
भूपीन यात्रा कस्तो रह्यो ? भिडियो खिचिरहेका प्रेमबहादुर गुरुङले सोधे । प्रेम, ट्रेकिङ वन्डरफुुुल रह्यो । अन्नपूर्ण हिमालको त हाडछाला नै देखियो ! गाडीभित्रका हामी कान कानसम्म हाँस्यौं । सबै अर्थात् प्रेम, त्रिवेणी, डोलीन, दिपीन, उत्सव, अस्तित्व र म । झ्याल बाहिर हेरें । भर्खर खसेको कलिलो घामको न्यानोमा पारिको ताङतिङ गाउँ पनि हाँसिरहे जस्तो लाग्यो । आज षष्ठी । २३ असोज, २०८१ । ६ दिने ट्रेकिङलाई बिट मारेर हामी पोखरा फर्कंदै थियौं । डोजरलाई साइड दिन बाटामा केही क्षण तप्राङको प्रवेशद्वार छेउ गाडी रोकिएको थियो । त्यही फुर्सदको समयमा, ट्रेकिङबारे आ–आफ्ना धारणालाई प्रेमले भिडियोमा कैद गरिरहेको थियो ।
प्रेम, तीर्थ र भूपीन पृथ्वीनारायण क्याम्पसका सहपाठी रहेछन् । विनम्र स्वभावको प्रेम प्रोफेशनल फोटोग्राफर पनि रहेछन् । त्यो थाहा पाएपछि मैले सानोतिनोे धमास दिएँ । यो कहाँ चानचुने टिम हो र ? अफिसियल क्यामरामेन सहितको टीम हो । प्रेमको ट्राइपड र ह्याटले समर्थन गरिरहेको थियो ।
यात्राको हाइलाइट थियो– तीर्थ गुरुङको घच्चीको नाच । सिक्लेसबाट कोरी पुग्न एक दिनमै कठिन हुने थाहा पाएपछि तसामा बास बस्ने योजना बनेको थियो । तसामा बेलुकीको खाना खाँदै थियौं, छेवैको भान्साबाट ठिटाठिटीहरूको हाँसोठट्टा र गीत सुन्यौं । हौस्याइरहेको ध्वनिले कोही नाचिरहे जस्तो पनि लाग्यो । बाटामा भेटिएका ठिटाठिटीहरू त्यही होटलमा पसेको देखेको थिएँ । तिनीहरू नै होला, लख काटें । ठिटीहरू नातामा तीर्थको भाञ्जाका सालीहरू रहेछन् । बाटामा तीर्थले बात मारेको थियो ।
खाना खाएपछि यसो भान्सातिर के चियाएको थिएँ, छक् खाएँ । तीर्थ त हातको पार लगाएर सालीसँग कम्मर मर्काइ–मर्काइ प्वाँख जस्तो हलुका नाचिरहेको । तीर्थ यसरी नाच्छ भन्ने कल्पना बाहिरको कुरा थियो । मै हुँ भन्ने पनि नाच्न भनेपछि आनाकानी गर्छन्, तीर्थ जस्तो अन्तरमुखी मान्छे यसरी नाच्छ भनेर कसरी सोच्न सक्नु । साँघुरो भान्सामा ठिटाठिटीहरू बेन्चमा बसेर गीत गाउँदै ताली बजाउँदै थिए । होटल मालिक चुल्हो छेउ टुलमा बसेका थिए । भूपीन लठ्ठ पर्दै नाच हेरिरहेको थियो । मलाई देखेपछि ब्रदरले सदावहार ठट्टा गर्यो– तीर्थले डिएर ल्यायो ब्रदर ।
बिहान दाँत माझ्दा मैले भूपीनलाई गाँजाको अग्लो बोट छेउ भनें– तीर्थ त गज्जब नाच्दो रहेछ । मैले त सोचेकै थिएन । भूपीनले भन्यो– तीर्थ राम्रो नाच्छ, ब्रदर । सरुभक्त दाइले तीर्थको नाम नै डान्सिङ पोयट राखिदिएको थियो । हो र ? मेरो विस्मय । अनुमान लगाए, संरक्षण कविताको कुनै यात्रामा दाइले जुराएको नाम हुनुपर्छ त्यो । सरुभक्त दाइको सेन्स अफ ह्यूमर गज्जबकै छ । अन्तरङ्ग क्षणमा मात्र निस्कन्छ । नाच्ने मान्छे भनेपछि मेरो दिमागमा झिल्के व्यक्तिको छवि आउँछ, तीर्थमा त्यस्तो छवि दूर दूरसम्म देखिन्न । तीर्थ छली रहेछ ।
