँचो सौन्दर्य अनुभव गर्न र त्यसका अनगिन्ती रंगीन क्षणहरू देख्न, जान्न र बुझ्न अझै धेरै बाँकी रहेछ भन्ने कुराको बोध भयो।
राजस्थानमा त्यति धेरै रंगीविरंगी लुगाहरू देखेर म मनमनै अचम्मित हुन्छु। राजस्थानमा रंगीन लुगाहरूको अस्तित्वको पछाडि यहाँको ऐतिहासिक, सामाजिक र वातावरणीय विशेषताले महत्वपूर्ण भूमिका निभाएको रहेछ। सदियौंदेखि यहाँ राजा र महाराजाहरूको शासन भएको हुनाले उनीहरूले रंगीन लुगालाई सम्मान र प्रतिष्ठाको प्रतीक बनाएका थिए। रंगीन वस्त्रले धन र प्रतिष्ठाको प्रतिनिधित्व पनि गरेका रहेछन्, जसले समाजको उच्च वर्गको पहिचान बनाएको रहेछ। त्यस्तै, राजस्थानको कठिन वातावरणमा रंगीन लुगाहरूले सूर्यको किरणलाई रिफ्लेक्ट गर्ने हुनाले शरीरलाई चर्को गर्मीबाट बचाउने रहेछ।
विश्वका अन्य देशमा जस्तै यहाँ पनि हरेक रंगको अर्थ रहेछ। जस्तो कि रातोले प्रेम, पहेंलोले ज्ञान र आध्यात्मिकता, हरियोले सहिष्णुता र नीलोले शान्त वातावरण जनाउँदो रहेछ। झट्ट हेर्दा उस्तै-उस्तै देखिए पनि राजस्थानका विभिन्न क्षेत्रका मानिसका आ-आफ्नै लुगा र रंग हुने रहेछन्। उनीहरूको पोशाक अनुसार एक समुदाय र अर्को समुदायलाई छुट्याउन सकिने रहेछ। पोशाक अनुसार क्षेत्रीय पहिचान मात्र हैन, पोशाक र गहनाले बिहे गरेको छ-छैन पनि थाहा हुने रहेछ, हाम्रोमा सिन्दूर जस्तै।
कार्यक्रम एकपछि अर्को गर्दै चलिरह्यो। मञ्चमा बजिरहेको ढोलकको तालसँग र घुँघरुको आवाजसँग ताल मिलाउँदै एउटी सुन्दर युवती मट्का डान्स गर्न थालिन्। टाउकोमा राखिएको माटोको गाग्रो नखसाली नाच्न निकै कठिन थियो, तर उनले निकै सहजता र सफलतापूर्वक नाचिन्। त्यो नाचले मरुभूमिको दैनिकीमा माटोका भाँडा र पानीको महत्त्वलाई स्पष्ट रूपमा झल्काएको थियो। यसले राजस्थानको समाजमा महिलाको महत्वपूर्ण भूमिकालाई पनि उजागर गरेको थियो।
कार्यक्रम सकिए पनि खुला नाच जारी थियो। धेरै दर्शकहरू फ्लोरमा गएर नाच्न थाले। हामी भने खाना खान गयौं। आहा कति मिठो मसालेदार दाल-बाटी-चुरमा ! यो खाना भारतका अन्य प्रदेशहरूमा पाइए पनि राजस्थानी दाल-बाटी-चुरमा विशेष हुने रहेछ। जिब्रो पट्काई पट्काई खाएँ अनि टेन्टमा गएर लम्पसार परें। आजको दिन लामो भए पनि निकै रोमाञ्चक भयो।
बिहानै उठेर चिया पिउन रिजोर्टको किचनमै गएँ। त्यहाँ एक जना ८० वर्ष जतिका व्यक्तिसँग भेट भयो। लट्ठी टेकेका र खास्टो ओढेका ती व्यक्तिसँग कुरा गर्न मन लाग्यो। उनी राजस्थानकै एउटा विश्वविद्यालयमा समाजशास्त्र पढाउँदा रहेछन्। उनी र म एउटा टेबलमा बसेर चिया पिउँदै भलाकुसारी गर्न थाल्यौं। उनले राजस्थानको बारेमा रोचक जानकारी दिए।
