
१९ पुस, काठमाडौं । चार वर्षअघिको कुरा हो, ताहाचलस्थित शिक्षक किताबखानाका सवारीचालक सुरेश नेपालको क्वाटरमा सादा पोशाकको प्रहरी टोली पस्यो । खानतलासी गरेर हेर्दा खाटको डस्नामुनी ५२ हजार रुपैयाँ लुकाएको भेटियो । पैसा भेटिनासाथ उनले भने, ‘शाखा अधिकृत धनेश्वर प्रसाई र क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेले अह्राए अनुसार पैसा लिएर लुकाएको हुँ ।’
१५ माघ २०७७ मा घूससहित पक्राउ परेका तीन जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्यो । ३१ असार २०७९ मा विशेष अदालतले भ्रष्टाचारको आरोपबाट सफाइ दिएपछि शाखा अधिकृत धनेश्वर प्रसाई फेरि त्यही कार्यालयमा पुरानै जिम्मेवारीमा फर्किए ।
करिब चार वर्षपछि उही कार्यालयमा, उस्तै आरोपमा उसैगरी घूस खाएको आरोपमा शाखा अधिकृत प्रसाई फेरि पक्राउ परे । यसपाली उनले लिएको घूस ६ गुणाले बढेको थियो । त्यतिबेला ५२ हजार घूस खाएको आरोप खेपेका उनी गत आइतबार तीन लाख रुपैयाँ घूससहित पक्राउ परे । आरोप थियो, ‘एक शिक्षकको पेन्सनपट्टा बनाइदिन घूस मागेको ।’
अख्तियारले विशेष अदालतबाट म्याद थपेर उनलाई थुनामा राखेको छ । र, अवकाश पाउने शिक्षकसँग घूस मागेको आरोपमा उनीसहित शिक्षक किताबखानाका उच्च अधिकारीहरूमाथि पनि अनुसन्धान गरिरहेको छ । अख्तियार स्रोतका अनुसार, सम्भवतः केही दिनमा राष्ट्रिय किताबखाना (शिक्षक) का अरु उच्च अधिकृत र उपमहानिर्देशकलाई पनि बयानमा बोलाउनेछ ।
पटके आरोपित
अख्तियार र विशेष अदालतको अभिलेख हेर्दा शाखा अधिकृत प्रसाई यसअघि नै भ्रष्टाचारको आरोपमा परेका देखिन्छन् भने त्यसअघि अर्को घूस प्रकरणमा जोडिएर साक्षी बनेका थिए ।
१५ भदौ २०७६ मा ताहाचलस्थित शिक्षक किताबखानाबाट शाखा अधिकृत अर्जुन पराजुली र नासु राजेन्द्रकुमार केसी १५ हजार घूस सहित पक्राउ परे । महोत्तरीको जनता माविकी एक अस्थायी शिक्षिकाले ‘गोल्डेन हेण्डसेक’ लिई राजीनामा दिन खोजेकी थिइन् ।
किताबखानाका कर्मचारीद्वय पराजुली र केसीले उनको काम ढिलो गरिदिए र घूस मागे । शाखा अधिकृत अर्जुन पराजुलीले ती शिक्षिकासँग ‘चिठी तयार छ, चिठी लिई जाने हो भने १५ हजार दिनुस्’ भनी हाकाहाकी घूस मागेका थिए ।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्यो । आफ्ना दुई सहकर्मीहरू रंगेहात घूस सहित पक्राउ परेको देखेका शाखा अधिकृत धनेश्वर प्रसाईलाई अख्तियारले साक्षी बनाएर लगेको थियो । उनले विशेष अदालतमा गएर ‘नासु राजेन्द्र केसीको र्याकबाट रकम बरामद भएको’ त बताए, साथसाथै उजुरीकर्तामाथि पनि आरोप लगाए । उनले बकपत्रमा भनेका थिए, ‘उजुरीकर्ता सेवाग्राही होइन । नियतले कार्यालयमा आए जस्तो लाग्छ ।’
आफ्ना साथीहरूले पक्राउ परेको करिब १७ महिनापछि शाखा अधिकृत धनेश्वर प्रसाई ५२ हजार रुपैयाँ सहित अरु दुई सहकर्मीहरूको साथमा पक्राउ परेका हुन् । अनिवार्य अवकाश हुँदै गरेका हेटौंडाका एक शिक्षकलाई उनले करकापमा पारेर काम रोकिदिएका थिए, अघि घूस मागेका थिए ।
हेटौडाका ती शिक्षकको सबै कागजात ठिकठाक थियो । उनले अवकाश हुँदा साढे ६ महिनाको बिरामी बिदाबापतको रकम पाउनुपर्ने थियो । ती शिक्षकले बिरामी बिदाबापत दैनिक ११ सय ६० रुपैयाँका दरले कुल २ लाख २६ हजार पाउनुपर्ने थियो । तर शाखा अधिकृत प्रसाईले बिदाको विवरण देखिने सक्कल रजिष्ट्रर (ढड्डा) नै चाहिन्छ भनी अल्मल्याउन थाले र अर्को व्यक्तिलाई भेट्न लगाए ।
