एउटा प्रश्न उब्जिन सक्छ- “नामै नभएको नगर अनामनगरको नाम कसरी रह्यो त?” अनामनगर, जहाँ केही वर्षअघिदेखि तमाम किसिमका आर्थिक र व्यावसायिक कारोबारहरू भैरहन्छन्।
हालको अनामनगर क्षेत्र पहिले खेतको फाँट र धोबीखोलाको बगर थियो। डिल्लीबजारको पिपलबोटनिरबाट पैदल बानेश्वर जाँदा घट्टेकुलो भएर सिंहदरबारको पर्खालको उत्तरपूर्वबाट हनुमानस्थान निस्कने सानो गोरेटो बाटो थियो। यो लेखक २०४३ सालमा आइ.कम. को एकाउन्टेन्सी विषयको ट्यूसन पढ्न हाल सशस्त्र प्रहरी बलका महानिरीक्षकबाट अवकाशप्राप्त पुष्पराम के.सी.सँग बानेश्वरको सिडिओ टोलमा जाने गरेको थियो।
सिंहदरबारको हालको पूर्वी प्रवेशद्वारनिर जरुवा पानी निस्केर बगिरहन्थ्यो। सिंहदरबारको पूर्वतर्फको पर्खालछेउको गोरेटोबाट पूर्वतिर खेतहरूमा धान झुलेका देखिन्थे भने धोबीखोलामा मान्छेहरूले लुगा धोइरहेका देखिन्थे। हाल ढल मिसिएपछि धोबीखोलाको पानी छुन त के हेर्न पनि सकिंदैन। धोबीखोला मात्र होइन काठमाडौं उपत्यकाका सबै नदीनालाहरू पूर्णरुपले प्रदूषित भइसकेका छन्। अहिले यी नदीनालाहरूमा जलचरको संख्या शून्यप्रायः छ। पहिले पहिले माछा पनि पाइने यी नदीनालालाई प्रदूषित बनाउने कामको जिम्मेवारी शहरवासीहरूले नै लिनुपर्दछ। पाप लाग्ने हुँदो हो त शहरवासीहरू पापी नै ठहरिन्छन्। तर पाप भन्ने कुरा देखिने भने होइन।
खेत र बगर रहेको सो क्षेत्रमा त्यसताका हनुमानस्थानभन्दा अलिकति उत्तरतर्फ भने एउटा युथ क्लब बसेको सानो भुइँतले घर थियो। त्योभन्दा बढी अरू कुनै पनि घरहरू थिएनन् हालको अनामनगरमा अर्थात् त्यतिबेलाको खेतका फाँट र बगरमा। २०४६/४७ सालपछि भने अनामनगरमा रहेका खेत र बगरहरू घडेरीमा परिणत हुँदै गए। त्यहाँको जमिनको भाउ एकाएक माथि पुग्न थाल्यो, घरजग्गा व्यवसायीहरूको ध्यान त्यही फाँटतर्फ केन्द्रित भयो।
शुरु–शुरुमा सस्तोमा खरिद बिक्री भएको त्यस फाँटका जग्गा आनाको विस्तारै लाखौं-दशलाख-बीसलाख हुँदै करोड पनि पर्यो र हाल घडेरी सकिएपछि कसैलाई अनामनगरको जग्गाको भाउ कति छ भनेर सोध्नै परेन। बस्ती बसेपछि त्यहाँ बसोबास गर्नेहरूबीच छलफल भयो, समिति गठन भयो। कसैले के नाम राख्ने भने कसैले के नाम। कुरा नमिलेपछि कसैले यस बस्तीको नाम ‘अनामनगर’ राखौं भनेपछि उनको लहलहैमा लागेर बासिन्दाहरूबाट ‘अनामनगर’ नाम राखियो। जुन नाम अहिले पनि कायम छ, सो नाम परिवर्तन हुने सम्भावना पनि छैन। ‘अनामनगर’ एक प्रसिद्ध ट्रेडमार्क जस्तै भइसक्यो।
