+
+
Shares
सानदार सामुदायिक स्कुल :

महाकाली किनारबाट उत्कृष्ट शिक्षा दिंदै सुदूरको नमूना स्कूल

दार्चुला सदरमुकाम खलंगास्थित महाकाली किनारमा रहेको महेन्द्र नमूना माविमा विद्यार्थीको आकर्षण लोभलाग्दो छ । प्रशासनिक व्यवस्थापन, प्रभावकारी शिक्षण सिकाइ र उत्कृष्ट नतिजा ल्याइरहेको यो विद्यालय निजी विद्यालयका लागि नै चुनौती बनेको छ ।

जनक विष्ट जनक विष्ट
२०८२ वैशाख २४ गते २१:५२

सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्कहरू तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कुलमै खनिएको थियो भन्न सकिन्छ ।

तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।

यस वर्षमा सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्‍यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।

यावत प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थीहरू पढाइरहेका छन् र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमुना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं ।  – सम्पादक

धनगढी । ‘विद्यार्थी नभएर सामुदायिक विद्यालय बन्द हुने अवस्थामा !’, ‘विद्यार्थीभन्दा शिक्षक बढी !’, ‘सामुदायिक विद्यालयको स्तर खस्कियो !’ हिजो–आज मिडियामा दैनिकजसो यस्तै–यस्तै हेडलाइन पढ्न पाइन्छ ।

सामुदायिक विद्यालयका विषयमा नकारात्मक चर्चा बढी भइरहँदा देशमा यस्ता सामुदायिक स्कूल पनि छन्, जहाँ विद्यार्थीको आकर्षण लोभलाग्दो छ । संख्या बढी भएकै कारण एउटै कक्षामा पनि फरक–फरक समूह बनाएर सिकाउनुपर्ने अवस्था छ ।

विद्यार्थी संख्याको मात्र कुरा होइन, प्रशासनिक व्यवस्थापन, प्रभावकारी शिक्षण सिकाइ र उत्कृष्ट नतिजामा पनि कम छैनन्, ती विद्यालय । राम्रो शिक्षा दिने भन्दै प्रचार गर्ने निजी विद्यालयका लागि त चुनौती नै बनेका छन् ।

दार्चुलाको महेन्द्र नमूना माध्यमिक विद्यालय पनि यस्तै सानदार स्कूलको सूचीमा पर्छ । महेन्द्र नमूना मावि नाम जस्तै साँच्चै नमूना छ भन्ने थाहा पाउन विद्यालय स्थापना र विकासका पक्ष खोतल्नुपर्ने हुन्छ ।

२०१७ सालमा स्थापना भएको महेन्द्र नमूना माध्यमिक विद्यालय जिल्लाकै पुरानो प्राथमिक विद्यालय खलंगासँग मर्ज भयो । प्रावि खलंगासँग एकीकरण भएपछि भने महेन्द्र नमूना माध्यमिक विद्यालयको स्थापना मिति २००९ साल कायम गरिएको छ ।

शुरुआतमा ६ देखि १० कक्षासम्मको पठनपाठन थालेको यस माविमा अहिले १ देखि १२ कक्षासम्मको पढाइ हुन्छ । अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यो विद्यालयमा करीब २६०० विद्यार्थी अध्ययनरत छन् ।

यो विद्यालय महाकाली नदीको छेउमा अवस्थित छ । वारि नेपाल र पारि भारत रहेको खलंगा पश्चिम नेपालको अन्तिम बिन्दु पनि हो । महाकाली किनारमा रहेको यो सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कसरी बढ्यो ? जिज्ञासा हुनु स्वाभाविक हो ।

कुनै बेला मिडिल स्कुलको नामले चिनिने महेन्द्र नमूना माध्यमिक विद्यालयको एसएलसीको पहिलो ब्याच भने २०२५ सालको थियो । त्यसको २५ वर्षपछि २०५० सालमा ११ र १२ कक्षाको पढाइ पनि प्रारम्भ गरिएको थियो ।

