+
+

राज्यको एकतर्फी मानकरणमा परेका वर्षमन पुनहरू

नवीन विभास नवीन विभास
२०८१ पुष ६ गते २०:३०
बायाँबाट क्रमश: वर्मन बुढामगर, गणेशमान पुन, हरिमान पुन, सुरुल पुन र वर्षमान पुन ।

सय वर्ष अघितिरको कुरा हो । उत्तरी रोल्पा थबाङको एक दम्पतीलाई सन्तान रहर पुगेन । सन्तान पाउने जनविश्वास पछ्याउँदै दम्पती थबाङको धुरी चढे । जुन धुरीलाई मगर खाम/पाङभाषी गोङ भन्थे, खस/नेपाली भाषी जलजला । गोङस्थित वराहथानमा दम्पतीले वर मागे । छोरो जन्म्यो । लाग्यो, ‘हो न हो, वराहकै वर हो ।’ नाम राखिदिए, वर्मन । वर र मन, वर्मन ।

मगर खाम/पाङभाषीमाझ मध्यनाम मात्र होइन, प्रथमनाम पनि मन थियो । मन नै मन । दुःखद् के भने, मनको सहकाल सकियो क्यार ! मन नफुली/नफली मरे । कति मन स्कुलमा कति मन नागरिकता दिने अड्डामा त कति मन जानभान (गाउँका ठूलाठालु) ले चट्कापट्कै मारे । वर मागेर जन्मेका थबाङी उनै वर्मन थिए, औंलामा गन्न सकिने अपवाद, जो मन सकुशल रहे (नवीन विभास, वर्मन बुढा : जो कछाड र चप्पलमै सिंहदरबार गइरहे, २०७७ साउन १०, नयाँ पत्रिका) ।

नाम मन, मन नै मन

रोल्पा, रुकुमका खाम/पाङभाषी मगर भेगमा कति प्रथमनाम त कति मध्यनाम भएर मन झुल्थे । गाउँका जैसी (ज्योतिष जानेका मगर/गैरमगर)ले नाम राखिदिन्थे, मन । वर्मन जस्तै मध्यनाम मन त कति कति । जस्तो– कमन, चमन, जमन, थमन, रमन, समन, हरिमन, तकमन, वर्षमन, हर्कमन, खर्कमन, फर्कमन, सुर्जमन, लालमन, पहलमन, जीतमन, राजमन, दुजमन, धनमन, दलमन, वीरमन, कीर्तमन, पिर्थमन, पर्मन, कुलमन, फुलमन, सुकमन, गिरमन, केशरमन, भोजमन, लोकमन, इर्खमन, तीर्थमन, हितमन, छत्रमन, पुष्टमन, चक्रमन, भक्तमन, जुक्तिमन, रुजमन, सुकमन, शेरमन, शक्तिमन, चेतमन, भागिमन, भागमन, हरिमन, हंसमन, धुजिमन, दिलमन आदि ।

मध्यनाम मात्र होइन, प्रथमनाम पनि मन । जस्तोः मनराज, मनरुप, मनबहादुर, मनजीत, मनसुर, मनपुर, मनपुरा, मनसिंह, मनरङ, मनपति, मनमाया, मनसरा, मनसरी, मनजिता, मनमाला, मनमाली, मनरुपा, मनराखी, मनरखा, मनलाखी, मनखुसी, मनकली, मनकला, मनमती, मनखना आदि ।

मन पनि धन पनि दिल पनि

प्रथम होस् कि मध्यनाम, धन पनि थिए । मन पनि धन पनि । मध्यनाम भएर धन फुल्थेः लालधन, रामधन, किर्सनधन (लिखतमा कृष्णधन), रुजीधन, मूलधन, जयधन, दयाधन, राजधन आदि । प्रथमनाम भएर धन नै झुल्थे– धनजीत, धनमाली, धनसरा, धनसरी, धनमाया, धनपुरा, धनसुर, धनरुपा, धनराज, धनबहादुर, धनसिंह, धनरुप, धनमती, धनकला आदि ।

नाम भएर दिल पनि खुल्थे । जस्तोः दिलमन, दिलसरी, दिलसरा, दिलपुरा, दिलमाया, दिलखुसी, दिलबसी, दिलमाया आदि ।

