+
+
Shares

मनसुन नआउँदै सुरु भयो राजमार्गमा सकस

काठमाडौं उपत्यकालाई जोड्ने मुख्य राजमार्ग नागढुंगा–मुग्लिनको अवस्था पनि दयनीय छ । यस खण्डको विभिन्न स्थानमा राजमार्ग विस्तारको काम जारी छ । प्रि–मनसुनमै यो राजमार्ग हुँदै यात्रा गर्नेले सास्ती भोग्नुपरेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ वैशाख २३ गते २२:०३
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु खण्डमा गत आइतबार बिहान हिलाम्य सडकमा फसेका सवारी साधन । तस्बिर : कृष्ण न्यौपाने/रासस

२३ वैशाख, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको दाउन्नेमा अहिले दिनहुँ राजमार्ग अवरुद्ध भइरहेको छ । चार लेनमा विस्तार गर्न लागिएको निर्माणाधीन यो सडकमा मंगलबार समेत यातायात अवरुद्ध भयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर र पैँसठ्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन रोक्नुपर्ने अवस्था आएको हो ।

अत्यधिक धुलो रहेको यो सडकमा थोरैमात्र पानी पर्दासमेत बाटो हिलाम्य बनेर सवारीसाधन चलाउन समस्या हुने गरेको छ ।

यस्तै समस्या कान्ति लोकपथमा समेत पटक–पटक दोहोरिएको छ । अघिल्लो साता परेको वर्षासँगै यो सडक पूर्णरूपमा बन्द गर्नुपरेको थियो । काठमाडौंबाट पूर्वी नेपाल जाने मुख्य राजमार्ग बीपीमा गत वर्षको बाढीले पुर्‍याएको क्षतिको स्थायी निर्माण भर्खरै सुरु भएको छ । जसले गर्दा यो राजमार्गका धेरै स्थानमा डाइभर्सनबाट यातायात सुचारु गरिएको छ ।

मनसुन अघिबाटै सुरु भएको यो सास्ती मनसुनमा अझ बढ्ने निश्चित छ । काठमाडौं उपत्यकामा मंगलबार करिडोर क्षेत्रको सडक अस्तव्यस्त भयो । विष्णुमती खोला करिडोरमा मंगलबार यातायात नै अवरुद्ध हुने अवस्था आएको थियो ।

काठमाडौं उपत्यकालाई जोड्ने मुख्य राजमार्ग नागढुंगा–मुग्लिनको अवस्था पनि दयनीय छ । यस खण्डको विभिन्न स्थानमा राजमार्ग विस्तारको काम जारी छ । प्रि–मनसुनमै यो राजमार्ग हुँदै यात्रा गर्नेले सास्ती भोग्नुपरेको छ । गत असोजमा आएको वर्षा र पहिरोमा परी यस खण्डमा ठूलो मानवीय क्षति भएको थियो ।

नागढुंगा सडकखण्ड

मंगलबार मात्र उदयपुर चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई बेल्हा गाउँको बीचमा त्रियुगा नदीको बाढीले एक बस बगाएको छ । यही स्थानमा बनाइएको पक्की पुल उद्घाटन नहुँदै भाँच्चिएपछि यहाँ वर्षायाम सुरु नहुँदै बस खोलाले बगाउन थालेको छ ।

सडक विभागका अनुसार प्रि–मनसुनमा राजमार्गमा ठूलो तयारी गरिएको हुँदैन । त्यसकारण स–सानो वर्षापछि उत्पन्न अवस्थाले समेत लामो समय यातायात अवरुद्ध हुने गरेको छ ।

विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार विभागले मनसुन सिजनका लागि भने आफ्ना उपकरण जोखिमपूर्ण मानिएका सडक खण्डमा चौबिसै घण्टा तयारी अवस्थामा राख्ने गर्छ ।

‘अहिले निर्माणको सिजन पनि हो, त्यसकारण विभागका उपकरण पनि भाडामा लगाइएको हुन्छ,’ उनी भन्छन् । प्रि–मनसुन अवधिमा देखिएको जोखिम मूल्यांकन गरी मनसुनका लागि तयारी हुनेसमेत उनको दाबी छ ।