९ वर्षदेखि शिक्षक किताबखानामा क्यान्टिन चलाएर बसेका सुदर्शन न्यौपानेले ती शिक्षकसँग काम बनाइदिने भए ५० हजार दिनु भनी घूस मागे । सँगै, काम गरेबापत उनलाई अलग्गै थप २ हजार दिनुपर्ने भयो । सुदर्शन न्यौपानेले भनेका थिए, ‘मेरो हातमा पैसा परेपछि तपाईंको कामको फाइल माग्न जान्छु, सही गर्नुहुन्छ, अनि मैले नै लिएर आउँछु । एक/डेढ घण्टामा काम सक्किहाल्छ ।’
पैसा दिएपछि किताबखानाका सवारीचालक सुरेश नेपालले किताबखाना परिसरभित्र रहेको आफ्नो क्वाटरको ओछ्यानमुनि ५२ हजार राखेको अवस्थामा अख्तियारको टोलीले फेला पारेको थियो । यहाँ उल्लेखित दुवै घटनामा विशेष अदालतले आरोपितहरूलाई सफाइ दियो ।

रंगेहात घूसमा पक्राउ परेका व्यक्तिहरू विरुद्ध अख्तियारले उपलब्ध गराएको रकमलाई प्रमाण मान्न नसकिने भन्ने संवैधानिक इजलासको फैसलापछि विशेष अदालतले दुवै भ्रष्टाचारका घटनामा आरोपितहरूलाई सफाइ दिएको थियाे ।
शाखा अधिकृत धनेश्वर प्रसाई, शिक्षक किताबखानाका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने र सवारीचालक सुरेश नेपालविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । आफूविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकै अवस्थामा शाखा अधिकृत प्रसाई फेरि पुरानै कार्यालयमा फर्किएका थिए र त्यही कार्यरत रहँदा घूससहित पक्राउ परेका हुन् ।
शिक्षाको भन्सार अर्थात् किताबखाना
संघीयता कार्यान्वयनपछि निजामती कर्मचारी, प्रहरी र शिक्षकहरूको अभिलेख राख्न सरकारले राष्ट्रिय किताबखाना स्थापना गरेको छ । राष्ट्रिय किताबखाना अन्तर्गत निजामती, शिक्षक र प्रहरी गरी तीन निकाय छन् । ताहाचलमा रहेको शिक्षक किताबखानालाई राष्ट्रिय किताबखाना (शिक्षक) को नाममा रूपान्तरण गरी शिक्षा सेवाकै सहसचिवको दरबन्दी कायम गरिएको छ ।
शिक्षकहरूको अभिलेख राख्ने अनि अवकाशको बेलामा पेन्सनपट्टा बनाइदिने र उनीहरूको सुविधा उपलब्ध गराउन सहजीकरण गर्ने अड्डा हो, शिक्षक किताबखाना । अवकाश हुने शिक्षकहरूसँग घूस उठाउने अड्डाको रूपमा परिचित किताबखानामा पछिल्लो समय झनै समस्याहरू देखिन थालेका छन् ।
अहिले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय मातहतको राष्ट्रिय किताबखाना अन्तर्गत शिक्षक किताबखाना सञ्चालित छ । शिक्षा सेवाबाट सहसचिव स्तरका कर्मचारी खटिने निकाय सामान्य प्रशासन मन्त्रालय मातहत छ, तर किताबखानाले स्वायत्त रूपमा काम गरिरहेको छ ।
प्रशासनिक प्रक्रिया र झन्झटका कारण पेन्सनपट्टा बनाउने शिक्षकहरूको काम अल्मल्याउने, अनि घूस माग्ने गुनासोपछि अख्तियारको टोलीले शिक्षक किताबखाना पुगेर निगरानी गरिरहेको थियो । त्यसैक्रममा प्रसाई रंगेहात पक्राउ परेका हुन् ।
पहुँच प्रयोग गरेर ‘किताबखाना’
मन्त्रालयका स्रोतका अनुसार अधिकृत धनेश्वर प्रसाई कर्मचारी संगठनको आवरणमा यति शक्तिशाली थिए कि आफैं मन्त्री भेट्न जाँदैनथे तर अरु प्रयोग गरेर मन्त्रीलाई समेत ‘धम्की’ दिन्थे ।
‘यति शक्तिशाली थिए कि सरुवा रोक्नुपर्यो भनेर उनका मान्छे मन्त्रालयमा आउँथे,’ मन्त्रालयका एक उपसचिवले भने, ‘जिल्लामा पनि उनले आफ्नो नेटकवर्क बनाएका थिए । सरुवा रोक्न दबाब आउँथ्यो ।’
शिक्षा मन्त्री फेरिने बित्तिकै प्रसाईंको बारेमा मन्त्रीलाई गुनासो आउँथ्यो । पछिल्ला तीन/चार वटा कुनै पनि मन्त्रीले उनको सरुवा गर्न सकेनन् । शिक्षामन्त्री विद्या भट्टराईले जोखिम मोलेकी थिइन् । मन्त्री भट्टराईले भनिन्, ‘शिक्षकहरूबाट उहाँको विषयमा गुनासो आएको थियो । उहाँमाथि प्रश्न उठेपछि सरुवा गरेँ ।’
