
News Summary
Generated by OK AI. Editorially reviewed.- साउने सकरातीको दिनदेखि रोल्पा र रुकुमका मगर समुदायमा तालुकअमाल प्रथाजनित शासन पद्धति अनुसार जल, जमिन र जंगलको संरक्षण र पशुपालन गरिन्छ।
- साउन सम्झनामा रोल्पा र रुकुमका गाउँहरूमा परम्परागत गीत, बाजा, मेलापर्व र चरन-खर्क बार्ने र फुकाउने चलनहरू सम्झिन्छन्।
- साउनसँगै कृषि, पशुपालन र जीवनशैलीमा आएको परिवर्तनले मगर समुदायको प्रथाजनित शासन र पर्यावरणमैत्री जीवनपद्धतिमा प्रभाव पारेको छ।
साउन सम्झनामा जेई सम्झन्छु ।
जेई सम्झनामा साउनेझरी ।
झरीसँगै झरेको जेईको ‘स्यानीमाय’ रोल्पाली रैथाने गीत पनि ।
साउन सम्झनामा जुरेपोख्रा, कुख्रागर्खने, पोस्तके, डल्लुगैरा, काफलढाराबाट जवारे, रत्याउनिल्याउ, सल्याउ, भुइँओर्मा, भुरीआमाको कान र भुइँच्याउ बोकेर झरीमा जेईसँग झरेको सम्झन्छु । झरीमा निथु्रक्क भिजेर गोठभित्र छिर्नुअघि जेईले भनेको सम्झन्छु, ‘कान्छा हगुल्टा ले ।’ जेई गोडाको जुका खोज्न अगुल्टा पुग्दा कहिले जुका ढाडिएर हलचल गर्न नसक्ने भएको हुन्थ्यो त कहिले गोडा नै रक्ताम्य पारेर जुका झरिसकेको हुन्थ्यो ।
रोल्पा रुकुमका मगर समुदायका बोलचालमा आज साउने सकराती हो, मूलधारे खस/नेपालीको साउने संक्रान्ति । तपाईं राँके सकराती, लुतो फाल्ने पर्व, कर्कट संक्रान्ति पनि भन्न सक्नुहुन्छ । जे नामले बोलाए पनि, ज्योतिषशास्त्रका अनुसार आजकै दिनदेखि ‘दिन छोटो’ र ‘रात लामो’ हुन सुरु भयो ।
साउन सम्झनासँगै झरीतालमा बाबैले गाउने ‘साइँली जी’ सम्झन्छु । जो जेई हातमा फन्किरहेको टाकुले भरेको ‘फन फन फिर्लिक्क फिर्लिक्क’ संगीतमा झर्थ्यो । ठीक त्यसैबेला बित्ता नाप्दै जुका गोठको चुलोढिकसम्म पुग्थ्यो ।
मूलधारमा गोठ भनेको बस्तुभाउ राख्ने सानो घर भनेको रोल्पा रुकुमतिर मूल घरबाहेक (अन्य ठाउँमा बनेका साना झुप्रा होऊन् या घर नै, तिनलाई गोठ भन्छन्) बाँकी गोठ हुन् ।
साउन सम्झनामा ठूल्दाजुको कुममा झुण्डिएको रेडियोबाट साउनेझरीसँगै झरेका संयुक्त राष्ट्र संघका महासचिव बुद्रोस बुद्रोस घाली, ऋतुवर्ण तुम्बाहाम्फे, गायक स्वयं, सीके र साइलीलाई सम्झन्छु । त्यसबेला सुनेका सिके र साइँली दुई अलग मानिस नभई एकै मानिस सिके रसाइली रहेछन् । कुनै बेला ‘मलाई मनपर्ने’ गायक भनेर नाम सुनाएका ‘गायक स्वयं’ त गायकको नाम नै रहेनछ । गायक स्वयं भनेको त ‘गायक आफै’ भनेको पो रहेछ । साउन सम्झनामा बालापने सम्झना पनि सम्झन्छु ।