स्थापनाकालदेखि नै शिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने जिल्लाभरकै अग्रणी शैक्षिक संस्थाका नामले विद्यालय परिचित छ । शैक्षिक सत्र २०७२/७३ मा प्रावि खलंगासँग एकीकरण भयो । प्रावि खलंगामा विद्यार्थी संख्या थोरै भएकाले शिक्षा कार्यालयले नै आवश्यकता ठानेर महेन्द्र नमूना माध्यमिक विद्यालयमा गाभेको थियो । खलंगासँग एकीकरण भएपछि भने महेन्द्रले अंग्रेजी माध्यमबाट पनि पठनपाठन थाल्यो ।

विद्यालय व्यवस्थापनले ६ देखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने विद्यालय नभएको अवस्थामा अंग्रेजी माध्यमबाट पनि पढाउने निर्णय लिएको थियो । स्कूल प्रशासन र व्यवस्थापनको यो निर्णय विद्यालयको मुहार फेर्ने महत्वपूर्ण खुट्किलो बन्यो ।

विद्यालयका प्रधानाध्यापक दामोदर जोशी शैक्षिक सत्र २०७२/७३ मा अंग्रेजी माध्यमको पढाइ शुरू गर्दा एकैपटक ३०० जना विद्यार्थी थपिएको स्मरण गर्छन् । १ देखि ५ कक्षासम्म पूर्ण अंग्रेजी माध्यम र ६ देखि १० कक्षासम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुने गरेको छ ।

अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गरेपछि भने जिल्लाभरकै बालबालिका महेन्द्र नमूना माध्यमिक विद्यालयमा केन्द्रित हुन थाले । एकाएक विद्यार्थी संख्या वृद्धि भएर विद्यालयलाई व्यवस्थापकीय चाप धान्नै मुश्किल पर्न थालेको थियो । विद्यार्थीको चाप बढ्दै जान थालेपछि भने जनशक्ति समेत थपिएको थियो ।

भौतिक संरचनाको विकासले पनि तीव्रता पायो । अहिलेका प्रधानाध्यापक जोशी २०४९ सालमा महेन्द्र नमूना माध्यमिक विद्यालयबाट नै एसएलसी दिएर २०७१ सालदेखि शिक्षण गर्दै आएका छन् । २०७३ सालदेखि सहायक प्रअ बनेर काम गरेका उनी २०८१ को पुसदेखि भने विद्यालयको नेतृत्व गरिरहेका छन् ।

आफू विद्यार्थीका रूपमा अध्ययन गर्ने बेलादेखि नै महेन्द्र माविप्रतिको आकर्षण राम्रो रहेको उनी बताउँछन् । २०४९ सालमा जोशीसँगै अन्य ७६ जनाले एसएलसी दिएका थिए ।

दक्ष जनशक्ति, जिल्ला सदरमुकाममा भएका कारण विद्यार्थीको आकर्षण, अभिभावकको सहयोग जस्ता कारण महेन्द्र मावि शुरूदेखि नै अग्रणी नै संस्था हो’ प्रधानाध्यापक जोशीले भने, ‘सामूहिकताका साथ काम गर्न थालेपछि प्राप्त नतिजामा सबैको नजर परेपछि सरकारी तथा अन्य निकायबाट पनि सहयोग हुँदै जान थाल्यो ।’

अंग्रेजी माध्यममा पढाइ शुरू गर्ने बेला विद्यार्थीहरूबाट २०० देखि २५० रुपैयाँसम्म फि लिने गरियो । जबकि, निजी विद्यालयमा त्यसको दोब्बर–तेब्बर शुल्क तोकिएको हुन्थ्यो ।

