रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका नेकपा माओवादी केन्द्रको बलियो पकड भएको क्षेत्र हो । यो पालिकाको नेतृत्व अहिलेसम्म अरु पार्टीले जित्न सकेको छैन ।
०७९ को चुनावमा पनि पालिका अध्यक्ष र उपाध्यक्षसहित १४ मध्ये ११ वडाध्यक्ष माओवादीले जितेको थियो । तर गत भदौमा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढाको सडक दुर्घटनामा परेर मृत्यु भएपछि उपचुनाव हुँदैछ ।
र, उपचुनाव जित्न माओवादीले नरपुरा बुढा पुनलाई अगाडि सारेको छ । भूपेन्द्राकै दिदी नरपुरालाई उम्मेदवार बनाउनुमा माओवादीले जित सुनिश्चित गर्न खोजेको प्रष्ट हुन्छ ।
उम्मेदवार नरपुरा पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छिन् । भन्छिन्, ‘३५ वर्षसम्म पुराना पार्टीहरू (कांग्रेस–एमाले) ले गर्न नसकेको काम माओवादीका जनप्रतिनिधिले ७ वर्षको अवधिमा गरेका छन्, त्यसैले यहाँ माओवादीको विकल्प खोज्ने जरुरी छैन ।’
प्रस्तुत छ, माओवादी उम्मेदवार नरपुरा बुढासँग अनलाइनखबरकर्मी टोपराज शर्माले गरेको कुराकानीः
मनोनयन दर्ता हुने बेलासम्म ज्ञानदेवी पुनलाई माओवादीले उम्मेदवार बनाउने चर्चा थियो । तर तपाईं उम्मेदवार बन्नुभयो नि ?
काठमाडौंबाट रुकुमपूर्व फर्कंदै गर्दा गाउँपालिका उपाध्यक्ष (मेरै बहिनी) भूपेन्द्रा बुढाको बाग्लुङ गल्कोटको सडक दुर्घटनामा परी मृत्यु भयो ।
भदौ २८ गतेको त्यो घटनामा हाम्रो आमा र २ वडा नम्बरका वडाध्यक्षको (जसबहादुर सिर्पाली) पनि निधन भयो । त्यसले हाम्रो पार्टी र पुथा उत्तरगंगा गाउँपालिकालाई ठूलो क्षति भयो । आमा र बहिनीलाई एकैसाथ गुमाउँदा हाम्रो परिवार विक्षिप्त भयौं ।
यस्तो अवस्थामा हामी सम्हालिनुको विकल्प थिएन । म विगतदेखि पार्टीमा काम गर्दै आएको हुनाले पनि पार्टीले जिम्मेवारी दिन आवश्यक ठानेको हो जस्तो लाग्छ । जहाँसम्म मनोनयनको अन्तिम दिनसम्म ज्ञानदेवी पुनको नाम थियो भन्ने प्रश्न छ, यसमा वडा पार्टीको बैठकले उहाँलाई नै सर्वसम्मत निर्णय गरेको थियो, त्यसमा मेरो पनि समर्थन थियो ।
तर, मेरो नाम पनि दोस्रो नम्बरमा सिफारिस थियो । अन्य दुईसहित चार जनाको नाम सिफारिस भएको हो । तर पालिका उम्मेदवारको टिकट माथिल्लो कमिटीले दिन्छ । त्यसैले पार्टीले म र ज्ञानदेवीलाई बोलाए, अनि दुवैलाई सल्लाह गरेरै मैले उम्मेदवारी दर्ता गरे ।
भावनात्मक हिसाबले पनि जनमतको कदर हुने र बहिनी भुपेन्द्रा बुढाले थालनी गरेका कामहरू पूरा गर्न सहज हुने भएकाले पनि होला मलाई पार्टीले टिकट दियो । यो मेरो र ज्ञानदेवीजीको बिषय नभएर पार्टीको प्रतिष्ठाको बिषय भएकाले कुनै विवाद नगरी सर्वसम्मत मेरो उम्मेदवारी दिइएको हो ।
तपाईंका चुनावी एजेण्डा ?