यात्राको अर्को संयोग त्रिवेणी भाइसँग यात्रा गर्नु रह्यो । विचित्रको लाग्यो मलाई उनी । नेक्स्ट लेभलको । नौ जनाको जम्बो (ट्रेकिङको सन्दर्भमा जम्बो) समूह भएकोले हिंड्दै जाँदा सहयात्रीहरूसँग अघिपछि भइरहन्थ्यो । भूपीन र डोलीनका छोराहरू अस्तित्व र उत्सवले गर्दा दुई पुस्ताका यात्रीहरू थिए । अस्तित्वको त पहिलो यात्रा भएकोले, भूपीन पिताको रूपमा उत्साहित थिए, सचेत पनि । अस्तित्व भएकोले यस यात्रामा भूपीनसँग धेरै हिंड्ने मेसो मिलेन । उनी छोराहरूलाई ट्रेकिङ सम्बन्धी आफ्नो अनुभव बताइरहेको भेटिन्थे ।
एउटा खण्डमा त्रिवेणीसँग हर्मन हेस्स्को सिद्धार्थबारे कुराकानी भयो । यात्रामा सिद्धार्थको प्रसंग चल्नु गज्जबको संयोग थियो । सिद्धार्थको जस्तो आन्तरिक यात्रा विरलैले गर्न सक्छ तर हामीले गरेको पनि यात्रा नै थियो । मोक्षको खोजमा हिंडेको प्रोटागोनिष्ट सिद्धार्थको कथाले विगतमा मलाई नराम्ररी हल्लाएको थियो । त्रिवेणीको विश्लेषण पनि रोचक लाग्यो । तसाबाट उकालो लाग्दा बाटामा एउटा चौतारो भेटियो । चौतारो छेउ धारो थियो र थियो बाटो किनाराको रूखमा झुन्डिएको मार्ले रेस्टूराँको विज्ञापनबोर्ड । मार्लेको सुइरोपाते सिम्बोल देखेर हो शायद त्रिवेणीले चुरोट सल्कायो । सास फुलेका हामी चौतारामा बिसाएका थियांै । पातलो वनमा घामका कलिला किरणहरू रूखको चाल्नोबाट छिरेर रूखको पात, चौतारा, जमीनमा असरल्ल छरिएको थियो । निपुण पेन्टरले बनाएको श्यामश्वेत स्केच जस्तो बनेको थियो– फरेष्ट ल्याण्डस्केप । बोतलमा पानी भरी म चौतारामा अडेस लागें । त्रिवेणीले चुरोटको सर्को तानेर धुवाँ फ्याँकेपछि प्रेमले केही सम्झे जस्तो गरेर डीएसएलआर क्यामराको बिर्को खोल्यो र एङ्गलहरू सुझाउँदै पोजहरू दिन त्रिवेणीलाई भन्यो ।
खच्याक्, खच्याक्…..शान्त वनमा त्यो ध्वनि चर्को सुनिन्थ्यो । घाम र छायाँको अद्भुत संयोजन त प्रकृतिप्रदत्त थियो तर त्यसमा देख्न सक्ने क्षमता चाहिं प्रेमको थियो । प्रेमले तस्बिर देखायो । कलिलो घामको छहारीमा बसेको त्रिवेणीको दाहिने हातमा सल्कँदै गरेको चुरोटको ठुटा देखिन्छ । मुखबाट निस्केका धुवाँहरू पृष्ठभूमिमा देखिने रूख–बिरुवाको ब्लर आकृतिलाई स्पर्श गर्न दौडिरहेको । लाइट्स र डार्कनेसको नृत्यमग्न तस्बिर ।
