News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
- सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
- छानबिन समितिलाई गुरुङमाथि उठेका आरोपबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
सरकारले गठन गरेको छानबिन समितिबारे शुक्रबार प्रतिक्रिया दिँदै उनले गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।
सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्दै उनले भने, ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस् ।’
पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए । सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि उनीमाथि राजनीतिक र नैतिक दबाब बढेको थियो ।
त्यसपछि गुरुङले ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएको तीन साता बितिसक्दा पनि सरकारले कुनै छानबिन समिति गठन नगरेपछि भन्दै आङ्देम्बेले गत बुधबार संसद् बैठकमा सरकारको आलोचना गरेका थिए ।
संसद् बैठकमा सम्बोधन गर्दै उनले ‘पूर्वगृहमन्त्रीमाथि छानबिन नगर्ने तर अरुलाई भ्रष्टाचारको आरोपमा अल्गोरिदेमिक खेदाइ गर्ने प्रवृत्ति जायज छैन’ भन्दै सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका थिए । सदनबाटै उनले ‘छानबिन समिति किन गठन भएन ?’ भनेर सरकारसँग जवाफ माग गरेका थिए ।
त्यसको भोलिपल्टै बिहीबार सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गर्यो ।
समितिलाई गुरुङमाथि उठेका आरोपबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया 4