२०३६ साल भदौतिरको स्मरण हो, पातलो जीउडालको अलिअलि बायाँतर्फ ढल्केर चस्मा लगाउँदै हातमा एउटा ब्याग लिंदै नेपाल ल क्याम्पसभित्र प्रवेश गर्ने एउटा आकृति परैबाट देखें । त्यो आकृतिको नजिक हुनेहरूले आदरपूर्वक नमस्कार गरे ।
मेरो नजिकै उभिएको कसैले भन्यो– ‘प्रमाण कानुन पढाउने प्रकाश वस्ती सर । क्या राम्रो पढाउँछन् यार ….! क्लास लिन कहिल्यै पनि नबिर्सने, स्पष्ट वक्ता र असाध्यै अध्ययनशील लाग्ने ….।’ यसो भन्दै ऊ क्लासभित्र गयो ।
एकछिनपछि उनै वस्ती सर हामीहरूको नजिकबाटै आएर कक्षा कोठामा प्रवश गरे । केही विद्यार्थी हुरुरु भित्र पसे । हामीहरू आफ्नो सेक्सनको विषय शिक्षक कुरिरह्यौं, आएनन् । खबर पनि पठाएनन् । केहीले बाहिर हल्ला गर्दै र केहीले चमेनागृहमा बस्दै त्यो दिनको समय बिताए ।
पहिलो पटक उनको बारेमा सुनेका कुराले पछि पटक–पटक भेट्दा उनलाई श्रद्धापूर्वक अभिवादन गर्न मन लाग्ने भयो । उनी भने आफ्नै पाराले मुसुक्क हाँसेर नमस्ते फर्काउने र कहिलेकाहीं ‘के छ ? ठीक छ हैन ?’ भन्ने गर्थे । उनले पढाउने कक्षामा आफू नभएकोमा केही नपुगे जस्तो महसुस भइरहेको थियो ।
‘अंशबन्डा र जेठासी प्रथा’ शीर्षकमा विद्यार्थी कलमका रूपमा मेरो लेख नेपाल ल क्याम्पसबाट प्रकाशित हुने नेपाल कानून परिचर्चा, (त्रैमासिक पत्रिका वर्ष १ अङ्क ३) मा प्रकाशित भयो । अध्ययनरत केही विद्यार्थी मात्र होइन प्रकाश वस्ती जस्ता विज्ञका आँखामा पनि म पुगेछु । एक दिन क्याम्पसको भेटमा कुनै मित्रले मतर्फ देखाउँदै भन्यो– ‘उसको त लेख प्रकाशित भएको छ सर, कानून परिचर्चामा ।’
‘हेरेको छु, अहिले नै त्यसरी लेख्नु धेरै राम्रो, धेरै राम्रो….लेख्दै जाऊ..’ भन्दै उनी आफ्नै कर्मतिर लागे । म पनि लेख्न लागिरहें । एकपछि अर्को गर्दै लेखिरहें । त्यतिवेला गोरखापत्र आदिमा लेखहरू प्रकाशित भएपछि र केही दामपैसा हातमा परेपछि लेख्ने हौसला झन् बढेको हो ।
लेखन यात्राले गति लिंदै जाँदा न्याय र कानून सम्बन्धी निबन्धहरू न्यायदूतमा बढी प्रकाशित भए । उनै प्रकाश वस्तीको सक्रियतामा आरम्भ भएको कानून द्वैमासिकमा पनि लेखहरू आए । आफ्नै नाममा मात्र होइन, कलम शर्मा, सर्जक शर्मा र बम्बेराज निरक्षर जस्ता ‘पेन नेम’बाट कानून द्वैमासिकमा प्रकाशित भएका लेखहरूको लेखक यही पंक्तिकार थियो । त्यो तथ्य शुरूमा थाहा पाउने उनै वस्ती सर मात्र हुन्, पछि अरूले पनि थाहा पाए ।
भेट हुँदा लेखन यात्राको प्रशंसा गर्दै आशीर्वाद दिने प्रकाश वस्ती सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएपछिका दिनमा सन्दर्भवशः भेट हुँदा थप्न पुग्थें ‘लहै निष्पक्ष न्यायको कर्म र कलमको सन्देश तथा खबरदारी सधंै उही गतिमा अविचलित रूपमा जारी रहनुपर्छ ।’ म भने ‘अवश्य सर’ (उनी न्यायाधीश भए पनि हामीहरूको मुखबाट सर शब्द नै आउँथ्यो) भन्दै शिर निहुराउँथे ।
