
“एक दिन भात पकाउँदै गर्दा प्रहरी घरमा पुगेर ‘तेरो बामे छोराछोरीलाई खुवाउन भात पकाउछेस् !’ भन्दै आगो बाल्न समेत दिएनछन्, त्यसपछि आमाले एक महिनासम्म पनि प्रहरीको डरले आगो नबाली काँचै अन्नपात खाँदै बस्नुभएछ ।” यो हरफ यहाँ चर्चा गर्न लागिएको पुस्तक ‘नेपालमा सुरुङयुद्धः रत्नकुमार बान्तवाको संघर्ष र बलिदानको वृत्तान्त’ भित्रबाट लिइएको हो ।
माथिको अनुच्छेदको पहिलो लाइनबाट बुझ्न सकिन्छ पञ्चायतकालीन दिनहरू कति भयानक थिए । यिनै भयानक दिनहरूबाट नेपाली जनताका मुक्ति निम्ति धेरै शहादत भएको छ । नेपालको प्रजातन्त्रको आन्दोलनमा विभिन्न व्यक्तिले आ–आफ्नो ढंगबाट योगदान दिएका छन् । तिनैमध्येका एक हुन्, कम्युनिस्ट नेता रत्नकुमार बान्तवा ।
भियतनामी सुरुङयुद्धबाट प्रभावित भएर नेपालको पञ्चायत विरुद्धको आन्दोलनमा समेत सुरुङयुद्ध एउटा गतिलो प्रयोग हुनसक्छ भनेर रत्न बान्तवाले यसलाई अभ्यास गर्दैथिए । यसै परिपे्रक्ष्यमा उनको हत्या भयो । उनै रत्नकुमार बान्तवाको सुरुङयुद्ध र त्यसको पेरीफेरीका घटनाहरूको सिलसिलाबद्ध वर्णन हो यो पुस्तक ‘नेपालमा सुरुङयुद्ध–रत्नकुमार बान्तवाको संघर्ष र बलिदानको वृत्तान्त’ ।
यस अनुसन्धानमा आधारित पुस्तकका लेखक हुन् सञ्चारकर्मीद्वय अर्जुन उप्रेती र जसकुमार राई । यस पुस्तकका १५० वटा पेजहरू विभिन्न १२ वटा शीर्षकमा बाँडिएका छन् ।
नेपालको पञ्चायत विरुद्धको आन्दोलनका अभूतपूर्व गाथाहरू, नेपालको कम्युनिस्ट आन्दोलनको घटना, परिघटना र यस आन्दोलनमा अभूतपूर्व योगदान दिने नेता–कार्यकर्ताहरूको बारेमा रुचि हुने कम्युनिस्ट र गैर–कम्युनिस्ट सबैले एकपटक पढ्नै पर्ने पुस्तक हो, यो ।
ऐतिहासिक घटनाको बारेमा पुस्तक लेख्नु चानचुने कुरा होइन । इतिहास बनाउनेले बनाएर जान्छ तर इतिहास लेखिदिनेले त्यसलाई नलेखिदिने वा सही ढंगले नलेखिदिने हो भने त्यस्ता इतिहासहरू समयसँगै विलीन हुँदै जान्छन् । यस पुस्तक मार्फत लेखकहरूले लेख्नै पर्ने र अगाडि ल्याउनै पर्ने विषयलाई अगाडि ल्याएर यो समाजलाई ठूलो गुन लगाउनुभएको छ जस्तो मलाई लाग्दछ ।
पार्टी संगठनमा हिंडिरहेको बेला २०३५ साल चैत २७ गते इलाममा मारिएका रत्नकुमार बान्तवालाई नेपाल सरकारले २०७३ सालमा शहीद घोषणा गर्यो । रत्नकुमार बान्तवाका विषयमा धेरै पुस्तक लेखिएको पाइन्छ ।