यतिबेला मलाई पार्टीले यति ठूलो जिम्मेवारी दिएको छ कि मैले यसलाई अवसरको रूपमा लिएकी छु । मेरो चुनावी एजेन्डा भनेकै माओवादी केन्द्र पार्टीको एजेन्डा हो ।
अर्को कुरा बहिनी भुपेन्द्रा बुढाले आफ्नो कार्यकालमा बनाएका योजना र देखेका सपना पूरा गर्नु पनि मेरा एजेण्डा हुन् । गाउँपालिकाले दिने सेवाहरूमा जनतालाई दुःख नदिई सजिलो गरी दिने हो । जुनसुकै पार्टीमा आस्था राख्ने भएपनि कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई समान हिसाबमा व्यवहार गर्ने हो ।
यहाँका विद्यालयको गुणस्तर राम्रो बनाउन प्रदेशका उत्कृष्ट विद्यालयका प्रधानाध्यापक ल्याएर अनुभव आदान–प्रदान र तालिम दिने मेरो योजना छ । न्यायिक समितिमा आउने विवाद र मुद्दामा अन्यायमा परेका र पीडित पक्षलाई न्याय दिन कुनै सम्झौता नगरी निर्णय गर्ने मेरो संकल्प छ ।
गाउँमै स्वास्थ्य उपचार सजिलो गरी पाउन प्रदेशभित्रको कुनै मेडिकल कलेजसँग समन्वय गरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टर ल्याउन पहल गर्ने मेरो योजना छ ।
पालिकाका १४ वडामध्ये ७ वटा वडामा सडकको समस्या छ । त्यहाँ सडक बनाउन प्रदेश र केन्द्र सरकारसँग बजेट माग गर्ने हो । हाम्रो पालिका कृषि, पर्यटन र मगर कला संस्कृतिको धनी ठाउँ भएकाले पर्यटन विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्ने हो ।
यहाँका जनजाति, महिला र दलित समुदाय विकासमा पछाडि छन् । उनीहरूलाई माथि उठाउन आयआर्जन हुने योजना, कार्यक्रम बनाउने र बजेट पनि दिने हो । पूर्वी रूकुमको फरकफरक विशेषता बोकेको परम्परागत संस्कृतिको जगेर्ना गर्ने हो ।
युवा र महिलालाई सीपमूलक तालिम दिएर गाउँमै आयआर्जन गर्न सक्ने बनाउने, गाउँमा निःशुल्क स्वास्थ्य शिविर चलाउने पनि मेरा एजेण्डा हुन् । गाउँपालिकाको अध्यक्ष हाम्रै पार्टीको भएको र कार्यपालिकामा पनि हाम्रो बहुमत हुँदा निर्वाचित भइसकेपछि उहाँहरूसँग सल्लाहमा हरेक वडाको आवश्यकतामा आधारमा नयाँ योजना र कार्यक्रम बनाउन सकिनेछ ।
तपाईंको जितका आधार ?