अनामनगर रहेको पहिलेको बगर र खेतका मालिकहरू एकाएक करोडपतिमा परिणत भए। शुरु–शुरुमा बेच्नेले खासै नकमाए पनि पछिपछि बेच्नेले भने मनग्ये कमाए। अहिले अनामनगरमा खाली जग्गाको नामोनिशान नै छैन। अनामनगरमा हाल कैयन् बैंकहरूका शाखा सञ्चालनमा छन् भने सहकारीहरूको संख्या त कति हो कति! त्यस्तै अनेकानेक व्यवसायहरू सञ्चालनमा छन् अनामनगरमा। अनामनगरको पछाडि धोबीखोलासम्मै भवनहरूले भरिएको छ। धोबीखोलाको दायाँ–बायाँ करिडोर खोलिएपछि मूलसडकहरूमा सवारी साधनहरूको चाप केही कम भएको पाइन्छ। तर दुर्गन्धित वायुको सामना गर्नुपर्नेछ।
सिंहदरबार नेपालको मुख्य प्रशासनिक केन्द्र भएकोले यसको वरिपरि आलिसान महलहरू निर्माण गर्न दिनुहुँदैन। तर निर्धक्कसँग आलिसान महलहरू निर्माण भइरहेको देखिन्छ । वास्तवमा यसतर्फ सरकारको समयमै ध्यान जानुपर्ने थियो।
हालका दिनहरूमा अनामनगरलाई वकिलहरूको पकेट क्षेत्र भन्दा पनि हुन्छ। त्यस क्षेत्र अर्थात् अनामनगरमा तमाम ल फर्महरू र अडिट फर्महरू छन्। स्तरीय खालका रेस्टुरेन्टहरू पनि सञ्चालनमा छन् त्यहाँ। अनामनगरमा केही सञ्चारमाध्यमहरू पनि चलिआएका छन्। एक किसिमले भन्नुपर्दा नामै नभएको नगरमा व्यापक रुपमा आर्थिक कारोबारहरू भइरहेको पाइन्छ। नेपाल यातायातको मात्रै त्यहाँ तीनवटा बसस्टप छन्- घट्टेकुलो, सिंहदरबार पूर्वीगेट र हनुमानस्थान। अनामनगरमा होस्टलहरूको संख्या पनि ज्यादै छन्, त्यस्तै शैक्षिक परामर्श केन्द्रहरू पनि छन्। नेपाल यातायातको बसमा यात्रा गर्नेहरूमा धेरैजसो अनामनगरदेखि पुतलीसडकसम्म आउजाउ गर्ने विद्यार्थीको संख्या ज्यादा छ। किनकि अनामनगरदेखि पुतलीसडकसम्मको क्षेत्र शैक्षिक संस्थाहरूको संख्या धेरै भएको क्षेत्रमा गनिन्छ।
२०४३ सालतिरको प्रसङ्ग यहाँ प्रस्तुत गर्नु उपयुक्त देखिन्छ। त्यतिबेला खसीको मासुभन्दा कुखुराको मासु महँगो थियो। त्यतिबेला खसीको मासु किलोको ३० रुपैयाँ थियो भने कुखुराको मासु ३५ रुपैयाँ। त्यस्तै चामल र चिनी किलोको ६-६ रुपैयाँ थियो भने मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ। त्यतिबेला काठमाडौंमा भर्खरै मात्र ग्याँसको चलन शुरु भएको थियो। एक सिलिण्डर ग्याँसको भाउ १५० थियो। अहिले मुठाको १० रुपैयाँ पर्ने हरियो लसुन वा हरियो प्याजको मूल्य त्यतिबेला १ रुपैयाँ थियो। पाइन्ट सिलाएको १०० र कमिज सिलाएको ६० रुपैयाँ लिइन्थ्यो।
बागबजारको श्रेष्ठ टेलरिङ त्यतिबेलादेखि नै नाम चलेको टेलर हो। रत्नपार्कदेखि पाटनढोकासम्मको बस भाडा ३० पैसा थियो भने रत्नपार्कदेखि लगनखेलसम्मको बसभाडा ५० पैसा थियो। त्यतिबेला कन्डक्टरहरूले हत्केलामा सिक्काहरू समाएर र नोटहरू औंलाको कापमा च्यापेर सिक्काहरू झिरिपझिरिप पार्दै भाडा माग्ने गर्दथे। हालका दिनहरूमा भने सिक्काको महत्व हराइसकेको छ। मन्दिर र मूर्तिमा चढाउने वा मगन्ते तथा जोगीहरूलाई सिक्का दिइन्छ। अब त शहरमा पिसाब फेरेको समेत १० रुपैयाँ तिर्नुपर्ने अवस्था आइसकेको छ। त्यसबखत यो लेखकको तलब मासिक ५०० को हाराहारीमा थियो।