मगर महिलाका मध्यनाम मया (लिखतमा माया), माली, सरी, सरा, कला, कली, रुप, रुपा, रुपी, पुरा, पुरी, मती, मता, जिता थिए । जस्तोः वीरमाली, तीर्थमाली, सुनमाला, सुनसरा, सुनसरी, सुनमया, भागीमया, जूनमया, सुनमया, निरमया, लालमया, धनमया, मनमया, लालपुरा, कलसरा, कलसरी, जलसरा, नौसरा, नौसरी, झौसरी, जयपुरी, जयसरा, जयसरी, रुपसरी, रुपसरा, रुपकला, जोवनसरी, जोवनसरा, सुनसरी, सुनसरा, रामकला, रामकली, रामसरा, रामसरी, रामसुर, राममाया, बिनसरा, देउसरी, देउसरा, देउकला, देउकली, देउरुपी, देउरुपा, इन्द्रकली, नन्दकला, नन्दकली, हस्तकला, हस्तकली, सुर्माली, चिजमाली, हर्कमाली, खर्कमाली, गौमाली, बैसमाली, गौसरा, नौसरा, पानसरी, गवनसरी, भिउसरी, भिउसरा, भिउमाली, पिउमाली, चनमती, फूलमती, नौमता, मूलजिता, मनजिता आदि ।

मया, सरा, सरी, कला, कली, मन, धन जस्ता मध्यनाम नै नभएका पनि नाम थिए । जस्तोः भुला, भागिन्त, सिङारी, बिर्जना, तिर्सना, भुम्ली, बुङ्ची, खोजना, नौसु, पाम्सु आदि ।

तपाईंले भन्नुहोला, रोल्पा जङ्कोट माडीचौरकी पूर्वसभामुख ओनसरी घर्तीमगर र रोल्पा राङ्सी डाँडागाउँकी पूर्वमन्त्री जयपुरी घर्तीमगर कसरी बचे ? ती बचेका अपवाद थिए ।

मानकरणको मारमा मन

मगर खाम/पाङभाषी बस्तीमा हिन्दु जात व्यवस्था र संस्कृतिको प्रभाव बढ्यो । राजधानी काठमाडौं, जिल्ला सदरमुकाम बसेको सरकार र सरकारी मानिसका नाम, रहनसहनको चाप चढ्यो । गाउँगाउँमा स्कुल खुले । सरकारी अड्डा पुगे । राज्यसंयन्त्रका मानिस कोही ‘मन’ थिएनन् । तिनले न मन सुनेका थिए न त मन देखेका । तिनका न आँखामा मन थियो न त भाकामा । तिनका न प्रथमनाम न त मध्यनाम नै मन थियो । ती मान थिए । मन थिएनन् । तिनका प्रथमनाम होस् कि मध्यनाम, ‘मान’कृत थिए । कहीं पनि मन थिएन । तिनका मध्यनाम कि जंग थियो कि विक्रम त कि नाथ त कि प्रसाद । कि त प्रताप थियो कि नारायण त कि प्रकाश । कि राज थियो कि दत्त कि कुमार कि ध्वज थियो कि शमशेर थियो कि हरि थियो कि मणि । मन सुनेर, मन देखेर र मन भेटेर तिनले आफ्नो शब्दकोशका पन्ना पल्टाए । कहाँ थिए र मन ? तिनका शब्दकोशमा मन थिएन । तिनलाई लाग्यो, ‘हाम्रो शब्दकोशमा नभएको मन कहीं मन हुन्छ ? हाम्रो शब्दकोशमा नभएको मन कहीं नाम हुन्छ ?’ अन्ततः लाग्यो, यिनका नाम नै गलत । ‘मन’ गलत लाग्यो ।

सरकारी मानिसका देखासिकीमा आफ्ना सन्तानका नाउँ ममा आफैंले आकार लगाए । राज्य संयन्त्रले लादेको चिन्तन र भाष्य बोक्न बाध्य भए । त्यसपछि के भयो ? तिनलाई नि लाग्यो, ‘मन कहाँ छ, मान पो छ ।’ ‘मन’ मानिस ती ‘मान’ मानिस भए । दिल र दिमाग मानले भरियो । लाग्यो, मनलाई मान बनाए न ‘मान’जस्तो भइन्छ ।

