
News Summary
Generated by OK AI. Editorially reviewed.- कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन व्यवसायी परिषद् भित्र लयर्स एकेडेमी निर्माण गर्नेकुरा राम्रो भएको बताए।
- मन्त्री चौरसियाले एकेडेमीले कानुन व्यवसायीलाई लाइसेन्स दिनुभन्दा पहिले मापदण्ड बनाउने कुरा सही रहेको उल्लेख गरे।
- नेपाली कांग्रेसकी सांसद नागिना यादवले युनिभर्सिटीको डिग्रीलाई कम आँक्न नमिल्ने र कानुन व्यवसायी बन्नका लागि शैक्षिक योग्यता पुग्नुपर्ने बताइन्।
१ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन व्यवसायीलाई व्यावसायिक शिक्षामा परिपक्व बनाउन लाइसेन्स दिनुभन्दा पहिले मापदण्ड बनाउने कुरा सही रहेको बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कानुनमन्त्री चौरसियाले कानुन व्यवसायी परिषद् भित्र लयर्स एकेडेमी निर्माण गर्नेकुरा राम्रो भएको बताए ।
एकेडेमीले कानुन व्यवसायीलाई लाइसेन्स दिने, अधिवक्ताहरूलाई अझ व्यवस्थित र व्यवहारिक बनाउने उनले बताए ।
‘कानुन व्यवसायी परिषद् भित्र एकेडेमी भन्नेकुरा आएको छ । त्यो एकेडेमीले कानुन व्यवसायीको लाइसेन्स लिने, अधिवक्ताहरूलाई अझ व्यवस्थित ढंगले र व्यवहारिक कानुनी र व्यावसायिक शिक्षामा परिपक्व बनाउन लाइसेन्स दिनुभन्दा पहिले मापदण्ड बनाउने कुरा आएको छ,’ उनले भने, ‘यो मलाई लाग्छ ठिक छ । भाषा पछि मिलाउन सकिन्छ ।’
डिग्रीलाई कम नआँकौं : यादव
समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद नागिना यादवले युनिभर्सिटीको डिग्रीलाई हामीले कम आँक्न नमिल्ने बताइन् ।
कानुन व्यवसायी बन्नका लागि उसको शैक्षिक योग्यता पुग्छ र एकेडेमिक डिग्रीबाटै उसको योग्यता पुष्टि हुन्छ भने उसलाई त्यसमा बाध्यकारी बनाइनु नहुने उनको तर्क छ ।
संसारमा शैक्षिक योग्यता पुगिसकेपछि लाइसेन्स लिइरहनुपर्ने बाध्यकारी अवस्था नरहेको उनले बताइन् ।
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सुहाङ नेम्वाङले कानुन व्यवसायी परीक्षा पास गरिसकेपछि मात्रै कानुन व्यवसायी बन्न पाउनुपर्ने बताए ।
बिहीबारको समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८२ को सम्बन्धमा दफावार छलफल भएको हो ।
प्रतिक्रिया 4