१२ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे (राजीव गुरुङ) २७ कात्तिकदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन् । कारागारको गोलघरभित्र ‘ख’ ब्लकमा रहेका मनाङे बिन्दास देखिन्छन् ।
ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गर्न डिल्लीबजार कारागार चलान भएका मनाङले दुई साता बित्दासम्म न कारागार प्रशासनसँग कुनै गुनासो गरेका छन् न भेट्न आउनेसँग ।
ज्यान उद्योगमा उच्च अदालत पाटनले गरेको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले समेत गत कात्तिक २० गते सदर गरेपछि मनाङे पक्राउ परेका थिए । त्यसपछि उनलाई कात्तिक २७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो ।
कारागार पुगेपछि उनले जेलर पूर्णबहादुर खत्रीलाई भेटेर ‘ख’ ब्लकमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । यसअघि पनि ‘ख’ ब्लकमै बसेका र पूर्वमन्त्री समेत रहेकाले मनाङेको अनुरोधलाई स्वीकार्दै कारागार प्रशासनले उनले भनेबमोजिम नै बस्ने व्यवस्था मिलाइदियो ।
‘अक्सर भीआईपी/भीभीआईपी कैदीहरुले कारागार प्रशासनमा विभिन्न गुनासा गर्दै आफ्ना मागहरु सम्बोधन गरिदिन दबाब दिन्छन् भन्ने सुनिएको थियो । तर, मनाङेको हकमा अहिलेसम्म त्यस्तो देखिएको छैन । हामीले बुझेअनुसार उनी बिन्दास रुपमै कैदी जीबन बिताइरहेका छन्,’ कारागार प्रशासन स्रोतले अनलाइनखबरसँग भन्यो ।
ठट्यौली मनाङे
मंगलबार दिउँसो १ बजेतिर कारागारको कैदी भेटघाट कक्षमा ४ जना आगन्तुकसँग मनाङे गफिँदै थिए । भित्तामा गौतम बुद्धको पोस्टर टाँसिएको उक्त आगन्तुक कक्षमा मनाङे कहिले राजनीतिक घटनाक्रममा जिज्ञासा राख्थे भने कहिले हाँसीमजाक गर्थे ।
सेतो कपडा लगाएका मनाङेले जेल बसाइको अनुभव सुनाउँदै भने, ‘बाहिरको कोलाहल, डिप्रेसनभन्दा यहीँ आनन्द छ । अब दुई वर्ष जेल बस्दा १० वर्ष आयु बढ्छ ।’
कुनै राजनीतिज्ञ, कर्मचारी वा उच्च ओहोदामा पुगेको व्यक्ति फौजदारी कसुरमा दोषी ठहर भएर कारागार चलान हुँदा निराश हुनु स्वाभाविक हुन्छ । तर, कारागारसँग पहिलेदेखि नै परिचित मनाङे भने अहिलेसम्म निराश नदेखिएको कारागारका जेलर खत्रीले बताए ।
‘उहाँ अहिले जेलमा आउँदा पनि मुस्कुराउँदै आउनुभएको थियो । अहिले पनि त्यस्तै देखिनुहुन्छ,’ जेलर खत्रीले अनलाइनखबरसँग भने, ‘उहाँ अन्य सामान्य कैदीजसरी नै बस्नुभएको छ । अहिलेसम्म कुनै गुनासो पनि गर्नुभएको छैन ।’
यसअघि कारागारबाट ‘डनगिरी’ चलाएकोसम्म सुनेको कारागार प्रशासन मनाङेको आगमनसँगै थप चनाखो बनेको थियो । तर, विगतको जस्तो रवाफ अहिले मनाङेमा नदेखिएको कारागारका अरु अधिकारीहरु पनि बताउँछन् । ‘उहाँ सुध्रिनु भएको हो वा पहिलेका भनाइ गलत हुन् त्यो हामीलाई थाहा भएन । तर, अहिले उहाँ शान्त हुनुहुन्छ, कम बोल्नु हुन्छ । हैकम-दैकम केही छैन’ कारागारका एक सुरक्षा अधिकारीले भने ।
मनाङे हरेकपटक पक्राउ पर्दा डिल्लीबजार कारागार नै चलान भएका थिए । जसकारण उनलाई यो कारागार नौलो पनि रहेन । जेल बसाइ पनि सामान्य भइसकेकाले उनी बिन्दास देखिएका छन् ।
पाँच वर्षअघि सांसद भएकै बेला कारागार चलान हुँदा पनि उनी डिल्लीबजार कारागार नै पुगेका थिए । त्यसपछि छुट्दा कारागारका कैदीहरुले उनको भव्य बिदाइ गरेका थिए ।
१० बजे उठ्छन्, खाँदैनन् मेसको दाल–तरकारी
२०७९ मा निर्विरोध चुनाव मात्र जितेनन्, दुई पटक मन्त्री भए । पछिल्लो पटक कांग्रेस र एमाले मिलेर सरकार बनेपछि भौतिक पूर्वाधार खोसेर वन मन्त्रालय दिएपछि राजीनामा दिए । २० कात्तिकमा सर्वोच्चले उच्च अदालतको फैसला सदर गर्दै ५ वर्ष कैदको निर्णय गर्यो
