+
+
Shares
इमोजी दिवस :

कुन इमोजी सबैभन्दा बढी प्रयोग गरिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वमा पहिलो इमोजी जापानी डिजाइनर शिगेताका कुरिताले सन् १९९९ मा बनाएका थिए र जुलाई १७ लाई वर्ल्ड इमोजी डे मनाइन्छ।
  • युनिकोड कन्सोर्टियमले नयाँ इमोजीहरूलाई मान्यता दिन्छ र आजसम्म ३५२१ इमोजीहरू मान्यता प्राप्त छन् ।
  • इमोजीपिडियाका अनुसार सबैभन्दा धेरै प्रयोग हुने इमोजीहरूमा रेड हर्ट, ह्वाइट हेभी चेक मार्क, स्पार्कल्स, फायर र लाउड्ली क्राइङ फेस छन्।

सामाजिक सञ्जालमा कसैलाई मेसेज पठाउँदा वा केही पोस्ट गर्दा अक्षरहरूसँगै एउटा कुरा पनि जोडिन्छ—इमोजी । सायद तपाईं यो शब्दसँग अभ्यस्त हुनुहुन्छ । छैन भने थाहा दिइहालुँ-अत्यन्तै सानो आकारका डिजिटल चित्र अथवा आइकन हुन् । यिनीहरूलाई आफ्नो विचार अथवा भाव व्यक्त गर्न प्रयोग गरिन्छ ।

आज जुलाई १७ । अर्थात् वर्ल्ड इमोजी डे (इमोजी दिवस) । यो बाह्रौं इमोजी दिवस हो । तर, विश्वमा पहिलो इमोजी बनाएको नै २६ वर्षभन्दा बढी भइसकेको छ । र, आज विश्वमा हरेक दिन १० अर्ब बढी इमोजी पठाइने/पाइने बताइन्छ ।

विश्वमा पहिलो पटक जापानी डिजाइनर शिगेताका कुरिताले सन् १९९९ मा इमोजी बनाएका थिए । त्यसयता सयौं इमोजीहरू बनिसकेका छन् । र इमोजी शब्द पनि जापानबाट नै उत्पत्ति भएको हो । जापानिज् भाषामा यसको अर्थ चित्र र वर्णन भन्ने हुन्छ ।

इमोजीको आविष्कारपछि मान्छेहरूले उस्तै खालका भाव व्यक्त गर्न विभिन्न बिराम चिह्न, संख्या र अक्षरहरूको प्रयोग गर्थे । ती आज पनि गर्ने गर्छन् । तर सामाजिक सञ्जालमा कुनै पनि इमोजी आउन हरेक इमोजीलाई युनिकोड कन्सोर्टियमले मान्यता दिनुपर्छ ।

यो गैर-नाफामुखी संस्थाले डिजिटल टेक्स्ट (युनिकोड/इमोजी आदि) लाई स्ट्यान्डराइज गर्ने काम गर्छ । यो संस्थाले नै नयाँ इमोजीहरू बनाउने गर्छ । त्यसमा अन्य जो कोहीले सुझाव वा प्रस्ताव गर्न सक्छ । तर अन्तिम निर्णय भने यस संस्थाको नै हुन्छ ।

त्यसमा विश्वभरका सबै मानिसले सकेसम्म बुझुन् भन्ने आधारमा इमोजीहरूको छनौट हुन्छ । यसपछि ती नयाँ इमोजीहरूलाई युनिकोड स्ट्यान्डर्डमा थपिन्छ । र, त्यसपछि मात्र एप्पल र गुगल जस्ता कम्पनीहरूले आफ्नो डिभाइसमा प्रयोग गर्न सक्छन् ।

यस संस्थाको तथ्याङ्क अनुसार आजसम्ममा ३ हजार ५२१ इमोजीहरू छन् ।

तीमध्ये सबैभन्दा बढी कुन प्रयोग गरिन्छ ?

इमोजीपिडिया (इमोजीको अनलाइन इन्साइक्लोपेडिया)का अनुसार सबैभन्दा धेरै प्रयोग हुने एमोजी यसप्रकार छन्:

पहिलो-रेड हर्ट

संसारमा सबैभन्दा बढी प्रयोग गरिने इमोजीमा क्लासिक रेड हर्ट रहेको छ । कसैलाई वा कुनै चीजलाई माया गरिएको जनाउन यो इमोजीको प्रयोग गर्ने गरिन्छ । आजकल यसका अनेकन् भर्सन पनि पाइन्छन् । तर रेड हर्ट नै अहिलेसम्मकै सबैभन्दा लोकप्रिय इमोजी हो ।

दोस्रो- ह्वाइट हेभी चेक मार्क

इमोजीपिडियाका अनुसार ह्वाइट हेभी चेक मार्क सबैभन्दा लोकप्रिय इमोजीहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ । हुन त यो एउटा चेक मार्क (सही चिन्ह) हो । यो प्राय: कुनै पनि काम सम्पन्न गरेको जनाउन अथवा बुलेट पोइन्टका रूपमा प्रयोग गर्ने गरिन्छ । तर यो इमोजीलाई ट्विटर/एक्सले भने सपोर्ट गर्दैन ।

तेस्रो-स्पार्कल्स

यो इमोजीले चम्किलो ताराहरूलाई जनाउँछ । यसमा तीनवटा ताराहरूलाई देखाइएको छ । ती क्रमश: सानो ठूलो छन् । सामान्यतया प्रेम, खुसी, सुन्दरता, कृतज्ञता र उत्साहजस्ता सकारात्मक भावनाहरूलाई जनाउन यसको प्रयोग गरिन्छ । यसका साथै नयाँपन वा सरसफाइ जनाउन पनि यसको प्रयोग गर्ने गरिन्छ ।

चौथो-फायर

यदि कुनै चीजलाई ‘फ्लेम्स’ भनेर वर्णन गरिएको छ भने त्यसको अर्थ त्यो राम्रो छ भन्ने हुन्छ । त्यसका आधारमा केही मन पर्‍यो भने यो फायर इमोजी प्रयोग गरिन्छ । एकदम राम्रो छ, कडा छ, बबाल छ भन्ने अर्थ यो इमोजीले बोकेको हुन्छ ।

पाँचौं-लाउड्ली क्राइङ फेस

यो इमोजी सामान्यत: ठूलो स्वरले रोएको अनुहार हो । यो सामान्यतया दुःखी हुँदा प्रयोग गरिन्छ । कहिलेकाहीँ हाँस्दा हाँस्दै आँसु आउँछ नि, हो त्यस्तो बेलाको अवस्था दर्शाउन यसको प्रयोग गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?