+
+

प्रश्न सोध्न किन प्रोत्साहित गर्ने बालबालिकालाई ?

मणिकुमार लिम्बू मणिकुमार लिम्बू
२०८१ मंसिर ११ गते १६:४८

बाल्यकाल सम्झिंदा किन हामी रोमाञ्चित हुन्छौं ? सम्भवत: त्यसबेलाको क्षण हाम्रो स्मृतिमा यसरी बसेको हुन्छ, जुन वर्तमानमा औधी मिठासपूर्ण लाग्छ । मनमा संवेग, भावना, कोमलता स्वत:स्फूर्त रुपमा आउने गर्छ । प्रत्येक मानिसको आ–आफ्नै तर फरक-फरक किसिमको बाल्यकाल हुन्छ ।

आफ्नो परिवार, समाज, साथीसंगी, वस्तु परिस्थिति अनुसार उसले आफ्नो बाल्यकाल बिताएको हुन्छ । अहिले मलाई आफ्नो बाल्यकालको बारेमा सम्झिरहँदा आजका बालबालिकाले मेरो जस्तो बाल्यकाल बिताउन पाएका छैनन् जस्तो लाग्छ ।

मैले बिताएको समय र समाज अहिलेको समय र समाज एकै नहुनु त्यो लाग्नुको प्रमुख कारण हो । समयको अन्तरालसँगै प्रविधि तथा मानिसको चेतनास्तरमा आएको परिवर्तनका कारण एकै किसिमको हुन दिंदैन ।

यो निरन्तर परिवर्तनीय छ । मेरो बाल्यकालको थोरै स्मरण गर्नुपर्दा मलाई अहिले पनि याद छ म बुवासँग हाट बजार जाँदा मैले एकै पटक धेरै मानिस देखेको, प्रशस्त मात्रामा पसल देखेको, बजारमा विभिन्न प्रकारका पसलमा विभिन्न साम्रग्री देखेको ।

सबै मानिस आ–आफ्नै धुनमा हिंडिरहेको कसैले कसैलाई वास्ता नगरीकन आ–आफनै रफ्तारमा अगाडि बढेको देखें । गाँउघरमा त्यस्तो दृश्य नहुने भएकाले गर्दा मलाई त्यस्तो दृश्य देख्दा अचम्म लाग्ने गर्थ्यो । समय कति चाँडो बित्दो रहेछ भने अहिले म त्यही प्रक्रियामा छु, तर मेरो भूमिका फरक छ म अहिले बुवाको भूमिकामा पुगिसकेको छु ।

छोरीले त्यसरी नै बजारका ती वस्तु देख्दा मलाई विभिन्न प्रश्न सोध्ने गर्छिन् । बाटोमा हिंड्दै गर्दा कतै मन्दिर देख्दा त्यसको बारेमा सोध्ने गर्छिन्, म उनलाई विस्तारमा त्यसको बारेमा जानकारी दिने गर्छु । कुनै नयाँ चीज देख्ने बित्तिकै उनको प्रश्न मतिर आउने गर्छ ।

त्यसको उत्तर मैले जाने जति दिने गर्दछु । कहिले पनि हतारमा थाहा छैन भनेर म उनको प्रश्नबाट भाग्ने गर्दिनँ । किनकि सिकाइ भनेकै यहीं हो । छोरीले विद्यालयमा गरेका उनका साथीसँग भएको कुराकानी उनी विद्यालयबाट आउने बित्तिकै भन्ने गर्छिन् म बिस्तारमा उनको कुरा सुन्ने गर्छु । उसको आत्मविश्वास वृद्धि होस् भन्ने उद्देश्यले पनि म उनका कुराहरु नकाटीकन सुन्ने गर्छु ।

म सानो छँदा कसैलाई प्रश्न सोध्न असाध्यै डर लाग्थ्यो । त्यही भएर त्यस्तो डर अहिलेका बालबालिका आउन नदिन पनि वयस्कले बालबालिकाको कुरा सुन्ने गर्नुपर्छ । बालबालिकाहरुको प्रश्न गलत हुँदैन बरु समय सन्दर्भ नमिल्न सक्छ तर त्यसलाई मिलाएर बुझ्ने जिम्मेवारी वयस्क मानिसकै हो । प्रश्नकै कारण उनीहरु सिर्जनशील हुने गर्छन्, जिज्ञासु स्वभावका हुने गर्छन् जतिसक्दो बालबालिकालाई प्रश्न सोध्न प्रोत्साहन गर्नुपर्छ । जसको कारण उनीहरु जिम्मेवार पनि बन्ने गर्छ ।