मनलाई हियाए । होच्याए । जोक बनाए । मजाक गरे । हँसीमजाकमा मन मनलागी गरे । खिसिट्युरी गरे । मन त मर्नु भए । मनलाई मन ‘मन’नपर्ने बनाए । मन मर्न मन गराए । आफ्नै थलोमा आफ्नै मनप्रति मन मर्ने वातावरण बनाए । अन्ततः यस्तो भाष्य बनाए, ‘मन नाम नै होइन ।’

शब्दकोशमै नभएको मन कसरी नाम हुन्थ्यो ? एक भाषा, एक संस्कृति सत्ता र शक्तिको कलमले ‘म’मा आकार लगाए । शिक्षकले भने, ‘तेरो नाम मान हो, मन होइन, बुझिस् ?’ गिरमन भए, गिरमान । हर्कमन भए हर्कमान । केशरमन भए केशरमान । लोकमन भए लोकमान । दिलमन भए दिलमान । पहलमन भए पहलमान । हरिमन भए हरिमान । जीतमन भए जीतमान । धनमन भए, धनमान । वीरमन भए वीरमान । मन जति मान भए ।

ममा आकार लगाएर मात्र धीत मरेन । आकार लगाएपछि मध्यनाम बहादुर बनाए । मगर महिलाका मध्यनाम कति स्कुलमा त कति नागरिकता बनाउँदा सरा, सरी, कला, कली, मयालाई देवी र कुमारीले विस्थापित गरिदिए । आकार, उकार नलगाई पूरापूर नाम फेरिदिए । जस्तोः हुम्लाका पूर्व सांसद् छक्कबहादुर लामा भए ।

२०२१ सालको कुरा हो । नेपालगञ्जबाट २१ दिन हिंडेर एकजना ‘गुरु’ हुम्ला पुगे । लुभु सिस्नेरीका चिताराम पौडेलले हुम्ला वरगाउँ टोर्पामा जनजागृति महेन्द्र पाठशाला खोले । अब्बल छात्र निक्लिए, छवान लामा । छवान नामूद लामापुत्र थिए । जसका बाले लिमीभेगका बच्चाका नाउँ राखिदिन्थे ।

‘गुरु (चिताराम पौडेल)ले दिसापिसाब गर्नेदेखि सबै कुरा नेपाली (खस नेपाली) मा सिकाउनुभयो । मानिसका नाउँ दिने ठूलो लामाको छोरा म छवान, गुरुले मेरो नाम राखिदिनुभयो, छक्कबहादुरले भनेका थिए ।

जनजागृति स्कुलको मुख नदेखेका बाँकी छवानहरूलाई नागरिकता बनाउन सदरमुकाम सिमकोट पुगेपछि चिताराम गुरुहरूले छक्कबहादुर बनाए ।

यो त भयो, स्कुल र प्रमुख जिल्ला अधिकारी कार्यालय जस्ता राज्यको मानकरणले मारेका मनका कुरा ।

मूलधारे संस्कृति प्रभाव (मुक्खे, जैसी, जिम्मल र प्रधान)

स्कुल, प्रमुख जिल्ला अधिकारी जस्ता राज्यका अंग त छँदैथिए, मनवाला आफैं पनि मानकरणमा लागे । जान–अन्जानमा तथाकथित शासक संस्कृतिको मूलधारे समाजमा आफू ‘सभ्य’ देखिन आदिवासी मगर समाजकै जानभान राज्यको बोलीमा लोली मिलाए । सरकारी मानिसका देखासिकीमा आफ्ना सन्तानका नाउँ ममा आफैंले आकार लगाए । राज्य संयन्त्रले लादेको चिन्तन र भाष्य बोक्न बाध्य भए । त्यसपछि के भयो ? तिनलाई नि लाग्यो, ‘मन कहाँ छ, मान पो छ ।’ ‘मन’ मानिस ती ‘मान’ मानिस भए । दिल र दिमाग मानले भरियो । लाग्यो, मनलाई मान बनाए न ‘मान’जस्तो भइन्छ ।