खुला चरन देखिएपछि कोरी आउँदो रहेछ । डाँडाको पत्रहरूमाथि खसेको अस्ताउँदो सूर्यको किरणले स्काइलाइन अद्भुत देखिएको थियो । लमजुङ हिमालकै काखमा ३,८४० मिटरको उचाइमा अवस्थित कोरी डाँडा । कोरीको सुन्दरता वर्णनातीत छ । कस्तो विरोधाभास, वर्णनातीत पनि शब्दमै भन्नु परेको छ । वरपर पहाडका थुप्रै तहहरू खप्टिंदै क्षितिजसम्म फैलिएको थियो । दुई दिनको हिंडाइले कोरीको सौन्दर्य झन् थपिएको थियो ।
बिहान सुन्तले घामले झ्यालबाट साउती गर्यो । लमजुङ, सिकलेस पिक, अन्नपूर्ण दोस्रो, माछापुच्छ्रे, अन्नपूर्ण साउथ हामीलाई नै पर्खिरहेको थियो । सिरेटो खाँदै छेवैको थुम्कोमा चढ्यौं । तल मादी नदीबाट आएको सुसाई…. कोरीसम्मै सुनिन्थ्यो । हिमपहिरो चल्छ, मनभरि, देहभरि, कोरीको कौमार्य सौन्दर्यको । दक्षिण दिशामा पर सिक्लेस र ताङतिङ डाँडाको कप्टेरामा देखिन्थ्यो । रङ्गीविरङ्गी च्याउ उम्रे जस्ता देखिन्थ्यो कोरीभरि । नीलो, रातो, हरियो ज्याकेट लगाएका ठिटाठिटीहरू कराइरहेका, चिच्याइरहेका थिए– प्राकृतिक सौन्दर्यबाट अभिभूत भई । प्रेमले समूहको एक राउण्ड फोटो र भिडियो खिच्ने कुरा झिक्यो । डाँडामा लस्करै अगाडि बढ्ने र प्रेमले काउन्ट डाउन गर्ने । र, एकसाथ उफ्रने, काउन्ट डाउन सक्किनासाथ । लमजुङ हिमाल यति नजिक थियो कि मानौं धापै मार्ला जस्तो । मौसम मज्जाले खुलेको थियो, त्यसैमा हाम्रो मन पनि ।
ब्रेकफास्ट खाएर बिहान सवा नौ बजे क्हफुचेको निम्ति झर्यौं । तीर्थले अर्थ बतायो । गुरुङ भाषामा क्ह माने हिउँ, फु माने भत्केको र चे माने सम्म परेको ठाउँ । हिमाल भत्केर सम्म परेको ठाउँमा जम्मा भएको हिउँ । डेढ, दुई घण्टा हिंडेपछि एउटा चौर आइपुग्यो । त्यहाँ रित्तो गोठ देखियो । नजिकैको धारोबाट पानीको थोपा विस्तारै खसिरहेको थियो मानौं पानी पनि थाकेको छ । थकित मनको प्रक्षेपण होला । छेउमै एउटा बोर्ड देखिन्थ्यो । बोर्डको अर्कोपट्टि कोरी लेखेर माथितिर एरो दिइएको थियो ।
यसको अर्थ, बाटो सही थियो तर बोर्ड उक्लनेहरूको निम्ति राखिएको देखिन्थ्यो । तर हामीलाई ओरालो झर्नु थियो । कहाँबाट झर्ने ? बाटो देखिएन । जताततै झार उम्रेको थियो । बोर्डको उत्तरदिशामा अर्को गोठ र फलामको ट्रष्ट देखिन्थ्यो । त्यतैतिर लाग्यौं । समूहमा दिपीन, डोलीन, त्रिवेणी र म थियौं । भूपीन तीर्थहरू पछि थिए । यो गोठ पनि रित्तो थियो । गोठको भित्तामा लेखिएको थियो– नुट्हा । त्यहाँबाट अगाडि बढ्यौं । खोल्सामा साँघु हालेको देखियो । साँघु पार गर्यौं । केही अगाडि झाडी देखिएपछि मलाई शंका लाग्यो । मान्छे हिंड्ने बाटो भएको भए बाटाको झाडी माडिएको हुन्थ्योे तर यहाँ झारको साम्राज्य थियो ।
