 
																			११ मंसिर, काठमाडौं । वडाध्यक्ष पदमा उपचुनाव हुने काठमाडौं–१६ का टोल र बजारहरूमा दलका नेता कार्यकर्ताको बाक्लो आउजाउ छ, भोट माग्दै नेता कर्यकर्ताको टोली दौडधुपमा छन् ।
उम्मेदवारलाई जिताउन आह्वानसहितको माइकिङ गर्दै गाडीहरू हुँइकिरहेका छन् ।
कतिपय घरमा पार्टीका झण्डाहरू टाँगिएका छन्, हातमा राष्ट्रिय र पार्टीका झण्डा तथा पर्चा बोकेका सूमह लिएर वडाध्यक्षका उम्मेदवारहरू घरदैलोमा पुगिरहेका छन् । लाउड स्पिकरमा दलगत गीत बजाएर नाचगानसहित भोट मागिँदैछ ।
हात जोड्दै भोट माग्न हिँडेका वडाध्यक्षलाई जिताउन चर्को नारा लाग्दैछ । दलका स्थानीय कार्यकर्तालाई उम्मेदवारको घरदैलोको रुट मिलाउने चटारो छ ।
स्थानीयहरू यही चुनावी माहोलमा घर टोलमा आएकाहरूलाई भोट दिने आश्वासन दिँदै पठाइरहेका छन् । कोही घरको बार्दलीबाटै नमस्कार गरेर टारिरहेका छन् भने कतिपयले गेट खोलेरै उम्मेदवारलाई भित्र बोलाइरहेका छन् । कतिपय भने फूल दिएर जितको लागि शुभकामना दिइरहेका छन् ।
२०७९ को स्थानीय तह चुनावमा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका मुकुन्द रिजालको निधन भएपछि उपचुनाव हुन लागेको हो । यसअघिको चुनावमा रिजाल ४ हजार १८ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए, निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीरत्न तुलाधर ३ हजार ३१० मत ल्याएर पराजित भएका थिए ।

सो चुनावमा नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५८९ र राप्रपाकी विन्दिका गुरुङले ५५७ र नेमकिपाका राम महर्जनले ३२ मत ल्याएका थिए । त्यतिबेला ४ जना स्वतन्त्र उम्मेदवारहरुले कूल ५६३ मत पाएका थिए ।
साढे ८४ हजार व्यक्ति बासोबास गर्ने यो वडामा ४५ हजार घरधुरी छ । तर २१ हजार मात्रै मतदाता छन् । यसरी औसतमा प्रत्येक २ वटा घरमा एक जना मात्रै मतदाता भएकाले घरदैलो गर्न जाँदा उम्मेदवारलाई भोटर भेट्न मुस्किल छ । त्यसैले उम्मेदवारसहितको घरदैलोसँगै मतदाताको सूची बोकेर समूह–समूहमा दलहरु टोल–टोल पुगिरहेका छन् ।
गत चुनावसम्म काठमाडौं १६ मा परम्परागत शक्ति कांग्रेस र एमाले नै बलियो देखिएका थिए । नयाँ दल भएपनि एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले पनि सम्माजनक मत पाएको थियो ।
यसपटक काठमाडौं १६ मा चुनावी परिदृश्यहरू केही अलग छन्, काग्रेस र एमाले आफ्नो मत जोगाउने ध्यानमा छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले पूराना शक्तिलाई पाखा लगाउने गरी कम्मर कसेका छन् ।
हेर्नुहोस् भिडियाे:
पेचिलो चुनावी अंकगणीत
यो उपचुनावमा कांग्रेसले स्थानीय नेता देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । यसअघिको चुनावमा उनी कांग्रेसबाट वडा सदस्य उठेर पराजित भएका थिए । एमालेका हर्कबहादुर खातीसँग १७५ मतान्तरले पराजित उनी यसपटक दिवंगत रिजालको विरासतलाई थेग्ने प्रतिबद्धता सहित मैदानमा छन् ।