उनै प्रकाश वस्तीको सम्झना र सम्मानमा स्मारिका प्रकाशनको योजना थियो । सहकर्मी पूर्व न्यायाधीश एवम् लेखक/प्रकाशक शेषराज शिवाकोटीले आग्रह गरेपछि केही लेखियो । वस्ती सरको सम्मानमा प्रकाशित न्यायको ५४औं अङ्कमा विस्तृत लेख लेखिएको थियो ।
प्रकाश सरका बारेमा कहाँबाट सुरु गरौं भन्ने लाग्यो । उनी कानूनी वाङ्मय र निष्पक्ष न्यायको साधनामा एक साधक र समर्पित कानून तथा न्यायकर्मी हुन् भन्ने मेरो बुझाइ रह्यो । उनलाई विभिन्न कोणबाट बुझ्न र चर्चा गर्न सकिन्छ ।
व्यावसायिक कानून व्यवसायी, सक्षम प्राध्यापक, नेपालको कानूनी वाङ्मयका एक सशक्त हस्ताक्षर, निष्पक्ष र प्रभावकारी न्यायका एक अथक् योद्धा, कुशल न्यायमूर्ति, मानवअधिकारकर्मी, अभिभावकीय सक्षमताका नमूना, सरल र असल मान्छे, सदाचारी, सत्यनिष्ठ र त्यागी अनि कतिका लागि अव्यावहारिक । मरेर पनि बाँचिरहने गरी अस्ताएका न्यायका जिउँदा शहीद ।
नजिकबाट चिन्ने र कानून व्यवसायलाई बुझ्नेहरू भन्ने गर्छन् कि उनी विना तयारी कहिल्यै इजलासमा गएनन् बरु पक्षसँग तयारीका लागि समय मागे । आफूले जिम्मा लिएको मुद्दामा न्यायका लागि भनसुन भएको थाहा पाए भने फाइल फिर्ता गरिदिन्थे ।
न्यायका लागि भनसुन (आर्थिक वा जिन्सी लगानी) गरेको भन्ने थाहा पाए भने उनी मुद्दाका पक्षको नाकमुखै हेर्न चाहँदैनथे । उनी न्यायका लागि प्रमाणमा विश्वास गर्दथे र न्यायकर्ताको सद्विवेकमा विश्वासयुक्त आशा राख्दथे ।
पढाउने क्रममा प्रायः कक्षा छुटाएनन् । कुनै दिन कक्षामा आउनै नसक्ने अवस्था भयो भने अघिल्लै दिन विद्यार्थीलाई सूचना दिन्थे । तयारी विनाको अध्यापन उनका लागि नसोचेको विषय हुन्थ्यो ।
सुरु–सुरुमा छिटो छिटो बोल्ने र ‘भन्न के खोजेको भने…’ जस्ता केही थेगोले अलमलिए पनि पछिका दिनमा कक्षामा कसैले पनि उनले पढाएको विषयमा अल्मलिने भएन । शायद सबैभन्दा थोरै विद्यार्थी फेल हुने उनकै विषय बन्यो । सहपाठीहरू भन्छन् कि वस्ती सरले पढाएको बुझिएन भन्ने एउटा पनि विद्यार्थी देखिएन ।
कानूनी भाषाको आफ्नै विशेषता र मौलिकता छ । त्यसलाई नेपाल ल क्याम्पसमा मात्र होइन लेखन र प्रकाशनको क्षेत्रमा अनि विधेयक निर्माण र परिमार्जनको क्षेत्रमा परिस्कृत र सुसज्जित बनाउने काममा उनी लागे । पत्रपत्रिकामा लेख्ने र नेपालको कानूनी वाङ्मयका प्रकाशनहरू (खासगरी कानून द्वैमासिक) सम्पादन र प्रकाशनमा उनको योगदान छ ।
