१२ मंसिर, बुटवल । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा हुने उपचुनावमा सत्तारूढ र विपक्षी दलहरू गठबन्धन गरेरै मैदानमा उत्रिएका छन् ।
केन्द्रमा दलहरूले एकल प्रतिस्पर्धा गर्ने नीति लिएपनि यहाँ दुवै पक्षले गठबन्धन गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीले साझा उम्मेदवारी दिएपछि विपक्षीमा रहेका दलहरू पनि जुटेका छन् ।
माओवादी केन्द्रको बलियो पकड भएपनि एकीकृत समाजवादीकी उम्मेदवार सुनिता बुढाले माओवादीकी नरपुरा बुढा पुनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । मुख्य दलहरूले गठबन्धन गरेर लड्ने निर्णय लिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मोहनभक्त बुढा, श्रीदेवी सुनार विक, भिमकुमारी पुन मगर र कोपिला बुढा पुनले पनि उम्मेदवारी फिर्ता लिए ।
अब १६ मंसिरमा हुने उपचुनावमा रुख चिन्ह लिएर उम्मेदवारी दिएकी एमाले नेतृ केशकुमारी तुलाचन र माओवादीकी नरपुरा बुढाबीच प्रतिस्पर्धा हुनेछ । दुवै गठबन्धनले आफ्नो जित निश्चित रहेको दाबी गरिरहेका छन् ।
‘बहुदलपछि ३५ वर्षसम्म पुराना पार्टीहरू (कांग्रेस र एमाले) ले गर्न नसकेको काम माओवादीका जनप्रतिनिधिहरूले ७ वर्षको अवधिमा गरेका छन् । त्यसैले जनताले माओवादीको विकल्प खोज्ने छैनन्,’ माओवादी उम्मेदवार नरपुरा बुढा भन्छिन् । माओवादीको एजेण्डा र भूपेन्द्रा बुढाको सडक दुघर्टनाबाट भएको निधनको सहानुभूतिका कारण पनि आफूले जित्ने नरपुराको दाबी छ ।
कांग्रेसको चिन्हमा उम्मेदवार बनेकी एमाले जिल्ला उपसचिव केशकुमारी पनि यसपटक आफ्नो जित निश्चित रहेको बताउँछिन् । विशेषगरी माओवादीको एकछत्र शासन चल्दा पुथाको विकास निर्माणले गति लिन नसकेकाले जनताले विकल्प रोज्ने उनको आशा छ ।
भन्छिन्, ‘पालिकामा भ्रष्टाचारजन्य क्रियाकलापले प्रश्रय पाएकाले यसपटक माओवादी जनताको रोजाईमा छैन । घरदैलो अभियानमा हामीले जनता फरक सरकार र जनप्रतिनिधिको प्रतिक्षा रहेको पाएका छौं ।’
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व माओवादीको बलियो पकड भएको पालिका हो । सशस्त्र युद्धकालमा आधार इलाका मानेको रुकुम पूर्वमा पुथा उत्तरगंगासहित तीनवटै पालिकामा माओवादीको वर्चश्व छ ।
यसअघिका चुनावी नतिजा पनि माओवादीकै पक्षमा आइरहेको छ । ०७९ सालको चुनावमा पनि अध्यक्ष, उपाध्यक्ष र १४ मध्ये ११ वडाध्यक्ष माओवादीले नै जितेको थियो । तर गत भदौमा उपाध्यक्ष भूपेन्द्रा बढुामगरको सडक दुर्घटनामा मृत्यु भएकाले यहाँ उपचुनाव हुँदैछ ।
यो उपचुनावमा माओवादीले जित्न चाहन्छ । विगत बलियो भएपनि कांग्रेस र एमाले मिलेकाले माओवादी यसपटक दबाबमा देखिन्छ ।
उम्मेदवारी दर्ताको अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्नुले माओवादी दबाबमै रहेको बुझ्न सकिन्छ । उपचुनाव हुने भएपछि यहाँबाट ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रचार पनि ज्ञानदेवीकै भइरहेको थियो ।
तर मनोनयन दर्ता गर्ने बेला नरपुरा बुढा पुनको उम्मेदवारी दर्ता भयो । सडक दुर्घटामा ज्यान गुमाएका पालिका उपाध्यक्ष भूपेन्द्राकी नरपुरा सहोदर दिदी हुन् । सहानुभूतिको मत समेत पाउने आशमा उम्मेदवार फेरेको माओवादीले एकीकृत समाजवादीलाई उम्मेदवार फिर्ता लिन सहमत गरायो ।
पालिका उपाध्यक्ष पदसँगै २ नम्बर वडाको अध्यक्षका निम्ति पनि उपचुनाव हुँदैछ । तर यहाँ माओवादी उम्मेदवार निर्विरोध भएकाले पालिका उपाध्यक्ष जित्ने नेताहरूको दाबी गरिरहेका छन् ।
‘वडा नं २ को अध्यक्षको चुनावमा एमाले–कांग्रेसको गठबन्धन र स्वतन्त्र उम्मेदवारले चुनावको सामना गर्न नसकी उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनु पनि प्लस प्वाइन्ट हो’ माओवादी उम्मेदवार नरपुरा भन्छिन् ।
सजिलो छैन सत्तारूढलाई
जसरी पनि माओवादीको पकड तोड्ने सत्तारूढको योजना सफल हुन सजिलो भने देखिँदैन । किनकि कांग्रेस र एमालेको मत जोड्दा पनि यो पालिकामा माओवादी बराबर पुग्दैन ।
गत निर्वाचनमा पालिकाको उपाध्यक्ष पदमा माओवादीकी भूपेन्द्रा बुढाले ४ हजार ५९ मत पाएर जितेकी थिइन् । जबकी उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए ।
सहायक निर्वाचन अधिकृत ईश्वर सुवेदीका अनुसार यसपटक पुथामा ५ हजार ६७१ पुरुष र ५ हजार ५०९ महिला गरी ११ हजार १८० मतदाता छन् । गत चुनावमा भन्दा अहिले धेरै अवस्था फेरिएको माओवादी र एमाले–कांग्रेस गठबन्धनको दाबी छ ।
एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले गत निर्वाचनपछि माओवादीबाट ठूलो संख्यामा एमाले प्रवेश गरेका र एकीकृत समाजवादीमा रहेकाहरू पनि अधिकांश एमालेमा फर्किएको बताउँछन् ।
माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष हर्क कामी भने एमालेको दावी अस्वीकार गर्छन् । भ्रम र प्रलोभनमा परेर पार्टी छाडेका र दुई सय भन्दा बढी अरु दलका नेता कार्यकर्ता गत वर्ष अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर पार्टीमै फर्केका र पूर्व माओवादी घटकहरू पनि माओवादी उम्मेदवारकै पक्षमा भएकाले विगतमा भन्दा मत बढेकाले पार्टीले जित्ने दाबी गर्छन् ।
प्रतिक्रिया 4