एमालेले भने यसअघिकै वडाध्यक्षका उम्मेदवार लक्ष्मीरत्न तुलाधरलाई उठाएको छ । गत चुनावमा कांग्रेसका रिजालसँग ७०८ मतले पराजित भएका मानन्धर दोस्रो पटकको प्रयासमा जसरी पनि जितको झण्डा गाड्ने दाउमा छन् ।
२०४९ र २०५४ एमालले जितेको वडा हो, काठमाडौं–१६ । ती दुवै चुनाव जितेर रामवीर मानन्धर वडाध्यक्ष बनेका थिए । २०७० को संविधानसभा र २०७४ को संघीय संसद्को चुनावसमेत सोही वडासहितको क्षेत्रबाट नै मानन्धरले जितेका थिए ।  
२०७४ मा स्थानीय चुनावमा भने कांग्रेसका रिजालले ६९ मतान्तरले एमाले उम्मेदवार विश्वराम सापकोटालाई पराजित गरे । वाम किल्ला भत्काएर रिजालले वडाध्यक्ष जितेपछि काठमाडौं–१६ मा एमालेको वर्चस्व केही कम भएको थियो ।
२०७९ को चुनावका बेला रामवीर मानन्धर एमालेमा निष्क्रिय रहेपछि कांग्रेसलाई जितका लागि थप सहज अवस्था बन्यो । ९ भदौ २०७८ मा माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजन हँुदा पनि यो वडामा कांग्रेसलाई सहयोग पुग्यो ।
सँगै कांग्रेसका मुकुन्द रिजालको व्यक्तिगत आकर्षण पनि एमाले पराजयको कारण बन्न पुगेको थियो । किनकि २०७९ मा कांग्रेसका रिजालले वडाध्यक्ष जित्दा बाँकी ४ वटै वडाका सदस्य एमालेले जितेको थियो । कांग्रेसले अहिले रिजालको लोकप्रियताको जगमा पाएको मतलाई जोगाउने रणनीति अनुरुप नै चुनावी अभियान चलाइहरेको छ ।
अहिले यो वडामा एमालेबाट चुनाव जितेका पुष्प महर्जन कार्यबाहक वडाध्यक्ष भएर काम गरिरहेका छन् । एमालेकै हर्कबहादुर खाती वडा सदस्य, शारदा सुवेदी महिला सदस्य र मनिता विश्वकर्मा दलित महिला सदस्य छन् । यसरी विगतमा वडा सदस्यले पाएको मतलाई नै वडाध्यक्षको पक्षमा रहे चुनाव जित्न कुनै असहज नहुने आकलन एमालेको स्थानीय नेताहरूको छ ।
पुरानालाई नयाँले थपे चुनौती
यो उपनिर्वाचनमा कांग्रेस र एमालेले नै मुख्य प्रतिस्पर्धीका रुपमा रहने धेरैको अनुमान छ । यसअघिको चुनावमा पराजित हुँदा एमाले उम्मेदवार तुलाधरले पाएको मतको करिब आधा मत एकीकृत समाजवादीका उम्मेदवारले पाएका थिए । तर अहिले एकीकृत समाजवादीका कतिपय स्थानीय नेता कार्यकर्ता एमालेमै फर्किइसकेका छन् ।
त्यसैले पनि एमाले उम्मेदवार तुलाधर आफूलाई पुराना शुभेच्छुकको मत फर्किंदा जित सहज हुने अपेक्षामा छन् । अझ पूर्व सांसद रामवीर मानन्धर पनि फर्किएर वडाध्यक्ष जिताउन सक्रिय भएकाले जितको सम्भावना बलियो रहेको दाबी एमालेको छ ।
एमालेका उम्मेदवार तुलाधर विगतदेखि नै जनताको हितमा गरिरहेको कामका आधारमा आफूले वडाध्यक्ष जित्ने बताउँछन् । ‘विगतमा हामी पदमा हुँदा वा नहुँदा नै समाजिक रुपमै जनताको सुखदुःखमा साथै बसेका हौं,’ उनले भने, ‘उहाँहरूको पारिवारिकदेखि सामजिक र विकास निर्माणसम्मको समस्यासम्म हामीले नै हल गरिरहेकाले हामीलाई सहज अवस्था छ ।’

विगतमा झिनो मतमा प्राविधिक रुपमा हारेको भन्दै उनले त्यतिबेला गरिएका त्रुटिहरू यसपटक नदोहोर्याउने बताए । त्यतिबेला पार्टी विभाजित भएपनि अहिले पार्टी छाडेका अधिकांश पुरानो घरमा फर्किएको र निरन्तर पार्टीको संगठन विस्तार गरिएकाले आफूलाई जनताले रुचाएको पनि उनले दाबी गरे ।