न्यायमा सारा संसार अडेको छ । न्याय छैन त संसारको वास्तविकता नै छैन । न्याय मानव जीवन मात्र होइन चराचर जगतको प्राण एवं सारतत्व हो । न्याय निष्पक्ष हुनुपर्छ भन्नु नै पर्दैन किनकि न्याय आफैंमा निष्पक्षताको द्योतक वा परिचायक हो । कानूनमा हुनुपर्ने न्यायको मर्मभेदी बनावट र भावदेखि न्यायकर्तामा हुनुपर्ने सद्विवेकको रापसम्म उनमा थियो ।
न्यायका लागि कानूनमा न्यायशीलताका विशेषताहरू हुनु प्राथमिक आवश्यकता हो नै । कानूनका ठेलीमा रहेका शब्दहरूले मात्रै न्याय दिंदैन । त्यसलाई मानवले देख्नुपर्ने, लेख्नुपर्ने अनि देखेको र लेखेको भाषा वा भावमा बोल्नुपर्ने हुन्छ । न्यायको आसनमा बसेको व्यक्तिको ज्ञान, सीप र सद्विवेकयुक्त क्षमतामै भर पर्ने अवस्था नै न्यायको सारतत्व हो ।
प्रकाश वस्ती न्यायको कुर्सीमा नबस्दै न्यायका लागि प्रतिबद्ध भए, बसिसकेपछि त झनै जागे । यसरी जागे कि न्यायको कलम समातेर भित्रभित्र अन्याय गर्नेहरू प्रकाश वस्तीको आकृति त के छायाँ देख्दा पनि भाग्न वा लुक्न खोज्ने अवस्थामा पुगे ।
न्यायका विविध फाँट वा आयामहरूमा देवानी न्याय प्रकाश वस्तीको क्षमताको उच्चतम शिखर हो । विशेषतः गुठी, अपुताली र अंश/वंशको हक–अधिकार तथा दायित्वमा उनका न्यायिक शब्दहरू नेपाल कानून पत्रिकामा सुन्दरतम रूपमा छन् ।
हरेक व्यक्तिको अधिकार जसलाई मानवअधिकारका रूपमा लिइन्छ, त्यसको सम्मान, सहजीकरण, संरक्षण, प्रवर्धन र प्रत्याभूत गर्नु न्यायको सारतत्वमध्ये एक हो । त्यसैले उनको हातमा रहेको न्यायको कलम बलात् रूपमा अन्यायीहरूले खोसे पनि उनी मानवअधिकारकर्मीका रूपमा रहन पुगे । मानवअधिकारकै पक्षमा औपचारिक कलम चलाइरहे ।
न तडक न भडक, न मपाइँत्व; प्रायः उस्तै तर भद्र पोशाकमा देखिने प्रकाश वस्तीका विशेषतामा सरल व्यक्ति थपिदिंदा अतिशयोक्ति नहोला । कानून र न्यायको क्षेत्रमा ठूलो मान्छे अर्थात् प्रधानन्यायाधीशसम्म नै पुग्ने यात्रामा रहेका उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा स्थायी नगरी वैरीहरूको पापी मन, दुराचारी तन तथा चरम अन्यायी कर्मले बलात् रूपमा सेवाबाट बहिर्गमित बनाइयो ।
उनको जीवन कथा, संघर्ष त्याग र समर्पणको कथा उनी आफैंले आफैंप्रति र जगतप्रति न्याय गर्दै आत्मकथा लेखेमा बाहेक अरूले सबै थाहा पाउने विषय होइन । उनको बारेमा लेख्ने कुनै न कुनै शोधकर्ता विद्यार्थीहरू निस्केलान् भन्ने लागिरहेको छ । सत्यप्रतिको निष्ठा नै न्यायप्रतिको उनको लगाव र समर्पणको आधार हो । त्यागी स्वभाव र जीवनशैली विना साँचो न्यायकर्ता हुन सक्दैनन् भन्नेमा उनी सदा सचेत थिए ।