कारागारमा मनाङेको अचम्मको बानी छ । उनी राति अबेरसम्म टीभी हेर्छन् । मनाङे आफैंले कारागारमा टीभी राखेका छन् । बिहान १० नबजी उठ्दैनन् । कहिलेकाहीँ ११ बजेसम्म सुत्ने गर्छन् । कहिलेकाहीँ त उनलाई भेट्न आउने आफन्त समेत नभेटी फर्कने गरेको कारागार प्रशासन स्रोत बताउँछ ।
उठिसकेर पत्रपत्रिका पढ्न उनी छुटाउँदैनन् । ब्रेकफास्टपछि खाना खान्छन् । खाना खाइसकेपछि भेटघाटमा व्यस्त हुन्छन् । कारागारको मेसमा पाक्ने भात मनाङेलाई चल्छ । तर दाल, तरकारी भने उनलाई चल्दैन ।
खानाका सोखिन उनी अरु कैदीहरुलाई दाल, तरकारी, मासु लगायत परिकार पकाउन लगाउँछन् र बाँडीचुँडी खान्छन् । दाल, तरकारी तथा मासु उनी आफैं किन्छन् । कारागारभित्रको यस्तो व्यवस्थालाई कैदीको ‘श्रम किनबेच’ भनिन्छ । कुनै कैदीले आफैं पकाएर खान्छु भन्यो भने कारागार प्रशासनले अनुमति दिने गरेको छ ।
मनाङेलाई भेट्न आउनेको भीड
डिल्लीबजार कारागारमा मनाङेका साथै पूर्वसभासद् तथा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ, विकल पौडेल, चुडामणि शर्मा पनि छन् । तर मनाङेलाई भेट्नेहरुकै भीड बढी हुन्छ ।
आगन्तुक डायरीको रेकर्डअनुसार दैनिक कम्तीमा १० जना मनाङेलाई भेट्न कारागार आइपुग्छन् । उनलाई भेट्नेहरुमध्ये पोखरा तथा आसपासका क्षेत्रहरुबाट आएका युवाहरु धेरै छन् ।
ती भेटहरुमा उनी समसामयिक राजनीतिका कुरा गर्छन् । ‘उहाँमा राजनीतिक चेत देखिन्छ । भेटघाट गर्न आएका व्यक्तिहरुसँग राजनीतिकै कुरा बढी गरेको सुन्छौं,’ कारागार स्रोतले भन्यो ।
भेट्न आउने आफन्त तथा शभेच्छुकसँग उनले राज्यले आफूसँग मसँग प्रतिशोध साँधेको भन्न छुटाउँदैनन् । यही कुरा कारागार गएको पहिलो दिन पनि उनले जेलरसँग सुनाएका थिए । एउटै मुद्दाका अन्य प्रतिवादीले सफाइ पाएको तर आफूलाई मात्रै दोषी ठहर गरिएको उनको गुनासो छ ।
मनाङेको कसुर
मनाङेको समूहले २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा अर्का गुण्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो । त्यसपछि मनाङे समूह विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय तत्कालीन पुनरावेदन अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।
२०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए । १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार छुटे ।
सरकारी वकिलको कार्यालय भने मनाङे बाहेकका चार जनालाई पनि सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च गएको थियो । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे पटक–पटक मन्त्री बने ।
२०७९ मा निर्विरोध चुनाव मात्र जितेनन्, दुई पटक मन्त्री भए । पछिल्लो पटक कांग्रेस र एमाले मिलेर सरकार बनेपछि भौतिक पूर्वाधार खोसेर वन मन्त्रालय दिएपछि राजीनामा दिए । २० कात्तिकमा सर्वोच्चले उच्च अदालतको फैसला सदर गर्दै ५ वर्ष कैदको निर्णय गर्यो ।
मनाङेलाई २७ कात्तिकमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको सानो भर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेर कारागार चलान गरेको थियो ।
सोही ज्यान मुद्दामा यसअघि २ वर्ष ८ महिना जेल बसिसकेकाले मनाङेले अब २ वर्ष ४ महिना कैद भुक्तान गर्न बाँकी छ । सोही कैद भुक्तानका लागि उनी डिल्लीबजार कारागारमा छन् ।
प्रतिक्रिया 4