‘युवा स्वरोजगार, महिला उद्यमशिलता, ज्येष्ठ नागरिकका लागि पार्क, नदी करिडोरमा हरियाली र स्थानीयबासीले छानेका विकास निर्माण योजनाहरू अघि बढाउनेगरी चुनावी वाचा गरेका छौं,’ उनले भने, ‘काठमाडौंलाई गरिखानेको शहर बनाउन वडाले गर्नसक्ने काम पनि गर्ने र भित्री र बाहिरी शहरको आवश्यकतालाई हेरेर आवश्यक सबै काम गर्ने प्रतिबद्धता जनाएका छौं ।’
कुनै पनि पार्टी नयाँ पुराना नहुने भन्दै उनले एमालेले लिएका नीति तथा कार्यक्रम र योजना नयाँ र जनतालाई छुने कार्यक्रम मै महत्त्वपूर्ण हुने बताए । आफू वडाध्यक्ष भएपछि पार्टीभन्दा माथि उठेर काम गर्ने उनको प्रतिबद्धता छ ।
कांग्रेस भने स्वर्गीय वडाध्यक्ष मुकुन्द रिजालले गरेका काम र उनले जगाएका आशाकै कारण पनि जितको बलियो आधार भएको बताउँदै आएको छ । रिजालकी धर्मपत्नी वा छोराले टिकटको आकांक्षा राखेपनि कांग्रेसले पाठकलाई रिजालको सहानुभूति भोट लिने जिम्मा लिएर मैदानमा उतारेको हो ।
त्यसैले कांग्रेसले रिजालले यसअघिको चुनावमा जनाएका अपूरा प्रतिबद्धतालाई पूरा गर्नेसहित केही नयाँ वाचाहरू लिएर मत मागिरहेको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठक घरदैलो पुग्दा जनताले विगतको कामकै कारण सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँछन् ।
‘स्वर्गीय मुकुन्द रिजालले धेरै काम गर्नुभयो, मतदाताले अब गर्न बाँकी रहेका कामबारे सम्झाइरहनु भएको छ, यो तपाईंकै जिम्मेवारी हो पनि भन्नुभएको छ,’ उनले भने, ‘हामीले स्वर्गीय रिजालले गर्न बाँकी काम सक्ने मात्रै भनेका छैनौं, वडाभित्रका विकास निर्माण, प्रविधि, स्वास्थ्य शिक्षाका विभिन्न समस्याहरू सम्बोधन गर्ने हाम्रो योजना छ ।’

सेवा प्रवाह सुधार र सुशासनलाई पनि प्राथमिकता दिने भन्दै उनले वडा नम्बर १६ मा दुई ठूला पाटीबीच नै प्रतिस्पर्धा हुने बताए । ‘पार्टीको संगठन र स्वर्गीय मुकुन्द रिजालले जनतालाई विश्वासमा लिएर गरेको काम नै हाम्रो जितको आधार हो,’ उनले भने, ‘म स्वर्गीय रिजालसँगै लामो समय सँगसँगै काम गरेको मान्छे भएकाले पनि जित सुनिश्चित नै छ ।’
तर एमाले र कांग्रेसका उम्मेदवारले भनेजस्तो सजिलो हुने सम्भावना भने कम छ । यहाँ वडाध्यक्ष बन्ने प्रतिस्पर्धामा रहेका १८ जना मध्ये केहीले एमाले र कांग्रेसलाई चुनौती दिनसक्ने अड्कलबाजी स्थानीयहरूले नै लगाइरहेका छन् ।
काठमाडौं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ र एकीकृत समाजवादीका मीनमान मानन्धर पनि वडाध्यक्ष बन्ने दौडमा रहेका बलिया पात्र हुन् । यता, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठ समेत चुनावी मैदानमा छन् ।