मन्त्रालयका एक उच्चपदस्थ कर्मचारीका अनुसार सरुवा गरेपछि मन्त्री भट्टराईले धेरैतिरबाट दबाब झेलेकी थिइन् । सरुवा भइसकेपछि समेत प्रसाई रमाना नलिई शिक्षक किताबखानामा बसिरहेका थिए ।
शिक्षक किताबखानाका उपमहानिर्देशक युवराज पौडेलले प्रसाईको सरुवा भइसकेको र त्यससम्बन्धी पत्र आइसकेको बताए । उनले भने, ‘उहाँको सरुवा भइसकेको थियो, सरुवा भइसकेपछि रमाना लिएर जाँदा उचित हुन्छ भनेर सल्लाह दिँदा पनि उहाँ बसिरहनुभएको थियो । त्यसबाहेक अरु केही थाहा भएन ।’
विद्या भट्टराईभन्दा ठिक अघि मन्त्री भएकी सुमना श्रेष्ठले पनि यस्तै समस्या झेलेकी थिइन् । तत्कालीन मन्त्री श्रेष्ठलाई अपरिचित नम्बरबाट म्यासेज आएको थियो, ‘किताखानाका कर्मचारीले घूस खान्छन्, कारबाही गर्नुपर्यो ।’ त्यसपछि सुमनाले प्रसाईमाथि छानबिन गरी विभागीय कारबाहीको तयारी गरिन् ।
तर मन्त्रालयभित्रकै संयन्त्रले ‘विभागीय कारबाहीमा हतारो गर्नु हुँदैन, समय लाग्छ’ भन्दै अल्झाइदिएका थिए ।
यतिसम्म कि अधिकृत प्रसाईंलाई कारबाही नगर्न सांसदले समेत दबाब दिएका थिए । ‘उहाँको बारेमा दबाब दिन एकजना सांसद पनि मन्त्रालयमा आउनुभएको थियो,’ सुमना श्रेष्ठको सचिवालयमा एक कर्मचारीले भने । ती सांसदले विभिन्न निकटका कर्मचारी संगठनका पदाधिकारीहरूसँग छलफल गर्न प्रस्ताव गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वमन्त्री सुमना श्रेष्ठका अनुसार उनी मन्त्री भएका बेलामा ताहाचलस्थित किताबखानामा पेन्सनपट्टा बनाउने शिक्षकहरूसँग कर्मचारीहरूले घूस मागेर हैरान पारेको भनी बारम्बार गुनासो आउन थालेको थियो ।
पेन्सनपट्टा बनाउन शिक्षकहरू काठमाडौं धाउनुपर्ने बाध्यता संघीय व्यवस्थाकै उपहास हो । मन्त्री श्रेष्ठले केही अध्ययन गरेपछि जिल्ला तहबाटै पेन्सनपट्टा बनाउन सकिने गरी अधिकार प्रत्यायोजन र नीतिगत व्यवस्थाका लागि पहल गरिन् ।
त्यसपछि राष्ट्रिय किताबखाना (शिक्षक) का कर्मचारीहरूले मन्त्रीलाई भेट्न आए, अनि एक घण्टाभित्रै पेन्सनपट्टा दिनेगरी सेवाप्रवाह चुस्तदुरुस्त पार्ने प्रतिबद्धता जनाए ।
पेन्सनपट्टा लिने शिक्षकहरूको सुविधाका लागि उनले आवेदन दिने प्रक्रियालाई नै डिजिटलाइज्ड र अनलाइनमा आधारित बनाउन खोजेकी थिइन् । सामान्य प्रशासन मन्त्रालयसँग समन्वय पनि भइसकेको थियो, तर लगत्तै सरकार फेरियो ।
मन्त्रीहरूलाई समेत प्रभावमा राख्ने शाखा अधिकृत प्रसाई एमाले समर्थित नेपाल निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालयस्तरीय विभागीय समितिका कोषाध्यक्ष समेत हुन् ।
अघिल्लोपटक अख्तियारले नै उपलब्ध गराएको घूससहित पक्राउ परेका प्रसाईले अख्तियारबाट उपलब्ध रकमसहित पक्राउ परेको देखिएको आधारमा सफाइ पाएका थिए । यसपटक भने सेवाग्राहीले नै उपलब्ध गराएको रकमसहित उनी पक्राउ परेका हुन् ।
शिक्षक किताबखानाको उपमहानिर्देशक युवराज पौडेलले धनेश्वर प्रसाई घूससहित पक्राउ हुनुअघि आफूलाई उनको क्रियाकलाप बारे कुनै जानकारी नभएको बताए ।
‘उहाँको घटना र अरु गलत गतिविधि बारे मलाई कुनैपनि जानकारी थिएन’ उनले भने, ‘रमाना लिएर जाँदा उचित हुन्छ भनेर सल्लाह दिँदा पनि उहाँ बसिरहनुभएको थियो । त्यसबाहेक अरू केही थाहा भएन ।’
प्रतिक्रिया 4