२०८० सालको एसईई परीक्षामा ३२६ जना सहभागी थिए । यो वर्ष पाँच जना ए प्लस प्राप्त गर्दैै उत्तीर्ण भए । उनीहरूमध्ये १९ जना ए, ५३ जनाले बी प्लस, ६४ जनाले बी, ३ जनाले सी प्लस प्राप्त गरे ।

शैक्षिक सत्र २०५०/५१ देखि विद्यालयले प्लस टुको पठनपाठन पनि अघि बढायो । अन्य विद्यालयको तुलनामा न्यून शुल्क लिएपछि प्लस टुमा पनि विद्यार्थीको आकर्षण बढ्दै जान थालेको थियो । ११ र १२ कक्षामा शिक्षा, वाणिज्य, विज्ञान, मानविकी तथा प्राविधिक धारतर्फ डिप्लोमा सिभिल अर्थात् ओभरसियरको समेत पढाइ हुने गरेको छ ।

महेन्द्र नमूना माध्यमिक विद्यालयको विकास र विस्तारमा सबैभन्दा महत्वपूर्ण भूमिका त्यहाँका अभिभावकको रहेको शिक्षकहरू बताउँछन् । विद्यार्थीलाई न्यूनतम शुल्क तोकेर अभिभावकबाट लिने गरिएको थियो । त्यो नै विद्यालयको आर्थिक स्रोत व्यवस्थापनको मुख्य माध्यम थियो तर अहिले भने अभिभावकबाट विद्यालयले शुल्क लिने गरेको छैन ।

स्वीकृत स्थायी दरबन्दी, निजी स्रोत र महाकाली नगरपालिकाबाट समेत गरी विद्यालयमा ७६ जना शिक्षक कार्यरत छन् । जसमा स्वीकृत दरबन्दी अनुसार प्लस टु ३ जना, माध्यमिक तह ९ जना, आधारभूत तह १४ जना, १६ जना नगर शिक्षक छन् भने बाँकी सबै निजी स्रोतबाट राखिएका छन् । शिक्षक बाहेक २२ जना अन्य कर्मचारी रहेका छन् ।

विद्यालयले महाकाली नगरपालिकाले नगर शिक्षकको व्यवस्थापन गरेका कारण अभिभावकबाट सहयोग रकम लिन छाडेको छ । तर निजी स्रोततर्फका शिक्षकलाई विगतमा प्राप्त भएको स्रोतको जगेडा पूँजीबाट व्यवस्थापन गरिएको छ । शिक्षक–कर्मचारीको तलब–भत्ता, मसलन्द खर्च समेत गरी विद्यालयको वार्षिक खर्च १ करोड २० लाख हाराहारीमा छ ।

विद्यालयले निर्माण गरेका सटर भाडाबापत ३ लाख रुपैयाँ तथा अन्य स्रोतबाट १५ लाख रुपैयाँसम्म मात्र वार्षिक आम्दानी गर्ने गरेको प्रधानाध्यापक जोशीले बताए । यो विद्यालयमा संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अन्य दातृ निकायको सहयोगमा १५ वटा भवन निर्माण भएका छन् । विद्यार्थी छात्रवृत्तिका लागि भने दाताहरूको सहयोग प्राप्त भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा अनाथ छात्रछात्राका लागि छात्रावासको व्यवस्था पनि गरिएको छ । २०७७ सालदेखि नै अनाथ छात्रछात्रा छात्रावासमा बसेर अध्ययन गर्न थालेका छन् । आधुनिक प्रविधिको प्रयोग गरेर विद्यालयले शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने प्रयास गरेको छ ।

करिब ३० वटा प्रोजेक्टरको व्यवस्था रहेकोमा आवश्यकताका आधारमा प्रयोग गर्ने गरिन्छ तर प्राविधिक धारका विद्यार्थीलाई भने प्रोजेक्टरको प्रयोग गरेर पढाउने गरिएको छ । ६ देखि ८ कक्षासम्म नगरपालिकाले तयार गरेको हाम्रो महाकाली नामक स्थानीय पाठ्यक्रमको पठनपाठन पनि भइरहेको छ ।