साउन सम्झनामा ग्वाला जाँदा माल्दाजुले साउने झरीमा बजाएको बाँसुली धुन सम्झन्छु ।
साउन सम्झनामै सही, उत्तरी रोल्पाको जैपापाल्लोपट्टि डल्लुगैरा पुग्छु । साउनमा उकालिएका रानीकोटे, राङ्कोटे, निमाङ्ङे, सेनलेकेलेका बस्तुभाउका कोलो धुनमा फुलेका गीत सम्झन्छु– ‘हान झप्पल, मायालाई झुलछाता, मलाई चप्पल’, ‘औँठी सुनैको’, ‘मर्चङ्ङे सलल’ (रोल्पा पुग्दा मर्स्याङ्दी त मर्चङ्ङे भइसकेको थियो) ।
ती गीत रेडियोको बाटोबाट जैपा पसेका थिए । खासाले बनाएको रेडियो गाउँ गएपछि सर्बसाधारणका कुममा पनि रेडियो तुर्लुंग झुण्डिएका थिए । लोकमनले डल्लुगैरामा फुलाउने गीतमा रेडियो पुगेपछि तुसारो परेको थियो ।
हो, बस्तुभाउका कोलो धुन र गोठालाका गीत ओढेर झरीमा हिँडेको साउन सम्झन्छु ।
आज साउने सकराती । साउन सम्झना फर्केको छ, साउन सम्झना साँचेर ।
साउने सकराती राँके सकराती
रोल्पा, रुकुममा लाग्ने मेला, जात्रा, पर्व र पुजा आज पनि तिथिकै आधारमा लाग्छन् । प्राय: ती पुर्णिमा तिथिमा लाग्छन् । पुर्णिमालाई गाउँघरमा पुन्नी भन्छन् ।
दसैपछिको पुर्णिमामा लाग्ने पाँचपुन्नी मेला जैपासिरानका धुरीमा लाग्छन् । बर्खे दसैँको पाँचपुन्नीमा ठूल्गुरी र चैते दशैँको पाँचपुन्नीमा स्यान्गुरी मेला लाग्छ । रिखीपुन्नीमा रोल्पा जलजलास्थित बजुबराह थानमा स्हँरा(भाले भेडा)को बली दिन्छन् ।
विक्रम सम्वत् क्यालेन्डर चल्ती हुनुअघि मगर समुदायको तिथिको आधारमा उधेली याम रिखीपुन्नीबाट सुरु हुन्छ (बमकुमारी बुढामगरसँगको कुराकानी) । फागुने पुन्नीमा जौको बाला चढाएर मगर समुदायको उभेली सुरु हुन्छ, रेखीपुन्नीमा मकैको घोगा चढाएर उधेली । मितिको हिसाबले भने उधेली साउन १ गतेबाट सुरु हुन्छ । मगर उभेली र उधेली भन्छन् भने राई लिम्बू उभौँली र उँधौली ।
साउने सकराती सम्झनेबित्तिकै राँको सम्झन्छु । साउने सकरातीलाई जैपातिर त राँके सकराती भन्छन् ।
घरको खलातिर र भकारातिर दुई कुनामा ससाना झ्याक्राका घर बन्थ्यो । त्यही हो, राँके फाल्ने थलो । छानोजस्तो भागमा राँको सर्जाम राख्थे ।
झमक्क साँझ पर्थ्यो । जैपाको ठीकपाल्लोपट्टि थुनीबासीलाई गाली गर्दै ‘थुनेल राँके आयो’ भन्दै राँको फाल्थे । पाटे सुसेला सुसेलिन्थे । राँकोसँगै लुतोसहितका रोग पनि भाग्छ भन्ने जनविश्वास थियो ।
ढोड्ला झाँक्री
साउने सकराती सम्झनेबित्तिकै ढोड्ला झाँक्री सम्झन्छु । जो भकारासिरानमा अरु देउतासँगै लहरै लागेर छेउमा बसेका थचक्क बसेका हुन्थे । बाक्खर लगाएकाले अरुभन्दा अलग देखिन्थे ।
