+
+
Shares

गभर्नर नियुक्ति नहुनुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी : सांसद सिंह

प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकार किसानविरोधी र बिचौलियामैत्री बनेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १४:३९
प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंह । फाइल फोटो ।

२६ वैशाख, काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले लामो समयसम्म पनि गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद सिंहले गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा त्यसको गम्भीर असर परिरहेको बताए ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका हुन् ।

‘सरकारले सामान्य प्रक्रियाअन्तर्गत गभर्नर नियुक्ति गर्नु पर्ने हो । तर, दुई दलबीच भागबण्डाको झगडाले एउटा गभर्नरको नियुक्ति हुन सकेको छैन,’ सांसद सिंहले प्रश्न गरे, ‘आर्थिक क्षेत्रमा त्यसको आर्थिक असर कति पर्छ सरकारलाई मतलब छ ?’

सरकारमा बसेका प्रमुख दुई दलको ध्यान कसरी आफ्ना कार्यकर्तालाई नियुक्ति दिलाउने र आर्थिक क्षेत्र कब्जा गर्ने भन्नेमा मात्र केन्द्रित रहेको उनले जिकिर गरे ।

यो कार्यकर्ताको मात्र देश हो कि नेपाली जनताको पनि हो भन्दै उनले दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त पारेको दावी गरे ।

‘गभर्नर नियुक्ति नहुनुमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तापक्षका सभापति (कांग्रेस सभापति शेरबहादुर देउवा) दोषी रहेको भन्दै उनले यी दुई नेता राजाजस्तै अगाडि–पछाडि गाडी लिएर घुमौं भन्नेमा सहमत देखिएको जिकिर गरे ।

‘लथालिंग देशको भताभुंग चाला’ भन्ने आहान सुनाउँदै आफ्नो कुरा थालेका सांसद सिंहले मलको हाहाकार भएर किसान मर्कामा परिरहेको सन्दर्भ पनि चर्चा गरे ।

‘मलको हाहाकार छ । मल पाइएको छैन । सीमापारि मल पाइन्छ । त्यताबाट एक–दुई बोरा लिएर आउने किसानलाई समातेर सशस्त्र प्रहरीले पौरख देखाइरहेको छ । तर, रातभर हुने तस्करी रोक्नेतर्फ ध्यान छैन,’

उनले सरकार किसानविरोधी र बिचौलियामैत्री बनेको आरोप पनि लगाए । उनले पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिँदा पर्यटनको विकास हुन नसकेको चर्चा गरे ।

‘जनकपुर धार्मिक पर्यटन स्थल भए पनि त्यहाँबाट लुम्बिनी जान खोज्दा सहजै जान सकिने अवस्था छैन । बल्लबल्ल पुग्ने पर्यटकले लुम्बिनीबाट पोखरा जान पनि उस्तै सकस झेल्नुपर्छ । किनभने, पूर्वाधार निर्माणमा सरकारले ध्यान नै दिएको छैन,’ उनले भने ।

सांसद सिंहले पर्यटन, कृषि र पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गराउन रुलिङका लागि सभामुखसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?