नेकपा (एमाले) का नेता प्रदीप नेपालले सञ्जय थापाको नाममा लेखेको ‘देउमाईको किनारमा’ भन्ने पुस्तक रत्नकुमार बान्तवाको जीवनीमा आधारित पुस्तक हो । जसलाई पछि चलचित्रको रूपमा समेत ल्याएको पाइन्छ । त्यसैगरी अन्य धेरै पुस्तक र छिटपुट लेख–रचना मार्फत रत्नकुमार बान्तवाको बारेमा चर्चा गरिएको छ ।
ती पुस्तक र लेख रचनाहरूको सूची सन्दर्भ सामग्रीको रूपमा पुस्तकमा राखिनुले यस पुस्तकको आधिकारिकतालाई थप बलियो बनाएको छ । सँगै पुस्तकमा शहीद रत्नकुमार बान्तवाको हत्या हुँदा सँगै रहनुभएकी सुशीला श्रेष्ठ, राममाया र अगम बान्तवाहरूको भनाइहरू मार्फत नै घटनाहरूको वर्णन गर्नुले पुस्तक आफ्ना तथ्यहरूमा थप बलियो भएको छ ।
शहीद रत्नकुमार बान्तवा नेपालको राजनीतिक परिवर्तनका निम्ति शस्त्रअस्त्रले भरिपूर्ण तत्कालीन पञ्चायती सरकारसँग शान्तिपूर्ण ढंगले गरिएको आन्दोलनले परिणाममुखी बनाउन सकिंदैन भन्ने सोच्दथे । त्यसैले उनले युद्धका निम्ति विभिन्न ढंगले तयार रहन सुरुङ निर्माण गर्दै थिए । सोही सुरुङ निर्माण भइरहँदाको समयमा उनको हत्या भयो । यस पुस्तकमा उक्त सुरुङ निर्माणको पृष्ठभूमि, निर्माण भइरहँदाका विभिन्न घटना–परिघटना उल्लेख गरिएको छ । सारमा भन्दा पुस्तक उक्त सुरुङ निर्माणलाई केन्द्रमा राखेर लेखिएको छ । त्यसैले यो रत्नकुमार बान्तवाको एउटा नखोलिएको पाटोको बारेमा लेखिएको पुस्तक हो ।
एउटा सानो खाल्डो खन्न समेत प्रशस्त मिहिनेत लाग्दछ । रत्नकुमार भने सुरुङ निर्माण गर्दै थिएँ । रत्नकुमार बान्तवा प्रहरीबाट लुक्न, भूमिगत रूपमा संगठनका बैठक चलाउन सुरुङ निर्माण गर्न तयार थिए र त्यो काम अगाडि बढाइरहेका थिए । नेपाली जनताको स्वतन्त्रताका निम्ति उनी लडिरहेका थिए । पुस्तकमा यी कुराहरू उल्लेख छन । पार्टी गौण विषय हो । त्यसकारण रत्नकुमार एउटा पार्टी विशेषको भन्दा पनि समग्र नेपाली जनताको नेता हुन् भन्ने भाष्य निर्माणमा समेत पुस्तक सफल भएको छ भन्ने मलाई लागेको छ ।
अनलाइनखबरमा केही वर्ष पहिले नेपालका सुरुङहरूको विषयमा एउटा लामो आलेख प्रकाशित छ । लेखक रवीन्द्र दाहालले तयार गर्नुभएको “सुरुङ युग नआउँदै नेपालमा २५० किलोमिटरभन्दा बढी सुरुङ !” भन्ने शीर्षकको उक्त आलेखमा नेपालका धेरै सुरुङको बारेमा उल्लेख गरिए पनि यस सुरुङको बारेमा उल्लेख गरिएको छैन । त्यसैले पनि यो पुस्तक धेरै चर्चा नपाएको कोणबाट लेखिएकाले महत्वपूर्ण र सङ्ग्रहणीय पुस्तक हो भन्ने मलाई लाग्छ ।