छक्कालै बाबैले करिब चार हात लम्बाइ र एक बित्ता लम्बाई रहेको भागमा गोबरले पोत्थे । त्यसपछि भन्थे, ‘कान्छा, स्यान्स्याना ढुंगा ले ।’
गाई, गोरु, बाख्रा र भैसीसँगै बाबैले देउता बनाएको रम्चाउँथ्यौँ । केटाकेटीले खेल्नेजस्तै एकातिर ह्वाङ्ङ पारी ढुंगा ठड्याउँथे । जो घरजसरी उभिएका हुन्थे । सबभन्दा छेउकोलाई भन्थे, ‘यिनी हुन्, ढोड्ला झाँक्री ।’
भाले काटेपछि भुत्ला झिकेर ढोड्ला झाँक्रीलाई बाक्खर लाइदिन्थे । जसरी मान्छे झाँक्रीले शीरमा बाक्खर लगाउँथे । बुराँस(लालीगुराँस)को पातलाई खुटेर बनाएको माला लगाइदिन्थे । भालेको रगत लगाइदिन्थे ।
‘पशुहरूको रक्षा गर्ने असुर कुमाकी र ढोड्ला झाँक्रीलाई पुज्ने चलन छ । पशुहरूलाई चोटपटक, दुर्घटनाबाट बचाउन आराधना गरिएको हो,’ मगरविद् बमकुमारी बुढामगरले भनिन् ।
बाजा फुक्ने दिन
साउने सकरातीको दिनदेखि मगर बस्तीमा बाजा फुक्छ । बाजा फुकेपछि के हुन्छ ? नाचगान । प्रमुख बाजा मादल हो । साउनदेखि पुससम्म छ महिना पुरुष नचारुको रूपमा नाच सिक्न औपचारिक ओखला पनि पस्छन् (बमकुमारी बुढामगरसँगको कुराकानी) । बाजा बजाएपछि नचारु ओख्ला सुरु हुन्छ, त्यसपछि नाच । साउने सकरातीमा फुकेको बाजा माघे सकरातीपछि बन्द हुन्छ ।
खर्क बार्ने र फुकाउने
साउनसँगै लाग्दै असार कुखुरा, बाख्रा, गाई, भैसी लिएर चोत्राढाराको गोठ उकालिएको साउन सम्झना सम्झन्छु । जैपाको घर छाडेर गोठ गएपछि खरछाने गोठमा नयाँ रस्तीबस्ती सुरु हुन्थ्यो ।
चोत्राढारामा भैसी छाडेर गाई र बाख्रालाई माइढारा लान्थ्याँै । त्यसपछि मझौढारा । मझौढारा त डल्लुगैरा जंगलसँगै जोडिएको थियो ।
राङ्कोटका ढाङ्ढुङगार, खल्नेटा, धनथाना, पोख्राढाराबासी त बर्खासँगै खर्गैरा, गोरी, डल्लुगैरा उक्लन्थे ।
चरन, खर्क पालैपालो फुकाउँथे । बार्थे ।
‘साउने, भदौरे, असौज्या, कात्तिके, मंसिरे चरन वा खर्क हरेक मौजाले आफ्नो गैरो, रैती, करियाहरुका आवश्यकता हेरेर बन बारिन्छ । कुन महिना फुकाउने वा चराउने हो भन्ने कुरा निश्चित गरी दुई तीन महिनादेखि प्रशस्त घाँस हुनेगरी बारेर राखिन्छ । बनको खास सिमानमा काठ गाडेर, डोरीमा ढुंगा झुण््ड्याइन्छ र कोइवाल्याले सबै ठाउँतिर आवाज सुन्नेगरी बनको नाम पुकारेर ‘आजदेखि यो बन बारियो है’ भनेर सूचना गर्छ । बारेको बनमा नोक्सानी भएको थाहा भयो भने गैरो(आम जनता) बोलाएर नीद (छानबिन) गरी आवश्यक निर्णयमा पुगिन्छ,’ बमकुमारी बुढामगरले ‘मौला ल घोन’ पुस्तकमा उल्लेख गरेकी छन् । खर घाँस, डाले घाँस, सोत्तर पनि बार्ने हो । फुकाउने हो । बार्ने र फुकाउने प्रक्रियाले बन, जंगल, चरन जोगिने र जनताले समानरुपमा उपभोग गर्ने परम्परा बसालेको थियो ।