जो सत्ता र शक्तिमा मानसाथ विराजमान थिए । मूलधारे मानले प्रभावित पार्‍यो । माल कार्यालयमा तिरो बुझाउन जाँदा होस् कि कुनै पनि राज्यका अंगमा पुग्दा होस्, तिनले रेडियोले सुनाएका सरकारी मानिसका नाउँ किन नहोस्, कोही मन थिएनन्, जम्मै ‘मान’ थिए । सेल्फ सेन्सर गर्दै मन मारेर मान बनाउन थाले । राज्यको एक भाषा, एक धर्म र एक संस्कृति नीति त छँदैथियो, मूलधारे समाजको प्रभुत्वले यति किच्यो कि, बचेखुचेका मन पनि मारे । मनलाई मान बनाए । अन्त्यमा मन विनाको भए । मानकरणमा सामेलिने जानभान गनिने कति मुक्खे, कति जिम्मल, कति जैसी, कति प्रधान थिए । जो एक भाषा र एक संस्कृति सत्ताको हावाले हल्लिएका थिए ।

रोल्पा जिल्ला पञ्चायत पूर्व उपसभापति जङ्कोटका हेमसिंह पुनले नातिको नाउँ राखिदिए, गिरमान । सिंह गाउँका जैसी पनि थिए । हेमसिंहकै थिए, लानै (नागरिकतामा लालबहादुर पुन) । तन्त्रमन्त्र पनि जानेका, जैसी र वैदार काम पनि जानेका । उनै लानैले आफ्ना दाजु करमका नातिको नाउँ राखिदिए, हरिवाण ।

‘बाजेले राखिदिएको मेरो हरिवाण नाउँ नागरिकता बनाउने बेला हरिमान भयो । मेरो बाबाको नाउँ देउवर (वर दिने) थियो, भारतीय लाहुरे हुँदा देउबहादुर भयो’ पूर्व जनमुक्ति सेनाका कमाण्डर हरिमान पुन (कमरेड बरुण)ले सुनाए । हरिको वाण भनेर बाजे लानैले राखिदिएको हरि त नागरिकतामा हरिको मान भएर निक्ले ।

राजनीतिक प्रभाव

नेता, योद्धाका नाम, राजनीतिले ल्याएको नामको प्रभाव

रुकुम (पूर्व) प्वाङ छिपखोलाका कांग्रेस नेता थिए, हेराम पुन । रुकुम जिल्लामै गनिएका नेता र अभियन्ता । राजा र पञ्चायतका चर्को आलोचक । हेराम त बयान्निएका जैसी पनि थिए ।

‘स्कुल जाने बेलामा बाजे (हेराम)ले मेरो नाति त लौहपुरुष गणेशमान सिंह बनोस् भनेर गणेशमान राखिदिनुभयो’ पूर्वमन्त्री गणेशमान पुनले गणेश देउताको नाउँ लिएर मध्यनाम मान हुनुको किस्सा कहे । उनी मात्र होइन, उनका भाइ धनमन पनि स्कुल पुगेपछि धनमान भए । उनका ठूलाबाका छोरा हंसमन नागरिकता बनाउन सदरमुकाम मुसीकोट पुगेपछि हंसमान भए ।

रोल्पा जङ्कोटका पूर्वमन्त्री वर्षमान पुन नौ कक्षामा पुगेपछि वर्षमनबाट वर्षमान भएका थिए । उनको नाउँ उनकै ससुरा (मगर साइनोमा मामा)ले राखिदिएथे, चिना पनि लेखिदिएका थिए । भलै उनकै बाबा इर्खबहादुर र बाजे मेहलसिंह पनि जैसी थिए । मुक्खे थिए ।

‘दाजुको नाम वर्मन र मेरो वर्षमन । कक्षा नौको फारम भर्दाखेरि वर्षमान भयो’ पुनले आफ्नो र दाजुको मन मान भएको समय सम्झिए, ‘दाजु पनि कक्षा नौमा वर्मान हुनुभयो क्यार ।’

स्मरणीय के भने, वर्षमानको रोल्पा जङ्कोटमा मगर खाम/पाङ भाषाले सास फेरिरहेको थियो भने गणेशमानको रुकुम (पूर्व) छिपखोलामा सास थिएन ।

