+
+
स्थानीय तह उपनिर्वाचन :

मोदीले त्रिपक्षीय बनाएको ग्रामथानको उपनिर्वाचन

हरि अधिकारी हरि अधिकारी
२०८१ मंसिर १३ गते १३:१६
एमाले, कांग्रेस र माओवादीका उम्मेदवार ।

१३ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ का पुछदेव सरदार नेपाली कांग्रेसका समर्थक हुन् । आगामी १६ मंसिरमा पालिका अध्यक्ष पदका लागि हुने उपनिर्वाचनको गतिविधिलाई उनले नजिकबाट हेरिरहेका छन् ।

१६ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको ग्रामथानको सम्भावित नतिजा त्रिपक्षीय हुने उनको आँकलन छ । ‘पहिले त यो कांग्रेसकै क्षेत्र हो, अहिले तीन पक्षको प्रतिस्पर्धा छ’ उनले भने, ‘त्यही तीनवटा मध्ये एउटाले जित्छ ।’

गत निर्वाचनमा तेस्रो पोजिशनमा रहेको नेकपा माओवादी केन्द्र यो उपनिर्वाचनमा प्रतिस्पर्धी शक्तिका रुपमा देखिएको स्थानीयको बुझाइ छ । उनीहरुका अनुसार पूर्वमन्त्री अमनलाल मोदीले माओवादीलाई प्रतिस्पर्धी दौडमा ल्याएका हुन् ।

गृह पालिकाको अध्यक्ष जित्न मोदीले उम्मेदवार चयनदेखि पार्टीको सम्पूर्ण शक्ति परिचालनमा जोड दिइरहेका छन् । माओवादीबाट उम्मेदवार बनेका नमोनारायण माझी कांग्रेस छोडेर आएका नेता हुन् ।

बुधबार दिउँसो झोराहाट बजारमा भेटिएका सनतलाल सरदार पनि यहाँ त्रिपक्षीय प्रतिस्पर्धा देख्छन् । ‘हामीले त एउटालाई भोट हाल्ने हो, तर प्रतिस्पर्धा कांग्रेस एमाले र माओवादीकै छ,’ उनले भने, ‘पहिले जस्तो अनुमान गर्न सकिंदैन ।’

२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा ग्रामथानमा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमको प्रभाव राम्रो थियो । त्यसबेला एमालेबाट शिवनारायण माझी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक उम्मेदवार जयप्रकाश गच्छदारसँगको मतान्तर ५९ मात्रै थियो ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका गच्छदार फराकिलो मतसहित विजयी भएका थिए । अध्यक्षमा विजयी भएका गच्छदारको गत ३ असारमा निधन भएपछि उपनिर्वाचन हुँदैछ ।

उम्मेदवारको प्रचार अवधि सकिनै लाग्दा ग्रामथान–२ पिडारबनीका पशुपति सरदार कांग्रेस, एमाले र माओवादी केन्द्रपछि राप्रपालाई देख्छन् । ‘यसपालि अलिक राम्रो माओवादीलाई भएको छ, उम्मेदवार कांग्रेसबाट आएको छ,’ उनले भने, ‘राप्रपाले पनि भोट बढाउँछ ।’

गत निर्वाचनको भन्दा यसपालिको चुनाव फरक हुने उनको विश्लेषण छ । ‘अहिले त्यसै भन्न सकिदैन, कम्पिटिशन राम्रो देख्छु’ उनी भन्छन् ‘जित्ने तीन दल मध्येकै उम्मेदवार मध्ये एकले हो ।’

ग्रामथान गाउँपालिका पूर्वमन्त्री अमालाल मोदीको क्षेत्र मोरङ–४ मा पर्छ । यो क्षेत्रबाट २०७४ मा एमाले र २०७९ सालमा कांग्रेससँगको गठबन्धनबाट मोदीले चुनाव जितेका छन् ।

पीडारबनीमा जम्काभेट भएपछि माओवादी सांसद मोदी र एमाले नेता द्धारिकलाल चौधरी ।

‘हिजो कांग्रेस एमालेले पालैपालो आफ्ना कार्यकर्तालाई हसिया हतौडामा भोट हाल्न लगाए, अहिले तीन वटै छुट्टा छुट्टै प्रतिस्पर्धामा छन्’, उनी भन्छन्, ‘त्यसले पनि केही न केही प्रभाव त पार्ला ।’

स्थानीय शुखिलाल सरदार थारु र गोकर्ण चौधरी पनि उस्तै देख्छन् । ‘भोट कसलाई हाल्ने अहिले भन्न मिल्दैन, गोप्य हुन्छ’ गोकर्ण भन्छन्, ‘मुख्य प्रतिस्पर्धा तीन जनाको छ, एक जनालाई त हाल्नै पर्छ ।’

उपनिर्वाचनमा सानाठूला दलका १५ र एक स्वतन्त्रसहित १६ जना उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको प्रभाव पनि ग्रामथानमा छ ।

ग्रामथानको अध्यक्षमा एमालेमा तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादीबाट नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी छन् ।

एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले मुढा चुनाव चिन्ह पाएका छन् । २६ हजार ४४ मतदाता रहेको ग्रामथान थारु बाहुल्य क्षेत्र हो । २०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए । उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २० वटा मतदान केन्द्र छन् ।

गगनले मागे सरदारलाई भोट

गगन थापा र कांग्रेसको कार्यक्रममा भेला भएका कार्यकर्ता ।

ग्रामथानको उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाकै विषय बनाएका छन् । आफ्नो प्रतिष्ठा बनाएका तीन दलका केन्द्रीय तहका नेता ग्रामथानमा छन् ।

बुधबार कांग्रेस महामन्त्री गगन थापा आफ्ना उम्मेदवारलाई भोट माग्न झोराहाट पुगेका थिए । यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका थिए । विजयकुमार गच्छदार केही दिनयता ग्रामथानमै छन् ।

‘पूर्व अध्यक्ष जयप्रकाश गच्छदारको तस्बीर अगाडिको खाली कुर्सीमा उनको प्रतिनिधि भएर बाँकी रहेको समय कसले काम गर्ने भन्ने प्रश्नको उत्तर मंसिर १६ गते खोज्नुहोला,’ थापाले भने, ‘हामीले चोकचौतारामा बसेर खोजेको असल मान्छे बलराम सरदार हो, जयप्रकाशको कुर्सीमा बस्दा एउटा पनि गडबढी गर्नुहुन्न भनेर तपाई एक–एक जनाले भन्न सक्नुहुन्छ ।’

ग्रामथानमा माओवादीका उम्मेदवारका लागि मोदीसहित नेता निरन्तर चुनावी मैदानमा छन् । एमालेका उम्मेदवार तुलसीराम विश्वासका लागि प्रदेश इञ्चार्ज शेरधन राई सहित नेता चुनावी अभियानमा छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?