+
+

गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १३:४२

अमेरिकी न्याय विभागले सर्वाधिक लोकप्रिय वेब ब्राउजर गुगल क्रोम बिक्री गर्नका लागि दबाब दिने सम्भावना बढेको छ । ब्लुम्बर्गको रिपोर्ट अनुसार न्याय विभागले क्रोम ब्राउजर बेच्न गुगलको मातृ कम्पनीलाई दबाब दिनका लागि न्यायाधीशसँग अनुरोध गर्न सक्नेछ ।

यसका अलावा विभागले आर्टिफिसियल इन्टेलिजेन्स र गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमका विषयमा पनि महत्त्वपूर्ण कदम उठाउने सम्भावना रहेको बताइएको छ । साथै, न्यायाधीशले गुगलका लागि डेटा लाइसेन्सिङ अनिवार्य गर्नेगरी फैसला गर्नसक्ने आंकलन पनि गरिएको छ ।

यदि उल्लेखित सबै फैसला लिइएको खण्डमा यो कुनैपनि प्रविधि कम्पनीको विरुद्धमा उठाइएको सबैभन्दा ठूलो कानुनी कदम हुनेछ । अगष्टमा भएको एक फैसलामा अदालतले गुगलको एकाधिकार विरोधी नियमहरूको उल्लंघनमा दोषी ठहर गरेको थियो । गुगलको सर्च तथा विज्ञापन बजारमा आफ्नो एकाधिकारको गलत फाइदा उठाएको ठहर अदालतले गरेको थियो ।

अदालतले भनेको थियो, ‘सबै साक्षी तथा सबुतलाई मध्यनजर तथा विचार गर्दा अदालत यो निष्कर्षमा पुगेको छ कि गुगल एकाधिकारवादी छ र उसले आफ्नो एकाधिकारलाई कायम राख्नका लागि काम गरेको छ।’

उक्त फैसलापछि न्याय विभागले गुगललाई क्रोम ब्राउजर बिक्री गर्न लगाउने प्रस्ताव तयार गरेको बताइएको छ । जस अनुसार गुगलले अदालतसमक्ष गुगल कम्पनीलाई टुक्राउने प्रस्ताव अदालतसमक्ष गर्नेछ जसमा गुगल र गुगल क्रोमलाई छुट्टाउनुपर्नेछ । यदि उक्त प्रस्तावलाई अदालतले स्वीकृति दिएमा गुगलले २० अर्ब डलरमा आफ्नो क्रोम विभाग बेच्नुपर्नेछ वा छुट्टै कम्पनी खडा गर्नुपर्नेछ ।

बजारमा गुगल क्रोमको हिस्सेदारी
विद्यमान इन्टरनेट ब्राउजरको बजारमा गुगल क्रोमको हिस्सा ६५ प्रतिशत रहेको छ । दोस्रो स्थानमा रहेको एप्पल सफारीको बजार हिस्सा २१ प्रतिशत रहेको छ ।

यसैबीच गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमका विषयमा पनि कडा फैसलाको सामना गर्नुपर्ने हुनसक्छ । समाचार अनुसार गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमलाई आफ्ना अन्य सेवाबाट अलग राख्नुपर्ने हुनसक्छ । यसमा गुगल सर्च तथा गुगल प्ले मोबाइल लगायतका सेवा पर्दछन् ।

अहिले हामीले एउटा एन्ड्रोइड स्मार्टफोन खरिद गर्दा त्यसमा गुगलका विभिन्न सेवाहरू प्रि–इन्स्टल्ड रुपमा पाएका हुन्छौँ । यद्यपि भविष्यमा यो कहानी बदलिन सक्छ । गुगलले तपाई्रलाई सर्च इन्जिनदेखि जिमेल तथा अन्य सर्भिसहरू समेत अलग्गै थप गर्ने सुविधा दिनसक्छ । यद्यपि यस विषयमा फैसला हुन अझै केही समय लाग्नसक्छ । आगामी सन् २०२५ को अगष्टमा यस विषयमा जिल्ला न्यायाधीशले फैसला गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।

त्यसपछि गुगलले यसको विरुद्धमा अपिल गर्न सक्नेछ । क्रोम गुगलका लागि एक महत्त्वपूर्ण सम्पत्ति हो । यसका माध्यमबाट गुगलले मनग्गे आम्दानी गर्ने गर्दछ । यी सबै कुराका अतिरिक्त अमेरिकामा डोनाल्ड ट्रम्पको सत्तामा पुनरागमनसँगै यस मामिलामा ठूलो उलटफेर हुनसक्छ । गुगलविरुद्धमा यो मुद्दाको सुरुवात ट्रम्पको पहिलो शासनकालमा भएको थियो । यद्यपि यसमा फैसला भएको बाइडेनको शासनकालमा आएको हो ।

यसैबीच कम्पनी टुक्राएर गुगल क्रोमलाई बिक्री गर्नुपर्ने अमेरिकी न्याय विभागको प्रस्तावका विषयमा गुगलले प्रतिक्रिया जनाउँदै विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर बिक्री गर्नु परेमा त्यसले उपभोक्ता र व्यवसाय दुबैमा असर पार्ने जनाएको छ ।

एक विज्ञप्तिमा गुगलले भनेको छ, ‘न्याय विभागले यस विषयमा अतिवादी एजेण्डा अघि बढाइरहेको छ र त्यो कानुनी मुद्दाभन्दा पर छ।’ एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?