+
+
२०२४ का पुस्तक :

हरारीको नेक्ससदेखि मार्खेजको अर्धलिखित उपन्याससम्म

विभिन्न पत्रिकाहरूको सूची चहार्दा आख्यान, गैरआख्यानमा प्रयोगपरक, अनि व्यक्तिका निजात्मक समस्याहरूलाई चिहाउने खालका पुस्तककै बोलवाला रहेको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते २१:४०

सन् २०२४ सकिँदै गर्दा विश्वभरि लेखिएका किताबहरूको कोणबाट यो वर्ष कस्तो रह्यो भनी विवेचना भइरहेको छ । द गार्जियन, न्युयोर्क टाइम्स, न्युयोर्करदेखि कतिपय क्षेत्रीय पत्रिकाहरूले, अनि कतिपय व्यक्तिका ब्लगले तिनको चित्रण गरिरहेका छन् ।

अनलाइनखबरले तयार पारेको यो सूची केही युरोपेली, दक्षिण अमेरिकी, उत्तर अमेरिकीलगायत भारतीय पत्रिका द वायर, आदिमा एसियाली पत्रिकामा आधारित छ । विभिन्न पत्रिकाहरूको सूची चहार्दा आख्यान, गैरआख्यानमा प्रयोगपरक, अनि व्यक्तिका निजात्मक समस्याहरूलाई चिहाउने खालका पुस्तककै बोलवाला रहेको देखिन्छ ।

युवल नोअ हरारीको ‘नेक्सस’ :
हरारीले यसै वर्ष बजारमा ल्याएको ‘नेक्सस’ अ ब्रिफ हिस्ट्री अफ् इन्फर्मेशन नेटवक्र्स फ्रम द स्टोन एज टु एआई तुरुन्तै बेस्टसेलर भयो । यसमा उनले मानिसले ढुंगेयुगदेखि अत्याधुनिक युगसम्म आइपुग्दा आफ्नो सामथ्र्य कसरी अर्को प्रविधिसामू निर्भर गराउँदै लग्यो भन्नेबारे विस्तारमा लेखेका छन् ।

अहिलेको समयको सबैभन्दा ठूलो विशेषता र सबलता भनेको सूचना र नेटवर्क हो भन्ने हरारीको निष्कर्ष छ । को कति शक्तिशाली छ भन्ने कुरा उसँग कति सूचना छ, अनि ऊ कति प्रभावकारी र समर्थ सन्जालभित्र आबद्ध छ भन्ने कुराले गर्छ भन्ने यो किताबमा छ ।

किताबमा हरारी सँगसँगै भन्छन्, ‘सूचनाले शक्ति त मापन गर्छ, तर यसले सत्य पनि पर्गेल्छ भन्ने चाहिँ होइन । सूचना नै सत्य होइन । अनि नेक्सस र नेटवर्कले व्यक्तिलाई शक्तिशाली बनाए पनि उन्नत बनाउन योगदान गर्छ नै भनेर ग्यारेन्टी गर्न सकिन्न ।’

मार्खेजको ‘अन्टिल अगस्ट’ :
ग्याब्रियल गार्सिया मार्खेजको देहान्त भएको दस वर्ष भयो, तर अझै पनि उनी संसारभर उत्तिकै रुचिसाथ पढिन्छन् । सलमान रुस्दीले मार्खेजलाई पछिल्लो ५० वर्षका सबैभन्दा शक्तिशाली लेखक भनेका छन् । यिनै मार्खेजको सबैभन्दा लोकप्रिय उपन्यास वन हन्ड्रेड इयर्स अफ् सोलिट्युडमा यसै वर्ष नेटफ्लिक्सले महत्वाकांक्षी टिभी सिरिज पनि बनाएको छ ।

र, यसै वर्ष मार्खेजको आधा लेखिएको उपन्यास अन्टिल अगस्ट सार्वजनिक भएको छ ।

मग्दलेना नाम गरेकी अधवैंशे महिलाको अनौठो यौन–रोमान्चकतामा यो उपन्यास आधारित छ । ऊ एउटा होटलमा बेलाबखत आउने गर्छे । अनि बाफै बाफले भरिएको कोठामा बसेर परपुरुषसँग यौनतुष्टि पूरा गर्छे । मग्दलेनाले चाहेको एकान्त र स्वखोजलाई मार्खेजले अलौकिक खालको कथा बुनेर प्रष्ट गरिदिएका छन् ।

खासमा मार्खेजले यो लेखिसक्न खोजेका थिए । तर, उनको देहान्तका कारण किताब बीचमैमा अड्केको थियो । विश्वप्रसिद्ध लेखकको आधा किताब छापिन सन् २०२४ नै कुर्नुपर्यो । प्रशंसकहरूले प्रेमले पढे पनि न्युयोर्क टाइम्सले यो किताबको समीक्षा गर्दै भनेको छ, ‘मार्खेजजस्तो महान उपन्यासकारको असन्तोजनक बिदाइ ।’

सलमान रुस्दीको ‘नाइफ – मेडिटेसन्स आफ्टर एन एटेम्प्टेड मर्डर’ :
रुस्दीले आफ्नै जीवनकालमा भोगेको सर्वाधिक त्रासद क्षणका बारेमा लेखिएको किताब हो ‘नाइफ ः मेडिटेसन्स आफ्टर एन एटेम्प्टेड मर्डर’ । सटानिक भर्सेज लेखेपछि फतवा जारी गरिएका यी विश्वप्रसिद्ध लेखकमाथि दुई वर्षअघि न्युयोर्कमा हत्या प्रयास गर्दै हादी मातार नामक २४ वर्षीय युवकले चक्कु हानेको थियो ।

