+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने

उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्ता समक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्य अगाडि बढाउन आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र भियतनामबीच ५० वर्षे दौत्य सम्बन्धमा दुवै देशका व्यवसायीले आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेका छन्।
  • नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्।
  • भियतनामी चेम्बरका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले दुई देशबीच व्यापार र लगानीमा ठूलो सम्भावना रहेको बताएका छन्।

२५ मंसिर, काठमाडौं । नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा दुवै देशका व्यवसायीबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ ।

बिहीबार भियतनामको राजधानी हनोईमा भियतनामी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीले नेपालमा पर्यटन, जलविद्युत्, कृषि लगायत क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्ता समक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्य अगाडि बढाउन आग्रह गरे ।

ढकालले अब दुई देशबीच आर्थिक सहकार्र्य अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।’

उनले दुई देशको अर्थतन्त्र एकापसमा पूरक बन्न सक्ने पनि बताए । भियतनाममा कृषि उत्पादन, सि फुड, इलेक्ट्रोनिक्स लगायत उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उनले बताए ।

‘नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानुन पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ, साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ,’ उनले भने ।

नेपालको पर्यटन क्षेत्रमा विशेषगरी केबुलकार, रिसोर्ट, साहसिक पर्यटन, वेलनेस सेन्टरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्तालाई आफूहरूले स्वागत गर्न चाहेको बताए ।

उनले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यावसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्न निम्तो दिए ।

भियतनामी चेम्बरका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरू पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । उनले आर्थिक साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

‘दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहने छ,’ उनले भने ।

त्यस अवसरमा थाइल्यान्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउन आग्रह गरे ।

दुवै देशले व्यापार र लगानीका क्षेत्रमा भएको सम्भावना सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय विश्व अर्थतन्त्रमा नयाँ–नयाँ चुनौती देखिएको उल्लेख गर्दै दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिन सक्नुपर्ने आवश्यकता उनले औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?