यस वडामा दोहोरिरहेका कांग्रेस र एमालेका लागि उनीहरूको बलियो चुनावी उपस्थिति टाउको दुखाइको विषय बनेको देखिन्छ । कांग्रेस एमालेका उम्मेदवारले नकारेपनि यो वडामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ पनि बलियो उम्मेदवारका रुपमा देखा परेकी छिन् । श्रेष्ठले कांग्रेस र एमालेलाई वडाभित्र आफ्नो प्रतिबद्ध मत जोगाउने चुनौती थपिदिएकी छिन् । आजमात्रै स्वतन्त्र उम्मेदवार प्रकाश पन्त रास्वपा उम्मेदवार श्रेष्ठलाई समर्थन गर्ने घोषणा पनि गरिसकेका छन् ।

रोजिना रास्वपाकी ६ नम्बर निर्वाचन क्षेत्रकी क्षेत्रीय सभापति समेत हुन् । यो वडा गणेश पराजुलीले जितेको निर्वाचन क्षेत्र (काठमाडौं–७) भएकाले पनि कांग्रेस एमालेलाई गत स्थानीय तहको चुनावको मतको मात्रै हिसाबकिताबले ढुक्क हुन दिइरहेको छैन ।
पराजुलीले गत निर्वाचनमा एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रकी मानुषी यमी भट्टराईलाई हराउँदै ८ हजार ७ सय ४३ मत पाएका थिए ।
घिमिरेले ६ हजार ८ सय मत पाउँदा कांग्रेस समेतको समर्थनमा उम्मेदवारी दिएकी भट्टराईले भने ६ हजार ६३ मत पाएकी थिइन् ।
अझ उपत्यकाभित्रकै कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवारी नदिएको रास्वपाले आफ्नो सबै शक्ति काठमाडौं–१६ मा नै खर्चिरहेको छ । ११ मध्ये केही स्वतन्त्र उम्मेदवारहरूलाई समेत आफ्नो समर्थनमा ल्याउने रास्वपाको प्रयत्न छ ।

काठमाडौं–१६ रास्वपाको केन्द्रिय कार्यालय (वनस्थली) समेत भएको वडा भएकाले रास्वपाले यहाँको चुनावलाई आफ्नो प्रतिष्ठा जोगाउने अवसरका रुपमा समेत सदुपयोग गर्न लागेको छ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पार्टी सभापति रवि लामछिानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्ने कुरा जनतामाझ स्थापित गरेर मत तान्ने रास्वपाको प्रयास छ ।
रास्वपा उम्मेदवार श्रेष्ठ आफूले पूरा गर्नसक्ने वाचा मात्रै मतदाता माझ गरिरहेको बताउँछिन् । ‘मैले जनताको समस्या बुझेर त्यसलाई समाधान दिने प्रतिबद्धताहरू जनाएकी छु,’ उनले भनिन्, ‘मतदाताले सकारात्मक जवाफ दिइरहनु भएकाले जित्न सकिन्छ भन्नेमा विश्वस्त छु ।’

माओवादी केन्द्रबाट समेत पनि समर्थन पाएका एकीकृत समाजवादीका मीनमान मानन्धर आफू स्वच्छ छविको मान्छे पनि भएकाले चुनाव जित्ने माहोल बनिरहेको दाबी गर्छन् । वडामा भ्रष्टाचारी र विचौलियातन्त्र मौलाएको उल्लेख गर्दै आफू निर्वाचित भएको ३ महिनाभित्र वडामा परिवर्तनको महसुस हुनेगरी काम गर्ने बताए ।
‘म मुकुन्द रिजालको योजनाहरू पूरा गर्छु, जनताको हरेक समस्यामा दैलो–दैलोमा पुगेर काम गर्छु,’ उनी भन्छन्, ‘मेरो विगतको पृष्ठभूमिका आधारमा पनि मलाई जनताले सुशासन कामय गराउनकै लागि जिताउनुहुन्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय नेता कार्यकर्ता पुराना दलहरूप्रति जागेको वितृष्णाका कारण जनताले राप्रपालाई विश्वासको मत दिने बताइरहेको छ ।
‘मतदाता यसपटक ठूला दललाई सवक सिकाउनेगरी मत परिवर्तनको पक्षमा छन्,’ मत माग्दै हिँडेका राप्रपा कार्यकर्ता सुन्दरमणि श्रेष्ठले भने, ‘हाम्रो पार्टीले विगतमा जनताको हितमा गरेको कामलाई जनताले सम्झन्छन् र भोट दिन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4