रुस्दीमाथि यसअघि पनि आक्रमण र हत्या प्रयासहरू हुने गरेका छन् । यो किताबमा रुस्दीले आफू पछिल्लो हत्या प्रयासमा मुस्किलले जोगिएपछि जीवनका बारेमा गरेका अनौठा चिन्तनहरूलाई किताबमा समेटेका छन् ।

रुसी विपक्षी नेता नाभाल्नीको ‘पाट्रियट’ :
रुसी विपक्षी नेता अलेक्सिई नाभाल्नी मुलतः भ्लादिमिर पुटिन नेतृत्वको सरकारका ठूला भ्रष्टाचार काण्ड उजागर गर्ने अभियानमा सामेल थिए । उनलाई धेरैपल्ट गिरफ्तारी, धरपकड लगायत दुःख दिइएको थियो । आर्कटिक सिमानानेर लगेर उनलाई उपचार क्रममा विष पिलाइएको थियो ।

उनले लेखेको यो दोस्रो किताब पाट्रियट अर्थात् देशभक्तले वास्तविक देशप्रेमी रुसी जनता र सचेत वर्ग रहेको भन्दै पुटिनको आलोचना गरेको थियो । नाभाल्नीले हिरासत र कैदमा काटेका कष्टकर दिनहरूको डायरीसहित विवेचना यो किताबमा छ । नाभाल्नीका बारेमा संसारैभरि चासो रहेकाले यो किताबले स्वतः चर्चा पायो ।

स्पटिफाइको कथा लेखिएको पुस्तक ‘मुड मेसिन’ :
सन् २००६ मा स्वीडेनमा आविष्कार तथा खडा गरिएको स्पटिफाइ अचेल नेपालमा पनि धेरै सुनिन्छ । पछिल्ला नेपाली गीतले स्पटिफाइमा बनाएका रेकर्डबारे रिपोर्ट नै छापिने गर्छन् । यही स्पटिफाइबारे लिज पेलीले लेखेको पुस्तक मुड मेसिन पनि चर्चामा रह्यो ।

संसारभरिको सुन्ने संस्कृतिलाई स्पटिफाईले कसरी उन्नत स्तरमा परिवर्तन गर्न पुग्यो भन्नेबारे यो पुस्तक लेखिएको छ । पहिले एमटिभी वा अरु प्लाटफर्ममा गीत सुन्दै आएकाहरूले युट्युबजस्ता ठाउँमा आफूलाई नपाएका होइनन् । तर, स्पटिफाइले संगीतको गुणस्तरदेखि स्रोताको छनोटसम्मलाई जितेर अघि बढेको कुरा यो पुस्तकमा उल्लेख छ ।

पेड्रो अल्मोदोभारको कथा संग्रह ‘द लास्ट ड्रिम’ :
स्पेनी फिल्ममेकर निर्देशक अल्मोदोभार संसारभरि प्रसिद्ध हुनुको मूलकारण उनले प्रयोगपरक ढाँचामा बनाउने सिनेमाको लोकप्रियता नै हो । तिनै फिल्मकर्मी अल्मोदोभरले १२ कथा समेटेर संग्रह ल्याएका छन् । संसारभरि शुद्धतावादका बारेमा विभिन्न भ्रमहरू छन्, जसलाई अल्मोदोभार तोड्न चाहन्छन् । उनी धार्मिक व्यक्ति, यौनकर्मी, पप संस्कृति, इमानदार चोर, भूतप्रेत इत्यादिलाई कथामा जोड्छन् ।

उनका सिनेमा एउटै विधमा सीमित छैनन्, कथा पनि त्यस्तै । कुनै कुरालाई पाउने चरम इच्छा, तर इच्छाशक्तिको अभावले थलिएका बिजोग पात्र उनका लेखनस्रोत हुन् । उनले यो किताबलाई टुक्राटुक्रामा बुनिएको आत्मवृत्तान्तसमेत भनेका छन् । उनी भन्छन्, ‘जे सिनेमा बनाउँछु वा लेख्छु, खासमा म त्यही बाँचिरहेको हुन्छु ।’

स्याली रुनीको नयाँ आख्यान ‘इन्टरमेज्जो’ :
स्याली रुनीको इन्टरमेज्जो दुई दाजुभाइको कथा हो, जो आफ्ना पिताको मृत्युमा शोक मनाउँदै एकअर्कासँग र उनीहरूको जीवनका महिलासँग सम्बन्ध बनाउने प्रयास गर्छन् । प्रेम, यौन सम्बन्ध, र दुःखको गहिरो परीक्षण प्रस्तुत गर्ने यो उपन्यासमा आपसी द्वन्द्वयुक्त चेतनाको प्रकटीकरण पनि छ ।

रुनीका नर्मल पिपुललगायत पुस्तक यसअघि नै चर्चित छन् । पछिल्लो दशकमा उनी सर्वाधिक पढिनेमध्येकी लेखिका हुन् । रुनीले आधुनिक सहरी जीवनमा देखा पर्ने व्यक्तिवादी तनाव र अन्तरव्यक्ति सम्बन्धमा देखा पर्ने जटिलता बेजोड चित्रण गर्छिन् । इन्टरमेज्जोमा पनि यसको प्रस्तुति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?