+
+
Shares

भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते ७:०९
Photo Credit : AFP

काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ ।

अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ ।

तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ ।

डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सी र उनकी श्रीमती दुई रातसम्म घरको छतमा फसे । ‘हाम्रो गाउँ–छिमेक लगभग पूर्ण रूपमा नष्ट भयो, केही पनि बाँकी रहेन। चिहानहरू समेत ढाकिए,’ उनीहरुले एएफपीसँग भनेका छन् । छतमा चढ्न सफल भए पनि आफूहरू सुरक्षित महसुस नगरेको उनीहरुले बताएका छन् ।

नोभेम्बर १६ पछि दर्ता भएका मृतकमध्ये ६० भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन् । प्रान्तमा दशौँ हजार घर डुबानमा परेको वातावरण मन्त्रालयले जनाएको छ ।

सामान्यतया बाढीबाट जोगिन स्टलहरूलाई करिब पाँच सेन्टिमिटर उचाइमा राखिन्थ्यो, तर यसपटक पानी एक मिटरभन्दा माथि पुग्दा त्यो उपाय पनि निकम्मा भएको छ ।

गत हप्तामा डाक लाकसहित पाँच प्रान्तमा ८० हजार हेक्टरभन्दा बढी चामल र अन्य बाली नष्ट भएको थियो भने करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा मरेका वा बाढीमा बगेको अधिकारीहरुले बताएका छन् ।

सरकारले बाढी–पीडितलाई राहत बाँड्न हेलिकप्टर परिचालन गरेको छ । दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी खानेकुरा र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको राज्य सञ्चालित टुओई ट्रे न्युजले जनाएको छ ।

राष्ट्रिय राजमार्गका धेरै खण्ड अझै अवरुद्ध छन् भने कतिपय रेलवे सेवा स्थगित भएको छ ।

भियतनामको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यो वर्ष जनवरीदेखि अक्टोबरसम्म प्राकृतिक प्रकोपका घटनाले २७९ जनाको ज्यान लिएको वा बेपत्ता पारेको छ । कुल क्षति दुई अर्ब डलरभन्दा माथि पुगेको छ ।

दक्षिणपूर्वी एसियाली मुलुकमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ । तर विज्ञहरुले मानवसिर्जित जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटना थप बारम्बार र विनाशकारी हुने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?