भारतको उत्तर प्रदेशस्थित बरेलीमा गत आइतबार भएको कार दुर्घटनामा सार्वजनिक निर्माण विभागका चारजना अधिकारी विरुद्ध मुद्दा दर्ता गरिएको छ । पुलिसमा परेको उजुरीका आधारमा गुगल म्यापका क्षेत्रीय प्रबन्धकलाई पनि यो घटनामा जिम्मेवार मानिएको छ ।
आइतबार बिहान लापरवाहीका कारण भएको दुर्घटनामा कारमा सवार ३ जना युवकको मृत्यु भएको थियो । ती युवाहरुले गुगल म्यापको आधारमा उक्त अधुरो पुलमा गाडी गुडाएका अनुमान गरिएको छ । तर, उक्त पुल आधामात्रै बनेकोले उच्च गतिमा रहेको कार अगाडि गएर पुलबाट सिधै तल खसेको थियो। मृतकका एक आफन्तका अनुसार उनीहरुले गन्तव्यमा पुग्ने सही बाटो खोज्नका लागि मोबाइल नेभिगेसन लगाएर अगाडि बढिरहेका थिए । गुगल म्यापको त्यही बाटो पछ्याउँदै पुलमाथि चढेको उनीहरुको कार बीचमा पुगेपछि टुंगिएको बाटोको भेउ नपाउँदै तल खसेको थियो ।
उक्त घटनामा गुगल म्याप्सका क्षेत्रीय प्रबन्धकको विरुद्धमा पनि मुद्दा दर्ता गर्न माग गरिएको छ । यसैबीच गुगलका प्रवक्ताले उक्त मामिलामा हुने अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । स्थानीय अधिकारीले यो घटनामा अज्ञानताबस गरिएको हत्याको मामिलामा मुद्दा दर्ता गराएका छन् ।
समाचारहरु अजीत, नीतिन र अमित नामका तीन युवा कारमा चढेर बदायुँबाट बरेलीको फरीदपुरतर्फ उटा वैवाहिक कार्यक्रममा गइरहेका थिए । उनीहरु रामगंगा नदीमा बनिरहेको पुलमा गाडी अघि बढाए, जुन पुल अधुरो थियो । पुल आधामात्रै बनेको कुरा सायद उनीहरुलाई पत्तो थिएन । त्यसैले केही अगाडि पुगेपछि कार जमिनमा खस्यो र उनीहरुको मृत्यु भयो ।
यो मामिलामा सार्वजनिक निर्माण विभागका चारजना कर्मचारीलाई जिम्मेवार ठहराएर अभियोग दर्ज गरिएको छ । विभागका कर्मचारीहरुले पुलको दुबै छेउमा पुल निर्माणधीन रहेको र वारपार गर्न नसकिने भनी सूचना बोर्ड राख्ने वा बलियो तगारो राखेर छेक्ने काम नगरेको र जानीजानी यस्तो लापरबाही गरेको आरोप लगाइएको छ ।
उक्त उजुरीमा गुगल म्याप्सको पनि यसमा कमजोरी रहेको र गुगल नक्सामा उक्त बाटो सर्च गर्दा त्यो पुल वारपार नै रहेको देखाएको र बीचमा पुल विच्छेद भएको नदेखाएको बताइएको छ । यद्यपि पुलिसमा परेको उजुरीमा गुगलका कुनै अधिकारीको नाम किटान गरिएको छ ।
गुगल के भन्छ ?
बीबीसीले इमेलमार्फत् सोधेको प्रश्नको जवाफमा गुगलका प्रवक्ताले मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै घटनाको अनुसन्धानमा सम्बन्धित अधिकारीहरुसँग मिलेर काम गरिरहेको बताएका छन् ।
सोसल मिडियामा प्रतिक्रिया
एक रिपोर्ट अनुसार भारतमा करिब ४६ करोड मानिस नियमित रुपमा सोसल मिडियाको प्रयोग गर्दछन् । अर्बन मोबिलिटीका अनुसार मोबाइल प्रयोग गर्नेमध्ये करिब ४५ प्रतिशत मानिसले स्मार्टफोन प्रयोग गर्दछन् ।
त्यसमध्ये २६ प्रतिशत मानिसले बाटो खोज्नका लागि नेभिगेसन सिस्टमको प्रयोग गर्दछन् । अधिकांश मानिसहरूले नेभिगेसनको प्रयोग छोटो बाटो पत्ता लगाउन, ट्राफिकको जानकारी तथा आउजाउको समय पत्ता लगाउनका लागि गर्दछन् ।
विश्वमा विभिन्न खालका नेभिगेसन एप छन्, जसमा गुगल म्याप्स, एप्पल म्याप्स, भेज, याहु, सिजिक तथा टमटम प्रमुख हुन् ।
तीमध्ये पनि गुगल सबैभन्दा धेरै प्रयोग हुने नेभिगेसन एप हो । यसले यात्रामा दुख तथा परिवर्तनलाई पनि देखाउँछ । यपि गुगल सार्वजनिक रुपमा उपलब्ध सूचनाहरुको प्रयोग गर्दछ, जसमा कतिपय भ्रमात्मक, पुराना तथा अपुरो सूचनाहरू पनि हुन सक्छन् ।
प्रतिक्रिया 4