पछिल्लो समय अनामनगर न्यूरोड र पुतलीसडकभन्दा कम छैन। त्यहाँ दैनिक व्यावसायिक गतिविधि निकै देखिन्छन्। समयले कोल्टे फेर्छ भने झैं कहाँको त्यो बेलाको बगर कहाँको अहिले अनामनगर। त्यो बेलाको सम्झना गरेर कसैसँग कुरा गर्ने हो भने कसैले पनि सो कुरा पत्याउन मुस्किल नै पर्छ। यस्तो शहर बसेको ठाउँमा पनि बगर र खेत थिए होलान् त भनेर कसैले प्रश्न पनि तेर्स्याउन सक्छन्। अनामनगरको इतिहास धेरै लामो छैन। पछि काठमाडौं पसेकाहरूलाई भने अनामनगरको इतिहासबारे जानकारी हुने कुरै भएन। तर चालीसको दशक आसपासमा राजधानी काठमाडौं छिर्ने धेरैलाई यसबारेमा जानकारी हुनुपर्छ।
त्यतिबेला डिल्लीबजारको चालखाल लाइनमा सडकका दायाँबायाँ जग्गाहरू खाली थिए। गोल्फुटारमा ४५ हजारमा पाँच आनाको एउटा घडेरी पाइँदा “आम्मामामा! त्यत्रो पैसा कहाँ पाउनु?” भन्ने हुन्थ्यो। साथीहरूले घडेरी किने तर यो लेखकको भने घडेरी किन्ने आर्थिक हैसियत त्यतिबेला थिएन। हैसियत थिएन भनौं भने मैले २०४३ सालमा काठमाडौंदेखि भैरहवासम्म ३०० भाडामा हवाईजहाज चढेको सम्झना अझै पनि छ।
अनामनगर मात्र होइन “यो ठाउँमा विकास होला त ?” भनेर भनिने काठमाडौं उपत्यकाका कुनाकाप्चा, भीर–खोलाहरूमा समेत भवनहरू ठड्याइएका देखिन्छ । खेतका तमाम फाँटहरू पनि घरहरूले भरिभराउ भइसकेका छन् । राजधानी काठमाडौंको ग्रामीण क्षेत्र भनेर चिनिने काँठ क्षेत्र समेत अहिले भरिइसकेको छ। हुनत काठमाडौं उपत्यकामा नेपालभरिका नागरिकहरू अट्न सक्छन्। तर मान्छे अटेर मात्र पुग्दैन सुविधा विनाको शहरमा बस्नु पनि मूर्खता ठहर्छ। काठमाडौंमा हाल मेलम्चीको पानी ल्याइए तापनि चक्रपथ बाहिरका कतिपय स्थानहरूमा मेलम्चीको पाइप विछ्याइएको छैन।
काठमाडौं उपत्यकामा वर्षेनि पानीको हाहाकार हुन्छ। सुख्खा याम अर्थात् फागुनदेखि जेठसम्म शहरवासीहरूले पानीका लागि हैरानी खेप्नु परिरहेको एक उदाहरण तथा भुक्तभोगी यो लेखक पनि हो। ट्यांकरको पानी शुद्ध छ कि छैन भनेर कसैले जाँचपड्ताल गरेको पनि पाइँदैन । जारको पानीको सम्बन्धमा बेलाबेलामा अनुगमन निकायहरूले कैफियत भेटाएपछि कारबाहीको दायरामा ल्याउने गरिएको छ। हामीकहाँ अनुगमनको कार्य फितलो नै छ भन्न सकिन्छ। बजारमा हुने बेइमानी कामहरू न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्नु जरूरी छ।
प्रतिक्रिया 4