मरुभूमिको शाब्दिक अर्थ मृत भूमि भए पनि थार मरुभूमिमा विभिन्न खाले वनस्पति र जनावरहरू पाइन्छन्। वर्षा कम (वार्षिक १५ सेन्टिमिटरभन्दा कम) तर वाष्पीकरण बढी हुने र तापमान गर्मीमा ५० डिग्री नाघ्ने र जाडोमा शून्य डिग्रीसम्म हुने गर्दछ। बिरुवाहरूले यहाँ बाँच्नको लागि गहिरो जरा, सानो पात र पानी सञ्चित गर्न सक्ने क्षमता विकास गरेको हुनाले थोरैभन्दा पनि थोरै पानी र अत्यधिक तापक्रममा पनि बाँच्न सक्छन्।
थार मरुभूमिमा ६८२ प्रजातिका बोटबिरुवा, १ हजार १९५ प्रजातिका जन्तु पाइन्छन् भन्ने सुन्दा म अचम्मित भएको थिएँ। जैविक विविधता प्रशस्तै रहेछ यहाँ। उदाहरणको लागि यहाँ २३ प्रजातिका छेपारो र २५ प्रजातिका सर्प पाइँदा रहेछन्। यो क्षेत्रमा सिन्धु घाँटी सभ्यताका प्रमाणहरू पाइएका छन्, जसले देखाउँछ कि यहाँ हजारौं वर्षदेखि बसोबास गरिन्थ्यो र यो व्यापारिक मार्गको केन्द्र पनि थियो। जैसलमेर र राजस्थान प्राचीन समयको प्रमुख सिल्क रोडको एक महत्वपूर्ण मार्ग थियो, जसले युरोप, अफ्रिका र एसियालाई आपसमा जोड्ने काम गर्थ्यो।
यो मरुभूमि संसारको सबैभन्दा बढी जनघनत्व भएको मरुभूमि हो। राजस्थानको कुल जनसंख्याको ४० प्रतिशत जनसंख्या यहाँ बसोबास गर्दछन्। यो मरुभूमिमा रेड क्लिफ लाइनले भारत र पाकिस्तानको सिमानालाई छुट्याउँछ। यो सिमानालाई ब्रिटिश वकिल सिरिल रैडक्लिफले सन् १९४७ मा खिचेका थिए। उनलाई धन्यवाद दिंदै म बिदा भएँ।
ब्रेकफास्ट खाएर तनोट मन्दिर जाने कार्यक्रम थियो त्यो दिन। आधा बाटो काटेपछि बेस्सरी बालुवाको आँधीबेहरी (स्यान्ड स्ट्रोम) आयो। उडिरहेको बालुवाले गर्दा बाटो राम्रोसँग देखिन छोड्यो। जसोतसो हाम्रो गाडी अघि बढिरहेको थियो। बाटोमा बालुवाको थुप्रो जमेर बाटो बन्द हुने वा दुर्घटना हुने डर हुने रहेछ। त्यस्तो कम भिजिबिलिटीमा पनि चालकले गाडी बेजोडले दौडाइरहेका थिए। चालकलाई बिस्तारै हाँक भन्न बाध्य भएँ म। त्यसपछि अलिक राहत भयो।
त्यो लामो बाटोमा एकाध ठाउँहरू छोडेर कहीं पनि मान्छे देखिएनन्। न कुनै बस्ती वा खेती। केवल बालुवा, ढुंगा र केही स-साना बोटबिरुवा मात्र देखिन्थे। मानव हलचलको सट्टा त्यो दिन हावाहुरीको हलचल थियो।
तनोट मन्दिर भारत र पाकिस्तानको सिमानामा रहेछ। पाकिस्तानले सन् १९६५ मा अन्धाधुन्ध ३०० भन्दा बढी बम खसाले पनि तनोट माताको कृपाले यो मन्दिरमा झरेन वा झरे पनि पड्किएन भन्ने विश्वास गरिंदो रहेछ। मन्दिरकै परिसरमा एउटा सानो संग्रहालय रहेछ जहाँ त्यो बेला नपड्किएका वा प्रयोग भएका हातहतियार राखिएको रहेछ। हाल भारतीय सीमा सुरक्षा बलले यो मन्दिरको व्यवस्थापन गर्दो रहेछ। संसारमा सेनाले व्यवस्थापन गरेका थोरै मन्दिरमध्ये पर्दोरहेछ यो मन्दिर। भारतीय नागरिक बाहेक अरूलाई त्यहाँभन्दा पर पाकिस्तानको सिमानामा जान मनाही रहेछ। राशन कार्ड लिनेले मात्र जान पाउने रहेछ। मन्दिरभित्रको एउटा भागमा झण्डैझण्डा देखियो। ती झण्डाहरू भक्तालुले चढाएका रहेछन्। आफ्ना इच्छा, मनोकामनाहरू पूरा हुने आशाले ती झण्डा चढाइएका रहेछन्।