गत वर्षको एसईई परीक्षामा महेन्द्र नमूना माध्यमिक विद्यालय सुदूरपश्चिम प्रदेशमै पहिलो बनेको थियो । आफ्नै खेल मैदान नभए पनि खेलकुदका गतिविधिमा पनि महेन्द्र नमूना मावि जिल्लामा अगाडि नै छ । नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि ३ वर्षदेखि लगातार जितिरहेको छ भने बेलाबेलामा जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरू पनि जित्दै आएको छ ।

विद्यालयले बिहान ६ देखि १० बजेसम्म प्लस टुका शैक्षिक कार्यक्रम चलाएको छ भने १० देखि ४ बजेसम्म १ देखि १० कक्षासम्म चल्छ । निम्नवर्गीय, जनजाति, दलित समुदायका बालबालिकालाई समेत प्राथमिकतामा राखेको महेन्द्र नमूनामा २०८० सालदेखि महाकाली नगरपालिका–५ मा पर्ने जनप्रिय आधारभूत विद्यालय पनि गाभिएको छ ।

स्रोत–साधन र व्यवस्थापकीय दृष्टिकोणले मात्र होइन, नतिजाका हिसाबले पनि अरू सामुदायिक विद्यालयको तुलनामा उत्कृष्ट छ । यो विद्यालयबाट २०७८ सालको एसईई परीक्षामा २८६ जना विद्यार्थी सहभागी थिए । उनीहरूमध्ये दुई जना ए प्लस ग्रेड प्राप्त गर्दैै उत्तीर्ण भए भने ८ जना ए, २९ जनाले बी प्लस, ६४ जनाले बी, ८९ जनाले सी प्लस, ८१ जनाले सी ग्रेड र १६ जनाले १.६ जीपीएभन्दा कम अंक प्राप्त गरेका थिए ।

यस्तै, २०७९ सालको एसईई परीक्षामा २७७ जना विद्यार्थी सहभागी थिए । उनीहरूमध्ये दुई जना ए प्लस प्राप्त गर्दैै उत्तीर्ण भए भने १६ जना ए, ३३ जना बी प्लस, ५५ जना बी, ८० जना सी प्लस, ७३ जनाले सी ग्रेड र १८ जनाले १.६ जीपीएभन्दा कम अंक प्राप्त गरेका थिए ।

यस्तै, २०८० सालको एसईई परीक्षामा दुई वर्षको भन्दा बढी अर्थात् ३२६ जना सहभागी थिए । यो वर्ष पाँच जना ए प्लस प्राप्त गर्दैै उत्तीर्ण भए । उनीहरूमध्ये १९ जना ए, ५३ जनाले बी प्लस, ६४ जनाले बी, ३ जनाले सी प्लस प्राप्त गरे । यो वर्ष ननग्रेड प्रणालीका कारण १८२ विद्यार्थी योभित्र परेको विद्यालयले जनाएको छ । यद्यपि, उनीहरू ग्रेड सुधार गरेर उत्तीर्ण भइसकेका छन् ।

प्लस टुका विद्यार्थी ओसार–पसारका लागि विद्यालयले बस सेवा पनि सञ्चालन गरेको छ । भौतिक व्यवस्थापन, शैक्षिक नतिजा, अतिरिक्त क्रियाकलाप जस्ता विभिन्न सूचकका आधारमा मानव स्रोत विकास केन्द्रले गरेको मूल्यांकनमा महेन्द्र नमूना माध्यमिक विद्यालय देशभर सातौं स्थान प्राप्त गर्न सफल भएको थियो । केन्द्रले त्यो बेला प्रशंसापत्र सहित सम्मान गरेको थियो । प्रधानाध्यापक जोशी महेन्द्र नमूना माध्यमिक विद्यालयलाई देशकै सर्वोत्कृष्ट बनाउने लक्ष्य लिएको बताउँछन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?