मूलधारे खसआर्य संस्कृतिवाल मानले मारेर मान भएका वर्षमान र राजनीतिक आदर्शको मानले मारेर मान भएका गणेशमान जनयुद्धकालमा क्रमशः अनन्त र रश्मि भए । अनन्त र रश्मि जस्ता नाउँलाई माओवादीले ‘टेकनाम’ भन्यो । अंग्रेजीमा सिउडोनेम । माओवादी नेता/कार्यकर्ताले आफ्ना छोराछोरीका नाउँ ‘जनयुद्ध’ बोकेका कति टेकनाम जस्ता त कति टेकनामकै छरछिमेकी नाम राखिदिए । जनयुद्धको मूलस्थान रोल्पा, रुकुमका मगरबस्तीमा झुलेका जनयुद्धकालीन नाम हेरम् है । जस्तोः अजयक्रान्ति, युद्ध, संघर्ष, विजय, जनमुक्ति, ज्वाला, प्रतिरोध आदि ।

रोल्पा थबाङमा एक जनाको नाउँ थियो, संकट बुढामगर । संकटकालमा जन्मेकाले संकट । थबाङमा शाही नेपाली सेना पस्दा गाउँले वन पसे । त्यसै बखत जन्मेका बखत बिकले छोराको नाउँ राखिदिए, वनकस । रोल्पा रुकुममा चलेको सिज (सिस्ने र जलजला) अभियानको नामबाट नाम राखिएका थबाङमा सिजकुमारी घर्तीमगर र सिजकुमार रोकामगर थिए । जनयुद्ध सुरु हुनुअघि पनि थबाङका दिवंगत नेता कमरेड गोरे (पूर्णबहादुर रोका मगर)ले आफ्नो छोराको नाउँ राखिदिएका थिए– अनेरा (कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनको छोटकरी नाउँ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) ।

हिन्दु धर्मको प्रभाव

प्रकृतिपूजक मगर खाम/पाङभाषीमाझ धन, मन, सुर, सरी, सरा, कली र कलामा मिसिएर राम, कृष्ण, हरि, इन्द्र, राज पसे । जस्तोः रामधन, रामकला, रामकली, रामसरा, रामसरी, रामसुर, किर्सनधन (कृष्णधन), हरिमन, राजमन । हिन्दु जात व्यवस्थाको जगमा उभिएको नेपालको मूलधारे समाज र राजनीतिक व्यवस्थाको जबर्जस्त प्रभाव दृष्टान्त थियो यो । सदरमुकाममा मुक्खे र जिम्मलले तिरो बुझाएर फर्कंदा तिनका कुम्लामा सरकारले भानुभक्तीय रामायण पनि बोकाउँथ्यो । रामायण बोकेर फर्केका तिनै मुक्खे, जिम्मल सहित गाउँका ठूलाठालुले घरमा कथा (सत्यनारायणको पूजा) र रुद्री लगाउन थाले । रक्षाबन्धनको दिन धागो बाँध्न बाहुन पुग्न थाले । राम, कृष्ण, हरि, इन्द्र, राज पनि मगरबस्तीमा बसे (नवीन विभास, थबाङमा थरीथरी नाम, २०७६ जेठ ४ नयाँ पत्रिका) ।

गाउँगाउँमा स्कुल खुलेसँगै हिन्दु जात व्यवस्थामा उभिएको मूलधारे नेपाली समाजको प्रभुत्व चौगुनियो । स्कुल खुलेपछि आदिवासी ज्ञानकेन्द्र त सुके नै, आदिवासी ठाउँको ठाउँ अज्ञानी, अपठित, असभ्य घोषित भए । ठूलो माछाले सानो माछा निलेजसरी किनाराकृत आदिवासी मन जति मान भए ।

भलै मगर खाम/पाङभाषी भेगका मगरका जन्म, बिहे र मृत्युमा बाहुन प्रवेश भएको थिएन । जस्तो थियो, मगर ढुटभाषी बाह्र मगरातमा । यसको कारण थियो, रिडी गण्डकी पूर्व बाह्र मगरात (राना, थापा, आले) मा राज्य निशाना हिन्दु धर्म लाद्न थियो भने रिडी गण्डकी पश्चिम अठार मगरात (पुन, घर्ती, बुढा र रोका)मा खाम/पाङभाषा मास्न । त्यसैले अठार मगरातमा आफ्नो मातृभाषा मगर खामपाङ भाषा बोल्ने संख्या एकदमै कम भयो । तिनले आफ्नो भाषामा नाम राख्न पहिचान आन्दोलन नै कुर्नुपर्‍यो (थप तल हेर्नुस्) । बाह्रमा भन्दा अठार मगरातमा हिन्दुकरण कम भए पनि नाममा राम, हरि, कृष्ण, इन्द्र, राज पसिसकेका थिए ।