काले घोगा र भाङ्ङु
कति कम्द त (प्राय:) खोर्रेमा कालेघोगा लगाउँथे । आलु, भाङ्ङु पनि लगाउने नै भए । कालेघोगा छिटो पाक्ने मकैको जात थियो । दाना कालो देखिनाले होला, कालेघोगा नाम राखेको ।
साउनमा प्राय: अनिकाल पर्थ्यो । दुई बाली लाग्ने रोल्पा, रुकुमका पहाडीबस्तीमा मकैले ताल नछोप्दै बैशाखमा भित्राएको गहुँजौ सिद्धिन्थ्यो । सामान्य परिवारमा त साउन लागे अनिकाल लाग्थ्यो । त्यसैले साउनलाई ‘काला सावन, अन्नको डाउन’ भन्थे (बमकुमारी बुढामगरसँगको कुराकानी) ।
साउनको अनिकालसँग लड्ने यही कालेघोगा थियो । धेरै सारोगारो परे त राम्ररी नपाकेको मकै ढिकीमा कुट्थे । पिस्न नबन्ने भएकाले कुटेको नि । कुटेर पिठो बनाएपछि रोटी खान्थे । ढिरो खान्थे । जसलाई ‘भकम’ भन्थे । भकमको रोटा खाएँ, भकमको ढिरो खाएको भन्थे ।
चोत्राढारा, माइढारा र मझौढाराका खोर्रेमा त कालेघोगा फल्थ्यो । भाङ्ङु फल्थ्यो । आलु फल्थ्यो । जसले साउनमा आउने अनिकाललाई प्रतिकार गर्थे ।
ओबाङमा कृषि पुगेपछि गाउँका रैथाने चेप्टे, सेते, प्हेले र कालेघोगा गायब भए । बनसाङ्लाले घरसाङ्लो खेद्यो ।
बस्तुभाउ चरन फुकुवा भएको ठाउँमा चराउँथे । बारेको ठाउँमा बारेको भइहाल्यो । साउनदेखि बस्तुभाउलाई प्रशस्त घाँस पाइने खर्कमा पालोअनुसार महिनामहिनामा सार्दै जान्थे । खर्क अठार मगरातको भाषा खर्क भनेको चरन हो । बार्ने, फुकाउने र त्यसबीचमा समस्या आए तालमेल मिलाउने तालुकअमाल थिए । जो तालुकअमाल नामक प्रथाजनित शासनपद्धति थियो । गाउँमा विधि तयार गर्ने र पालन गराउनेलाई तालुकअमाल भन्थे । जनतालाई गैर भन्थे, भूमिलाई मौजा । तालुकअमालले जल, जमिन र जंगलको अनुगमन र संरक्षण गर्थे । साउने सकरातीदेखि नचारु नाच्न एक मौजादेखि अर्को मौजामा जान्थे । एक मौजाले अर्को मौजालाई सम्मान गर्थे । पाहुना मान्थे । चरन वा खर्क बार्ने र फुकाउने काम तिनै तालुकअमालले गर्थे । जो जल, जमिन र जंगलमा पनि जोगिने र गैरका पशुपालन र कृषि पनि चल्ने, सन्तुलन मिलाउन कोसिस गरिएको हुन्थ्यो । फलस्वरुप प्रथाजनित शासनपद्धति चल्दैआएको थियो ।
तालुकअमाल प्रथाजनित शासन पद्धति थारुको बडघर, भल्मन्सा, मटवाँ भनेजस्तै हो ।