यसपटक विभागले मनसुन समयका लागि बढी संवेदनशील मानेका सडक खण्डमध्ये बुटवल–नारायणगढ खण्ड एक हो । बीपी राजमार्गलाई समेत यस वर्ष संवेदनशील सडकका रूपमा राखेको महानिर्देशक पोखरेलले जानकारी दिए ।

त्यस्तै मुग्लिन–नागढुंगा खण्डलाई समेत संवेदनशील सडक खण्ड मानिएको उनले बताए । कान्ति राजमार्गलाई समेत विभागले यस वर्ष संवेदनशील मानेको छ । संवेदनशील मानिएका सडकमा मनसुन अवधिमा कम सास्ती हुने गरी अहिले निर्माणलाई गति दिइएको समेत उनले जानकारी दिए ।

अहिले दाउन्ने खण्डमा सडक विस्तार तीव्र बनाउन रातको समयमा सडक नै बन्द गरेर काम भइरहेको छ । नौबिसे–नागढुंगा सडक खण्ड समेत अहिले राति ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर काम थालिएको छ ।

पूर्वभौतिक सचिव तथा पूर्वाधारविद् देवेन्द्र कार्की प्रि–मनसुन अवधिबाटै सडक तथा राजमार्गमा देखिने सास्ती पूर्वतयारी नभई खनिएका ग्रामीण सडकका कारण उत्पन्न भइरहेको बताउँछन् ।

दाउन्ने सडक खण्ड

‘सडकको माथिल्लो भेगमा अन्धाधुन्ध खनिएका ग्रामीण सडकको लेदो भलसँगै राजमार्गसम्म आइपुग्छ, त्यसले सानो वर्षाका कारण पनि बाटो रोक्ने अवस्था आएको हो,’ उनी भन्छन् ।

दाउन्ने खण्डको विषय भने फरक भएको भन्दै उनी यसमा निर्माण व्यवसायीलाई जिम्मेवार बनाएर जोखिम न्यूनीकरण गर्न सकिने बताउँछन् । अहिले सडक विभागको संयन्त्र निकै बलियो रहेको र त्यसले केही मिनेट वा घण्टामै अवरुद्ध सडक खुलाउने गरेको समेत उनको भनाइ छ ।

‘बीपी राजमार्गमा जस्तै ठूलै पहिरो गएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा बाहेक भल–लेदो आएर लामो समय राजमार्गहरू अवरुद्ध हुने अवस्था अब छैन,’ कार्की भन्छन्, ‘विभागसँग उपकरण छन्, स्रोत र जनशक्ति पर्याप्त छ, त्यसको तुरुन्तै परिचालन गरेर यातायात सुचारु गर्न सकिन्छ ।’

ग्रामीण सडकका हकमा भने मापदण्ड बनाएर व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ ।

नेपालमा सामान्यतया जेठ अन्तिमबाट मनसुन प्रवेश गर्ने गर्छ । असोज मध्यसम्म मनसुन सक्रिय रहन्छ । बाढी र पहिरोले सबैभन्दा बढी क्षति समेत यसै अवधिमा गर्ने गर्छ । नेपालमा मनसुनको चार महिनामा ८० प्रतिशत वर्षा हुने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भिरालो जमिनमा जथाभावी सडक तथा भौतिक संरचना निर्माण मनसुनजन्य विपद् निम्त्याउने एक कारक रहने गरेको छ ।

अर्बौंको भौतिक क्षति

मनसुनका कारण मानवीय क्षतिसँगै सडक र पुलमा राज्यले हरेक वर्ष अर्बौं रुपैयाँ गुमाउँदै आएको छ । २०८० सालको मनसुनमा संखुवासभा, ताप्लेजुङ र पाँचथरमा मात्र २६ झोलुंगे पुल र १५ पक्की पुलमा क्षति पुगेको थियो । गत वर्ष असोज दोस्रो साता आएको बाढीले मात्र अर्थतन्त्रमा ४६ अर्ब ६८ करोड रुपैयाँ बराबरको क्षति गरेको अनुमान छ । त्यस दिनको बाढीले देशभरि ४४ पुल र ४१ स्थानको सडकमा क्षति पुगेको थियो ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?