
२१ असोज, काठमाडौं । भारतमा उत्पादन भएको खोकीको झोल औषधि (कफ सिरप) सेवनबाट बालबालिकाको मृत्यु भएको घटनापछि नेपालले सतर्कता अपनाएको छ ।
औषधि व्यवस्था विभागले औषधिको सुरक्षिता र प्रयोगबारे सूचना सार्वजनिक गर्दै आम नागरिक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
भारतीय कम्पनी स्रेसन फार्माले उत्पादन गरेको कफ सिरपमा विषाक्त रसायन पाइएको छ । दूषित कफ सिरपको कारणले अगस्टको अन्त्यदेखि मध्य प्रदेश र राजस्थान राज्यमा ९ वर्ष मुनिका १४ बालबालिकाको मृत्यु भएको हो कि भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
औषधिको एक ब्याचमा खतरनाक मात्रामा विषाक्त रसायन भेटिएपछि शनिबार संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले अनुसन्धानको निर्देशन दिएको थियो ।
मन्त्रालयले दक्षिणी राज्य तमिलनाडुमा स्रेसन फार्माद्वारा निर्मित कोल्ड्रिफ कफ सिरपको नमुनाहरू राज्य अधिकारीहरूले परीक्षण गर्दा अनुमति योग्य सीमाभन्दा बढी डाइएथलिन ग्लाइकोल र एथलिन ग्लाइकोल जस्ता मिश्रणबाट बनाइएको बताएको छ ।
उक्त रसायन औद्योगिक घोलकहरूमा प्रयोग हुने विषाक्त पदार्थ हो । जुन थोरै मात्रामा पनि सेवन गर्दा घातक हुनसक्छ । ‘नमुनाहरूमा अनुमतियोग्य सीमाभन्दा बढी रसायन पाइएको छ,’ भारतीय स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्दै भनेको छ ।
मध्य प्रदेशभर सिरप उत्पादन गर्ने कम्पनीका अन्य उत्पादनहरूको बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ ।
तर, उक्त समस्या देखिएको भारतीय कफ सिरप नेपालमा दर्ता नै नभएको औषधि व्यवस्था विभागले दाबी गरेको छ ।
नेपालमा भने डाइएथलिन ग्लाइकोल प्रयोग गरेर औषधि नबनाइने औषधि व्यवस्था विभागको दाबी छ । उक्त रसायनहरूले मिर्गौला र स्नायु प्रणालीमा क्षति पुर्याउने भएकाले विशेषगरी बालबालिकाहरूका लागि घातक हुने विज्ञ बताउँछन् ।
कतिपय कफ सिरपका औषधि चिकित्सकको सिफारिस (प्रेस्क्रिप्सन) विना, जथाभावी सिफारिसले बिक्री–वितरण हुँदा पनि बालबालिकाको स्वास्थ्यमा जोखिम हुने चिकित्सक बताउँछन् ।
सन् २०२२ मा भारतको औषधि नियामकले मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो । उक्त कम्पनीको कफ सिरप उज्वेकिस्तानमा १९ र द गाम्बियामा ७० जना बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको बताइएको थियो ।
विभागले मंगलबार एक सूचना जारी गर्दै औषधि आयातकर्ता, फार्मासिस्ट, चिकित्सक र सर्वसाधारणलाई निर्देशनसमेत दिएको छ ।
आयातकर्ताहरूका लागि : नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक ब्याचको इथिलिन ग्लाइकोल वा डाइथिलिन ग्लाइकोलयुक्त मिसापट नभएको सुनिश्चित गरेपश्चात् मात्रै आयात तथा बिक्री वितरण गनुपर्ने छ ।
उत्पादक तथा फार्मेसीहरूका लागि : नेपालमा उत्पादित कफ सिरप वा अन्य तरल औषधिमा यी विषाक्त रसायनहरूको प्रयोग निषेधित छ । कुनै पनि ब्याचमा यस्तो सामग्री मिसिएको प्रमाणित भए तुरुन्तै विभागलाई जानकारी दिर्नुपर्ने छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरूका लागि : विभागमा दर्ता भएका औषधिहरू मात्रै प्रेस्क्रिप्सन दिन निर्देशन दिएको छ । दुई वा सो भन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्रै सिफारिस गर्नुपर्ने छ ।
विशेषज्ञ भन्छन् : जथाभावी औषधि सेवन नगरौं
विज्ञहरू भने भारतसँग खुला सिमाना भएको र चिकित्सकको परामर्श विना नै खोकीका औषधि किन्ने प्रचलन अत्यधिक रहेका कारण सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेश राई नेपालमा बालबालिकामा रुघा, खोकी हुँदा कफ सिरपको दुरुपयोग भइरहेको बताउँछन् ।
बालबालिकामा सामान्य छातीमा घ्यारघ्यार, ब्रोन्काइटिस, रुघाखोकी, एलर्जी हुँदा पनि कफ सिरप दिने गरिन्छ । ‘कफ सिरपमा दुई वा तीनवटा फरक किसिमका औषधि प्रयोग हुन्छ,’ डा. राई भन्छन्, ‘साना बालबालिकालाई धेरै कफ सिरप खुवाउनु हुँदैन ।’
उनका अनुसार चिकित्सकको सल्लाह विना कफ सिरप लिनु हुँदैन । तर नेपालमा कफ सिरप चिकित्सकको सल्लाहविना नै फार्मेसीबाट बिक्री भइरहेको छ ।
कम्पनीले उत्पादन गरेको कफ सिरपमा विभिन्न मिश्रण हुने र त्यसको प्रयोजन फरक समस्याका लागि हुने भन्दै फार्मेसीबाट मनलाग्दी रूपमा खुवाउन नहुने डा. राई सुझाव दिन्छन् ।
‘कुनै कफ सिरपमा एक वा दुई वटा दबाइ मिसाइएको हुन्छ । कुनैमा सिटामोल पनि मिसिएको हुन्छ,’ डा. राई भन्छन्, ‘विभिन्न तत्व हुनाले कफ सिरपको साइड इफेक्ट बढी हुने गर्छ ।’
उनका अनुसार कफ सिरपको जथाभावी प्रयोगले बालबालिकाको मुटुको धड्कन बढाउने, कफलाई सुख्खा बनाउने, सास फेर्ने नलीलाई ठूलो बनाइदिने जस्ता जोखिम ल्याउँछ। ‘धेरैजसो कफ सिरपमा दुई-तीन वटा तत्वको मिश्रण गराइएको हुन्छ ।
कफ सिरपमा एलर्जीको दबाइ पनि मिसाइएको हुन्छ। त्यसले बच्चाको खोकी निको होला तर, खकार बाहिर ल्याउनुको साटो भित्र श्वासनलीमै सुकाउने काम गर्छ,’ डा. राई भन्छन्, ‘खकार बाहिर ननिस्किएपछि बिकार शरीरमै रहने हुँदा त्यसका किटाणुहरूले बालबालिकालाई निमोनिया हुने खतरा पनि हुन्छ ।’
जथाभावी कफ सिरपको सेवनले अत्यधिक निद्रा लाग्ने, खाना अरुचि हुने, मुटुको धड्कन बढाउने, दिमागमा असर पार्ने लगायत समस्या देखिने हुन्छ ।
रुघाखोकी लागेको अवस्थामा कफ सिरपको साटो मनतातो पानीमा मह वा अदुवा, बेसार, तुलसीको पात उमालेर खुवाउनु उचित हुने उनको सल्लाह छ ।
प्रतिक्रिया 4