मन्दिरको बाहिर स-साना टहराहरू थिए, जहाँ रेस्टुरेन्ट र प्रशस्त गिफ्ट शपहरू थिए। मैले एउटा ह्याट किनें र हामी त्यहाँबाट फर्कियौं। फर्किंदा ‘लंगेवाला’ जाने इच्छा थियो, तर ट्याक्सी चालकले जान मिल्दैन भनेर ढाँटे। मैले के गर्न सक्थें र ? दिल्लीमा जस्तै यहाँ पनि ट्याक्सी चालकले यात्रुलाई ढाँट्ने र ठग्ने रहेछन्।
बाटोमा ‘रनों स्यान्ड ड्युन्स’मा रोकिएर फोटो खिच्यौं। हावाहुरी र बालुवाले धेरै टाढासम्म हेर्न सकिन्नथ्यो। एक जना किसानले स्यान्ड स्ट्रोमले जिराको बोटहरू उखेलिदिएको गुनासो गरे। यहाँ केही हिन्दी सिनेमा पनि शुट गरिएको रहेछ। बाटोमा इन्दिरा गान्धी क्यानलमा रोकेर फोटो लिने काम भयो। यो बाँध ६४९ किलोमिटर लामो रहेछ र पानी पञ्जाबबाट आउँदो रहेछ। मरुभूमि विस्तार हुन रोक्न र खेतीपाती गर्न यो बाँध सन् १९५८ मा सुरु गरेर १९८० मा निर्माण सम्पन्न गरिएको रहेछ। सफा नीलो पानी बगिरहेको थियो। हामी त्यहाँ आइपुग्दा बालुवाको हुण्डरी निकै रोकिइसकेको थियो।
केहीबेर त्यो क्यानलमा फोटो-भिडियो लिएर रिजोर्टतिर लाग्यौं। बाटोमा पर्ने रामगढमा चियाखाजा खायौं। चालकले खाना खाए। रोटी र चपाती बनिरहेको थियो। त्यहाँको सबैभन्दा राम्रो रेस्टुरेन्ट भए पनि सरसफाइको दृष्टिले ठीक थिएन।
हुरीबतास चलिरहेकै थियो तर पहिलेभन्दा निकै कम भइसकेको थियो। रामगढबाट हिंडेको आधा घण्टामा रिजोर्ट पुग्यौं। बेलुका उही सांस्कृतिक कार्यक्रम भए पनि फेरि एकपटक गएर रमाइलो गर्यौं। खाना खाएर त्यो दिनलाई बिदा दियौं वा त्यो दिनले हामीलाई बिदा दियो।
तेस्रो र अन्तिम दिन बिहानै उठेर ब्रेकफास्ट खान गयौं। ब्रेकफास्टमा मसला चियाको साथै दाल कचौरी, मेथी थेप्ला र बाजरा खिचडी थियो। अन्तमा ‘घेबर’ खाएर मुख मिठो गरें। त्यसपछि रिजोर्टबाट चेकआउट गरेर पर्खिरहेको ट्याक्सीमा चढेर जैसलमेरतिर लाग्यौं।
बाटोमा पाराग्लाइडिङ गर्ने स्थान थियो तर त्यो गर्न हामीले हिम्मत गरेनौं। हाम्रो उडान दिउँसोको दुई बजे भए पनि बिहान नौ बजे नै निस्केर ‘सोनार किल्ला’ र ‘गडीसर लेक’ घुमेर मात्र एयरपोर्ट जाने योजना थियो। चालक उही सलिम थिए। सोनार किल्ला जाँदै गर्दा परैबाट देखियो यो त सुन जस्तै टल्किरहेको छ।
सोनार किल्ला सुनौलो ढुंगाले बनेको रहेछ। हेर्दै फरक देखिने यो किल्ला वास्तुकला र ऐतिहासिक महत्वको लागि प्रख्यात छ। भारतमा भएका किल्लाहरूमध्ये यसमा मात्र मानिसको आवादी छ। त्यसैले यसलाई जीवित किल्ला पनि भनिन्छ।