जंगल घना हुँदै गयो, घामको उज्यालो मलिन । भुईंमा पातको तह बाक्लिंदै गयो । कतिपय ठाउँमा ङ्याच ङ्याच…खुट्टा गड्न थाल्यो । करिब एक घण्टा जति हिंडेपछि रूख ढलेर बाटो अवरुद्ध भएको ठाउँ आइपुग्यो । म अडिएँ । रूख ढलेको निकै भइसकेको जस्तो लाग्थ्यो । मनले तर्कना गर्यो, यदि यो सही बाटो हुन्थ्यो भने त कोरी, हुगु वा क्हफुचेका होटलवालाहरूले अहिलेसम्म पक्कै पनि रूख पन्छाई बाटो सुचारु गरिसकेको हुन्थ्यो ।
उनीहरूको निम्ति त्यो बाटोको भन्दा पनि व्यवसायमै अवरोध हुन्थ्यो । शंका मडारिन थाल्यो । नुट्हाबाट हिंडेको नै करिब डेढ घण्टा भइसकेको थियो । केही अघि बाटोको डोब पनि देखिन छाड्यो । जंगल बाक्लिंदै गयो । अँध्यारो पनि गहिरिंदै गएको थियो । चारै जना एउटा रूखको फेदमा उभियौं । डोलीन परसम्म हेर्न गयो । आर्मी भएकोले जंगलमा बाटो पहिल्याउन सबभन्दा बढी समर्थ शायद डोलीन नै थियो । उसले संकेतले बोलाएपछि हामीे पछि लाग्यौं । घुँडा घुँडासम्म घाँस पलाएको सानो चौर देखियो । छेवैको भग्नावशेषले गोठ राख्ने ठाउँ हो भन्ने बुझिन्थ्यो । त्यसलाई पार गरेपछि निगालो घारी आयो । निगालो हातले पन्छाउँदै अलि खुला स्थान भेटिएपछि रोकिएर अगाडि हेर्यौं । निगालो घारी सिवाय केही देखिएन । भुईंमा घाँस उत्तिकै थियो ।
बाटो त डेढ घण्टा अगाडिदेखि नै बिराएका रहेछौं तर बल्ल हराएको सबै निश्चित भयो । मनमा चिसो पस्यो । मन सबैको आत्तिएको थियो तर दिपीनले व्यक्त गर्यो । दिपीनले भन्यो– अर्को समूह पनि अलपत्र पर्यो कि ? त्यस समूहमा उनको छोरो थियो । मैले ढाडस दिए– त्यो समूहमा तीर्थ भएकोले चिन्ता गर्नुपर्दैन । तीर्थलाई बाटो थाहा छ । अब बाटो पहिल्याउँदा अँध्यारो हुन्छ भन्ने सोचेर मैले झोलाबाट हेडलाइट झिकेर टाउकोमा उनें ।
मैले दिपीनलाई सोधेः अब के गर्ने ? यहि बाटो अगाडि बढ्ने हो भने पनि बाटो भेटिन्छ भन्ने ग्यारेण्टी छैन । अँध्यारो भयो भने आपत् पर्छ । दिपीनले मेरो मनकै कुरा गर्यो– फर्कौं, अगाडि नबढौं । मैले थपें, फर्किएर बोर्ड भएको ठाउँसम्म जाउँ । त्यहाँ गोठ छ, गोठालो पक्कै फर्केको होला । उसलाई बाटो सोधौंला वा बाटो चिन्ने एक जना गाइड खोजिदेऊ भनौंला, केही उपाय निस्किहाल्छ । अहिलेसम्म फर्कने बाटो बिर्सेका छैनौं । अगाडि बढ्दा फर्कने बाटो पनि बिर्सने जोखिम थपिन्छ । गोठालोले केही नभएर खोले ख्वाइहाल्छ । सुत्नलाई गोठ छँदैछ । दुई घण्टा थप उकालो हिंड्नुपर्ने भयो । त्यसलाई गल्तीको सजाय मानौं । मैले लामै बोलें ।
सबैको सहमति भएपछि क्लान्त शरीरलाई उकालो चढायौं । थकथकीले होला फर्किंदा सबै चुपचाप थिए । त्यो मौनतामा पक्कै झोंक मिस्सिएको हँुदो हो । हिंड्दा पात सर्याक सर्याक बजेको सुनिन्थ्यो । अनायास त्रिवेणीले मलाई सोध्यो “दाइ, आर वि हन्टेट ?” तत्क्षण म रनभुल्लमा परें । तर त्यस्तो भाव नदेखाई भने “मलाई त्यस्तो लाग्दैन । गल्ती भयो, त्यसैको परिणाम हो, यो दुःख ।” “दाइ कति र्यासनल हुनुहुन्छ भनेर सोधेको”, त्रिवेणीले भन्यो । नेक्स्ट लेभलै हो । हिजो बाटामा र्यासनालिटीको बारेमा केहीबेर कुराकानी भएको थियो, त्यसैले सोधेको थियो शायद ।