उनको पछाडि कुरौटे वा आलोचकहरू वा परम्परावादीहरूले लगाउने आरोप पनि छ । उनी समय नचिनेका र अव्यावहारिक व्यक्ति भन्ने आरोप रह्यो । समय हैन कुसमय चिन्नका लागि बेलाबेलामा रसरङमा जाने, कमाउ संस्कृतिको अनुयायी बनेर मज्जाले रुन्चे र फोस्रो हाँसो हाँस्ने, अरूका कुरा काट्ने र कुराले गाला चाट्ने स्वभाव उनमा रहेन । त्यसखाले स्वभावधारीका लागि उनी समय नचिनेका मान्छे भए र अव्यवहारिक पनि मानिए ।
यस्ता अनुकरणीय र सम्मानित व्यक्तित्व सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदा रमाउने मात्र होइन, सन्तोषले गतिलो मुस्कान छर्ने र असीम सन्तोषको सास फेर्नेहरूमा यो पङ्तिकार पनि एक हो । उनी रहेको इजलासबाट अन्याय हुँदैन । उनको न्यायिक नेतृत्वकालमा न्यायपालिकाले युगान्तकारी प्रभाव जमाउँछ र न्यायको ज्योति समाउँछ भन्ने लागिरह्यो ।
अस्थायी रूपमा उनले प्राप्त गरेको नियुक्तिको म्याद सकिने क्रममा नेपथ्यमा अनेकसुन्दा पीरो लाग्थ्यो र मनभित्र न्याय व्यवस्थामा विचलन र स्खलन हुने चिन्ता जाग्दथ्यो । अस्थायीमा म्याद थप भए पनि स्थायी हुने बेलामा चरम अन्यायको हुण्डरी आयो ।
गोपाल पराजुलीलाई प्रधानन्यायाधीश बन्न प्रकाश वस्तीको सम्भावित स्थायी नियुक्तिले अवरोध गर्ने भएकाले स्थायी गरिएन भन्ने तथ्यलाई प्राथमिक कारणका रूपमा हेरिन्छ । उनी अख्तियारमा कानूनी सल्लाहकार हुँदा दिनबन्धु अर्याल, गोविन्दराज जोशी लगायत केही नेताहरू उपर भ्रष्टाचारको मुद्दा चलेको कारण उनकै बेजोड अनुसन्धान र राय हो भन्ने मत छ ।
नेपथ्यमा के के भए ? अरू के के कारण थिए, गर्नेहरू नै जानुन् । जो जसले जे जसरी उनीप्रति अन्याय गरे उनीहरू नेपालको न्यायप्रणाली र स्वच्छ न्यायका धब्बाहरू हुन् र इतिहासले कहिल्यै पनि माफी नदिने पात्रहरू हुन् । उनीप्रतिको अन्याय अन्यायको पराकाष्ठा मात्र होइन, नेपालको न्याय प्रणालीको जगमै हान्ने र स्वतन्त्र तथा निष्पक्ष न्यायको मर्ममै प्रहार गर्ने कुपात्रहरू हुन पुगेका छन् ।
उनीप्रतिको अन्यायको त्यो दर्दनाक व्यथा नेपालको न्यायपालिकाको प्रभावकारिता र सक्षमताको सवालसँग सन्निहित छ । अस्थायीबाट बहिर्गमित हुनुपरेको त्यो पीडा उनका सहयात्री भरतराज उप्रेतीका लागि त आत्महत्याको तीर नै बन्यो । भलै भरतराज उप्रेतीको आत्महत्याको भित्री तीर अर्कै थियो भन्नेहरूको पनि कमी छैन । देखिएको र सामान्य बुझाइमा भरतराज उप्रेतीको आत्महत्याको तत्कालीन कारण भने सर्वोच्चको अस्थायी न्यायाधीशबाटै बहिगर्मित हुनुको पीडा भन्ने छ ।
मान्छेलाई कतिबेला के पीर पर्छ भन्न सकिंदैन । समान अवस्थामा मान्छेहरूलाई समान कारण र अवस्थाले समान खुसी वा समान पीर पार्न सक्दैन । प्रकाश वस्ती सरहरूको स्थायी नियुक्ति नभएको सन्दर्भले अरू को–कोलाई छोयो अथवा कति कानूनविद्हरू र न्यायप्रेमीहरूको मन रोयो ? त्यो त यकिन रूपमा भन्न सकिने होइन । न्याय नै चरम अन्यायमा परेको एक दुःखद् अवस्था र हृदय नै रुन पुगेको क्षणका रूपमा रहिरहेको छ ।
