
२२ असोज, काठमाडौं । भारतमा उत्पादित खोकीको झोल औषधि (कफ सिरप) सेवनबाट भारतमै २० बालबालिकाको मृत्यु भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुने बालबालिकाको उमेर २ देखि अढाइ वर्षका छन् ।
भारत मध्य प्रदेशको छिन्दवाडामा १७, पन्धुर्णामा १ र बैतुलमा २ बालबालिकाको मृत्यु भएको छ । नागपुरमा ५ बालबालिका गम्भीर बिरामी छन् ।
उक्त औषधि भारतीय कम्पनी स्रेसन फार्माले उत्पादन हो । कफ सिरपको एक ब्याचमा अत्यधिक मात्रामा विषाक्त रसायन भेटिएको थियो । कफ सिरपमा ४८.६ प्रतिशत डायथाइलिन ग्लाइकोल मात्रा भेटिएको छ । जबकि, यसको मात्रा एक प्रतिशतभन्दा मुनि हुनुपर्छ ।
उक्त रसायन औद्योगिक घोलकहरूमा प्रयोग हुने विषाक्त पदार्थ हो, जुन थोरै मात्रा सेवन गर्दा पनि घातक हुनसक्छ ।
मृत्युका घटना बढ्दै जाँदा ४ वर्ष मुनिका बालबालिकालाई कफ सिरप खान नदिन भारत सरकारले सबैलाई आग्रह गरेको छ ।
भारतमा बारम्बार कफ सिरपमा गम्भीर समस्या देखिँदा औषधिको गुणस्तर नियमन र परीक्षण प्रणालीमाथि प्रश्न उठेको छ । नेपालमा पनि भारतबाट आयात हुने कफ सिरपको गुणस्तर सुनिश्चित गर्न कडा निगरानी र प्रयोगशाला परीक्षण सुरु गरिएको छ ।
भारतमा बारम्बारको समस्या
तीन वर्षअघि पनि भारतको औषधि नियामकले मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप विषाक्त्त रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
उक्त कम्पनीको कफ सिरप उज्वेकिस्तानमा १९ र द गाम्बियामा ७० जना बालबालिकाको मृत्युसँग सम्बन्धित थियो ।
हालैका महिनामा पनि यस्तै समस्या दोहोरिएको छ ।
भारत विश्वको तेस्रो ठूलो औषधि निर्यातक भए पनि राज्यस्तरमा कमजोर नियमन र साना कम्पनीहरूले पर्याप्त परीक्षण नगर्दा यस्ता समस्या दोहोरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारत सरकारले सन् २०२३ मा निर्यात हुने कफ सिरपको अनिवार्य परीक्षण लागु गरे पनि आन्तरिक बजारमा अझै गुणस्तर नियन्त्रणमा चुनौती रहेको छ ।
स्वदेशी उत्पादित औषधि परीक्षणमा कडाइ
नेपालमा अधिकांश औषधि भारतबाट आयात हुने भएकाले भारतीय कप सिरपमा देखिएको समस्याले जोखिमको चिन्ता बढाएको छ । यद्यपि, हालसम्म भारतमा विषाक्त भेटिएका कफ सिरप नेपालमा आयात नभएको औषधि व्यवस्था विभागले जनाएको छ ।
मंगलबार जारी सूचनामा पनि विभागले प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकोल, सरबाइटल, ग्लाइसेरोलजस्ता रासायनिक पदार्थ प्रयोग हुने कफ सिरप र अन्य औषधिमा डाइएथलिन ग्लाइकोल र एथलिन ग्लाइकोलको मात्रा परीक्षण गर्न उत्पादकलाई निर्देशन दिएको छ ।
नेपालमा उत्पादित कफ सिरप र अन्य तरल औषधिमा हालसम्म डाइएथलिन ग्लाइकोल र एथलिन ग्लाइकोलको विषाक्त मात्रा नभेटिएको विभागका महानिर्देशक नारायण ढकालले बताए ।
उनले नेपालमा कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म विभिन्न चरणमा प्रयोगशाला परीक्षण अनिवार्य गरिएकोले गुणस्तरमा भारतको जस्तो समस्या नआएको दाबी गरे ।
ढकालका अनुसार, भारतमा विवादमा आएको औषधि नेपालमा दर्ता भएको छैन । यद्यपि, खुला सिमानाका कारण अनौपचारिक बाटोबाट यस्ता औषधि भित्रिन सक्ने सम्भावनालाई नकार्न नसकिने उनले बताए ।