फटाफट हिंडेकोले एक घण्टामै बोर्ड भएको स्थानमा आइपुग्यौं । दुई नेपालीहरू पनि बाटो खोज्दै थिए । यसै ठाउँबाट हामीले बिराएका थियौं । हामीले त बाटो बिराएछौं, यस्तै भन्यौ । उनीहरू पनि सतर्क भए । म बाटो खोज्न थोरै तल जंगलसम्म झरें । फर्केर डोलीनलाई भनें– तल मान्छे हिंड्ने बाटो जस्तो देखिन्छ । दुवै झर्यौं । डोलीनको पैनी नजरले मान्छेको जुत्ताको पदचिह्न देख्यो । निधार खुम्च्याउँदै मसिनो गरी नियाल्दै भन्यो– ताजै छ पदचिह्न ।
बाटो छेउको रूखमा लगाएको नीलो पेन्टमा पनि उनको दृष्टि पुग्यो । बाटो यही हो जस्तो छ, डोलीनले भनेपछि दिपीन र त्रिवेणीलाई आवाज लगायौं र ओरालो झर्यांै । बीस, तीस मिटरको दूरीमा रूखमा नीलो पेन्ट देख्दै गएपछि यकिन हुँदै आयो, सही बाटो यही हो । केही समयपछि एउटा चौतारो आइपुग्यो । चौतारो नजिक पिस्ता बदामका ताजा बोक्रा देखेपछि ढुक्क भयौं । भोक बढ्दै गयो तर बाटामा कतै खाने सुविधा छैन । भोक लागेपछि झाेंक चल्दो रहेछ । जीवनमा यति कहिल्यै थाकिएन ।
हिंडेको छ, हिंडेको छ । नदी किनारसम्मै पुग्नुपर्छ भन्ने थाहा छ तर नदी देखिएको होइन । नदी सुसाएको मात्र सुनिन्छ । बल्लतल्ल रूखहरूको बिचबाट अस्पष्ट सेतो धर्सा जस्तो देखियो । नजिक पुगेपछि देखियो, त्यो ग्राभेल सडक रहेछ । सडकको एक छेउमा जलविद्युत्को ठूलो पेनस्टक पाइप बिछ्याइएको थियो । सडकमै भूपीन, तीर्थ, प्रेम, अस्तित्व र उत्सव हामीलाई कुरिरहेका थिए । सबैको अनुहार उज्यालियो । सहयात्रीहरू भेटिएपछि सन्तोषको सास फेर्यौं । भूपीनले भन्यो– धेरै कुर्दा पनि तपाईंहरू नआएपछि हामीले चिच्यायौं तर कसैको जवाफ फर्किएन । मैले भनें– कहाँ, बाटो बिराएर हामी निगालोघारीतिर पुगेछौं, बल्लतल्ल फर्केर बाटो समात्यौं ।
केही क्षण सडकमै पल्टिएर आराम गर्यौं । सुनसान ग्राभेल सडकमा थाकेर झोलाको सिरानी हाली सबै यत्रतत्र लडेका थिए । ओरालो कडारहेछ ब्रदर, मैले भूपीनलाई भनें । यतिको कठिन मलाई पनि कहिल्यै भएको थिएन, भूपीनले पनि आफ्नो अनुभव बतायो । संरक्षण कविता यात्राताका भूपीन कडा हिंड्थ्यो । अहिले उसको हिंड्ने बानी छुटेछ । विश्राम गरिरहन कहाँ पाइन्थ्यो र ? सडक मुन्तिरबाट गोरेटो बाटो समात्यौं । छपनी ढुङ्गा नहालिएकोले यो बाटो कठिन लाग्यो । वर्षा भर्खर सकिएको भए पनि खोल्साहरू सक्रिय थिए । केही स्थानमा लेउ लागेको ढुङ्गामा हिंड्न जोखिम थियो । यस खण्डमा म तीर्थसँग भएँ । जुत्ताभित्र औंला ठोक्किएर मलाई हिंड्न बाधा भयो । तीर्थ त झन् किड्नी फेरेको, औषधि चलिरहेको अवस्थामा पनि साथीहरूकै लागि भनेर उनले यो दुस्साहस मोलेको थियो ।