स्मरणीय त के भने, ध्वज, विक्रम, जंग, लाल, सिंह, बहादुर, राज जस्ता मध्यनाम थपिए । ध्वज, विक्रम र जंग त ‘राजखानदान’ नाउँका सिको थिए ।

पूर्व सिंगापुर पुलिस (रुकुम चुनबाङ) सर्वजीत बुढामगरले छोराहरूका नाउँ नै राखिदिएका थिए– मानध्वज, अमरध्वज र तारकध्वज । मानध्वज त शाही नेपाली सेनाका जनरल पनि भए ।

राज्यको पहुँच पुगेका कति लिम्बु समुदाय, जो सुब्बा थिए, तिनका खलकले नै मध्यनाम ‘विक्रम’ राखे ।

‘हाम्रा नाउँ त बाहुनले नै राखिदिएका हुन्’ मध्यनाम विक्रम राखेको सम्झँदै कृष्णविक्रम नेम्बाङले सुनाएका थिए । उनले विक्रम मध्यनामका दाजु भूविक्रम नेम्बाङ, तिलविक्रम नेम्बाङ (बैरागी काइँला)लगायतका नाउँ सुुनाएका थिए । कृष्णकै छोरा लेखक एवं राजनीतिज्ञ धर्मेन्द्रको मध्यनाम पनि विक्रम थियो/छ ।

‘काष्ट’ले ‘क्लास’ जन्माउने हिन्दु शासक संस्कृतिको ठाडो प्रभावसँगै शक्तिहीन गरिब र दलितका जसरी नामको अन्तिम अक्षरमा एकार लगाउने चलन पनि भित्रियो ।

मानिसका नाम मनमात्र होइन, मगरथला पनि मानकरण भएका थिए । मगर खाम/पाङभाषा बाँचेको भेग ढाङढुङ चैतेलेक (अहिले रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर १)मा राँकुलबाङ थियो, मगर खाम/पाङभाषा मरिसकेको नाफेखोला किनार (अहिले परिवर्तन गाउँपालिका ७) मा भने राँकुलचौर । राँकुलमात्र बाँकी थियो । बाङ त चौर भइसकेको थियो । बचेको राँकुल भने लाँकुरी बन्न बाँकी थियो । मगर खाम/भाषामा बाङ भनेको चौर हो ।

त्यही राँकुलचौर मेला (२०५१ मंसिर ९)मा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पुलिसको गोलीले घाइते भएथे, मनबहादुर पुन र लोकबहादुर घर्तीमगर मारिएका थिए ।

गाउँगाउँमा स्कुल खुलेसँगै हिन्दु जात व्यवस्थामा उभिएको मूलधारे नेपाली समाजको प्रभुत्व चौगुनियो । स्कुल खुलेपछि आदिवासी ज्ञानकेन्द्र त सुके नै, आदिवासी ठाउँको ठाउँ अज्ञानी, अपठित, असभ्य घोषित भए । ठूलो माछाले सानो माछा निलेजसरी किनाराकृत आदिवासी मन जति मान भए । तथाकथित मूलधारे संस्कृतिको उपनिवेशीकरणले मनहरण गर्‍यो । मनहरण नै मानकरण थियो । किनाराकृत आदिवासी मानकरण दृष्टान्त थियो, मनहरण । मानकरण नै त मनहरण थियो । मनहरण नै त मानकरण थियो । मानकरण प्रक्रियालाई एम.एन. श्रीनिवासले ‘संस्कृतकरण’ भनेका थिए ।

भन्नुहोला, माथि उल्लेख गरेका नाम पनि खस नेपाली भाषाकै थिए । तिनका मातृभाषा खाम/पाङका थिएनन् । मगर खाम/पाङ भाषामा नाम राख्न त गणतन्त्रपछि चलेको पहिचान आन्दोलन नै कुर्नुपर्‍यो । आन्दोलनको छर्राले छोएपछि मगर खाम/पाङमा पनि नाम राख्ने चलन चल्यो । तर, राई लिम्बू बस्तीमा जस्तो व्यापक होइन । मगर खाम/पाङभाषाबाट राखिएका केही नामः मी युङ (मान्छेको मन) गिन युङ (हाम्रो मुटु) चाओ सान (राम्रो पो) मिन चाउ (राम्रो नाम), युङका (मनको वा इच्छाइएको) ।