‘हामीले यस्ता औषधि भेटेका छैनौँ, तर जोखिमलाई मध्यनजर गर्दै पहिलेदेखि नै नियमनका उपायहरू अपनाएका छौँ,’ ढकालले अनलाइनखबरसँग भने । विभागले २०७९ सालमा नै यस्ता औषधिमा मिसावट हुनसक्ने सम्भावनालाई ध्यानमा राखी सूचना जारी गरेको थियो ।
दुई वर्षअघि नेपाली औषधि उद्योगहरूलाई बजारमा औषधि पठाउनुअघि अनिवार्य परीक्षण गर्न निर्देशन दिइएको थियो ।
ढकालका अनुसार भारतबाट आयात हुने औषधिका लागि पनि डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलजस्ता विषाक्त पदार्थ नभएको सुनिश्चित गर्ने प्रमाणपत्र (सर्टिफिकेट अफ एनालाइसिस) अनिवार्य गरिएको छ ।
‘औपचारिक च्यानलबाट दर्ता भएर आउने औषधिमा गलत हुने सम्भावना न्यून छ,’ ढकालले भने ।
तर, अन्तर्राष्ट्रिय बोलपत्र (कम्पिटिटिभ बिडिङ) मार्फत सोझै खरिद हुने औषधि वा गैरकानुनी बाटोबाट लुकिछिपी आयात हुने औषधिमा जोखिम रहन सक्ने उनले औँल्याए ।
यसलाई नियन्त्रण गर्न विभागले दुईवटा रणनीति अपनाएको छ । पहिलो, आयात हुने औषधिको कडा निगरानी र निरीक्षण र दोस्रो, बजारमा गएका औषधिको जोखिममा आधारित नमुना संकलन ।
‘हामीले राष्ट्रिय औषधि प्रयोगशालालाई विषाक्त रसायनको परीक्षण प्रोटोकल बनाउन निर्देशन दिएका छौँ । यो वर्ष हामीले यस्ता औषधिमा विशेष ध्यान केन्द्रित गरेका छौँ,’ ढकालले थपे ।
उनले नेपालमा करिब ५० प्रतिशत औषधि आयात हुने र भारतीय ब्रान्डहरूको बजारमा राम्रो हिस्सा रहेको बताए ।
नेपालमा भएका कफ सिरप कति सुरक्षित ?
अहिले नेपालमा प्रयोग भएका आधा हिस्सा कफ सिरप स्वदेशमै उत्पादन भएका छन् । नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमा करिब ३० वटा कम्पनीले कफ सिरप उत्पादन गर्छन् ।
नेपालका औषधि उत्पादकहरूले देशमा उत्पादित कफ सिरपहरू पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेका छन् ।
औषधि उत्पादकहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव सापकोटाले भारतलगायत अन्य देशहरूमा कफ सिरपका कारण समस्या देखिएको खबरले चर्चा पाइरहेका बेला नेपालमा भने यस्ता घटना रोक्न दुई वर्षअघि नै कडा प्रोटोकल बनाइसकेको बताए ।
सापकोटाका अनुसार, नेपालमा कफ सिरप उत्पादन गर्ने झन्डै ३० वटा कम्पनीहरूले विभागसँगको सहकार्यमा कडा परीक्षण प्रक्रिया अपनाएर मात्र बजारमा उत्पादन ल्याउने गरेका छन् ।
‘हामीले दुई वर्षअघि नै मेथड बनाएर कफ सिरपको फर्मुलेसन र परीक्षण प्रक्रिया सुरक्षित बनाएका छौं,’ सापकोटाले दाबी गरे, ‘नेपालमा उत्पादित कफ सिरपहरूमा कुनै विषाक्त तत्व नहुने गरी परीक्षण गरेर मात्र बजारमा ल्याइन्छ ।’
उनले विगतमा भारत, बंगलादेश र अफ्रिकामा कफ सिरपका कारण बालबालिकाको मृत्यु भएको घटना स्मरण गर्दै नेपालमा यस्ता घटना दोहोरिन नदिन कडा मापदण्ड अपनाइएको बताए ।
नेपालमा कफ सिरपको माग धान्न सक्ने क्षमता रहेको र आयातित सिरपमा देखिएको समस्यालाई मध्यनजर गर्दै आयातमा कडाइ गर्नुपर्ने उनको सुझाव छ ।
‘सरकारले आयातित सिरपको कडा परीक्षण र नेपाली उत्पादनलाई प्राथमिकता दिँदा राम्रो हुन्छ,’ सापकोटाले दाबी गर्दै भने, ‘हाम्रा उत्पादनहरूले बजारको माग धान्न सक्छन् र गुणस्तरमा पनि हामी अगाडि छौं ।’
विज्ञहरू भने भारतसँग खुला सिमाना भएको र चिकित्सकको परामर्शविना नै खोकीका औषधि किन्ने प्रचलन अत्यधिक रहेका कारण सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् ।
