
१ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रिपरिषद् पुनर्गठन हुने तयारीमा रहेको बताएका छन् ।
बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।
घुस प्रकरणमा अडियो सार्वजनिक भएपछि स्पष्टीकरण दिने क्रममा उनलाई एक सञ्चारकर्मीले यस्तै अडियोको कारण मन्त्री पद गयो नि ? भनेर प्रश्न गरेका थिए ।
उक्त प्रश्नको जवाफमा उनले भनेका छन्, ‘मन्त्री पदको के भने, सधैंको निम्ति पनि होइन । एक वर्ष पछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति नै हो । सहमतिको आधारमा पुनर्गठन हुनेवाला नै छ । त्यो हुँदा को हुन्छन् को हुँदैनन्, छुट्टै कुरा हो । सबै हुन्छन् कि । त्यो एउटा पाटो हो ।’
साथै, उनले पदमा रहुन्जेल जिम्मेवार तरिकाबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
‘जहिलेसम्म होइन्छ आफूलाई परेको जिम्मेवारी जिम्मेवार तरिकाबाट पूरा गर्ने हो । जतिबेला जुन जिम्मेवारीमा रहन्छ त्यही अनुसार अगाडि बढिन्छ,’ उनले भने ।
उनले आफूसँग जोडिएको विषयमा कुनै संलग्नता नरहेको भन्दै संलग्न देखिए कारबाही भोग्न तयार रहेको पनि बताए ।
प्रतिक्रिया 4