जुनसुकै चुनावमा मैदान उत्रेपछि प्रतिस्पर्धा अनिवार्य हुन्छ, यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । यति हुँदाहुँदै पनि विगतलाई हेरेर ढुक्क हुने भन्दा प्रतिस्पर्धीलाई कमजोर ठान्न हुन्न भन्ने मेरो मान्यता हो ।
एक हिसाबले हेर्ने हो भने त प्रतिस्पर्धा नै छैन । किनकि २०७९ सालको स्थानीय निर्वाचनमा पनि कांग्रेस–एमाले एक भएर हाम्रो विरुद्ध उत्रिएका थिए ।
त्यतिबेला मेरो बहिनी भुपेन्द्राले प्रतिस्पर्धीलाई दोब्बर बढी भोटले पराजित गरेकी थिइन् । गत चुनाव यता अन्य पार्टीबाट सयौं जना हाम्रो पार्टीमा प्रवेश गरेका छन् । पूर्व माओवादी घटकहरू एक ढिक्का भएको अवस्था छ । एकीकृत समाजवादीले पनि मलाई समर्थन गरेको छ ।
यसरी हेर्दा गत चुनावमा भन्दा अहिले हाम्रो मत बढेको छ । वडा नं २ को अध्यक्षको चुनावमा एमाले–कांग्रेसको गठबन्धन र स्वतन्त्र उम्मेदवारले चुनावको सामना गर्न नसकी उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनु पनि प्लस प्वाइन्ट हो ।
१४ मध्ये ११ वडा माओवादीले जितेकाले कार्यपालिका हाम्रै पार्टीको छ । निर्वाचित भएको २ वर्षभन्दा बढीको अवधिमा पालिका अध्यक्ष पुनिराज घर्ती नेतृत्वले थुप्रै जनपक्षीय काम गरेको छ ।
तसर्थ मेरो जीत सहज छ, प्रतिस्पर्धी निकै कमजोर छन् । जहाँसम्म मेरो जितको आधारको कुरा छ, बहिनी गुमाएको पीडाका बेला भएकाले सहानुभूति पनि छ ।
अर्को कुरा म वडा नं. १२ को स्थायी बासिन्दा भएकाले पुथाका जनताको साथमा छु । मैले एउटा कुरा भन्नैपर्छ कि मेरो प्रतिस्पर्धी केशकुमारी तुलाचन पुथाको मतदाता भए पनि विगत १५ वर्षदेखि पालिका बाहिर सिस्ने गाउँपालिकामा बस्नुहुन्छ । त्यसैले मैले जित्दा नै पुथाका जनताको समस्यामा साथ पुग्ने विश्वास छ ।
अर्कोतर्फ कांग्रेस र एमाले एक्लाएक्लै चुनावमा भिड्न नसकेर गठबन्धन गरेका छन् । एमाले उम्मेदवारले कांग्रेसको चुनाव चिन्ह लिएका छन् । यसलाई पनि मतदाताले रुचाएका छैनन् ।
राष्ट्रिय राजनीतिकै कुरा गर्दा पनि विभिन्न काण्डहरूमा मुछिएकाले पछिल्लो समय कांग्रेस र एमालेको जनमत घटेको र माओवादीको बढेको अवस्था छ । त्यसैले माओवादीले जित्ने आधार धेरै छन् ।
पुथामा माओवादीले एकाधिकार जमाएको छ, तर विकास जहाँको त्यहीं छ, अब विकल्प खोजिनु आवश्यक छ भनेर पनि प्रचार भइरहेको छ नि ?
विकास भएन भन्ने भाष्य गलत छ । आजको पुथा उत्तरगंगा गाउँपालिका यो गतिमा विकास हुन्छ भनेर कसैले कल्पना गरेको थिएन । दुई कार्यकाल माओवादीले जितिसकेपछि आज सडक सञ्जाल मैकोटसम्म पुगेको छ ।
गाउँगाउँमा विद्युत र संचार सेवा पुगेको छ । आधारभूत स्वास्थ्य सेवा वडावडामा पुगेको छ । शैक्षिक क्षेत्रमा विगतको भन्दा राम्रो नतिजा आएको छ । विद्यालयको भौतिक संरचना बनेका छन्, स्वच्छ पिउने पानीधारा बहुसंख्यक जनताको घरमा पुगेको छ । यो सामान्य काम होइन ।
विद्यालय भवन, सामुदायिक भवन, पुल पुलेसा निर्माण बढेको छ । बहुदलपछि ३५ वर्ष सरकारमा बसेका पुराना पार्टीहरूले गर्न नसकेको काम माओवादीका जनप्रतिनिधिहरूले ७ वर्षमा गरेका छन् ।
अहिलेको विकास देखेर कसैले पनि विकास गरेन भन्ने ठाउँ छैन । यति हुँदाहुँदै थुप्रै विकासका कामहरू गर्नुपर्नेछ, त्यो माओवादी केन्द्रले जित्दा मात्र संभव छ । पुथाउत्तरगंगा गाउँपालिकामा माओवादीको विकल्प खोजी गरिनुपर्ने कुनै कारण छैन ।
प्रतिक्रिया 4