कतिपय कफ सिरपका औषधि चिकित्सकको सिफारिस (प्रेस्क्रिप्सन) विना, जथाभावी सिफारिसले बिक्री–वितरण हुँदा पनि बालबालिकाको ठूलो जोखिम हुने चिकित्सक बताउँछन् ।
‘नागरिकलाई कुनै पनि गलत औषधि प्रयोग नहोस् भन्ने हिसाबले काम गरिरहेका छौं,’ ढकाल भन्छन् ।
कफ सिरपले श्वासनलीमा असर, मुटुमा पनि जोखिम
भारतको मध्यप्रदेश र राजस्थानमा हालै भएका घटनाहरूलाई ध्यानमा राख्दै, केन्द्र सरकारले बालबालिकाका लागि खोकीको सिरपको प्रयोगको बारेमा एक अनुरोध गरेका छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दुई वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई खोकी र चिसोको औषधि नदिन सल्लाह दिएको छ ।
यस्ता औषधिहरू सामान्यतया पाँच वर्ष वा सोभन्दा माथिका बालबालिकाहरूलाई पनि सिफारिस गरिँदैन ।
चिकित्सकका अनुसार बच्चाहरूमा हुने खोकी सामान्यतया आफैं निको हुन्छ र प्रायः औषधिको आवश्यकता पर्दैन ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेश राई नेपालमा बालबालिकामा रुघा, खोकी हुँदा कफ सिरपको दुरुपयोग भइरहेको बताउँछन् ।
बालबालिकामा सामान्य छातीमा घ्यारघ्यार, ब्रोन्काइटिस, रुघाखोकी, एलर्जी हुँदा पनि कफ सिरप दिने गरिन्छ ।
डा. राईका अनुसार कप सिरपमा तीन चारवटा फरक किसिमको औषधि प्रयोग गरिएको हुन्छ । जुन स–साना बालबालिकालाई धेरै खुवाउन हुँदैन ।
चिकित्सकको सल्लाह विना कफ सिरप लिनुहुँदैन । तर नेपालमा कफ सिरप चिकित्सकको सल्लाह विना नै फार्मेसीबाट बिक्री भइरहेको डा. राई बताउँछन् ।
‘धेरैजसो समय बालबालिकाको खोकी एलर्जीको कारणले हुन्छ । उनीहरूलाई खोकीको सिरप दिन आवश्यक हुँदैन,’ डा. राई भन्छन्, ‘कफ सिरपमा विभिन्न तत्व हुनाले साइड इफेक्ट बढी हुन्छ ।’
विज्ञका अनुसार कफ सिरपको जथाभावी प्रयोगले बालबालिकाको मुटुको धड्कन बढाउने, कफलाई सुख्खा बनाउने, सास फेर्ने नलीलाई ठूलो बनाइदिने जस्ता जोखिम ल्याउँछ । यस्तै अत्यधिक निद्रा लाग्ने, खाना अरुचि हुने, मुटुको धड्कन बढाउने, दिमागमा असर पार्ने लगायत समस्या देखिने हुन्छ ।
डा. राईका अनुसार कफ सिरपमा एलर्जीको दबाइ पनि मिसाइएको हुन्छ । त्यसले बच्चाको खोकी निको होला तर, खकार बाहिर ल्याउनुको साटो भित्रै श्वासनलीमै सुकाउने काम गर्छ ।
‘कफ (खकार) बाहिर ननिस्किएपछि बिकार शरीरमै रहने हुँदा त्यसका किटाणुहरूले बालबालिकालाई निमोनिया हुने खतरा हुन्छ,’ डा. राई भन्छन् ।
रुघाखोकी लागेको अवस्थामा कफ सिरपको साटो मनतातो पानीमा मह वा अदुवा, बेसार, तुलसीको पात उमालेर खुवाउनु उचित हुने उनको सल्लाह छ ।
डा. राईका अनुसार रुघाखोकी लागेको बेला दूधमा थोरै मह राखेर खुवाउनु एकदमै फाइदाजनक मानिन्छ । त्यसैगरी, दिनमा दुईदेखि तीन पटकसम्म तुलसीको पात, बेसार उमालेर रस बनाएर खुवाउन सकिन्छ ।
श्वासप्रश्वासको समस्या भएको बेला मनतातो झोल पदार्थ दिनुपर्छ । जसले खोकी र घाँटीको दुखाइ कम हुन्छ । माछा, मासु र अण्डा पनि खुवाउन सकिन्छ । मनतातो पानीमा भिजाएर फलफूल खुवाउन सकिन्छ । तर फ्रिजमा राखेको खानेकुरा खुवाउन हुँदैन ।
बालबालिकालाई रुघाखोकी लागेको बेला धेरै पौष्टिक आहारको आवश्यकता पर्छ । रोगले सताएको बेला खानेकुरा कम हुँदा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ । रुघाखोकी लागेका बालबालिकालाई न्यानो बनाएर राख्ने, लामो र हावा नछिर्ने कपडा लगाइदिनुपर्छ ।
प्रतिक्रिया 4