भन्नुहोला, पहिचान आन्दोलन चल्नुअघि मगर खाम/पाङभाषामा राखिएका नामको सिला पनि थिएनन् ? जैसी, स्कुल र प्रमुख जिल्ला अधिकारी कार्यालयबाट पनि बचेको एक नाम थियो, सुरुल ।

‘मभन्दा पहिले दुई दाजु थिए रे ! ती दुवै मरेछन् । बारीमा छरेको मकै कीराले खाएपछि, बदलामा छरेको मकै उम्रे जस्तै दुई दाजु बितेपछि तिनका बदलामा म जन्मेको ठानिएछ । त्यसैले दुई दाजुको बदला म जन्में भनेर मेरो नाउँ नै सुरुल राखिदिएका रे’ रुकुम पूर्वबाट चुनिएका लुम्बिनी प्रदेश सांसद सुरुल पुन (कमरेड अजयशक्ति)ले सुनाए । रुकुम पूर्वको सबभन्दा कुनाको गाउँ र मगरको मूलथलो मानिने मैकोटवासी पुनका अनुसार खाम/पाङमा सुरुलको अर्थ बदला मात्र होइन, ‘जुन घरमा झाँक्री बसे, त्यस घरमा देउपित्तर भेला पारिसकेपछि र कसैले नचाखेको जाँडरक्सी झाँक्रीलाई खुवाउन लादुछुट दिने’ प्रक्रियालाई पनि सुरुल भन्छन् ।

मन र धन विनाका मगर

तपाईंलाई लाग्ला, सिंगो विश्व नै एउटा गाउँमा परिणत भएको बेला के ‘मन’ दुःखेसो ? लाग्ला, नाममा के छ र ? उसो त हो, नाममा केही छैन । नाम मान्छेलाई चिन्ने र बोलाउने सिर्फ शब्द हो । तपाईंलाई यस्तो लाग्ला । तपाईंलाई लागेर के गर्ने ? जे छ, नाममै थियो/छ । नाम विना मानिसको परिचय नै मेटिन्छ । नाम विना को भनेर कसरी चिन्नु ? मन नै मान भएपछि, मन नै मासिएपछि मन चिन्नु कसरी ? मनचिनारी नै मासिएपछि मन कहाँ बाँकी रह्यो र ? कहाँ मन कहाँ मान । नाम मन नाम मान फरक थिए । कसरी आकार लगाएर मान मान्य हुन्थ्यो ? मन र मानको मतलब नै फरक थियो ।

मन र मानको अनुहार नै फरक थियो । कहाँ मान कहाँ मन ? कहाँको मन कहाँको मान । कहाँ मन कहाँ मान । मन नै मान बनाएर कसरी मानको मान रह्यो र ? मन त मनै हो, मान कसरी मन हुन्थ्यो ? मान र मनको मान आ–आफ्नो ठाउँमा थिए । मनलाई मान बनाएपछि कहाँ मन रह्यो र ? यो धर्तीमा उभिने मानको जत्ति अधिकार थियो, त्यत्ति नै मनको पनि थियो । मान र मनको हक बराबर थियो । किन ‘मन’लाई ‘मान’ले मानेन ? किन मनलाई मानमा परिणत गर्‍यो ? किन मानले ‘मनहानी’ गर्‍यो ? मन नै मान भएर किन जन्मन थाले ? मान भएर गइरहेछन् किन मनको मलामी मन ?

भन्नुहोला, मन विनाको मान हुँदा के भयो ? मनहरण गरेर मानकरणले मानको मात्र मान खोजेपछि नेपाल कंगाल भयो । मन, मानहरू अर्थात् बहुरंगी फूल नफुल्दा बहुरंगी फूलबारी एकरंगी भयो । मन मरेर, मन विना कसरी समृद्ध हुन्छ देश ? कसरी सुन्दर हुन्छ देश ? साना, गरिब, दुःखी, किनारीकृत र अल्पसंख्यकका पनि ‘मन’ सही सलामत नरहने कसरी भयो, लोकतन्त्र ? कसरी गणतन्त्र ?

लेखकको बारेमा
नवीन विभास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?