गेटमा गाइड चाहिन्छ कि भन्नेर सोध्ने युवाहरू प्रशस्तै भेटिए। हामीले पनि केही पैसा दिएर एक गाइड लियौं। छोटो समयमा घुम्नको लागि उनी निकै उपयोगी भए। मुख्य-मुख्य ठाउँहरू घुम्न अलमलिनु परेन।
त्यहाँ प्रवेश गर्नासाथ थाहा भयो युनेस्को विश्व सम्पदा सूचीमा परेको यो किल्लालाई किन जीवित किल्ला भनेको रहेछ भनेर। करिब तीन हजार मानिस त्यहाँ बसोबास गर्दा रहेछन्। हजारौं पर्यटक त्यहाँ रमाइरहेका थिए। त्यहाँ धेरैवटा दरबार, मन्दिर र हवेलीहरू रहेछन्। राजपूत राजाहरूको बसोबास र जीवनशैलीको प्रत्यक्ष दर्शन गर्न पाइयो।
यहाँ परम्परागत राजस्थानी हस्तकला, गहना र वस्त्रहरूको किनमेल गर्न पनि थुप्रै पसलहरू थिए। सिटी भ्यू र मरुभूमि हेर्न हामी तीन ठाउँमा रोकियौं। चोक-चोकमा विभिन्न पोशाक लगाएर र हार्मोनियम बजाएर राजस्थानी गीत गाएर पैसा माग्नेहरू पनि प्रशस्तै भेटिए।
घुमिसकेर एउटा रुफटप रेस्टुरेन्टमा कफी खान गयौं। त्यहाँबाट मुख्य गेट र राजदरबार देख्न सकिने रहेछ। त्यहाँ काम गर्ने नेपालीसँग कुराकानी भयो। नेपालीहरू भारतका ढाबा र रेस्टुरेन्टमा गएर काम गर्ने परम्परा निकै पुरानो हो। तथापि अहिले यो परम्परा पहिलेभन्दा केही कम भएको जस्तो लाग्यो।
अब हामी गडीसर लेकतर्फ लाग्यौं। शहरको दक्षिणी भागमा अवस्थित यो मानव निर्मित लेक १४औं शताब्दीमा जैसलमेरका राजा महाराज गडीसरले निर्माण गरेका रहेछन्। डुंगामा चढ्न सस्तो हुन्छ भनेर दिल्लीबाट घुम्न आएका एक जोडीले हामीसँगै यात्रा गर्न प्रस्ताव गरे। उनीहरूको प्रस्तावलाई स्वीकार गर्दै हामी उनीहरूसँग एक घण्टा घुम्न निस्कियौं। लेकको वरिपरि विभिन्न ऐतिहासिक स्मारक र मन्दिरहरू रहेछन्। क्याप्टेन भन्न रुचाउने डुंगाका चालकले बडो कुशलतापूर्वक हाम्रो फोटो खिचिदिए। त्यसपछि हामी एयरपोर्टतर्फ लाग्यौं, जहाँ हाम्रो थारको यात्रा समाप्त हुन लागेको थियो।
थार मरुभूमि भ्रमण गर्नको लागि अक्टोबरदेखि मार्च महिना सबैभन्दा उपयुक्त रहेछ । डिसेम्बरमा पनि दिउँसो गर्मी र राति चिसो हुने भएकाले जाडो र गर्मी दुवै प्रकारका लुगा साथमा राख्नु आवश्यक रहेछ। यहाँको प्रमुख कुरा भनेको मरुभूमिमा यात्रा गर्दा पानी पर्याप्त मात्रामा बोकेर जानुपर्ने र सकेसम्म एक जना गाइडको साथ यात्रा गर्न सुझाव दिइन्छ।
मरुभूमिको यो छोटो घुमाइले थारको सांस्कृतिक विरासत, यहाँको जनजीवन र प्राकृतिक सौन्दर्यको अनुभव मात्र नभई मरुभूमिको कठोरता र यहाँका मानिसहरूको संघर्षलाई नजिकबाट बुझ्ने अवसर पनि प्रदान गर्यो।
(गिरी अमेरिकी सरकारका उच्च अधिकृत र ड्युक विश्वविद्यालयका एड्जन्क्ट प्रोफेसर हुन्।)
प्रतिक्रिया 4