उनी समेतलाई सर्वोच्चको न्यायाधीशमा स्थायी नगरेका कारणले पछिका दिनमा न्यायपालिकाको निष्पक्षता र प्रभावकारितामा स्खलित हुँदै पहिरो नै गएको देखियो । न्यायपालिका तीव्र गतिमा ओरालोमै छ । यही नीति, यही संरचना, यही कार्यविधि वा कार्यरतहरूको यस्तै मति र गति तथा समकालीन कार्यशैली कायमै रहेमा अबका करिब दुई दशकसम्म ओरालो रोकिने आशा गर्न सक्ने अवस्था छैन ।
सबै होस् तर न्यायपालिकाको तीव्र ओरालो गति रोकियोस् । इतिहासमा प्रकाश वस्ती र केही अरूहरू अन्यायमा परे, अब नपरुन् । निष्पक्ष र प्रभावकारी न्यायको अभावमा न्यायका उपभोक्ताहरू अब थप पीडामा नपरुन् ।
प्रकाश वस्ती हृदयघातमा परेको दुःखद् सन्देश न्यायकर्मी हेमन्त रावलले दिए । पत्याउनु नै कसरी ? केही दिन अगाडि मात्र ज्ञान–गुन कानून प्रतिष्ठानको निर्णय अनुसार न्यायिक स्रष्टा सम्मान र न्यायको पचपन्नौं अङ्क आफ्नै (अर्थात् म डिल्लीराज आचार्य)को लोकार्पण पनि उनैबाट हुन पाएको थियो । त्यो सुखद् क्षणको हाँसो र अङ्कमालको न्यानोपन तात्तातै रहेको थियो ।
केही समय बाँचेका भए उनले लेखिसकेका दुई वटा पाण्डुलिपिहरूले छिट्टै पूर्णता पाउँथे । लेख्न आरम्भ गरेका अन्य तीन पुस्तकहरू अधकल्चो रहने थिएनन् । र; सम्भवतः उनको जीवनीको कथा–व्यथा बायोग्राफीका रूपमा होइन, विषय क्षेत्रको योगदानका रूपमा आउने थियो ।
मृत्यु अवश्यंभावी छ तर उनको असामयिक मृत्युले यही अपूरणीय क्षति गरायो । नेपालको कानूनी इतिहासको नालीबेली (दोस्रो संस्करण) प्रेसको दैलोमै पुगेको बेला उनको असामयिक निधन भयो ।
एकाध अपवादलाई छोडेर नेपालका प्रधानन्यायाधीशहरूको मृत्युमा भएको शोकाकूल भावभन्दा प्रकाश वस्तीको मृत्युपछिको भावको उचाइ र श्रद्धाको झुकाइ धेरै उच्च छ । उनलाई उछिन्ने कानून र न्यायक्षेत्रका द्रष्टाहरू मुलुकले धेरै कालपर्यन्त पाउन मुस्किल छ ।
आर्यघाटको ब्रह्मनालदेखि विद्युतीय शवदाहगृहसम्म देखिएको मानव लस्कर उनै प्रकाश वस्तीप्रतिको श्रद्धा, सम्मान र श्रद्धाञ्जलीको लस्कर थियो । धेरै न्यायकर्मी, कानूनकर्मी र न्यायधर्मीहरूले प्रकाश वस्तीका सन्तान, अर्धाङ्गिनी र इष्टमित्रहरूलाई रसिला आँखा र खिन्न मनका भाकाहरूले भनिरहेका थिए- ‘प्रकाश वस्ती त अस्ताए तर उनी मरेर पनि बाँचिरहने सुकर्मका हकदार हुन् ।’
व्यक्तिगत भाव र सम्मानका साथ अलबिदा, श्रद्धेय गुरुवर प्रकाश वस्तीज्यू !
(सुन चोरी–पैठारी जाँचबुझ आयोगका पूर्वअध्यक्ष रहेका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् ।)
प्रतिक्रिया 4