+
+

स्कुलमा छैनन् सद्दे डेस्कबेञ्च, भुईंमै बसेर पढ्छन् विद्यार्थी

१ देखि ५ कक्षासम्म पढाइ हुने यो विद्यालयको कुनै पनि कक्षा कोठामा राम्रा डेस्कबेञ्च छैनन् । भएका पनि भाँचिएका छन् । कुनै कोठामा कार्पेट बिछ्याइएको छ । च्यातिएको कार्पेटमाथि बालबालिका बसेर पढिरहेका थिए ।

दिनेश गौतम दिनेश गौतम
२०८१ मंसिर १३ गते १३:०४
कक्षा ४ का विद्यार्थी सुन्दर रावल भाँचिएको बेञ्चमा फलामे किला ठोकेर जोडजाम गर्दै

१३ मंसिर, काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका–५ स्थित नौगडेश्री आधारभूत विद्यालयको कक्षा ४ मा पढ्ने सुन्दर रावल भाँचिएको डेस्कबेञ्चमा फलामे किला ठोकेर जोडजाम गर्दै थिए । अरु विद्यार्थी यत्रतत्र फालिएका डेस्कबेञ्च मिलाउँदै थिए ।

पढ्नुपर्ने समयमा डेस्कबेञ्च ठोकठाक गरिरहेका रावलले भने, ‘सबै पुरानो छ । भाँचिएको भएर किला ठोक्न लागेको हुँ ।’

शिक्षक र कार्यालय सहयोगी भने प्रधानाध्यापकको कोठामा गफिएर बसेका थिए भने यता विद्यार्थी कक्षा कोठामा शिक्षक कुरिरहेका थिए । १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई एउटै कक्षामा राखिएको थियो । ‘सबै कक्षाको एकै ठाउँमा बसेका छौं । सर पढाउन आउनु भएको छैन,’ कक्षा कोठामा रहेका विद्यार्थीहरूले भने ।

१ देखि ५ कक्षासम्म पढाइ हुने यो विद्यालयको कुनै पनि कक्षा कोठामा राम्रो डेस्कबेञ्च  छैनन् । भएका पनि भाँचिएका छन् । कुनै कोठामा कार्पेट बिछ्याइएको छ । च्यातिएको कार्पेटमाथि बालबालिका बसेर पढिरहेका थिए ।

कक्षा कोठाजस्तो देखिँदैन । डेस्कबेञ्च नहुँदा भुईंमा बसेर पढ्नु परेको दुःखेसो विद्यार्थीहरूले गरे । ‘पुरानै डेस्कबेञ्च  मर्मत गरेर विद्यार्थी राखेका छौं । नयाँ कतैबाट आएको छैन,’ प्रधानाध्यापक चन्द्रराम टमटाले भने, ‘विद्यार्थीलाई भुईंमा राख्नुपर्छ । कार्पेट छ तर, पुग्दैन ।’

पढ्नका लागि भुईंमा बसेका विद्यार्थी

बालविज्ञहरू यसरी कक्षा कोठा सञ्चालन गर्न नपाइने बताउँछन् । ‘चिसो नआउने कार्पेटमा राउन्ड टेबल राखेर पढाउनु राम्रो हो,’ बालविज्ञ मिनाक्षी दाहाल भन्छिन्, ‘तर फोहोर र चिसो आउने हुनुहुँदैन । चिसो नआउने गरी कार्पेट राख्नुपर्छ ।’

विद्यालयमा कार्पेट बिच्छ्याइएको थियो तर धुलाम्मे थियो ।

सरकारी मापदण्डमा अध्यापन गराइने कक्षा कोठामा हावाको प्रवाह र प्रकाशको व्यवस्थासहितको विद्यार्थी संख्याको आधारमा फर्निचरको व्यवस्था हुनुपर्ने भनिएको छ ।

प्रति डेस्क-बेञ्चमा बढीमा ४ विद्यार्थी बस्न राख्नुपर्छ भने कुर्सी, टेबुल, डेस्कबेञ्चउचाई विद्यार्थीको उमेर सुहाउँदो हुनुपर्ने मापदण्ड छ । कक्षा कोठामा समूहकार्य गर्न मिल्ने खालको फर्निचरको व्यवस्था हुनुपर्ने भनिएको छ । तर मापदण्ड अनुसारको कक्षा कोठा छैन ।