ठाडै भिरालो छ । दश मिनेट हिंड्यो, तीन मिनेट विश्राम । दश मिनेट हिंड्यो, तीन मिनेट विश्राम । तै लौरोकोे भर थियो । हुगु अब आयो भन्छु, आउँदैन, अब आयो भन्छु, आउँदैन । तीर्थ पनि ठाउँ–ठाउँमा उभिंदै बिसाउँछ, लौरोको टेकोको सहारामा । तीर्थको आत्मबललाई मानें मैले । तीर्थले दीर्घ निःश्वास लिंदै भन्यो– २०४३ सालमा नुट्हा आएको थिएँ । त्यहाँबाट क्हफुचे पनि पुगेको थिएँ ।
क्हफुचेमा हिमताल थिएन, हिउँको पत्रहरू मात्र थियो । त्यतिबेला त यो बाटो सजिलो लागेको थियो । अहिले त अचम्मकै अप्ठ्यारो लाग्यो । उनी अचम्भित देखिन्थे । मनमनै सोचें– तीर्थ त्यसवेला लक्का जवान हुँदो हो । त्यही भएर ख्यालख्यालमै ओरालो कट्यो । अब त तीर्थ पनि पचास छेउछाउ पुग्यो होला । सुनेको थिएँ– मान्छेको ढुङ्गा चपाउने उमेर हुन्छ, आँगन टाढा लाग्ने उमेर पनि । मेरो पनि हालत त्यस्तै थियो ।
बल्लबल्ल नदी देखियो । नदीको किनारै किनार हिंडेपछि झोलुङ्गे पुल आइपुग्यो । पारि हुगु धमिलो देखियो । त्यसपछि करिब आधा घण्टा खोला किनारको उत्तिसघारी हुँदै अगाडि बढेपछि अर्को लामो झोलुङ्गे पुल आयो । पुलको अर्को छेउमा भूपीन, प्रेम, त्रिवेणीहरू हामीलाई पर्खंदै रहेछन् । कारण पुलबाट दायाँ क्हफुचे र बायाँ हुगुको बाटो छुट्टिन्थ्यो । बेलुकीको ६ बजेको थियो । अब थप हिंड्न सकिंदैन, क्हफुचे नजाउँ, आज हुगुमै बसौं, सल्लाह भयो ।
हुगु मात्र दश मिनेटको दूरीमा थियो । बेलुकी खाना खाएर क्याम्प फायर गर्यौं । नौ, दश घण्टाको आजको हिंडाइ सबैको जीवनको सर्वाधिक कठिन हिंडाइ रह्यो भन्ने निष्कर्ष निस्क्यो । मेरो पनि त्यही निष्कर्ष रह्यो । पच्चीस, तीसको उमेरमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको कर्मचारी हुँदा म कडै हिंड्थें । अब त्यसरी हिंड्न नसकिने रहेछ भन्ने बोध भयो । उमेर मुख्य कारण हो । भोकै हिंड्नु परेर पनि कठिनाइ थपिएको थियो ।
नमस्ते होटलमा बस्यौं । बाटामा भेटिएका दुई यात्री आमा–छोरा रहेछन् । उनीहरू पनि बेलुकी त्यही होटलमा बस्न आइपुगे । पहिलो पटक भेट्दा मैले पति–पत्नी वा प्रेमी–प्रेमिका … केही होला भनी सोचेको थिएँ । आमा–छोरा दुई जना मात्र यस्तो दुर्गम स्थानमा आउँछन् भनेर सोच्न सकिनँ । स्टेरियो टाइप्डमा फसें । नाता थाहा पाएपछि… के सोच्न पुगेछु भनेर थकथकाएँ । छोराप्रति सम्मानभाव उब्ज्यो । आजभोलि यस्ता पोष्टमोर्डन श्रवणकुमारहरू लोपोन्मुख प्राणी भइसके ।