तालुकअमाल शासनपद्धति प्रकृतिमैत्री थियो । पर्यावरणमैत्री थियो । बन पनि जोगिने मानिसका जीवनपद्धति पनि चल्ने सन्तुलन मिलाउन कोसिस गरिएको थियो ।
तपाईंलाई सुनाएको साउन सम्झना दलितबाहेक सबै समुदाय(मगर, क्षेत्री, बाहुन, ठकुरी) समिश्रण भएको जैपा गाउँको सम्झना हो । जहाँ मगर समुदायमा जारी तालुकअमाल प्रथावाल शासन पद्धतिको ‘शेष’ भनम् कि प्रकृतिमैत्री शासनको ‘सिला’मात्र थियो । त्यो पनि अहिले होइन, चालीस दसकको मध्यतिर । जैपाभन्दा उत्तरतिरका मगर खाम/पाङ भाषा जीवित भेगमा प्रथाजनित शासनवाल जीवनपद्धति अहिलेसम्म पनि जीवित छ । भलै कति प्रभावकारी भन्ने विषयमा बेग्लै छलफल होला ।
सिंजा खस साम्राज्यले मगरात निलेपछि तालुकअमाल शासन पद्धति खलबलिन थालेको हो । बाइसे र चौबीसे राज्यका खललक्रमलाई पृथ्वीनारायण शाहको गोर्खा बिस्तारले झन बढायो । राणा र पञ्चायतमा झन कमजोर हुँदैआएको मगर जीवनद्धतिमा माओवादी जनयुद्धले झन प्रभाबित पार्यो । यसको कारण थियो, मगर खाम/पाङ भाषी मगरबस्ती नै माओवादी जनयुद्धको आधारभूमि बन्यो । रेमिट्यान्सले सास फेर्ने देशको रुपमा नेपाल परिणत भएपछि, बसाइसराइ र प्रविधि बिकाससँगै पर्यावरण र आदिवासीमैत्री जीवनपद्धति झन खलबलिएको छ । …
आज साउन एक गते । साउने सकराती । साउनसँगै साउन सम्झना आए । जो सम्झना सम्झने जवान गाउँमा छैनन् । रोजीरोटीको खोजीमा खाडीमा छन् । बूढाबूढीमात्र घर रुँगेर बसेका छन् । ती न मझौढारा उक्लन सक्छन् न चोत्राढारा न त माइढारा । खोर्रेका त के कुरा, घरबारी पनि बाझा छन् ।
गाउँका गोरु च्याङ्फा(चाइनिज टेक्टर)ले गायब पारेको छ । चरन वा खर्क भएका चुत्रेनी, खान्ढारा, तात्डान, भल्डाना, किमगैरा सुनसान छन् । बस्तुभाउ पाल्न छाडेपछि बन, जंगल, पोखरी, खर्क र चरनका कुरा तपसिल हुँदैछन् । कृषि र पशुपालन पद्धतिमै बदलाव आएपछि खर्क, चरन बार्ने र फुकाउँदै लेकतिर उकालिने सम्झना सुस्त छ । तालुकअमाल प्रथाजनित शासनपद्धतिले लयबद्ध जल जमिन र जंगलसँग जोडिएका मगर समुदायका पशुपालन र कृषिमा बदलाव आएको छ । अब त त्यस्तो जीवनपद्धति रोल्पा रुकुमका खाम/पाङ भाषा जीवित भएको भेगमामात्र जीवित छ । जहाँ अहिले पनि भेडा लिएर बुकी जान्छन् । भलै संख्या एकदमै थोरै छ ।
साउनसँगै गीत भएर आउने डल्लुगैरा र जेई, बाबै भने सम्झना साँचेर सम्झेपानीहुँदै बिर्सेपानी काटिसकेका छन् । साउन तिनका सम्झनाझरी पनि फर्काएर फेरि साउन आएको छ । आएको साउन सम्झना, साउने सकरातीमा ।
प्रतिक्रिया 4