डेस्कबेञ्चका लागि नौगाड गाउँपालिकामा अनुरोध गरिएको छ तर उपलब्ध नभएको गुनासो प्रधानाध्यापक टमटाले गरे । ‘गाउँपालिकालाई भनेका छौं । अहिलेसम्म उपलब्ध भएको छैन,’ प्रधानाध्यापक टमटाले भने ।

गाउँपालिकाबाट पाँच मिनेटको दूरीमा पर्छ, नौगडेश्री आधारभूत विद्यालय । संविधानले विद्यालय तहको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, गाउँपालिका कार्यालयबाट नजिकै रहेको विद्यालयमा स्थानीय सरकारको नजर पनि परेको देखिँदैन ।

नौगडेश्री आधारभूत विद्यालय

शिक्षा हेर्ने शिक्षा अधिकृत नहुँदा विद्यालयहरूको समस्याबारे समाधान गर्न नसकिएको तर्क गाउँपालिकाको छ ।

कतिपय समस्या विद्यालयको शिक्षक र कार्मचारीले गर्न सक्ने भएपनि नगरेको गाउँपालिका अध्यक्ष दलजीत सिंह धामी बताउँछन् । ‘हामी अनुगमनमा जाँदा नभएका ठाउँमा डेस्कबेञ्च बनाउने भनेका छौं, विद्यार्थीका लागि टेबुल र थप कार्पेटको व्यवस्था गर्ने तयारी गरेका छौं,’ उनले भने ।

मापदण्ड अनुसार विद्यार्थीको खुट्टा भुईंमा छुनेगरी डेस्कबेञ्च हुनुपर्ने बताउँछिन् दाहाल । ‘कक्षाकोठा बालबालिका मैत्री हुनुपर्छ । डेक्स-बेञ्च बनाउँदा खुट्टा भुईंमा टेक्न सकिने आकारको बनाउनुपर्छ,’ उनले भनिन् ।

विद्यालयको भवन पनि चर्किएको छ । जोखिम मोलेर विद्यालय सञ्चालन गरिरहेको बताउँछन् प्रधानाध्यापक टमटा । ‘विद्यालयको भवन चर्किएको र कोठामा विद्यार्थी राख्न जोखिम छ । पालिकामा जानकारी गराएका छौं,’ उनले भने ।

सरकारी मापदण्डमा विद्यालयको पर्याप्त जग्गा, भवन र सुरक्षित कक्षा कोठा हुनुपर्ने भनिएको छ । तर नौगडेश्री आधारभूत विद्यालयलाई मापदण्डले छोएको छैन । थप अनुगमन गरेर व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष धामी । ‘अनुगमन गरेर विद्यालयलाई आवश्यक पर्ने संरचनाको व्यवस्थापन गर्छौं,’ उनले भने ।

विद्यार्थीको लागि खाजा बनाउने कोठा पनि अव्यवस्थित थियो । दिवा खाजालाई व्यवस्थित गर्न निर्देशन दिएको बताउँछन्, गाउँपालिका अध्यक्ष धामी । ‘शिक्षक कर्मचारीले त्यति चासो नदिएको पाएपछि व्यवस्थित गर्न भनेको छु,’ अध्यक्ष धामीले भने ।

कार्यक्रमलाई व्यवस्थित गर्न भनेको अध्यक्ष धामीले बताए । विद्यालयमा विद्यार्थीको संख्या पनि न्यून छ । सरोकारवाला निकायहरूले साचो नदिंदा विद्यार्थी भर्ना हुने तर, नियमति कक्षामा नआउने गरेको पाइएको छ ।

‘विद्यार्थीको संख्या थोरै छ । कति विद्यार्थी भर्ना गरेर पनि कक्षामा नआउने गरेको छ,’ प्रधानाध्यापक टमटाले भने । तर, शिक्षकले पनि नपढाउने गरेको गुनासो विद्यार्थीहरूले गरे ।

कक्षा १ मा पाँच, कक्षा २ मा नौ, कक्षा ३ मा आठ, कक्षा ४ मा ६ र कक्षा ५ मा चार गरी ३४ विद्यार्थी छन् । विद्यालयमा एक कार्यालय सहयोगीसहित चार शिक्षक कार्यरत छन् ।

लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?