२२ असोज, २०८१ । बिहानै चिया पिएर क्हफुचेको निम्ति कुच गर्यौं । संसारकै सबभन्दा होचो स्थानमा (२४५० मी.) अवस्थित हिमताल भनिएको क्हफुचे कस्तो होला भन्ने उत्सुकता धेरै समय अघि थियो । काठमाडौंमै क्हफुचे सम्बन्धी तीन वटा युट्युब हेरेको थिएँ । अतीव सुन्दर त्यसलाई नजिकैबाट हेर्ने लालसा झन् बढेको थियो । हुगुबाट क्हफुचेको बाटो सजिलै रहेछ– थोरै उकालो, तेर्पाइ तेर्पाइ र अन्त्यमा थोरै ओरालो । एक स्थानमा निगाला घारीको पछाडि पोका जस्तो बेवारिसे वस्तु देखियो । नजिक गएर हेर्दा, त्रिवेणीको झोला रहेछ । किन छाडेको होला बाटैमा ? झोला हराउन पनि सक्थ्यो । सवा घण्टामा क्हफुचे पुग्यौं ।
अन्नपूर्ण शृंखलाबाट निःसृत दूधपोखरी । शान्त परिवेश मानौं ताल गहिरो प्रश्रान्ति ओढेर बसेको छ, जसरी हिमाली गुफामा भिक्षुहरू ध्यान बस्छन् । जल छोएँ । त्यसको चिसो मुटुसम्मै पस्यो । हिमतालको क्षेत्रफल १० हेक्टर रहेछ । अर्धचन्द्राकार । शान्त र सुन्दर ताल देखेर मुग्ध भयौं । अस्तित्व र उत्सव बाबु धेरै खुशी देखिन्थे । उनीहरू हर्षविभोर भई क्हफुचे वी लभ यू…. क्हफुचे वी लभ यू….. चिच्याइरहेका थिए । अस्तित्वको पहिलो पदयात्रा, यति सुन्दर ठाउँमा । अस्तित्वलाई भूपीनले दिएको यो भन्दा सुन्दर गिफ्ट के हुन सक्थ्यो र ? क्हफुचेमै तीर्थको साइला भाइको होटलमा ब्रेकफास्ट खायौं तर साइलासँग भेट हुन सकेन । उनी भेडी गोठतिर रहेछन् ।
फर्केर हुगुमा खाना खायौं । डोलीनले भन्यो-अब ६ घण्टाजति मज्जाले खिचौं, त्यसपछि सिक्लेस पुगिन्छ । खिच्ने भनेको कस्सिने । तीन चारवटा साँघु तरेपछि म डोलीन र दिपीनसँग भएँ । मैले पनि आफूलाई सक्दो खिचें । दिपीनले पनि स्वयम्लाई मज्जाले खिचे, दुई हातमा लट्ठीको सहाराले । बेलुकी लोकल कुखुराको झोलसँग भात खाने सल्लाह भए मुताविक सिक्लेसमा तीर्थले खबर पठाइसकेको थियो ।
थकान र भोकमा लोकल कुखुराको झोलको कल्पनाले लखेट्नु लखेट्यो, अँध्यारोले जसरी । हामी सिक्लेसमा तीर्थको माइला भाइबुहारीले सञ्चालन गरेको होमस्टेमा बसेका थियौं । दिपीन र डोलीनले मोबाइलको टर्च बाले । मैले हेड ल्याम्प । भूपीन, तीर्थ, प्रेमहरू पछिल्तिरको डाँडामा आइपुगेको देखियो- हिंडिरहेको टर्चहरू देख्दा ।
हेड लाइटको सहाराले करिब एक घण्टा हिंडेपछि एउटा मोडबाट सिक्लेस गाउँ झलमल्ल बलेको देखेपछि आनन्द अनुभव भयो । अब हिंड्नु नपर्ने भयो भन्ने सम्झँदा खुशीको भाव आयो, साथै भोलि सहयात्रीहरूसँग छुट्टिनुपर्छ भन्ने कल्पनाले उदास जस्तो बनायो । किन भावहरू सधैं छ्यासमिस भएर आउँछ ? बिटरस्विट । यसपटक पनि यात्रामा खुशी र उदासी दुवैसँग जम्काभेट भयो ।
प्रतिक्रिया 4