मैले कतिपय बालबालिका विद्यालय जाने बेलामा आफ्ना अभिभावकलाई पैसा माग्ने गरेको देख्छु । जुन पैसाले स्वास्थ्यलाई असर पुग्ने किसिमका खानेकुरा खाने गरेको पनि पाउँछु । जसकारण उनीहरुको स्वास्थ्यलाई दीर्घकालीन रुपमा असर पुगिरहेको हुन्छ । बरु त्यसको सट्टामा घरमै बनाएको खानेकुरा खान उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ । यस्ता विषयमा उनीहरुसँग सानैबाट कुरा गरिएन भने ठूलो भएपछि एक्कासि भन्दा उल्टै उनीहरुले कुरा काट्ने र उनीहरुमा हीनताको भावना आउने सम्भावना हुन्छ । त्यसकारण अभिभावकहरुले यस्ता विषयमा उनीहरुसँग घरमा बारम्बार छलफल गर्नुपर्छ ।

बालबालिकाहरु बिरामी हुँदा प्राय: अनौठो किसिमको सपना देख्ने गर्छन् । कुनै घटना, स्थान वा कतै देखेको वा कल्पना गरेको कुनै वस्तुहरुको बारेमा उनीहरुले सपना देख्ने गर्छन् । म आफू पनि सानो छँदा बिरामी हुँदा त्यस्तै किसिमको सपना देख्ने गर्थें, जसको कारण मलाई डर लाग्ने गर्थ्यो ।

यस्ता विषयहरुमा पनि बालबालिकाको कुरा सुन्ने उनीहरुको मनोविज्ञान बुझ्ने प्रयत्न गर्नुपर्छ । बालबालिकाहरुले विश्लेषात्मक तरिकाबाट सोच्ने भन्दा पनि भावनात्मक रुपमा सोच्ने गर्दा उनीहरु संवेदनशील हुने गर्छन् सानो कुराले पनी उनीहरुलाई ठूलो असर पुग्छ । उनीहरुको त्यो भावना बुझेर वयस्कले व्यवहार गर्ने हो भने बालबालिकाले सजिलै कुरा बुझ्ने गर्छन् ।

बालबालिकाहरुले चाडपर्वहरुलाई अति नै उत्साहको साथ हेर्ने गर्छन् । भर्खरै मात्र हिन्दु धर्मालम्बीहरुको महान् पर्व दशैं, तिहार, छठपर्व सकिएको छ । बालबालिकाहरुले यस्ता चाडपर्व कहिले आउँछ भनेर महिना गनेर बसिरहेका हुन्छन् । अझ गाँउघरका बालबालिकामा यस्ता कुरालाई बढी नै महत्वका साथ हेर्ने गर्छन् । पर्वलाई केवल मनोरञ्जनको दृष्टिकोणबाट मात्र नभएर उनीहरुलाई यसबाट धेरै कुरा सिकाउन सकिन्छ ।

यतिबेला उनीहरुलाई परिवारको महत्व, आफन्तजनहरुको महत्व, छरछिमेकीहरुको आवश्यकता, कुनै स्थान, आदिको बारेमा जानकारी दिने साथै विभिन्न राम्रा कथा, कहानी, पुस्तक लगायतका विषयवस्तुबारे जानकारी दिनु उपयुक्त हुन्छ । साथै संस्कार संस्कृति र यसले दिने सन्देशहरुको बारेमा पनि उनीहरुँग कुरा गर्न सकिन्छ । यस्ता कुराले बालबालिकाहरु अझ सिर्जनशील, जिज्ञासु स्वभावका हुने कुरामा कुनै द्विविधा छैन । सानैबाट यति कुरा सिकेर वयस्क उमेरमा पुग्दा उनीहरु पक्कै पनि योग्य नागरिक हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?