नेपालको कम्युनिस्ट आन्दोलन आजको दिनसम्म आइपुग्दा प्रशस्त प्रश्नहरूको बीचमा अनुत्तरित छ । कम्युनिस्ट पार्टीहरू अनेक नाममा विभक्त छन् । पार्टीका नेताहरूले प्रश्न गर्नका निम्ति अनेकन् ठाउँ छोडेका छन् । हिजो अनेकन् यातना, पीडा, उत्पीडन र अन्यायका बीचमा कम्युनिस्ट भएर हिंडेका र संगठनले आवश्यकता ठानेको बेला ज्यानको आहुति दिन तयार पुस्ता आज पहिचानको घेराभन्दा पर छ । ती गुमनाम कार्यकर्ताहरूले आजको राजनीतिका बारेमा के सोचिरहेका होलान् भन्ने प्रश्नको उत्तर यस पुस्तकको अर्को महत्वपूर्ण भाग हो । राजनीतिका कारण कति जेल परे, रत्नका परिवारका मानिस भएका कारण उनका आफन्तको सम्पत्ति लिलाम गरियो, तिनका बारेमा पुस्तकमा चर्चा गरिएको छ ।
रत्नकुमार बान्तवा जनवादी साहित्य लेख्दथे । प्रजातन्त्र प्रतिको चेतना उनी साहित्य मार्फत समेत बोल्दथे । उनका कतिपय साहित्यिक रचना प्रकाशित भए, कतिपय भएनन् । उनै रत्नकुमार बान्तवाका केही रचनाहरू पुस्तकमा संग्रह गरिएको छ । यस्ता धेरै विशेषताले पुस्तक यो समाजका निम्ति एउटा राम्रो सम्पत्तिको रूपमा लेखक द्वयले तयार गरेका छन् ।
निश्चित रूपमा कुनै पनि कार्य शतप्रतिशत राम्रो हुन सक्दैन । यस्ता केही समस्याहरू पुस्तकमा देखिन्छन् । रत्नकुमार बान्तवा भियतनामी सुरुङयुद्धबाट प्रभावित थिए भनेर पुस्तकमा लेखिएको छ । यद्यपि भियतनामी सुरुङयुद्धको साहित्य पुनरावलोकनका निम्ति लेखकहरूले मिहिनेत गरेको देखिंदैन । पुस्तकमा हुलाक टिकटमा रत्न भनेर एउटा सानो अनुच्छेद राखिएको छ तर उक्त हुलाक टिकट त्यहाँ राखिएको छैन । अन्तर्वार्ता लिएका मानिसहरूको तस्बिर राखेर किताबलाई थप आकर्षक बनाउन लेखकहरू चुकेको भान हुन्छ । रोचक पक्ष भने अन्य पुस्तकले प्रस्ट नपारेको वा नकारात्मक रूपमा व्याख्या गरेका केही पात्रहरूको चरित्रलाई यस पुस्तकमा सकारात्मक रूपमा व्याख्या गरिएको छ । यसले पाठकमा केही अन्योल सृजना गर्ला यद्यपि अहिलेका पाठकहरू आफैं पनि जागरुक हुने भएकाले त्यस्ता अन्योलता आफैं समाधान गराउनुहुनेछ ।
सरल ढंगले लेखिएको यो पुस्तक नेपालीले दैनिक जीवनमा बोलिरहने शब्दहरू प्रयोग गरिएको हुनाले पढ्न मिहिनेत गर्नुपर्दैन ।
समग्रमा यो गैर–आख्यान नेपाली राजनीतिको एउटा महत्वपूर्ण दस्तावेज हो । पञ्चायती कालरात्रि, त्यस समयको मानिसहरूको जीवन र उनीहरूको सामाजिक चरित्रको अध्ययन गर्न यो पुस्तक पढ्नैपर्ने हुन्छ ।
प्रतिक्रिया 4